'म भुइँमान्छेको कथा लेख्छु, तर राजनीतिसँग ठोक्किहाल्छ'
भारतीय नेपाली भाषी साहित्यकार छुदेन काविमो २०८१ सालको मदन पुरस्कार लिन काठमाडौं आएका छन् । उनको कृति ‘उरमाल’का लागि यस वर्षको मदन पुरस्कार उनलाई प्रदान गरिएको थियो ।
३१ वर्षपछि कुनै भारतीय नेपाली भाषीले लेखेको कृतिले नेपालको साहित्य जगतमा प्रतिष्ठित मदन पुरस्कार पायो ।
फरक देश भए पनि दार्जिलिङ, सिलिगुढीजस्ता नेपालीभाषीको बसोबास रहेको भारतीय भूमिसँग नेपालको धेरै कुरा मिल्छ । त्यहाँका बासिन्दालाई नेपालको र नेपालीलाई त्यस क्षेत्रका साना साना कुरामा पनि चासो हुन्छ । नेपालसँगको उनीहरुको आउजाउ पनि बाक्लो छ ।
यसै सन्दर्भमा दार्जिलिङ र नेपालको सम्बन्धका विविध आयामबारे लेखक छुदेन काविमोसँग नेपाल शोका विनोद ढकालले गरेको कुराकानी :
भारतीय नेपालीभाषी साहित्यकारले मदन पुरस्कार पाउनुको महत्व कति छ ?
भारतमा नेपाली साहित्य लेख्ने धेरै छन् । विश्वमा छरिएका नेपाली भाषीहरु माझ मदन पुरस्कारको आफ्नै गरिमा छ । त्यसैले त्यो पुरस्कार पाउनुको ठूलो महत्व छ । नेपाली भाषी भारतीय साहित्यकारले मदन पुरस्कार नपाएको लामो समय भएको थियो (यसअघि २०५१ सालमा दार्जिलिङका साहित्यकार फादर विलियम वर्कले मदन पुरस्कार जितेका थिए) यस पटक त्यो अवसर मलाइ जुर्यो ।
भारतीय नेपाली भाषीमा मदन पुरस्कारको गरिमा कस्तो छ ?
भारतमा पनि साहित्य अकादमी पुरस्कार छ । १९९० सालसम्म त्यसको गरिमा राम्रो थियो । त्यो पुरस्कार पाउने किताब खोजी खोजी पढिन्थ्यो । तर पछिल्लो समय भने त्यसको छनोट विवादित भइरहन्थ्यो ।
भारतका पाठकले पनि यो वर्ष मदन पुरस्कार कसले पाउला भनेर हेरिरहन्छन् । सर्टलिस्टमा पर्दा पनि चासो हुने, मदन पुरस्कार पाएको किताब किन्न बिर्तामोडसम्म पनि आउने । त्यसमाथि यो पालि उताको किताबले जित्दा उत्साह र खुशीको माहोल भयो ।
पाठकमा मदन पुरस्कार जितेको किताब भनेपछि राम्रो हुन्छ भन्ने विश्वास छ । मलाइ लाग्छ पुरस्कारको सबैभन्दा ठूलो काम त्यही हो । कुनै पनि साहित्यिक पुरस्कार श्रष्टालाई सम्मान गर्न मात्र होइन, त्यसले पठन संस्कृति कत्तिको विकास गर्छ, त्यसको पनि महत्व हुन्छ । अवार्ड जितेको किताब पाठकले खोजेपछि मात्र त्यो पुरस्कार कति विश्वासयोग्य छ भन्ने थाहा हुन्छ । त्यो विश्वास मदन पुरस्कारसँग छ ।
तपाईंको यसअघिको उपन्यास ‘फातसुङ’ पनि मदन पुरस्कारको सर्टलिस्टमा परेको थियो । त्यसपछि प्रकाशित ‘उरमाल’ ले त मदन पुरस्कार नै जित्यो । व्यक्तिगत रुपमा तपाईंलाई चाहिँ मदन पुरस्कार जित्दा कस्तो अनुभूति भयो ?
यसअघि फातसुङको अंग्रेजी अनुवाद भारतको जेसीबी अवार्डको सर्ट लिस्टमा परेको थियो । तर उनीहरुले पहिले नै म्यासेज गरेर तपाईंको किताब सर्ट लिस्ट हुँदैछ भनेर जानकारी गराउँथे । तर मदन पुरस्कारको भने केही पनि थाहा नहुने ।
सर्टलिस्ट भएको पनि घोषणा गरेपछि मात्र थाहा हुने र पुरस्कार पाएको पनि घोषणापछि मात्र थाहा हुने । मदन पुरस्कार घोषणा कहिले हुँदैछ भन्ने मलाइ थाहा थिएन । त्यस दिन म सिलगुढीबाट महानन्दा नदीमा छेउमा साइकल चलाएर जाँदै थिए । ३–४ वटा कल आएछ । फाइन प्रिन्टका अजित सरले फोन गर्नुभएको रहेछ । तपाईंले मदन पुरस्कार जित्नुभयो भन्नुभयो । त्यसपछि फेसबुक हेरेपछि थाहा भयो, मदन पुरस्कार घोषणा भइसकेको रहेछ ।
भारतमा बसेर नेपाली साहित्य सिर्जना गर्नेहरु धेरै छन् । साहित्यमा मात्र नभई संगीत र चलचित्र क्षेत्रमा पनि धेरै छन् । पहिले भारतबाट नेपालमा आउजाउ धेरै थियो, यतै आएर बस्ने चलन पनि थियो । हिजोआज भारतको नेपालीभाषी स्रष्टाको नेपाल आउजाउ अलि कम भएको हो ?
१९६० को दशकमा र अझ त्यो भन्दा पनि अगाडिदेखि नेपालमा भारतबाट नेपालीभाषी श्रष्टाहरु आउने क्रम सुरु भएको थियो । हरिभक्त कटुवाल, पारिजात, अम्बर गुरुङ, गोपाल योञ्जनजस्ता श्रष्टाहरु नेपालमा आएर बस्नुभयो । उहाँहरुले नेपालको साहित्य र संगीत क्षेत्रमा धेरै योगदान दिनुभयो ।
१९८० को दशकमा दार्जिलिङमा आन्दोलन (मुभमेन्ट) भयो । त्यसले साहित्य, संगीत क्षेत्र पनि प्रभावित भयो । त्यसपछि नेपाल आउजाउ पनि कम भयो । तर पछिल्लो समय त्यो फेरि बढ्दैछ भन्ने लागेको छ ।
भारतीय नेपाली भाषी श्रष्टाको नेपाल आउजाउ बढेको छ । यहाँका किताबहरु उता पुगिरहेकै छ । धेरैवटा अनलाइन पोर्टलहरुले नेपालको किताब भारतको विभिन्न ठाउँमा पुर्याइरहेका छन् । यहाँ हिट भएको गीत उताको कमान, बस्तीमा बजिरहेका हुन्छन् । सिर्जना बलियो छ भने सीमानाले छेक्दैन ।

दार्जिलिङबाट श्रष्टाहरु मात्र होइन, पेशाकर्मी पनि नेपाल आउने गरेको पाइन्छ । तर हिजोआज अलि घटेको हो ?
हो, एक समय उताका धेरै मानिसहरु यहाँ आउँथे । ‘फातसुङ’ विमोचन हुँदा जो गेस्ट भएर आउनुभएको थियो, उहाँलाई दार्जिलिङको शिक्षकले पढाउनुभएको रहेछ । अहिले पनि मेरा केही साथीहरु यहाँ छन्, तर पहिले भन्दा संख्या केही पातलो छ होला ।
त्यसको कारण के होला, मानवीय सम्बन्धलाई भूगोलले छेकेको हो ?
त्यस क्षेत्रका मानिसहरुको नेपालसँगको विशिष्ट अवस्था के हो भने भाषा मिल्छ । कलकत्ता जाँदा बाहिर गएको फिल हुन्छ, काठमाडौं आउँदा हाम्रै ठाउँमा बसेको फिल हुन्छ ।
भाषाका कारण पनि सहज भएर कतिपय अवसर खोज्दै नेपाल आए होलान्, तर अहिले अवसरका लागि नेपालको विकल्प भेटियो होला । आखिर बसाइसराइ त नियमित चलिरहने प्रक्रिया हो । नेपालको सट्टा अरु ठाउँमा जान थाले होलान् ।
भारतीय नेपाली भाषीले नेपालको घटनाक्रमलाई कत्तिको चासो पूर्वक हेर्छन् ?
धेरै चासो हुन्छ । यहाँ केही घटना भयो भने उता थाहा भइहाल्छ । नेपालमा हालै भएको जेनजी मुभमेन्ट उताका गाउँ बस्तीका मानिसहरुले पनि थाहा पाए । अहिले मोवाइल फोनका कारण पनि धेरै सहज भएको छ ।
सामान्य मान्छेलाई पनि नेपालमा कुन नेताले के भन्यो, को पक्राउ पर्यो, (ऋषि) धमलाले कसरी हसाए भन्ने याद हुन्छ ।
नेपालमा बालेन शाह, हर्क साम्पाङहरुको काम गर्ने तरिका अलग भएर पनि होला । यहाँ हर्क साम्पाङले ढुंगा बोक्दा हाम्रोमा पनि हर्क साम्पाङ जस्तो नेता निस्किनुपर्छ भन्छन् । यहाँ जेनजी मुभमेन्ट हुँदा हाम्रोमा पनि जेनजीहरु आउनुपर्छ है भन्छन् ।
यस्ता मुभमेन्ट दक्षिण एसियाका श्रीलंका र बंगलादेशमा पनि भए । तर नेपालमा भाषाले गर्दा कनेक्सन भयो । मान्छेलाई गाली गरेको पनि बुझिने, किन गाली गरेको छ भन्ने पनि बुझिने । बंगलादेशमा भएको आन्दोलनको भिडियो हेर्दा भाषा नबुझेपछि के भएको छ थाहा नहुने, हेरे पनि मनोरञ्जनका रुपमा मात्र हेरिने ।
तपाईंले नेपालबारे कसरी थाहा पाउनुभयो ?
म बस्तीमा हुर्किँदा टेलिभिजन थिएन । गाउँमा कुनै कुनै घरमा मात्र रेडियो हुन्थ्यो, गाउँभरिका मान्छे रेडियो भएको घरमा झुम्मिन्थे ।
हाम्रो घरमा चाहिँ एउटा रेडियो थियो । म त्यसमा रेडियो नेपाल सुन्दै सुन्दै हुर्किएँ । रेडियोले मान्छेमा कल्पना गर्ने अवसर दिने रहेछ । टीभीमा मान्छे देखिएपछि सकिइहाल्यो, कुनै कल्पना आउँदैन ।
तर रेडियोमा कुनै नाटक सुन्दा, गीत सुन्दा, वा कुनै ठाउँबारे भन्दा त्यसबारे मान्छेको दिमागमा एउटा कल्पना बन्दो रहेछ । हामीलाई काठमाडौं भन्ने नाम सुन्दा कस्तो होला भन्ने लाग्थ्यो ।
आज बिहान हामी मर्निङ वाक जाँदा पुतलीसडकमा पुगेछौं । पुतलीसडक भन्ने ठाउँ मैले २–३ कक्षामा पढ्दा सुनेको थिएँ । त्यसरी मैले नेपालबारे थाहा पाएँ, तर आउने अवसर भने ‘फातसुङ’ प्रकाशनको सिलसिलामा सन् २०१८ मा मात्र जुर्यो ।
त्यतिबेला म एकदम नयाँ थिएँ । यहाँका मान्छेहरुलाई पनि मेरो नाम धेरै अनौठो लाग्थ्यो । मेरो निम्ति काठमाडौं नयाँ, अनि काठमाडौंको निम्ति म नयाँ । तर आउजाउ बढ्दै गएपछि धेरै मान्छे चिनजान भयो । त्यसैले मलाई काठमाडौं आउँदा बाहिर गएको अनुभव नै हुँदैन, यहाँ आएपछि रमाइलोसँग बितिहाल्छ ।
तपाईंले अहिलेसम्म ३ वटा कृति लेख्नुभयो, पहिलो कृति ‘१९८६’ कथासंग्रह नेपालको पाठकमाझ आइपुगेको छैन ...
त्यो किताब नेपाल आएको छैन । मैले आफ्नो लेखन यात्राको सुरुको दिनमा लेखेको, भारतमै प्रकाशन भयो, त्यहाँ मात्र सीमित छ ।
यस विषयमा मेरो प्रकाशक फाइन प्रिन्टका अजित बरालसँग कुरा भएको थियो । उहाँले पुनः प्रकाशन गर्ने कुरा गर्नुभएको छ । त्यो धेरै अगाडि लेखिएको हुनाले रिराइट गर्नुपर्ने छ । एकचोटी राम्रोसँग काम गरेर ल्याउने कि भन्ने छ । हेरौं काम गर्न कति भ्याइन्छ ?
त्यसपछिका दुबै पुस्तक ‘फातसुङ’ र ‘उरमाल’ नेपालमा धेरै रुचाइए । नेपाली पाठकले ती पुस्तक रुचाउनुको कारण के होला ?
साहित्य पढ्दा मान्छेले सीमाना छुट्याएर पढ्दैन । हामी रसियाको कथा, चाइनाका कथा पढिरहेका हुन्छौं, त्यो कथासँग आफूलाई रिलेट गरिरहेका हुन्छौं । राम्रो किताब त्यो हो जहाँ आफैं हराउन पाइयोस्, वा आफैंलाई भेटाउन पाइयोस् । मलाई लाग्छ मेरो किताबमा केही केही यस्ता कुरा भेटिए होला जो पाठकसँग जोडियो ।
किनभने मान्छेको दुःख, संघर्ष, पीडा भनेको त भारतमा पनि, नेपालमा पनि एउटै हो । त्यहाँको संघर्ष यहाँको मान्छेले फिल गर्न सक्छ, यहाँको दुःख हामीले उता फिल गर्न सक्छौं । यस्तै केही कुरा मिल्यो होला । वा केही पनि नमिलेको भए पनि पाठकले नयाँ स्वाद पायो होला, त्यसले पनि फाइदा नै भयो ।
‘फातसुङ’ आएपछि नेपाली पाठकले धेरै माया दिए । सायद भारतको धेरै ठाउँमा पनि म नेपालबाटै पुस्तक पुगेपछि मात्र चिनिएँ ।
‘फातसुङ’ तपाईंले गोर्खाल्याण्ड आन्दोलनमाथि लेख्नुभयो । आन्दोलनमै लागेकाहरु पात्रका रुपमा छन् । ‘उरमाल’ मा चिया कमानका मजदुरको कथा लेख्नुभएको छ, तर ती सामान्य मजदुर पनि राजनीतिमा जोडिएका छन् । तपाईंका कृतिहरु आख्यान मात्र होइन, नेपाली भाषीको बसोबास रहेको क्षेत्रको यथार्थ पनि हो । त्यहाँ सामान्य मान्छेलाई राजनीतिले कसरी प्रभावित गर्छ ?
मैले लेख्दा समाजसँग जोडिएको कुरा लेख्ने हो, आम मान्छे जो समाजमा सबैभन्दा मुनि छ, उनीहरुको कथा लेख्ने हो । तर उनीहरुको जीवनमा कहिँ न कहिँ गएर राजनीति ठोक्किहाल्ने रहेछ । किनभने हरेक कुरामा लगाम त राजनीतिले लगाइदिएको हुन्छ । मैले राजनीति खोजेर लेखेको होइन, पात्र पछ्याउँदा पछ्याउँदै राजनीतिसँग गएर ठोक्किहाल्छ ।
उरमालमा त डुबर्सको गोर्खाल्याण्ड मुभमेन्टको कथा मैले धेरै फ्याँक्न ट्राइ गरेको हुँ । किनभने फातसुङ अलरेडी त्यही विषयमाथिको किताब भयो । मान्छेलाई एउटै कन्टेन्ट आइबस्यो भने गाह्रो हुन्छ भनेर कमसेकम ३ च्याप्टर फ्याँकेको थिएँ । र पनि केही केही त राख्नुपरिहाल्यो, किनकी उनीहरुको जीवन र संघर्ष त्यहीसँग जोडिएको छ ।
भारतमा बसेर नेपालको साहित्यिक कृतिहरु हेर्दा कस्तो देखिन्छ ?
१९६० को दशकसम्म साहित्यमा नेपाल भन्दा दार्जिलिङ धेरै बलियो थियो । रुपनारायण श्रेष्ठ, शिवकुमार राई, इन्द्रबहादुर राई, प्रकाश कोविदजस्ता लेखकका कारण दार्जिलिङ बलियो थियो । अझ नेपाल भन्दा पनि अगाडि थियो कि भन्ने फिल हुन्छ । बालकृष्ण समले भनेका थिए भनिन्छ, ‘दार्जिलिङले आज जे सोच्छ नेपालले भोलि सोच्छ ।’ तर पछिल्लो समय राजनीतिक घटनाक्रमले पनि होला दार्जिलिङ पछाडि पर्यो । त्यसको केही कारण देखिन्छ ।
पहिलो, नेपाल एउटा देश हो, त्यसको स्वभाविक फाइदा भइहाल्यो ।
दोस्रो, यहाँका पब्लिकेसन हाउसहरु बलियो गररी आए, उनीहरुले किताबमा लगानी गरे । लेखकमा पनि अझै राम्रो कसरी लेख्ने भनेर प्रतिपर्धा भयो ।
जनयुद्धकालपछि हेर्यो भने नेपालको आख्यान र साहित्य दार्जिलिङ भन्दा अगाडि गयो । हामीले यहाँको कृति पढेपछि नेपालमा यस्तो लेखिँदोरहेछ हामीले पनि लेख्नुपर्छ भन्ने समय आयो ।
नेपाली साहित्यकारले कस्ता कृति लेखिरहेका छन् त ?
नेपालमा जनयुद्धको विषय धेरै लेखियो । भारतमा भने गोर्खाल्याण्डमाथि लेखिएकै छैन भन्ने गुनासो छ । पछिल्लो समय भने गोर्खाल्याण्डबारे पनि किताबहरु लेखिन थालेका छन् ।
थप कुराकानी भिडियोमा हेर्नुहोला
'चुनाव जितेर सत्तामा गइहालौं भनेर पार्टी खोलेको होइन'
'स्वीकार गर्नुस्, हर्क युगको सुरुवात भयो'
'०४६ पछि राज्यकोषको ठूलो पैसा राजनीतिक क्षेत्रमा गएको छ, छानबिन हुनुपर्छ'
'आउने चुनावलाई जनमत संग्रहका रुपमा प्रयोग गरौं'

-1761836913.jpg)






