५०० स्थानीय तहमा जग्गा कित्ताकाट ठप्प, घरजग्गा कारोबार झन् ओरालोतिर
२०८२ को जेठ र असार महिनामा घरजग्गा कारोबारमा केही सुधार देखिएको थियो । त्यही बेला राष्ट्र बैंकले घरजग्गा कारोबार केही सहज गराउने गरी मौद्रिक नीति ल्याएपछि त जग्गामा पैसा फसेकाहरु उत्साहित थिए ।
तर, साउन लागे लगत्तै देशभर नै जग्गा कारोबारमा फेरि ठूलो धक्का लागेको छ । त्यसैले सरकार जग्गाको कारोबार बढाउने वातावरण बनाउन लागेको छ ।
गत जेठ महिनामा ५६ हजार र असारमा ५५ हजार घरजग्गाको रजिष्ट्रेसन पास भए । यो २०८१ साउनपछिकै धेरै करोबारको रेकर्ड थियो । यही तथ्यांकले घर जग्गा व्यवसायी उत्साहित थिए । घरजग्गामा लगानी गरेर फसेकाहरु पनि राम्रो वातावरण बन्ला भन्ने आशामा थिए ।
झन् राष्ट्र बैंकका नयाँ गभर्नर विश्व पौडेलले मौद्रिक नीतिमार्फत बैंकको ब्याजदर सस्तो बनाउने नीति ल्याइदिए । ऋण तिर्न नसकेका घरजग्गाका व्यवसायीलाई भाका सारिदिने सुविधा दिए । बैंक तथा वित्तीय संस्थाबाट थप ऋण लिने सुविधा समेत दिने गरी नीति आयो । घर निर्माण गर्दा पाइने कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड पुर्याइयो ।
यसले मन्दीमा फसेको घरजग्गा बजार र कारोबार फेरि उकालो लाग्ने आशा व्यवसायी र सर्वसाधारणको थियो । किनकी विगतमा राष्ट्र बैंकले यस्तै खुकुला नीतिहरु लिँदा नै घर जग्गाको अस्वभाविक मूल्यवृद्धि भएको थियो ।
जब राष्ट्र बैंकले घरजग्गामा हुने लगानीलाई निरुत्साहित गर्दै लाग्यो, ठाउँअनुसार जग्गाको मूल्य ५० प्रतिशतसम्म घटेको जग्गाको मूल्याकंनकर्ताहरुको अनुभव छ ।
नयाँ गर्भनरले खुकुलो मौद्रिक नीति ल्याएकाले फेरि घरजग्गाको कारोबार बढ्ने व्यवसायीहरुको अपेक्षा थियो ।
तर त्यसो भएन । घरजग्गाको कारोबार असारको भन्दा पनि घटेको छ । तथ्यांक आइसकेको छैन । तर, मालपोत अधिकारीहरुका अनुसार धेरै जिल्लामा घरजग्गाको कारोबार फेरि ओरालोतिर छ ।
यसको मूल कारण हो, भू उपयोग नियमावली । त्यसको कार्यान्वयनमा सरकारको उदासीनता ।
सरकारले २०७९ जारी गरेको यो नियमावलीमा भएको व्यवस्थाका कारण अहिले ५०० वटा स्थानीय तहमा कित्ताकाट रोकिएको छ । कित्ताकाट रोकिएपछि कुनै जग्गा टुक्र्याएर बेच्न पाइँदैन ।
नियमअनुसार स्थानीय तहले जग्गालाई ९ प्रकारले वर्गीकरण गर्नुपर्छ । कृषि, आवासीय, व्यवसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार क्षेत्र भनी बर्गीकरण गर्ने काम स्थानीय तहको हो । प्रयोजन र जग्गाको किसिमअनुसार सार्वजनिक उपयोग, साँस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र सरकारले तोकेको अन्य क्षेत्रमा समेत वर्गीकरण गर्न सकिन्छ ।
सरकारले भू उपयोग नियमावलीअनुसार कम्तीमा स्थानीय तहले कृषि र गैरकृषि क्षेत्र छुट्याएपछि मात्रै जग्गाको कित्ताकाट हुने गरी व्यवस्था गरेको छ । २५३ स्थानीय तहले यस्तो जगगाको वर्गीकरण गरिसकेका छन् ।
ती स्थानीय तहको जग्गाहरु मालोपोत कार्यालयहरुले कित्ताकाट गरिरहेका छन्, जग्गा किनबेच पनि भइरहेको छ ।
तर ५०० वटा स्थानीय तह जग्गाको वर्गीकरण गरेका छैनन् । उनीहरुका लागि यो प्राविधिक विषय हो । विज्ञताको अभावले समेत कतिपय स्थानीय तह अल्मलिएका छन् । तर, यसले कारोबार रोकिएको छ ।
यस्तो भएपछि व्यवसायीहरु अताल्लिएका छन् । घरजग्गामा लगानी गरेकाहरुले छिटो निकास निकाल्न सरकारमाथि दबाब बढाएका छन् ।
यस्तो भएको पहिलो पटक पनि हैन । २०७९ जेठमा भूउपयोग नियमावली लागु भएपछि मंसिरसम्म सबै स्थानीय तहले जग्गाको वर्गीकरण गर्नुपर्थ्यो। तर, कसैले गरेनन् ।
यसले गर्दा मंसिर २०७९ पछि देशभर कित्ताकाट रोकियो । साउन २०८०मा सरकारले नियमावली संशोधन गरेर जग्गा वर्गीकरण गर्न थप एक वर्षको समय दियो । तर २०८१ साउनसम्म ६२० स्थानीय तहले जग्गाको वर्गीकरण गरेनन् ।
यसपछि फेरि सरकारले अर्को एक वर्षको समय दियो । त्यसअनुसनर गता असार मसान्तसम्म वर्गीकरण भइसक्नुपर्ने हो । तर, ५०० स्थानीय तहले अझै यो काम गरेनन् ।
शहरी क्षेत्रका धेरैजसो स्थानीय तहले भने अधिकांश जग्गालाई आवासीय क्षेत्रमा राखेर वर्गीकरण गराए । तर, शहर उन्मुख र ग्रामीण भेगका स्थानीय तहका लागि भने जग्गाको वर्गीकरण जटिल विषय बन्यो ।
कतिपय स्थानीय तह यसमा गम्भीर पनि भएनन् । त्यसैले सरकार फेरि जग्गा वर्गीकरण गर्न दिइएको म्याद थप्ने गृहकार्यमा छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता खिमानन्द अचार्य कित्ताकाटको गाँठो खोल्ने तयारी भइरहेको बताउँछन् । उनी भन्छन्, ‘एउटा प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ, केही निर्णय भयो भने कित्ताकाट खुल्छ ।’
त्यो भनेको म्याद थप नै हो । स्थानीय तहलाई जग्गा वर्गीकरणमा सहयोग गर्नुभन्दा अर्को समयसीमा दिनुलाई सरकारले सजिलो मान्छ ।
भूउपयोगको नीति नियम ल्याए पनि त्यसको बलियो कार्यान्वयन गर्न तीन तहकै सरकार उदासिन छन् । जमिनको खण्डीकरण रोक्ने र कृषियोग्य जमिन बचाउने उद्देश्यका साथ २०६९ सालमा राष्ट्रिय भू–उपयोग नीति ल्याइएको थियो ।
२०७६ मा भू–उपयोग ऐन आयो । नियमावली बनाउनै ३ वर्ष लागेको थियो । नियमावली बनाएपछि पनि सरकार कार्यान्वयनको भाका सारिरहेको छ ।
अझ जग्गाको वर्गीकरण गरेका स्थानीय तहहरुमा भएको मनपरी त कसैले हरेको नै छैन ।
जस्तो काठमाडौं उपत्यकामै भएको बदमासीलाई हेर्नुस्, नेपालकै सबैभन्दा उर्बर भूमिमा पर्छ काठमाडौं उपत्यका । कुनै समय ठूलो तलाउ रहेको मानिने उपत्यकाको माटोको बनोट कृषिका लागि अहिले पनि उत्तिकै उब्जाउ मानिन्छ ।
अधिकांश कृषि जमिन मासिंदै गए पनि काठमाडौं उपत्यकाभित्र अझै पनि तरकारी र फलफूल खेती भइरहेका प्रशस्तै जमिन भेटिन्छन् । धेरैजसो ‘टेनल खेती’ भइरहेका यस्ता कृषियोग्य जग्गा जमिन कति छन् भन्ने यकिन भने छैन ।
तर अब सरकारी तथ्यांकमा ती कृषि जमिन कृषियोग्य होइनन् । आवासीय क्षेत्र हुन्, घडेरी हुन् । किनकी सबैजसो स्थानीय तहले उपत्यकाभित्र ‘कृषियोग्य जमिन नभएको’ घोषणा गरेका छन् ।
दक्षिणकाली, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाले मात्र आफ्नो क्षेत्रमा कृषि जमिन भएको घोषणा गरेका छन् ।
भू–उपयोग नियमावलीमा कृषि जमिनका हकमा काठमाडौं उपत्यकाभित्र ५०० वर्गमिटर, तराई र भित्री मधेशमा ६७५ वर्गमिटर र अन्य भू–भागमा एक हजार वर्गमिटरभन्दा कम हुने गरी कित्ताकाट गर्न नपाइने नियम छ ।
कृषि जमिनलाई भविष्यमा अन्य प्रयोजनमा लैजान संघीय सरकारले निर्णय गरेर राजपत्रमा सूचना निकाल्नुपर्छ ।
आवासीय जमिन तोक्दा भने सहज छ । यसको साना आकारमा कित्ताकाट मात्रै हुँदैन, मूल्य पनि गज्जबले बढ्छ ।
कृषि क्षेत्र घोषणा गरेको जग्गा टुक्र्याएर बेच्न नपाइने भएपछि स्थानीयहरु समेत आफ्नो जमिन कृषि क्षेत्रमा राख्न सहजै तयार छैनन् । उनीहरु गैरकृषिमा राख्दा हुने फाइदा नै हेरिरहेका छन् ।
अझ कृषि जमिनको मूल्यांकन नै कम हुने समस्या पनि छ । यस्तो जग्गालाई बैंकमा धितो राखे ठूलो बैंकिङ कर्जा लिन समेत नपाइने जोखिम हुन्छ ।
फेरि कृषि जमिन घोषणा गर्न नदिन भूमाफियाहरुले पनि चलखेल गरेका छन् । व्यवसायीहरुले पनि कृषि जमिन बनाएमा जग्गा बन्धक बन्छ भन्ने भाष्य छरेका छन् ।
यही कारण स्थानीय जनप्रतिनिधिले पनि पनि ‘राजनीतिक लाभ–हानी’का आधारमा कृषियोग्य जमिनलाई गैरकृषि क्षेत्र घोषणा गर्ने गरेका छन् ।
यसमा स्थानीय तहको स्वार्थ पनि छ, कृषि जमिनमा धेरै एकीकृत सम्पत्ति कर उठाउन मिल्दैन । गैरकृषि क्षेत्र तोक्दा नै बढी कर उठाउन पाइने लोभ स्थानीय तहलाई छ ।
खासमा सरकारले वैज्ञानिक ढंगले जग्गाको वर्गीकरण गर्ने आधारहरु तोक्नुपर्ने हो । कृषि जमिनका धनीलाई दिइने सुविधा र सुहलियत बढाउनुपर्ने हो । जमिनको चक्लाबन्दीलाई प्रोत्साहन गर्ने नीति बनाउनु पर्ने हो ।
पूर्वसचिव गोपीनाथ मैनाली भूमिको सम्भावना, उपलब्धता र उपयोगलाई हेरेर जग्गाको वर्गीकरण गनैपर्ने बताउँछन् । ‘पुरानै ढंगले जाने हो र कृषियग्य जमिनको खण्डीकरण नरोकिने भए यत्रो नीति नियम बनाएको के अर्थ भयो ?’ उनी भन्छन् ।
अर्थविद केशव आचार्य पनि वर्गीकरण छिटो सकेर जग्गाको खण्डीकरण रोक्नै पर्ने बताउँछन् । उनी भन्छन्, ‘एक करोड लगानी गरेको जग्गा एक वर्षपछि ३ करोडमा बेच्ने अवस्थालाई प्रोत्साहित गर्ने हो भने कसले काम गर्छ, उत्पादन कसरी बढ्छ, विपन्नले बस्ने ठाउँ कहाँ पाउँछ ?’
                                                    बालेनको अशिष्ट स्टाटसभित्रको विशिष्ट राजनीतिक अर्थ
                                                    ओली सरकार छउन्जेल उन्मुक्ति पाए, बल्ल छानबिनमा तानिए
                                                    परिवारले तिरस्कार गर्दा राजेश हमाललाई साथ दिने अष्ट्रेलियन गर्लफ्रेन्ड
                                                    कता अड्कियो चीनको रेल ?
                                                    एकता गर्न हतारिएका प्रचण्ड–माधवलाई घनश्यामको शर्त
                                                    
                    


-1762094516.jpg)


