नेभिगेशन
एक्सप्लेनर भिडियो

दल बदलु उम्मेदवारको बोलवाला भएको एउटा क्षेत्र

चुनावका बेला दल बदल्ने चलन नयाँ होइन । एउटा पार्टीबाट राजनीति गर्‍यो, चुनावका बेला टिकट पाइएन भने अर्को पार्टीमा गइहाल्यो । टिकट पक्का गरेर पार्टी बदल्नेहरु पनि त्यत्तिकै हुन्छन् । 

यस्तो चलन नेपालका सबैतिर पाइन्छ, अलि धेरै चाहिँ तराई मधेशमा देखिन्छ । उनीहरुलाई पार्टी, त्यसको विचार भन्दा आफ्नो पद महत्वपूर्ण हुन्छ ।

आज हामी त्यस्तै एउटा चुनाव क्षेत्रको कुरा गर्छौं, जहाँ दल बदलुहरुको बाहुल्य छ । 

त्यो हो, कपिलवस्तु क्षेत्र नम्बर २ । 

०००

कपिलवस्तु–२ मा बुद्धभूमि नगरपालिका र यशोधरा गाउँपालिकाको पुरै भाग पर्छ । अनि महाराजगञ्ज नगरपालिकाको ११ मध्ये ८ वटा वडा र कपिलवस्तु नगरपालिकाको १२ मध्ये ७ वटा वडा पर्छ । यो क्षेत्रमा यो चुनावमा कुल मतदाता १ लाख ३० हजार २०२ छन् । यो संख्या २०७९ को चुनावमा भन्दा ८ हजार ५२६ बढी हो । 

सात वटा चुनाव हेर्ने हो भने यहाँबाट कांग्रेस, राप्रपा, तमलोपा, एमालेका मात्र होइन, स्वतन्त्र उम्मेदवार पनि चुनिएका छन् । तर यो पटक रास्वपा पनि चुनावी मैदानमा छ र, उसले चुनावको मुखमा कांग्रेसबाट तानेर उम्मेदवार बनेका छन् ।

सुरुमा उनकै कुरा गरौं । 

चुनावको मुखमा कांग्रेस छाडेर रास्वपा उम्मेदवार बन्ने नेता हुन्, नेपाल प्रहरीका पूर्व एसएसपी बिक्रम सिंह थापा । 

प्रहरी सेवामा हुँदा थापाको छवि हक्की अफिसरको थियो । काठमाडौंको प्रहरी प्रमुख हुँदा कार्यकक्षमा ‘म बाघको डमरु हुँ, सिनो खाने कुकुर होइन’ लेखेर चर्चामा आएका थिए । प्रहरी सेवाबाट अवकाश पाएपछि ८ वर्षदेखि कांग्रेसको राजनीतिमा सक्रिय थिए । कांग्रेसको लुम्बिनी प्रदेश समितिको सदस्यसम्म थिए ।

२०७९ मा कपिलवस्तु–२ (क) बाट प्रदेशसभा सदस्यमा उम्मेदवार पनि बने, तर चुनावमा हारे पराजित भए । गएको साउनमा प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनले उनलाई प्रदेश समितिबाट हटाइदिए । उनलाई हटाएको बिरोधमा कपिलवस्तुमा उनका समर्थकले कांग्रेस कार्यालयमा तोडफोड समेत गरेका थिए । 

प्रदेश समितिबाट कारबाहीमा परे पनि उनले पार्टी छाडेका थिएनन् । पार्टीमा युवा पुस्तामाझ लोकप्रिय थिए, कपिलवस्तुमा संगठन विस्तारमा लागेका थिए । कांग्रेसमा विशेष महाधिवेशनबाट गगन थापाहरु नेतृत्वमा आएपछि उनी कपिलवस्तु–२ मा उठ्न चाहन्थे, तर टिकट नपाएपछि रास्वपा प्रवेश गरेर उम्मेदवार बने । 

चुनावको मुखमा दल बदल्ने अर्का उम्मेदवार हुन्, बृजेशकुमार गुप्ता । उनलाई त ऐनमौकामा दल दलेर संसद बन्न चुतर खेलाडी भन्दा पनि फरक पर्दैन । 

राप्रपाबाट राजनीति सुरु गरेका उनी मधेश केन्द्रित दल हुँदै एमाले पुगेका थिए, गत पुसमा एमाले पनि छाडे । अनि नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका छन् । 

गुप्ता २०५६ सालको संसदीय चुनावमा कपिलवस्तु २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित भएका थिए । २०६४ सालको संविधानसभामा कपिलवस्तु–३ मा तराइ मधेश लोकतान्त्रिक पार्टीबाट निर्वाचित भए ।  २०७० सालको संविधानसभा चुनावमा तमलोपा सहितका दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भए । 

त २०७४ सालको निर्वाचन अगाडि उनले राजपा छाडे । गुप्ता, हृदयेश त्रिपाठीसहित ५ जना नेताले सूर्य चिह्नबाट चुनाव लड्ने भनेर एमालेसँग सहमति गरे । 

एमाले–माओवादी गठबन्धन भएकाले गुप्ताले चुनाव पनि जिते । चुनाव जितेपछि उनले एमालेमा बस्ने निर्णय गरे । एमालेले पनि उनलाई केन्द्रीय सदस्य बनायो ।

२०७९ सालको चुनावमा एमालेले टिकट पनि दियो, तर चुनाव जित्न सकेनन् । माओवादी सहितका दलको समर्थन पाएका कांग्रेस नेता सुरेन्द्रराज आचार्य ३९ हजार १४ मत ल्याएर निर्वाचित भए । गुप्ता ३८ हजार ६९७ मत ल्याएर दोस्रो भए । 

त्यसयताका ३ वर्ष उनी एमालेमै बसे । तर फागुन २१ को चुनावको मनोनयन दर्ताभन्दा अगाडि मात्र उनी नेपाली कम्युनिस्ट पार्टीमा गए । उनले सहजै टिकट पनि पाए । 

एमालेले चाहिँ दृर्घनारायण पाण्डेलाई उम्मेदवार बनाएको छ । उनी पनि अवसरका लागि दल बदल्न खप्सिस नेता हुन् । 

उनी २०७४ सालमा एमालेको तर्फबाट कपिलवस्तु २ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । 

तर २०७७ पुुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि एमाले र माओवादी मिलेर बनेको तत्कालिन नेपाल कम्युनिस्ट पार्टीमा विभाजन आयो । केन्द्रसँगै प्रदेशहरुमा पनि सरकार बनाउने र भत्काउने खेल सुरु भयो । 

एमालेका प्रदेश सरकारहरु संकटमा परे । 

लुम्बिनीमा एमालेका शंकर पोखरेल मुख्यमन्त्री थिए । पोखरेल साना दलहरुको समर्थन लिएर सरकार जोगाउन चाहन्थे । तत्कालिन कांग्रेस–माओवादी सहितका दलहरु पोखरेल सरकार गिराउन लागे । त्यही बेला आश्चर्यजनक रुपमा एमालेबाट निर्वाचित दृर्घनारायण पाण्डेसहित ४ जना प्रदेशसभा सदस्यले राजीनामा दिए ।

एमालेकै प्रदेश सांसदले राजीनामा दिएपछि शंकर पोखरेलले बहुमत सिद्ध गर्न सकेनन्, उनले राजीनामा दिए । शंकर पोखरेल सरकार ढालेर कांग्रेस–माओवादी गठबन्धनलाई साथ दिए वापत उनले राष्ट्रियसभा सदस्यको पुरस्कार पाए । 

राष्ट्रियसभा सदस्यको उपनिर्वाचन हुँदा कांग्रेसले लुम्बिनी प्रदेशबाट उम्मेदवार बनायो । गठबन्धन भएकाले चुनाव जिते । तर राष्ट्रियसभा सदस्यको कार्यकाल पूरा गरेपछि २०७९ सालमा उनी फेरि एमालेमै फर्किए र यसपटक टिकट पाए । 

तीन दलबदलु उम्मेदवारसँग प्रतिस्पर्धा गर्न कांग्रेसले चाहिँ निवर्तमान सांसद सुरेन्द्रराज आचार्यलाई उठाएको छ ।

उनी कांग्रेसको कपिलवस्तु जिल्लाका पूर्वसभापति र लुम्बिनी प्रदेश समितिका महामन्त्री हुन् । राष्ट्रपति रामचन्द्र पौडेल निकटका मानिएका उनी प्रचण्ड सरकारमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री समेत बनेका थिए ।

०००० 

कपिलबस्तु क्षेत्र नम्बर २ मा २०७९ को चुनावी नजिता हेर्ने हो भने कांग्रेसले जितेको हो ।

तर त्यसबेला कांग्रेसले माओवादी सहितका ५ दलसँग गठबन्धन गरेको थियो । एमालेले जसपा नेपालसँग तालमेल गरेको थियो । अनि रास्वपाले उम्मेदवारी नै दिएको थिएन । 

समानुपातिक प्रणालीतर्फ कांग्रेसले ३१ हजार ३२५ र एमालेले ३० हजार २८७ मत पाएका थिए । जनता समाजवादी पार्टीले ५ हजार ६११ र राष्ट्रिय स्वतन्त्र पार्टीले ४ हजार २९९ मत पाएका थिए । माओवादीले १ हजार २२४ मत मात्र पाएको थियो ।

समानुपातिक मत हेर्दा मुख्य प्रतिस्पर्धा कांग्रेस र एमाले हुनसक्छ भन्ने आंकलन गर्न सकिन्छ । 

तर  कांग्रेस छाडेर रास्वपाबाट उम्मेदवार बनेका विक्रम थापा, अनि एमाले छाडेर नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका वृजेशुकमार गुप्ताले कति भोट काट्छ भन्ने गाह्रो छ । त्यसमाथि गुप्ता व्यक्तिगत रुपमा क्षेत्रमा पकड राख्ने नेता हुन् । अन्यत्र जस्तै यहाँ पनि रास्वपाको प्रभाव विस्तार भएको छ । 

यो क्षेत्रमा मताधार भएको पार्टी मधेश केन्द्रित दल जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी हुन् । दुई दल एकीकरण भएर एउटै भएको छ र, प्रतिस्पर्धामा आउनसक्ने देखिएको छ ।

जसपाले रामनिवास यादवलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले विष्णुप्रसाद भण्डारीलाई उम्मेदवार बनाएको छ । यो क्षेत्रबाट विभिन्न दल र स्वतन्त्र गरी कुल २८ उम्मेदवार छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो