नेभिगेशन
एक्सप्लेनर भिडियो

पढेलेखेका युवा धेरै बेरोजगार

पढ्नुको मुख्य उद्देश्य ज्ञान हासिल गर्नु हो । पढेपछि राम्रो जागिर पाइन्छ वा कुनै उद्यम गर्ने तरिका सिकिन्छ भन्ने मान्यता छ । नेपाल र संसारभर नै मान्छेको सफलताको कारण उसले लिएको ज्ञान र पढाइसँग जोडिन्छ । 

सामान्यतया पढेलेखेका मानिसहरु बेरोजगार हुन्छन्, आफ्नो जीविका पनि चलाउन सक्दैनन् भन्ने मान्यता राखिँदैन । 

तर हाम्रो नेपालमा त्यस्तै देखिन्छ । 

राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको र श्रमशक्ति र आर्थिक गतिविधिसम्बन्धी तथ्यांकले त्यही भन्छ । 

कार्यालयका उपतथ्यांक अधिकारी ढुण्डीराज लामिछानेका अनुसार एक वर्षमा ६ महिनासम्म काम नगरी बसेकाहरुलाई बेरोजगारको सूचीमा राखिएको छ ।

सामान्यतया काम गर्ने उमेर भनेर १५ देखि ६४ वर्षलाई मानिन्छ । यो उमेर समूहको जनसंख्या १ करोड ३९ लाख छ । 

त्यसमा बेरोजगारको संख्या ७ लाख ६० हजार छ । यो भनेको करिब ५ प्रतिशत हो । 

६ महिनासम्म काम पाउनेहरुको हिसाब गर्दा पनि नेपालमा ५ प्रतिशत मानिस त बेरोजगार रहेछन् । 

यसअघि २०७४/७५ सालमा गरिएको नेपाल श्रमशक्ति सर्वेक्षणमा नेपालको बेरोजगारी दर ११ प्रतिशत देखिएको थियो । प्रतिशतमा मात्र हेर्दा बेरोजगारी घटेको देखिन्छ । तर बेरोजगारीको अवस्थामा खासै सुधार भएको छैन । 

किनकी श्रमशक्ति सर्वेक्षणमा नियमित तलब पाउनेलाई मात्र रोजगार मानिएको थियो, अहिले ६ महिना काम गरेको छ भने पनि रोजगार मानिएकाले बेरोजगारी दर कम देखिएको हो । 

वर्षमा ६ महिना काम पाउनेलाई रोजगारको सूचीमा राख्दा पनि देखिन्छन् । 

स्नातक र त्यो भन्दा माथि पढेकाहरुको तथ्यांक हेरौं । १५ देखि १९ वर्षसम्मका युवा १३ प्रतिशत बेरोजगार छन् । यसमा पनि पुरुषहरु १३.७ प्रतिशत र महिला  १२.५ प्रतिशत बेरोजगार छन् ।

स्नातकदेखि माथि पढेका २० देखि २४ वर्षसम्मका युवा बेरोजगारी दर अझ बढी छ । यो उमेर समूहमा कुल बेरोजगारी १४.१ प्रतिशत छ । 

९ देखि १२ कक्षासम्म पढेकाहरुलाई हेर्दा बीए पास गर्नेहरुमा भन्दा बेरोजगारी दर अलि कम छ । १२ कक्षासम्म पढ्नेमा १५ देखि १९ वर्ष उमेर समूहका ७.७ प्रतिशत बेरोजगार छन् । 

त्यस्तै १२ कक्षा पास गरेका र २० देखि २४ वर्ष उमेर समूहका १०.१ प्रतिशत बेरोजगार छन् । 

विदेशमा चाहिँ नेपालबाट स्टुडेट भिसामा जानेहरुले पनि राम्रो पैसा कमाइरहेका छन् । 

नेपालमा चाहिँ पढेलेखेकाहरु नै किन धेरै बेरोजगार छन् त ? 

विदेशमा विद्यार्थीलाई आफ्नो पढाइ खर्च आफैं जुटाउन सकोस् भनेर सरकारले नै केही नियमहरु बनाइदिएको हुन्छ । जस्तै हप्तामा २० देखि २५ घण्टा काम गर्न पाउने । अनि कलेजको शैक्षिक कार्यक्रमहरु पनि विद्यार्थीहरु काममा जान बाधा नपर्ने गरी बनाइन्छ । 

तर नेपालमा यस्तो छैन । श्रम मामिलाका विज्ञ जीवन बानियाँका अनुसार नेपालमा काम गर्दै पढ्छु भन्ने धेरै सुविधा छैन ।

नेपालमा स्नातकका कतिपय विषय र स्नातकोत्तरका सबै विषयको पढाइ सेमेस्टर प्रणालीमा हुन्छ । सेमेस्टरको पढाइमा कक्षामा नियमित उपस्थित हुनुपर्छ, अनि पढाइ पनि दिउँसोमा हुन्छ । त्यसैले औपचारिक जागिरमा आवद्ध भएर पढाइलाई निरन्तरता दिन कठिन छ । 

हाम्रा क्याम्पसहरुमा जाडो, गर्मी र दशैं–तिहार जस्ता चाडबाडमा हो अलि लामो बिदा हुने, नभए वर्षभरि नै पढाइ भइरहन्छ । 

अर्कोतिर हाम्रो समाज र श्रमबजारले पढेलेखेका मान्छेले गर्ने काम निश्चित तोकिदिएको छ । सरकारी जागिर, शिक्षण, बैंक वा यस्तै औपचारिक जागिर । अरु काममा पढेलेखेकाहरुले आँखा लगाउँदैनन् । 

बरु एउटा तहको पढाइ सकेपछि अर्को तह पढ्ने, लोकसेवा वा शिक्षण सेवाको तयारी गर्ने जस्ता काम गर्छन् । वा विदेश जाने तयारीका लागि भाषा कक्षामा भर्ना हुन्छन् । 

जनगणनाका क्रममा किन काम नगरेको भन्ने प्रश्नमा धेरैले विद्यार्थी भएका कारण भन्ने जवाफ दिएका छन् । यस्तो जवाफ दिनेहरु ४८.६ प्रतिशत छन् । घरधन्दाका कारण भन्नेहरु २८.४ प्रतिशत छन् । 

यसको ठीक विपरीत कम पढेलेखेका मानिसहरुसँग करिअर अगाडि बढाउने धेरै बाटो हुँदैन । 

उनीहरु भविष्यप्रति धेरै ढुक्क हुँदैनन्, त्यसैले जे काम भेटे पनि गरिहाल्नुपर्ने बाध्यतामा हुन्छन् । अनि प्राय विपन्न परिवारको हुने भएकाले उनीहरु काम गरेर परिवारलाई भरथेग गर्नुपर्ने अवस्थामा हुन्छन् । कम पढेलेखेकाहरु बेरोजगार नदेखिनुको कारण यही रहेको श्रम मामिला विज्ञ बानियाँको भनाइ छ । 

शैक्षिक योग्यता छाडौं, युवाहरुको मात्र अवस्था हेर्दा पनि बेरोजगारीको दर उच्च छ । 

१५ देखि २४ वर्ष उमेर समूहमा ८.६ प्रतिशत बेरोजगारी छ । यो उमेर समूहका युवाहरु करिअरको सुरुको चरणमा हुन्छन् । उनीहरुसँग कामको अनुभव हुँदैन । अनि कुन पेशामा लाग्ने भन्ने दुविधा हुन्छ ।

आफ्नो चाहना र बजारमा रोजगारीको स्थिति मिसम्याच हुँदा धेरै युवाहरु आफूलाई मिल्दो जागिरको खोजीमा विदेश गइरहेका छन् । 

अब रोजगारीमा हुनेहरुको कुरा गरौं । नेपालमा रोजगारी गर्नेहरुको अवस्था पनि त्यति राम्रो छैन । 

अरुको काम गर्नेहरु ४२ लाख अर्थात् २८.६ प्रतिशत छन् ।

जागिर दिने अर्थात रोजगारदाता २ लाख हाराहारी छन्, यो भनेको कुल काम गर्न सक्ने जनसंख्याको १.४ प्रतिशत हो । 

अनि आफ्नै काम गर्ने ८२ लाख अर्थात् ५५.३ प्रतिशत छन् । परिवारलाई सघाउनेहरु १४.५ प्रतिशत । 

अन्तर्राष्ट्रिय श्रम संगठनले आफ्नै काम गर्ने र परिवारलाई सघाउनुलाई असुरक्षित रोजगारी मान्छ । 

यस आधारमा हाम्रो जनसंख्याको झण्डै ७० प्रतिशत अर्थात १ करोड ४ लाख जना असुरक्षित रोजगारीमा देखिन्छन् । 

रोजगारी गर्नेमध्ये ठूलो हिस्सा कृषि, वन र मत्स्यपालनमा छ । यो क्षेत्रमा ८५ लाख जना अर्थात् कुुल काम गर्न सक्ने जनसंख्याको ५७.३ प्रतिशत छन् । औद्योगिक क्षेत्रमा रोजगारी गर्ने जम्मा १२.७ प्रतिशत छन् । 

अनि सेवा क्षेत्रमा काम गर्नेहरु ३० प्रतिशत छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

विनोद ढकाल नेपाल शो डटकमका पत्रकार हुन् । 

थप एक्सप्लेनर भिडियो