नेभिगेशन
एक्सप्लेनर भिडियो

कलंकी–बसुन्धरा रोडको मुहार फेर्दै चीन, सुध्रिएला बालेनसँग सम्बन्ध ?

चीनले चक्रपथको कलंकीदेखि कोटेश्वरसम्मको खण्ड फराकिलो बनाइदिइसकेको छ । चक्रपथको यो विस्तारित खण्ड चीनले २०७५ सालमा नै नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । 

साइट क्लियरेन्स भएपछि चक्रपथको अर्को खण्ड पनि विस्तार थाल्ने चीनको प्रतिवद्धता थियो । यसैकारण सरकारले २०७५ जेठमा कलंकी–बालाजु–महाराजगञ्ज खण्ड विस्तारको लागि प्रक्रिया अघि बढायो । सडक सीमा मिचेर बनाइएका संरचना हटाउन सूचना निकाल्यो । 

विभिन्न ठाउँमा स्थानीयसँग जग्गाको विवाद भयो, धेरै विवादहरु समाधान भए । कलंकीदेखि बालाजु हुँदै चाबहिल गोपीकृष्णसम्मकै साइट क्लियर भयो । तर, महाराजगञ्ज चोकका घरहरुको मुआब्जा विवाद समाधान गर्न नसकेपछि सरकारले चीनलाई कलंकीदेखि बसुन्धरासम्म मात्रै विस्तार गर्न भन्यो । कलंकीदेखि बसुन्धरासम्मको ८.२ किलोमिटर सडक २०७५ सालमा नै सुरु हुनुपर्ने थियो । 

तर, चीनले सुरुमा महामारीको कारण देखाएर ढिलाइ गर्‍यो । २०८१ भदौ ६ गते अर्थमन्त्रालयमा दोस्रो चरणको कामका लागि अनुदान सम्झौता भयो । त्यसपछि २०८२ वैशाखबाट बल्ल चीनले सर्भेसहित डिजाइन तयार गर्न थल्यो ।

चीनले विस्तार गर्नुपर्ने कलंकी बसुन्धरा खण्डमा अहिले नेपाल सरकार आफैंले सर्भिस लेन बनाइरहेको छ । मुख्य लेन विस्तारमा चीनले अहिलेसम्म हात हालेको छैन । खाल्डो, धुलो र हिलोले समस्याग्रस्त बनेको छ । सडक प्रयोगकर्तादेखि स्थानीय बासिन्दासम्म सडक अलपत्र हुँदा अनेकन समस्या भोग्दैछन् । 

बल्ल चीन सरकार र भौतिक पूर्वाधार मन्त्रालयबीच कलंकी–बालाजु–बसुन्धरा खण्ड विस्तारको काम सुरु गर्ने सम्झौता भयो । 

अब तपाईंलाई लाग्ला, सरकारले फटाफटी यो काम थाल्छ । तर, अवस्था त्यस्तो छैन । चक्रपथ विस्तार आयोजनाकी प्रमुख आशिका पोखरेलका अनुसार यो काम कहिले सुरु हन्छ भन्ने पत्तो छैन । यतिसम्म कि अहिलेसम्म यो खण्ड कस्तो बनाउने भनेर डिजाइन समेत फाइनल भएको छैन । 

अब चीनले फाइनल डिजाइन तयार गरेर पठाएपछि त्यसलाई नेपाल सरकारले स्वीकृत गर्नुपर्छ । त्यसपछि चीन सरकारले ठेकेदार छनोट गर्न टेन्डर गर्छ । 

ठेकेदारसँग सम्झौता गरेर चीनले नेपालमा काम गर्न पठाउँछ ।  फिल्डमा निर्माण थालेर सबै काम सक्न त कम्तीमा ३ वर्ष लाग्ने अनुमान छ । यसरी विना उल्झन प्रक्रिया अघि बढेपनि चीनले नेपालमा चक्रपथ विस्तार थाल्न अझै कम्तीमा केही महिना लाग्न सक्छ । 

यसअघि चीनले कलंकी–बालाजु–बसुन्धरा खण्डको प्रारम्भिक डिजाइनबारे सरकारलाई जानकारी गराएको थियो । चीनले यो खण्डमा कतै पनि कलंकीमा जस्तो अन्डरपास प्रस्ताव गरेको छैन । न त ललितपुरको ग्वार्कोमा नेपाल सरकारले बनाएको जस्तो ओभरपास नै छ । 

कलंकीदेखि बसुन्धरासम्म चक्रपथमा केही यस्ता चोकहरु छन्, जहाँबाट सवारीसाधनको अत्यधिक आवतजावत हुन्छ । सीतापाइला, स्वयम्भु, सानोभर्‍याङ, ठूलो भर्‍याङ, ढुंगेधारा, वनस्थली, बालाजु चोक, गोंगबु, सामाखुशी, बसुन्धरा जस्ता चोकहरुमा गाडीको क्रसिङलाई व्यवस्थित गर्नुपर्नेछ । 

सडक विस्तार गर्दा यस्ता चोकमा आवश्यक क्रसिङ ब्रिज, अन्डरपास र संरचनाहरु बनाइएन भने यो खण्ड पनि कलंकी–कोटेश्वर खण्डमा जस्तै दुर्घटना र जामको केन्द्र बन्नसक्ने जोखिम छ । 

अहिले चक्रपथ विस्तार भए पनि कोटेश्वरको जामले यात्रुलाई हैरान पार्छ । ग्वार्कोमा फ्लाइओभर बनेपछि गाडीको जाम सातदोबाटो, एकान्तकुना र बल्खुमा सरेको छ ।  एउटा अन्डरपास बन्दा कलंकी चोकमा जामको समस्या लगभग निमिट्यान्न भएको छ । 

सरकारलाई पनि थाहा छ, सडक फराकिलो बनेर मात्रै ट्राफिक जामको समस्या समाधान हुँदैन । ११ अर्ब खर्च गर्न लागिएको यो सडकमा विस्तारपछि गाडीमा यात्रा समय पनि घट्नुपर्छ । जाम र दुर्घटना घटाउन नसके सडक विस्तार फलदायी बन्दैन । शहरी यात्रुलाई हिँड्न र साइकल चलाउन दिने गरी चक्रपथ विस्तार हुन पनि आवश्यक छ । 

यही कारण चक्रपथ विस्तार आयोजनाले चीनसँग मूल चोकहरुमा अन्डरपास र ओभरपास जस्ता संरचना बनाउन आग्रह गरेको छ । नेपाल सरकारले चीनलाई चक्रपथ बनाउँदा सहरी सडकको मापदण्ड नै फलो गर्न आग्रह गरेको छ । दुर्घटना कम गर्ने गरी डिजाइन गर्न सुझावहरु पठाएको छ । 

आयोजना प्रमुख आशिका पोखरेलका अनुसार कतिपय प्रस्तावलाई चीनले सोझै अस्वीकार गरिसकेको छ । चीनले २०१२ मै भएको अनुदान सम्झौता देखाउँदै त्यतिबेला सडक विस्तार मात्रै गर्ने सहमति भएको उल्लेख गरेको छ ।

ओभरपास, अण्डरपासजस्ता संरचना बनाउने सहमति नभएको भन्दै चीन पन्छिएको छ । अहिलेको सम्झौतामा पनि सडक र पुल मात्रै बनाउने गरी समझदारी भएको छ ।  

यही कारण चीनले यो चक्रपथ खण्डको कस्तो डिजाइन फाइनल गर्दैछ भन्नेबारे नेपाल सरकार जानकार छैन । हुन त चीनले चक्रपथको दोस्रो खण्ड पनि फराकिलो त पार्ने नै भयो । तर, चोकहरुमा लामो जाममा बस्नु नपर्ने गरी संरचना बन्छ भन्ने ग्यारेन्टी छैन । 

सडक विभागका अधिकारीहरु भविष्यमा नेपाल सरकारले नै अन्डरपास, ओभरपास जस्ता संरचना बनाउनुपर्ने बताउँछन् । उनीहरुका अनुसार चीन यो आयोजनामा विगतमा सहमति भएको भन्दा बढी लागत खर्च गर्न तयार छैन । उनीहरु चीन आफूले विस्तार गर्ने सडकका विषयमा विगतमा जस्तो विवाद नहोस् भन्ने चाहन्छन्, तर लगानी थप गर्न भने इच्छुक छैनन् । 

यसअघि कलंकी–सातदोबाटो–कोटेश्वर खण्डमा त चीनले फुटपाथ समेत विस्तार गरेको थियो । दुर्घटना रोक्न प्रभावकारी मानिने मेडियन र पर्याप्त ग्रिनरी बेल्टहरु भने राखेको थिएन । त्यतिबेला स्थानीय, यात्रु र अभियन्ताहरुले विस्तारित चक्रपथ सुरक्षित र शहरी जीवन मैत्री नबनाएको भन्दै विरोध गरेका थिए । 

विरोधपछि सरकारले चक्रपथमा सुधारका कामहरु पनि गर्नुपरेको थियो । दोस्रो खण्डमा भने दुबैतर्फ फुटपाथ राखेरै विस्तार गर्ने चीनको प्रस्ताव छ । यसअनुसार अब भने फुटपाथसहितको चक्रपथ बन्नसक्छ ।   

तर, चीनले अब पनि चक्रपथमा साइकल लेन भने नराख्ने प्रस्ताव गरेको छ । तर, नेपालले भने राखिदिन आग्रह गरेको छ । अब चीनले फाइनल डिजाइनमा के गर्छ भन्ने अन्योल बाँकी नै छ । 

त्यसैले कलंकी–गोंगबु–बसुन्धरा खण्डमा पनि पुरानै त्रुटि दोहोरिने जोखिम छ । पछि सरकारले चीनले बनाइसकेको सडक भत्काएर नयाँ संरचना थप्नुपर्ने दिन दोहोरिन पनि सक्छ । 

०००

अहिले त इन्जिनियर पृष्ठभूमिकै प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री छन् । उनीहरु शहरी सडकबारे राम्रो जानकार समेत छन् ।

विगतमा न्युरोडमा सडक पेटी विस्तार गर्न खोज्दा संघीय सरकारले नदिएपछि बालेनले चक्रपथको फोहोर सडक विभागको गेटमा खसालेका थिए । त्यसैले उनी सहरी सडकबारे सचेत नै छन् । भौतिक पूर्वाधारमन्त्री त बालेन मेयर हुँदा पूर्वाधार सल्लाहकार थिए । 

त्यसैले उनीहरुले चक्रपथको विस्तारित खण्डलाई शहरी सडक बनाउन पहल गर्छन् कि हाइवे ? त्यो हेर्न बाँकी छ । 

यसैपनि विगतमा चक्रपथको विषयलाई लिएर बालेनले चीनमाथि अपमानपूर्ण व्यवहार देखाएका थिए । भलै उनको नियत, सडक छिटो बनोस् भन्ने नै थियो । 

अब चीनले निर्माणको समझदारी गरिसकेको छ, अबको सरकारले कूटनीतिक रुपमै पहल गरेर कित छिटो यो सडक विस्तार गरिसक्ला भन्ने कुरा हेर्न बाँकी छ । 

यो सडक खण्डलाई लिएर बालेनसँग धमिलिएको सम्बन्धलाई चीनले यही सडकलाई आधुनिक, सुरक्षित, पैदल यात्रु तथा साइकल यात्रु मैत्री बनाएर संग्लो बनाउन पनि सक्छ । अब बालेन सरकारले गर्ने कूटनीतिक पहलमै यी सबै कुरा निर्भर रहनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

रवीन्द्र घिमिरे नेपाल शो डटकमका पत्रकार हुन् । 

थप एक्सप्लेनर भिडियो