१२ वर्षको ‘वनबास’पछि चुनावमा विप्लव, रणनीति कि बाध्यता ?
एउटा समय थियो, विप्लव समूह भनेपछि सब डराउँथे ।
उद्योगी व्यापारीहरुमा चन्दा आतंक । आम सर्वसाधारणमा बन्द हड्ताल र विस्फोटको त्रास ।
माओवादीबाट विद्रोह गरेपछि विप्लवले ब्यालेटमा विश्वास गरेनन्, बन्दुकको बलमा राज्यसत्ता कब्जा गर्नुपर्छ भन्ने बाटो रोजे । तर विद्रोहको बाटो रोजेका विप्लव १२ वर्ष लामो ‘वनबास’पछि फेरि चुनावको बाटोमा आएका छन् ।
धेरैका लागि विप्लवले चुनावको बाटो समात्नु जति सन्तोषको विषय भएको छ, त्यति नै चाखलाग्दो पनि ।
माओवादी आन्दोलनमा भावि नेतृत्वका रुपमा हेरिएका विप्लव, प्रचण्डसँग कसरी टाढिए ? अनि १२ वर्ष लामो वनबासपछि कसरी विगतमा आफैंले महापतन भनेको चुनावी प्रतिस्पर्धाको बाटोमा आए ?
को हुन् विप्लव ?
माओवादीको उद्गमस्थल रोल्पामा जन्मेका विप्लव ५८ वर्षका भए । उनले २०३९ सालमा तत्कालिन मसालको विद्यार्थी संगठन अखिल छैटौंबाट राजनीति सुरु गरेका थिए । पछि अखिल छैटौंको रोल्पा जिल्ला अध्यक्ष पनि भए ।
२०५२ सालमा माओवादीले सशस्त्र युद्ध सुरु गर्दा विप्लव विद्यार्थी संगठनको केन्द्रीय उपाध्यक्ष थिए । त्यतिबेला पढाइको सिलसिलामा काठमाडौंमा रहेका उनले ललितपुर जिल्ला सेक्रेटरीको जिम्मेवारी पनि पाए । उनको स्वभाव कस्तो थियो भने पार्टीभित्र धेरै अन्तरविरोधमा पर्दैनथे । सबैसँग मिठो कुरा गर्थे, खाए नखाएको, भोको बसे नबसेको हेर्थे ।
ललितपुरपछि उनले पश्चिममा गएर काम गरे । २०५४ सालमा कर्णाली उपक्षेत्रीय ब्यूरो इन्चार्ज भए । ०५४ सालको दोस्रो विस्तारित बैठकले ८ जना युवालाई पार्टी केन्द्रमा ल्याउने निर्णय गर्यो । त्यसमध्ये वर्षमान पुन र विप्लव पनि पनि थिए ।
त्यसपछि वर्षमान र विप्लवको पदोन्नती हुँदै गयो । खासमा युवा उमेरका उनीहरु फौजी रुपमा पनि निडर थिए ।
कार्यकर्ता उत्पादन गर्न सक्ने, फिल्डको पनि कमाण्ड गर्नसक्ने दुबैलाई पोष्टबहादुर बोगटीले खुलेर काम गर्न दिए । बोगटीको रिपोर्टअनुसार प्रचण्डले पनि अगाडि बढाए ।
त्यसले वर्षमान र विप्लवबीच प्रतिस्पर्धा पनि ल्यायो । एउटा खेमाले विप्लवलाई नेता मान्न थाले, रामबहादुर थापा बादल लगायतको अर्को खेमाले वर्षमानलाई समर्थन गर्न थाले । त्यसपछि दुबै जनाको कार्यक्षेत्र फेरियो ।
२०६१ सालमा रोल्पा रुकुम लगायतका आधार क्षेत्रको नेतृत्व विप्लवलाई दिएयो भने वर्षमान पूर्वी कमाण्डमा गए ।
माओवादी नेताहरुका अनुसार त्यसबेलासम्म प्रचण्डको उत्तराधिकारीका रुपमा वर्षमान र विप्लवमध्ये को भन्ने हुन् थालिसकेको थियो । आधार क्षेत्रको कमाण्ड सम्हालेका भएकाले प्रचण्डको सुख दुःखमा विप्लव हुन्थे । त्यसैले पनि होला, प्रचण्डको फेबर विप्लवलाई थोरै बढी हो कि भन्ने आशंका थियो ।
०००
माओवादीले शान्तिपूर्ण राजनीतिमा आएसँगै वर्षमान प्रचण्डको नजिक भए, विस्तारै विप्लव टाढिन थाले ।
भयो के भने पूर्वी कमाण्डमा आएदेखि नै वर्षमानको काठमाडौं उपत्यकामा आउजाउ बढिसकेको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि प्रचण्ड पनि आधार क्षेत्र छोडेर काठमाडौं आए । प्रचण्ड, बाबुरामहरु वर्षमानहरुसँगै एकान्तकुनामा बस्ने गर्थे ।
अवस्था यस्तोसम्म भयो प्रचण्डलाई भेट्न समेत विप्लवले प्रतिस्पर्धी वर्षमानलाई सोध्नुपर्ने भयो ।
त्यही बेला मोहन बैद्य, सिपी गजुरेलहरु भारतको जेलबाट छुटेर आएपछि माओवादीमा ध्रुवीकरण सुरु भयो ।
२०६४ साउनमा काठमाडौंको बालाजुमा भएको विस्तारित बैठकमा विप्लवको अगुवाइमा एक समूहले पार्टी बिद्रोहको कार्यनीतिबाट पछि हटेको भन्दै विरोध गरेको थियो । तथापि माओवादी संविधानसभा चुनावमा होमियो ।
२०६४ को पहिलो संविधानसभा चुनावमा विप्लव कैलालीको टीकापुर क्षेत्रबाट उठ्न चाहन्थे । तर चुनाव जित्छु भन्ने ढुक्क भएनन् । त्यसैले विप्लवहरुकै जोडबलमा एकतिहाई नेताहरु पार्टी चलाउन चुनाव नलड्ने नीतिगत निर्णय भयो ।
प्रचण्ड, बाबुराम, वर्षमानहरु चुनावमा गए, विप्लवहरु उम्मेदवार नै भएनन् ।
चुनावमा माओवादीले अभूतपूर्व सफलता पायो । ६०१ सदस्यीय संविधानसभामा २४० सिट माओवादीको थियो । माओवादीको प्राथमिकता सरकार, संविधान निर्माण हुन पुग्यो । संसदीय राजनीतिमा वर्षमानहरु नै हावी भए ।
पहिलो संविधानसभामा प्रचण्ड र बाबुराम प्रधानमन्त्री भए, तर संविधान बनेन ।
बरु पार्टीमा बिग्रह आयो । २०६९ सालमा मोहन वैद्य, रामबहादुर थापा बादल, देव गुरुङ, पम्फा भूसाल, नेत्रबिक्रम चन्दहरुले पार्टी फुटाए ।
१२ बुँदे सहमति हुँदा भारतको जेलमा रहेका वैद्यलाई माओवादी शान्ति प्रक्रियामा आएकै मन परेको थिएन । विप्लवलाई म सँग नेतृत्व क्षमता छ, नेताहरुले पत्याएनन् आफैं गरेर देखाउँछु भन्ने हुटहुटी थियो । वैद्य र विप्लव एक ठाउँमा आएपछि फुटले आकार लियो ।
फुटको राजनीतिक नेतृत्व बैद्यले गरेका थिए, तर संगठनको नेतृत्व विप्लवको थियो ।
त्यसबेला विप्लवले पार्टी निकट पत्रिका जनादेशमा लेख एउटा लेख निकै चर्चित भएको थियो, जसको शीर्षक बालुवाटारमा बालुवा पेलेर क्रान्तिको तेल निस्किँदैन भन्ने थियो ।
अर्को वर्ष २०७० मा दोस्रो संविधानसभा चुनाव तय भयो । तर वैद्य विप्लवहरुले चुनाव बहिस्कार गर्ने नीति लिए । चुनाव बहिस्कार मात्र गरेनन्, बिथोल्ने नीति लिए ।
सार्वजनिक बसमा पेट्रोल बम हान्नेदेखि उम्मेदवारहरुलाई लक्षित गरेर एम्बुस थाप्ने काम समेत गरे । प्रचण्ड लगायतका माओवादीकै शीर्ष नेताहरु लक्षित गरेर समेत आक्रमण भएको थियो । उदयपुरमा त उम्मेदवार नै घाइते भए ।
चुनावलगत्तै विप्लव वैद्यबाट पनि अलग भए । विप्लव पार्टीको महासचिव बन्न चाहन्थे, तर उनीभन्दा सिनियर नेता धेरै थिए । मोहन वैद्यहरुले महासचिव हुन खोज्नुलाई विप्लवको महत्वकांक्षा ठाने र दिएनन् । त्यसपछि बुढाहरुको नेतृत्वमा क्रान्ति हुन्न भनेर विप्लवले २०७१ मंसिरमा आफ्नै नेतृत्वमा नेकपा माओवादी गठन गरे ।
नयाँ पार्टी गठनमा उनलाई साथ दिनेहरुमा खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वली, धर्मेन्द्र वास्तोला, अनिल शर्मा बिरही, उमा भुजेल लगायत थिए । अनि सशस्त्र युद्धमा लडाकुको भूमिकामा रहेका धेरै युवाहरु विप्लवसँग आएका थिए ।
तर यो पार्टी सुरुवातदेखि नै देशमा आतंकको पर्याय बन्यो । उद्योग व्यवसायीहरुलाई चन्दा आतंक फैलायो । २०७४ सालको आम निर्वाचन समेत बिथोल्न खोज्यो । कालीकोट लगायतका क्षेत्रमा त हिंसात्मक झडप नै भए, यद्यपि चुनाव रोकिएन ।
एमाले र माओवादी मिलेर बनेको वाम गठबन्धनले बहुमत ल्यायो । दुई तिहाईको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए । एमाले र माओवादीले पार्टी नै एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाए ।
विप्लवको पार्टीले भने चन्दा आतंकका साथै सरकारी कर्मचारीलाई मोसो दल्नेदेखि व्यापारिक प्रतिष्ठानमा बम पड्काउनेसम्मको काम गर्यो । २०७५ फागुनमा ललितपुरको नख्खुसहित देशभरका २१ एनसेल टावरमा विप्लव समूहले बम पड्कायो ।
नख्खुस्थित एनसेल कार्यालयमा विस्फोट हुँदा १ जनाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए । आतंक फैलाएको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ गते विप्लव समूहलाई आपराधिक समूह घोषणा गर्दै प्रतिबन्ध लगायो ।
त्यसपछि एनसेल टावरमा बम पड्काएको र अरु विभिन्न ठाउँमा आक्रमण गरेकामा विप्लव समूहका नेता कार्यकर्तामाथि पक्राउ र धरपकडको श्रृङखला नै चल्यो ।
ललितपुरको एनसेल कार्यालयमा बम पड्काएको आरोपमा नेता हेमन्तप्रकाश वली थुनामै परे । प्रवक्ता खड्गबहादुर विश्वकर्मा, उमा भुजेललगायतका नेताहरु पक्राउ परे । बयान दिन देशका विभिन्न जिल्ला जिल्ला घुमाइए ।
विप्लवसहित पार्टीका धेरै नेता कार्यकर्ता भूमिगत भए । त्यसक्रममा केहीले सुरक्षा कारबाहीमा ज्यान समेत गुमाए । १५ जना कार्यकर्ता अझै जेलमै छन् ।
लगभग दुई वर्षको प्रतिबन्धपछि २०७७ साल फागुन २० गते ओली सरकारले नै विप्लव समूहको प्रतिबन्ध हटायो ।
राजनीतिक विषय संवादको माध्यमबाट समाधान गर्ने, राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने, सरकारले प्रतिबन्ध हटाउने र बन्दीहरुको रिहाइ तथा मुद्दा खारेजी गर्ने ३ बुँदे सहमतिपछि विप्लव समूह खुला राजनीतिमा आयो ।
तर २०७९ सालको स्थानीय चुनावमा भाग लिने कि नलिने भनेर विप्लवको पार्टीभित्र विवाद भयो । २०७८ चैतमा कपिलवस्तुको शिवगढीमा बसेको केन्द्रीय समिति बैठकमा विप्लवले स्थानीय चुनावमा भाग लिनुपर्ने प्रस्ताव पेश राखे ।
तर उनको प्रस्ताव अल्पमतमा पर्यो । विप्लव र प्रकाण्डहरु चुनावको पक्षमा थिए, तर धमेन्द्र वास्तोला, हेमन्तप्रकाश ओलीहरु चुनावको विपक्षमा उभिए । त्यसपछि चुनावमा भाग पनि नलिने र बहिस्कार पनि नगर्ने भनेर मध्यमार्गी निर्णय भयो । कतिपय स्थानीय तहमा विप्लव समूहका नेता कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिए । तर न विप्लवका नेता कार्यकर्ताले धेरै सिट जिते, न पार्टीको विवाद हल भयो । बरु पार्टीमा नयाँ विभाजन ल्यायो ।
विप्लवले धर्मेन्द्र वास्तोला र हेमन्तप्रकाश ओलीलाई पार्टीबाटै निष्कासन गरे । त्यसको जवाफमा वास्तोलाहरुले पार्टी फुटाएर नेकपा बहुमत नामको अर्को पार्टी बनाए । उनीहरुले विप्लवमाथि प्रतिबन्ध कालमा उठाएको लाखौं चन्दा रकम अपचलन लगायतका गम्भीर आरोप समेत लगाएका थिए ।
०००
दुई वर्षयता भने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कृषि उत्पादनमा लागेको छ ।
कैलाली, दाङ, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, कालीकोट, जुम्ला, ललितपुर, चितवनलगायतका जिल्लामा ठूलो क्षेत्रफलमा खेतीपाती गरेको छ । कतिपय ठाउँमा पार्टीकै नाममा जग्गा जमिन जोडेको छ भने कतिपय ठाउँमा जग्गा भाडामा लिएर अन्न, फलफूल र तरकारी उत्पादन गरिरहेको छ ।
गत वर्ष अर्बपति व्यवसायी विनोद चौधरीको सीजी फुड्सलाई २ लाख किलो आलु बेचेको ठूलै समाचार बनेको थियो ।
यस वर्ष ३० लाख किलो आलु फलाएको छ । विप्लवको पार्टीले मीनबहादुर गुरुङको भाटभटेनी स्टोरमा काँक्रो र अकबरे खुर्सानी बेचेको छ ।
यो वर्ष सबैतिर गरी ५०० बिघामा खेती गरेको छ । जुम्ला र कालीकोटमा स्याउ र भेडा फार्म सञ्चालन गरेको छ । कपिलवस्तुमा सी गार्मेन्ट उद्योग चलाएको छ ।
काठमाडौंको बूढानीलकण्ठमा उपभोग्य सामग्रीको पसल सी ब्यापार केन्द्र स्थापना गरिएको छ । देशभरमा गरी ८–९ वटा ठूला कृषि फार्म छन् भने २०–२५ वटा साना फार्म छन् । छाडा चौपायाहरु संकलन गरेर कपिलवस्तुमा पशुपालन गरिएको छ ।
विप्लवको दाबी छ कि उत्पादनमा लागेको २ वर्षमा पार्टी आत्मनिर्भर भइसक्यो । अब पार्टी चलाउन चन्दा माग्नु पर्दैन । हिजो चन्दा आतंक मच्चाएको दलले कृषि उत्पादन गरेकामा विप्लवको सह्राहना पनि भइरहेको छ ।
तर आलु बेचेर उनको राजनीति चल्ने बाला थिएन । उनको दल बन्ने बाला पनि भएन । त्यसैले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपासँग समाजवादी मोर्चामा आवद्ध भए ।
तर यो मोर्चा केही सार्वजनिक कार्यक्रम र कोठे बैठकहरुमा सीमित भयो । मोर्चामा आवद्ध भएका दलहरुको एकता वार्ताले पनि गति लिएन । विप्लव एमाले नेताहरुसँग पनि निरन्तर सम्वादमा थिए । तर त्यो पनि टुंगोमा पुगेको थिएन ।
त्यही बेला जेनजी विद्रोह भयो । विप्लवले शान्तिपूर्ण चुनावी राजनीतिमा आउने एउटा बाटो देखे ः आफ्नै नेतृत्वमा दल दर्ता गरे चुनाव जाने ।
विप्लवले आफ्नो पार्टीको नाम नेकपा माओवादी राखे । निर्वाचन आयोगमा दल दर्ता गराए । उनको दलले चुनाव चिन्ह पनि गुलाफको फूल रोजेको छ ।
विप्लवले हिजोको दिनमा प्रचण्ड, बाबुरामहरु चुनावमा गएर संसदवादी भएको भन्दै आलोचना गरेका थिए ।
२०७३ सालमा महापतन नामक पुस्तक नै लेखेका थिए । जसमा उनले भनेका छन्, ‘हिजो क्रान्ति गर्छु भनेर नेपाली जनतालाई जनयुद्धमा होम्ने प्रचण्ड–बाबुरामहरु पतन भए, अब उनीहरुबाट केही हुँदैन, किरण पनि संसदीय राजनीतिकै वरिपरि छन्, उनीबाट केही हुँदैन । क्रान्ति गर्ने भनेको हामीले हो ।’
तर आज विप्लव त्यही संसदीय चुनावको बाटोमा आएका छन् । विप्लवको पार्टीका नेताहरुको तर्क तछ कि जेनजी बिद्रोह संसदवादी दलहरुले गरेको भ्रष्टाचार र कुशासन विरुद्ध थियो । अब भ्रष्टाचार र कुशासनविरुद्ध लडाइँ लड्नुपर्दैन । नयाँ परिस्थिति बन्यो, त्यसैले चुनावमा जान लागेका हौं ।
विप्लवको दलका एक नेता चिरञ्जीवि ढकाल ठट्टा मिश्रित प्रश्न गर्छन्, चुनावमा भाग लिए संसदवादी भन्छन् । चुनाव बहिस्कार गर्यो भने आतंकवादी भन्छन्, गर्ने चाहिँ के हो ?
विद्रोहको बाटो रोजेको र हिंसात्मक गतिविधि समेत गरेको एउटा समूह चुनावी राजनीतिमा आउनु स्वागतयोग्य छ ।
किनकी यसले चुनावको सुरक्षा चुनौती मात्र कम गर्ने छैन, विप्लवहरुको भ्रम पनि टुट्नेछ ।
हो, विप्लव माओवादी आन्दोलनकै सम्भावना भएका नेता थिए । शान्ति प्रक्रियामा आएपछि उनको एम्बिसन हाइ भयो, तर पोजिसन राइज भएन । माओवादी नेताहरुले पत्याएनन्, आफैं गरेर देखाउँछु भनेर पार्टी फुटाए, आफैंले पार्टीको नेतृत्व गरे । १२ वर्षसम्म जुन बाटो हिँडे, कहिल्यै पब्लिक अडिटमा आउनु परेन । यसरी हेर्दा विप्लव निरन्तर भ्रमको साम्राज्यको बादशाह भएर बसे ।
यो पटक चुनावमा जनतामाझ गएर आफू र आफ्नो दलको लोकप्रियता टेष्ट गर्न चाहेका छन् ।
काठमाडौंको शान थियो ट्रलीबस, अब देशभर चलाउन बन्दैछ प्लान
'नेताहरूले १० वर्ष अड्काए, अब हुँदैछ ब्रेक-थ्रुु'
डोजरले निल्न लागेको एउटा पुरानो बजार
झन् सहज हुँदैछ जापानको रोजगारी


-1764082340.jpg)

1-(2)-1763877443.jpg)


