नेभिगेशन
ब्लग

ट्रम्पले बढाउँदैछन् लस एन्जलसमा थप मुठभेट

लस एन्जलसको प्रदर्शन राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासीसम्बन्धी नीतिसँग जोडिएको छ । 

ट्रम्पले गत वर्ष भएको चुनावमा अमेरिकाको सीमामा कडाइ गर्ने घोषणा गरेका थिए । राष्ट्रपति चुनाव प्रचारका क्रममा उनले अवैधानिक आप्रवासीहरु अपराधको प्रमुख कारण भएको दाबी गरेका थिए । 

जब डोनाल्ड ट्रम्पले राष्ट्रपति पद सम्हाले, उनले अवैध रुपमा बसोबास गरिरहेकाहरुलाई उनीहरुकै देश फर्काउने नीति लिए ।

अवैध रुपमा बसोबास गरिरहेकाहरुलाई जहाज चार्टर्ड गरेर सम्बन्धित देशमै लगेर छाड्ने गरिएको छ ।

ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकामा अवैध बसेका करिब डेढ सय जना नेपाली पनि फिर्ता भएका छन् । 

उनले क्यालिफोर्निया, न्यूयोर्क, र इलिनोइजको इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आईसीई) कार्यालयलाई बढी सक्रिय बनाएका छन् । तीनै वटा राज्यलाई डेमोक्र्याट स्टेट पनि भनिन्छ । किनकी त्यहाँ डेमोक्र्याटको मतदाता बढी छन् ।

क्यालिफोर्नियालाई त अमेरिकामै सबैभन्दा धेरै आप्रवासीहरुको बसोबास रहेको राज्यको रुपमा लिइन्छ । यहाँका ८२ प्रतिशत बासिन्दा मध्य तथा दक्षिण अमेरिकी क्षेत्रका छन् । 

यहाँका १ करोड ६० लाख मानिस अमेरिका भन्दा बाहिर जन्मेको अनुमान गरिन्छ । जुन क्यालिफोर्नियाको जनसंख्याको २२ प्रतिशत हो । 

पिउ रिसर्च सेन्टरका अनुसार सन् २०२२ मा क्यालिफोर्नियाका १८ लाख मानिस अवैधानिक थिए ।  

त्यही क्यालिफोर्नियाको लस एन्जलस शहरमा इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आईसीई) ले छापा मारेको खबरसँगै सडक प्रदर्शन सुरु भयो । 

संघीय सरकारले जुन महिनामा मात्र प्रतिदिन ३ हजार जना पक्राउ गर्ने लक्ष्य राखेको छ । यो दबाबका कारण वैधानिक रुपमा बसिरहेकाहरुमाथि पनि धरपकड भइरहेको छ । 

लस एन्जलसकी मेयर करेन बासका अनुसार यसले आम सर्वसाधारणमा समेत डर पैदा गरेको छ । त्यही कारण आईसीईले छापा मारेको खबर फैलिएसँगै मानिसहरु सडकमा आए ।

शुक्रबारको प्रदर्शनमा केही सय मानिसहरु मात्र आएका थिए । त्यहीदिन सयभन्दा बढी अवैध आप्रवासी पक्राउ गरेपछि प्रदर्शन चर्कियो । प्रहरीले निषेधित क्षेत्र घोषणा गर्दा पनि प्रदर्शन रोकिएन ।

आइतबारको प्रदर्शनमा त केही गाडीहरु पनि जलाइए । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यासका साथै फ्ल्यास ब्याङ ग्रिनेडहरु प्रयोग गरेको थियो । 

त्यसक्रममा प्रदर्शनको रिर्पोटिङ गरिरहेकी न्यूज नाइनका एक पत्रकारलाई समेत रबरको गोली लागेको छ । 

आईसीईले छापा मारेर पक्राउ परेका आप्रवासीलाई लस एन्जलसको इमिग्रेसन सर्भिस बिल्डिङमा राखेको छ । प्रदर्शनकारीले त्यही भवन बाहिर पनि प्रदर्शन गरिरहेका छन् । आइतबार पनि करिब एक हजार प्रदर्शनकारीले यो भवनलाई घेरा हालेका थिए । 

लस एन्जलस शहरदेखि ३२ किलोमिटर टाढाका प्यारामाउन्ट शहरमा पनि शनिबारदेखि प्रदर्शन चर्किएको छ । न्यूयोर्क, डलास, एटलान्टा, लुभल, सियाटल शहरमा पनि प्रदर्शन सुरु भएको छ ।

नेशनल गार्ड परिचालनले विवाद 

सडक प्रदर्शन भइरहे पनि राज्य सरकारले स्थिति नियन्त्रणमा छ भनिरहेको थियो । तर शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसमा दुई हजार नेशनल गार्ड खटाएका छन् । त्यसपछि सोमबार साँझ थप दुई हजार नेशनल गार्ड परिचालन गर्न निर्देशन दिएका छन् । त्यस्तै अमेरिकी रक्षा मन्त्रालयले ७०० मरिन पठाएको छ । 

अमेरिकामा नेशनल गार्डहरु संघीय सरकार र प्रदेश सरकार दुबैको आदेशमा चल्ने हाइब्रिड खालको सुरक्षा संयन्त्र हो । 

सामान्यतया सम्बन्धित राज्यको गभर्नरको अनुरोधमा मात्र संघीय सरकारले नेशनल गार्ड परिचालन गर्ने गर्छ। तर डोनाल्ड ट्रम्पले गभर्नरको अनुरोधबिनै नेशनल गार्ड परिचालन गरेका छन् । 

अमेरिकामा गभर्नरको अनुरोधविना नेशनल गार्ड परिचालन भएको सन् १९६५ पछिको यो पहिलो घटना हो । 

क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसोम र लस एन्जलसकी मेयर करेन बास दुबैले ट्रम्पले एकलौटी रुपमा गरेको नेशनल गार्ड परिचालनको विरोध गरेका छन् । 

स्थानीय प्रहरीले नै स्थिति नियन्त्रणमा लिनसक्ने उनीहरुको दाबी छ । गभर्नर न्युसोमले राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी अधिकार प्रयोग गरेर आगोमा घिउ थप्ने काम गरेको आरोप लगाएका छन् । साथै ट्रम्पले संविधानमा रहेको प्रदेशको अधिकारसम्बन्धी व्यवस्थापन उल्लंघन गरेको भन्दै उनले अदालतमा मुद्दा हाल्ने चेतावनी दिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो ।