नेभिगेशन
एक्सप्लेनर भिडियो

ठूलो संकटबाट जोगियो नेपाली अर्थतन्त्र

राष्ट्रिय तथ्यांक कार्यालयले साउन, भदौ र असोजमा आर्थिक वृद्धिदर ३.०२ प्रतिशत भयो भनेको छ । 

भदौ २३ र २४ मा सरकारप्रतिको आक्रोश र निराशा विष्फोट भयो । भदौ २३ गते काठमाडौं र देशका ठूला शहरमा युवाहरुले प्रदर्शन गरे ।

काठमाडौंको बानेश्वरमा प्रहरीको गोली लागेर २० जना भन्दा धेरै मारिए । भोलिपल्ट आगजनी, लुटपाट मच्चियो । देश सरकारविहीन हुने अवस्थामा समेत पुग्यो । 

यही कारण धेरैले सोचिरहेका थिए, नेपालको अर्थतन्त्र अब एकपटक धराशायी हुन्छ । अर्थतन्त्रमा आन्दोलनको नकारात्मक असर देखिन्छ ।

उद्योगी–व्यवसायीको मनोबल तत्कालै उठ्दैन । साना लगानीकर्ताहरु निरुत्साहित हुन्छन् । 

आन्दोलनपछि देशमा एक समय त्यस्तै अवस्था देखियो । नयाँ सरकार बनेर राजनीतिक अन्योल नघटेसम्म बजारमा शून्यता छायो । विभिन्न देशले नेपालबाट श्रमिक लैजान बन्द गरे । आर्थिक गतिविधि हुने क्षेत्रहरु चकमन्न हुन पुगे । 

आर्थिक वर्षको सुरुमै भएको यो आन्दोलनले आर्थिक गतिविधिलाई वर्षैभरि प्रभाव पार्ने अनुमान अर्थविददेखि सर्वसाधारणसम्मले गरेका थिए । 

विश्व बैंकले नेपालको आर्थिक वृद्धि ५.६ प्रतिशत रहने आफ्नो पुरानो अनुमान घटाएर २.१ मा प्रतिशतमा झारेको थियो । नेपाल यो वर्ष आर्थिक मन्दीमा नराम्रोसँग फस्ने डर देखाएकै थियो ।   

तर, साउन, भदौ र असोजको रिपोर्ट अनुमान भन्दा ठ्याक्कै उल्टो आएको छ । अर्थतन्त्रको तथ्यांक हरियो रंगमा देख्दा धेरै अच्चम्मित छन् । 

हो, जेनजी आन्दोलन नभएको भए नेपालको अर्थतन्त्रको वृद्धिदर पहिलो त्रैमासमा ३.०२ प्रतिशत भन्दा बढी हुन सक्थ्यो । तर, पनि रसातालमै पुग्नबाट कसरी सम्हालियो त नेपाल ? 

जेनजी आन्दोनपछि प्रधानमन्त्री सुशीला कार्कीले पूर्व अर्थसचिव रामेश्वर खनाललाई अर्थमन्त्री रोजिन् । ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयमा कुलमान घिसिङलाई ल्याइन् । उनीहरुले डे वानदेखि नै मुलुकमा देखिएको निराशा हटाउने प्रयास गरे । 

उनीहरुको कदमले आशा बढाउन थाल्यो । निजी क्षेत्रको मनोबल उकास्न उनीहरुले गरेको कामको केही न केही सकारात्मक प्रभाव अर्थतन्त्रमा पर्‍यो । मन्त्रीहरु भाटभटेनीदेखि व्यवसायीका घरसम्म पुगेर सरकार साथमा रहेको सन्देश दिए । राष्ट्र बैंकले प्रभावितका लागि केही सहुलियत नीतिहरु ल्यायो । भाटभटेनीका सञ्चालदेखि गाडी शोरुमले छिट्टै फेरि उठ्ने आँट र प्रतिवद्धता देखाए । 

आन्दोलन छोटो समय मात्रै भयो । त्यसको असर छिटो पर्‍यो, तर सरकार बन्नसाथ मान्छेहरु काममा फर्किए । धेरै कुरा छिटो नर्मल हुँदा मान्छेहरु आफ्नो गतिविधिमै लाग्न पाए ।  

आन्दोलन लगत्तै दशैं, तिहार छठमै बजार केही चलायमान भयो । अर्थतन्त्र लयमा फर्किन नसके पनि लामो समय आन्दोलनको ह्याङओभरमा बजार बसिरहेन ।  

पहिलो त्रैमासको रिपोर्ट हेर्नुभयो भने नेपालको अर्थतन्त्रलाई काँध हालेको छ, ऊर्जा र सेवा क्षेत्रले । अहिले नेपालको सबैभन्दा बलियो आर्थिक क्षेत्र विद्युत् र ग्यास अर्थात् ऊर्जा हो । यो क्षेत्रमा मात्रै नेपालले ३ महिनामा १४.९१ प्रतिशत वृद्धि हात पार्‍यो । के भयो त विद्युत क्षेत्रमा ? पछिल्ला वर्षहरुमा नेपालमा जलविद्युत् उत्पादन बढेको बढ्यै छ । 

कुल विद्युत उत्पादन क्षमता झण्डै ४ हजार मेगावाट पुगेको छ । असारसम्म यस्तो क्षमता ३५ सय ९१ मेगावाट मात्रै थियो । यसले के देखाउँछ भने नेपालका धेरै जलविद्युत आयोजनाहरु धामाधम निर्माण सम्पन्न हुँदैछन् । ती आयोजनाहरुले उत्पादन थालेपछि विद्युत व्यापार बढेको छ । 

नेपालमा जलविद्युत क्षेत्रमा मात्रै १३ खर्ब १० अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले गरेको अध्ययन अनुसार अहिलेसम्म ३४ हजार ७८६ मेगावाटका ९२३ वटा जलविद्युत् आयोजनामा कुनै न कुनै लगानी भइसकेको छ । 

सञ्चालनमा रहेका तथा निर्माणाधीन ३४७ आयोजनामा मात्रै १२ खर्ब ४३ अर्ब ९९ करोड रुपैयाँ लगानी भएको छ । यस्ता आयोजनाहरुले ७ हजार २५१ मेगावाट विद्युत् उत्पादन क्षमता राख्छन् । 

यसरी नेपालमा विद्युत उत्पादन र त्यसमा हुने लगानी मात्रै बढेको छैन, आन्तरिक खपत र निर्यात दुवैमा सुधार भइरहेको छ । पछिल्लो समयमा नेपालमा ग्रामीण विद्युतीकरण भएका क्षेत्रमा पनि विद्युत पुग्दैछ । विद्युतीय सवारी र चुल्होको प्रयोग बढेको छ । उद्योगहरुले प्लान्टको क्षमता बढाइरहेका छन् । यस्ता कारणले देशभित्र विद्युत खपतको दर बढिरहेको छ । 

अनि नेपालले साउनदेखि मंसिरसम्म भारतमा १८ अर्ब २६ करोड रुपैयाँको बिजुली पनि बेचिसकेको छ । वर्षायाममा बढी हुने बिजुली भारत निर्यात गरेर नेपालले कमाइरहेको पैसाले पनि आर्थिक वृद्धिदर उकास्न मद्दत गरेको हो । 

यही कारण हो, अब १० वर्षअघि संकट भोगिरहेको ऊर्जा क्षेत्र अहिले नेपालको नयाँ आर्थिक मेरुदण्ड बन्दैछ । किनकी अरु क्षेत्रको वृद्धिदर सुस्त छ । ऊर्जा क्षेत्रले भने अरुभन्दा निकै राम्रो गरिरहेकाले आर्थिक वृद्धिमा यो क्षेत्र मूल खम्बा बन्ने अवस्थामा पुग्यो । 

आर्थिक वृद्धिदर सम्हालिन वित्तीय तथा बीमा क्षेत्रले पनि राम्रो साथ दिएको छ । गत साउनयताका तीन महिनामा वित्तीय तथा बीमा क्षेत्रमा ७.०७ प्रतिशत वृद्धिदर हासिल भएको छ । यसको मतलब हो, बैंकमा कर्जा प्रवाह सुस्त भएपनि बैंकिङ गतिविधि विस्तार भइरहेको छ । 

बैंकको ऋण लगानीको विस्तारले अर्थतन्त्रमा बीमा पहुँच बढ्दै गएको छ । अहिले बैंकहरुमा १२ खर्ब लगानीयोग्य पूँजी थुप्रिएको छ । कर्जा लगानी १.९ प्रतिशतले मात्रै बढेको छ । तर, पनि आर्थिक वृद्धिमा बैंकिङ र बीमा क्षेत्रले राम्रै योगदान गरिरहेको छ । 

पूरा समाचार भिडियोमा हेर्नुहोस्

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो