सुदनको इन्ट्रीले माओवादी गढमा फेरिएको हिसाब किताब
गोरखा–१ कुनै समय कांग्रेस नेता चिरञ्जीवि वाग्लेको चुनाव क्षेत्र थियो । २०५६ सालको चुनाव जितेका उनी सञ्चारमन्त्रीसम्म भए । तर भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि राजनीतिमा माथि उठ्नै सकेनन् ।
२०७० सालमा तत्कालिन माओवादी नेता डा. बाबुराम भट्टराई निर्वाचित भए, त्यसपछि उनी पनि पार्टी छाडेर गइहाले ।
यो क्षेत्रबाट २०६४ मा जितेकी माओवादीकी पार्वती थापामगर, २०७४ मा जितेका हरिराज अधिकारी र २०७९ मा जितेका कांग्रेसका राजेन्द्र बजगाईंले राष्ट्रिय नेताको छवि बनाउन सकेनन् ।
यसपटक हुन लागेको चुनावमा पुरानो नेकपा माओवादी र अहिलेको नेपाली कम्युनिस्ट पार्टीबाट हरिराज अधिकारी नै उम्मेदवार बनेका छन् ।
नेपाली कांग्रेसले प्रेमकुमार खत्री र नेकपा एमालेले रामचन्द्र लामिछानेलाई उम्मेदवार बनाएको छ । अनि राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुदन गुरुङ उम्मेदवार बनेका छन् ।
अन्य उम्मेदवारहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केदारमणि खनाल, उज्यालो नेपाल पार्टीबाट रामकाजी रानामगर, नेकपा माओवादीबाट विष्णु रिजाल, नेशनल रिपब्लिकबाट आकाश राना मगर, नेपाल मजदुर किसान पार्टीबाट मनुकुमारी श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेसनबाट देवबहादुर थापा र संयुक्त नागरिक पार्टीबाट जीतबहादुर घले छन् ।
११ जना उम्मेदवार भए पनि यो क्षेत्रमा मुख्य प्रतिस्पर्धी शक्ति नेकपा र कांग्रेस नै हो । तर यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी थपिएको छ ।
गोरखा माओवादीको प्रभाव क्षेत्र भएको जिल्ला हो । गोरखा १ मा २०६४ पछि माओवादीले ३ पटक र माओवादीको समर्थनमा कांग्रेसले एक पटक चुनाव जितेको छ ।
२०७९ सालको चुनावदेखि राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ शक्तिको रुपमा देखिएको छ । यो ३ वर्षमा राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै संगठन बनाएको छ र परम्परागत राजनीतिक शक्तिप्रतिको वितृष्णा पनि उत्तिकै छ । घण्टीप्रतिको मतदाताको आकर्षण परम्परागत राजनीतिक शक्तिका लागि टाउको दुखाइ बनेको छ ।
यसपटक रास्वपाको उम्मेदवार बनेका छन्, सुदन गुरुङ । जो रास्वपाको कुनै जिम्मेवारी पाएका नेता होइनन् । जिल्लाका रास्वपाकै नेता कार्यकर्ताले पनि सामाजिक सञ्जालमा देखे–सुनेको नाम हो ।
गोरखा–१ मा २०७९ को चुनावमा कांग्रेसका राजेन्द्र बजगाईंले ३३ हजार ४२८ मत ल्याएर निर्वाचित हुँदा एमालेका रामशरण बस्नेतले १६ हजार ७८५ मत पाएका थिए । रास्वपाका उम्मेदवार सुवर्ण रोकाहाले ४ हजार ८९२ मत पाएका थिए । रास्वपाका उम्मेदवार रोकाहा पार्टीको जिल्ला अध्यक्ष हुन् ।
उनका अनुसार त्यतिबेला पार्टीको संगठन नै बनेको थिएन, तैपनि त्यति मत आउनु राम्रो कुरा थियो । त्यसयताका ३ वर्षमा गाउँ गाउँसम्म संगठन विस्तार भएको छ । त्यसैले घण्टीले जित्ने सम्भावना छ ।
तर त्यहाँ समस्या सुदन गुरुङ आफैं हुन् । सुदनको नाम जिल्लाबाट उम्मेदवार सिफारिस भएको थिएन । यसपटक जिल्ला अध्यक्ष सुवर्ण आफैं उम्मेदवारको दाबेदार थिए । तर अन्तिममा टिकट सुदनले पाएपछि उनी असन्तुष्ट छन् ।
सुदन गुरुङले गोरखा १ बाट उम्मेदवारी घोषणा गर्दासम्म पनि उनले गोरखामा रास्वपाबाट आफूले टिकट पाउने झिनो आशा राखेका थिए । तर अन्तिममा सुदनले नै टिकट पाए ।
सुदन गुरुङले चुनावी अभियान सञ्चालन गर्दा पार्टी कमिटीलाई धेरै महत्व नदिएको पनि रास्वपा नेता कार्यकर्ताहरु बताउँछन् ।
जेनजी बिद्रोह अगाडिसम्म सुदन गुरुङ राजनीतिमा सुनिएको नाम होइन । उनी हामी नेपाल नामको संस्थाबाट विपद क्षेत्रमा उद्दार तथा राहतको काम गर्दै आएका थिए ।
हामी नेपाल संस्था भन्दा अगाडि उनी नाइट क्लबहरुमा डिजेको काम गर्थे । जेनजी आन्दोलनपछि भने सरकार गठनका लागि नेपाली सेना र राष्ट्रपतिसँग समन्वय गर्ने काममा उनी अगाडि सरे ।
सुरुमा त उनी को हुन् भन्नेमा धेरैको आशंका थियो । उनको नागरिकताका विषयमा पनि पटक पटक प्रश्न उठ्यो ।
यद्यपि उनको नागरिकता गोरखाकै छ, तर गोरखामा हुर्किएका होइनन् । सुदन गुरुङको पुर्ख्यौली थलो गोरखाकै चुमनुब्री गाउँपालिका हो ।
जेनजी जनआन्दोलनपछि उनी एक पटक आफ्नो पुख्र्यौली थलोमा पुगेका थिए । तर गोरखाले चिनेको मान्छे उनी होइनन् ।
सुदनको विषयमा नेपाली समाजमा जस्तै गोरखामा पनि मिश्रित धारणा छ । राजनीतिमा चासो राख्ने र शिक्षित वर्गले सुदन गुरुङप्रति त्यति भरोसा गर्न सकेको देखिँदैन ।
उनका बोली र व्यवहारलाई नजिकबाट हेर्नेहरुले जनप्रतिनिधिका रुपमा उनलाई अनुमोदन गर्ने कि नगर्ने संशय राखेको देखिन्छ । सुदनको पुख्र्यौली थलोमा उनीप्रति सहानुभूति हुन सक्छ, तर गोरखाको उत्तरी क्षेत्रमा पर्ने त्यो गाउँमा मतदाता ज्यादै कम छन् । त्यहाँ पनि नेपाली कम्युनिस्ट पार्टीको प्रभाव छ ।
बाक्लो बसोबास रहेको गोरखा नगरपालिका, गण्डकी गाउँपालिका र शहीद लखन गाउँपालिकामा नेकपा र कांग्रेसको जनमत बलियो छ ।
अरु उम्मेदवार र सुदनबीचको फरक हो, जेजस्तो भए पनि उनको राष्ट्रिय छवि छ । अरु नेताहरुको जिल्लास्तरको छवि छ । सुदनले चाहेका बेला प्रधानमन्त्री र मन्त्रीहरुलाई भेट्न सक्छन्, हाम्रो काम गराउन सक्छन् भन्ने सोच्ने मतदाता पनि हुन सक्छन् ।
गोरखा–१ मा ३ वर्षअघिको मत हेर्ने हो भने नेपाली कम्युनिस्ट पार्टी बलियो छ । प्रत्यक्षतर्फ नेकपाले कांग्रेसलाई समर्थन गरेकाले समानुपातिकको भोट हेरौं ।
जहाँ नेकपाले १८ हजार ४७१, नेपाली कांग्रेसले १५ हजार २७१, नेकपा एमालेले ११ हजार ८९३ र राष्ट्रिय स्वतन्त्र पार्टीले ७ हजार २४६ मत पाएको थियो । यसपटक कुनै दल पनि चुनावी तालमेलमा छैनन्, सबै प्रतिस्पर्धामा भएकाले दलहरुले आफ्नो पुरानो भोट जोगाउने हो भने नेकपालाई सहज हुन सक्छ । तर रास्वपाको संगठन विस्तार हुँदै गर्दा त्यसको क्षति पनि सबैभन्दा ठूलो नेकपालाई नै छ ।
गोरखा–१ मा गोरखा नगरपालिकाको आधा भाग, शहीद लखन गाउँपालिका, गण्डकी गाउँपालिका, भीमसेन गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिका पर्छ ।
२०७९ सालको स्थानीय तह चुनावमा आरुघाटबाहेक सबै स्थानीय तहमा नेपाली कम्युनिस्ट पार्टीले जित हासिल गरेको थियो । आरुघाटमा नेपाली कांग्रेसले जितेको छ ।
स्थानीय तहमा जिते पनि त्यसको लाभ नेपाली कम्युनिस्ट पार्टीले लिन सक्छ वा सक्दैन यसै भन्न सकिन्न ।
किनकी स्थानीय तहको नेतृत्वले ३ वर्षमा गरेको कामले नेपाली कम्युनिस्ट पार्टीले नागरिकलाई सन्तुष्ट बनाएको छ वा उनीहरु मत बदल्ने निश्कर्षमा पुगेका छन् यसै भन्न सकिँदैन । माओवादी नेताहरु भने अरु दल भन्दा जनमतमा धेरै नै अगाडि रहेको र आफूहरुले जितेको स्थानीय तहमा राम्रो काम गरेकाले जनमत नघट्ने दाबी गर्छन् ।
नेकपाका हरिराज अधिकारी माओवादी पृष्ठभूमिका नेता हुन् । उनी माओवादीको पोलिट्ब्यूरो सदस्यसम्म भए । सशस्त्र युद्धमा परिवारका सदस्य गुमाएका, सादगी जीवनशैलीका भएका कारण माओवादीभित्र उनीप्रति सम्मान छ । तर २०७४ सालमा जितेर जाँदा पनि उनले त्यो ठाउँका लागि धेरै काम गर्न नसकेको गुनासो गर्नेहरु पनि छन् ।
गोरखा–१ २०६४ साल अगाडिसम्म कांग्रेसले चुनाव जित्दै आएको क्षेत्र हो । २०६४ सालपछि मात्र उसले यो क्षेत्रमा आफ्नो वर्चश्व गुमाएको हो । यो क्षेत्रमा कांग्रेसले उम्मेदवार बनाएका प्रेमकुमार खत्री पर्यटन व्यवसायी हुन् ।
गोरखामा उनलाई राजनीतिकर्मी भन्दा पनि समाजसेवीका रुपमा चिन्छन् । उनको सम्भव नेपाल नामक गैरसरकारी संस्थाले गोरखाका सबै स्थानीय तहलाई एक–एक वटा एम्बुलेन्स दिएको छ । जिल्लाका विभिन्न विद्यालयमा भवन बनाइदिएको छ ।
विद्यार्थीलाई छात्रवृत्ति, पोशाक र शैक्षिक सामग्री वितरण गर्दै आएको छ । उनले गोरखा–१ को सबैजसो गाउँका विद्यालय र सामाजिक संघसंस्थालाई कुनै न कुनै सहयोग गरेकै छन् ।
उनी कांग्रेसको १२ औं महाधिवेशनदेखि नै कांग्रेसको महाधिवेशन प्रतिनिधि रहँदै आएका छन् । भर्खर ४२ वर्ष भएका युवा उम्मेदवार खत्रीको समाजसेवी छविका कारण पार्टी बाहिरको भोट पनि तान्न सकिने कांग्रेसको विश्वास छ ।
नेकपा एमालेले भने सम्भवत यो क्षेत्रमा जित निकाल्न कठिन हुने देखेको छ । यो क्षेत्रबाट अहिलेसम्म एमालेले कुनै पनि चुनाव जितेको छैन । २०७९ सालमा भन्दा पार्टीको अवस्था सुधार्न एमालेले कुनै त्यस्तो काम गरेको छैन ।
एमाले उम्मेदवार आरसी लामिछाने विद्यार्थी राजनीतिमा चिनिएको नाम हो । ४४ वर्षका उनी गत मंसिरमा भएको महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्य र गोरखाको चुनावी कमाण्डर बनेका छन् । जबकी गोरखाको भूगोलमा उनी आफैं नयाँ हुन् ।
यो क्षेत्रमा डा. बाबुराम भट्टराईंको प्रगतिशील लोकतान्त्रिक पार्टीको पनि जनमत राम्रै छ । बाबुराम भट्टराई गोरखाकै नेता भएकाले पार्टी विभाजन हुँदा माओवादीका धेरै नेता कार्यकर्ता बाबुरामसँगै गएका थिए ।
प्रलोपाले गोरखा–१ मा पनि उम्मेदवारी फिर्ता लिएको छ, तर कसलाई समर्थन गर्ने खुलाएको छैन । रास्वपाले भने प्रलोपाको मत आफूले पाउने अपेक्षा गरेको छ ।
नेकपा र कांग्रेसले सुदनको व्यक्तिगत छविका कारण धेरै मतदाताले घण्टी चिह्न नरोज्ने अनुमान गरेका छन् । त्यसैले संगठनको भोट जोगिएर नेकपाले आफैं जित्ने दाबी गरेको छ । कांग्रेसले उम्मेदवारको सामाजिक छविका कारण आफूले चुनाव जित्ने दाबी गरेको छ ।
रास्वपाबाट सुदन गुरुङले चुनाव जित्छन् कि जित्दैनन् अहिले नै भन्न गाह्रो छ । आफ्नै अपरिपक्व व्यवहार, गोरखासँग गाढा सम्बन्ध नहुनु, रास्वपाभित्रै असन्तुष्टि र प्रतिस्पर्धी दलका उम्मेदवार पनि कमजोर नहुनु सुदनको अप्ठ्यारा हुन् ।
यद्यपि राष्ट्रिय राजनीति, मतदाताको चाहनामा आएको परिवर्तन, उम्मेदवारहरुको चुनावी अभियान जस्ता कुराले पनि चुनावी नतिजालाई प्रभावित पार्नेछन् ।
चितवन ३ मा रेनु कि सोविता ?
दल बदलु उम्मेदवारको बोलवाला भएको एउटा क्षेत्र
चितवन २ मा रविलाई पहिलाजस्तो छैन सजिलो
बहालवाला प्रधानमन्त्री हारेको त्यो चुनाव






