नेभिगेशन
राजनीति

सुकुम्बासी होल्डिङ सेन्टरमा कांग्रेसले अनुगमन गर्ने 

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विस्थापित सुकुम्बासीलाई राखिएको होल्डिङ सेन्टरको अध्ययन गर्न विशेष अनुगमन टोली गठन गर्ने भएको छ । 

सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सुकुम्बासीको होल्डिङ सेन्टर अनुगमन गर्न टोली गठन गर्ने निर्णय गरेको हो ।

कार्यबाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार यो टोलीले होल्डिङ सेन्टरमा गएर नागरिकको स्वास्थ्य, खाद्यान्न, खानेपानी, सरसफाइ र सुरक्षाको अवस्थाबारे विस्तृत अनुगमन गरी पार्टीलाई जानकारी गराउनेछ । 

सरकारले वैशाख १२ गतेदेखि काठमाडौंका विभिन्न सुकुम्बासी बस्तीमा डोजर चलाएर घर टहराहरु भत्काएको छ । अन्यत्र बासको व्यवस्था गर्न नसकेका सुकुम्बासीलाई कीर्तिपुरको राधास्वामी आश्रम, नयाँ बसपार्क क्षेत्रका होटल र भक्तपुरको कृषि तालिम केन्द्र र विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखेको छ ।

कांग्रेसको सोमबारको बैठकले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी, भूमिहीन र असहाय परिवारलाई खाद्यान्न, लत्ताकपडा, औषधि र अत्यावश्यक सामग्री सहयोग गर्न पार्टी कार्यकर्ता, शुभेच्छुक र स्थानीय तहका समितिलाई आग्रह गरेको छ । 

कांग्रेसले सुकुम्बासीलाई आश्रयबिहीन बनाएर होल्डिङ सेन्टरमा कैदी सरह राख्नु लोकतान्त्रिक मूल्य र मान्यता विपरीत भएको बताएको छ । 

ती केन्द्रमा रहेका वास्तविक सुकुम्बासीको तत्काल पहिचान र प्रमाणीकरण गरी उनीहरुलाई ससम्मान सुरक्षित र दीर्घकालीन आवासमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । ‘राज्यको दायित्व नागरिकलाई सुरक्षा र अभिभावकत्व प्रदान गर्नु हो, आतंकित पार्नु होइन’, कांग्रेसको निर्णयमा भनिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति