जाजरकोटको पहिलो शिविरले मेरो जीवन नै परिवर्तन गरिदियो
सुर्खेतका बाल रोग विशेषज्ञ डा. नवराज केसी पछिल्लो समय सामाजिक काममा निकै सक्रिय छन् । कर्णालीका ग्रामीण क्षेत्रमा उनको टिमले बालरोग र स्त्री रोगको उपचारका लागि धेरै शिविरहरु सञ्चालन गरेको छ ।
समाज स्वस्थ हुन आमा र बच्चा स्वस्थ हुनुपर्छ र बच्चालाई स्वस्थ राख्न आमामा लगानी गर्नुपर्छ भन्ने उनको मान्यता छ । कर्णालीमा बिरामी उपचारका क्रममा भेटिएका मानिसहरुको जीवन भोगाइलाई समेटेर उनले आमा स्वास्थ्यका विषयमा पहिलो पुस्तक लेखे 'शून्यको मूल्य' ।
उनले हालै आफ्नो दोस्रो पुस्तक पनि लेखेका छन्, स्वस्पर्श । यसमा उनले मानसिक समस्यामा भोगिरहेका युवाहरुलाई विषय बनाएका छन् । उनै केसीसँग उनको कर्णाली अनुभव, कर्णालीको स्वास्थ्य अवस्थालगायतका विषयमा नेपाल शोका लागि विनोद ढकालले गरेको कुराकानी :
तपाईं पेशाले बाल रोग विशेषज्ञ हुनुहुन्छ, तर तपाईंको किताब पढ्दा र तपाईंलाई सुन्दा मनोचिकित्सक हो कि, मोटिभेसनल स्पिकर हो कि जस्तो लाग्छ ? तपाई आफूलाई कसरी परिभाषित गर्नुहुन्छ ?
एउटा भाग्यमानी व्यक्ति हुँ, मैले आफ्नो जीवनमा एकदमै धेरै पुस्तक पढ्ने मौका पाएँ । पढाइ सकेपछि गाउँ फर्किने अवसर पाएँ । गाउँमै जागिर पनि पाएँ । पहिले पुस्तक खुब पढियो, अहिले समाज पढ्ने मौका पाएँ ।
वास्तविक शिक्षाको पूर्णताका लागि पुस्तकका साथसाथै समाज पढ्नुपर्छ र अन्तिममा आफैंलाई पढ्नुपर्छ । अहिले म यही पढ्दै गरेको भुइँमान्छे हुँ जस्तो लाग्छ ।
तपाईंलाई अब म डाक्टर बन्छु भन्ने सोचाइ कहिलेदेखि आयो ?
यसको रोचक कथाजस्तै छ । म जन्मिने बेला एक किलो पनि थिइनँ रे एउटै हातमा अट्थेँ रे । घरमा यो त बाँच्दैन कि क्या हो भन्ने परेको थियो ।
तर म बाँचे । अलि ठूलो भएपछि बुबाले भन्नुहुन्थ्यो, तिम्रो जीवन एउटा बोनस हो, अब डाक्टर बन्नुपर्छ, यो ठाउँमा धेरै डाक्टर छैनन् ।
डाक्टर बनेर आफ्नै ठाउँमा फर्किनुपर्छ भन्नुहुन्थ्यो । सानै उमेरदेखि मेरो मष्तिष्कमा डाक्टरको छाप बसिसकेको थियो । मैले संगीत पनि सिकेको थिएँ, कहिलेकाहीँ म बुबालाई भन्थेँ, म संगीतकार बन्छु । उहाँले भन्नुहुन्थ्यो– पहिले डाक्टर बन, पछि संगीतकार लेखक धेरै कुरा बन्न सकिन्छ ।
बच्चालाई डाक्टर बन्नुपर्छ, इन्जिनियर बन्नुपर्छ भनिदिँदा उनीहरुमा मनोवैज्ञानिक दबाब हुन्छ भनिन्छ, तपाईंलाई त्यस्तो दबाब महसुस भयो कि भएन ?
त्यो कुरा कसरी भन्ने भन्ने कुराले फरक पार्छ । तिमी यही नै बन्नुपर्छ भन्नु र यसो बन्दा राम्रो हुन्छ, हाम्रो समाजलाई यो चाहिएको छ, तिमीसँग यो क्षमता छ, तिमी यो बन्न सक्छौं भन्ने भाषा प्रयोग गर्यो भने धेरै बच्चाले कुरा बुझ्छ । मान्छेलाई आखिर बन्नुपर्ने मान्छे नै हो । पेशा भनेको बाँच्नलाई चाहिने माध्यम मात्र हो ।
उमेरसँगै मान्छेको बौद्धिक ज्ञानको मात्र विकास भएको हुँदैन, उनीहरुको भावनाको र सामाजिक चेतको पनि विकास भएको हुन्छ ।
एउटा अभिभावकले मेरो बालकको भावनात्मक विकास पनि भइरहेको छ, मेरो बालकको सामाजिक चेतको पनि विकास भइरहेको छ भन्ने मष्तिष्कमा राखेर हुर्काइरहेको छ, भने डाक्टर बनोस्, इन्जिनियर बनोस्, लेखक बनोस्, पत्रकार बनोस्, उसले समाजलाई दिने देन उत्तिकै हुन्छ ।
तपाईं पढाइ पूरा गरेपछि आफ्नो ठाउँ सुर्खेत फर्किनुभयो, सबैले आफ्नो ठाउँमा गएर काम गर्ने अवसर पनि पाउँदैनन्, तपाईंलाई कसरी मिल्यो ?
यो सोचको, दृष्टिको पनि कुरा हो । गाउँमा अभाव त हुन्छ र मान्छेको महत्वाकांक्षा अपरम्पार हुन्छ । तर चिकित्सक बनिसकेपछि नेपालको जुनसुकै ठाउँमा पनि भरपुर अवसर छ ।
केही अवसर आफ्नो जीवनमा आफैं सिर्जना पनि गर्नुपर्छ । त्यसका लागि सहकार्य गर्ने क्षमता कति छ, सहनशीलता कति छ, यी कुराले पनि फरक पार्छ ।
विशेषज्ञ चिकित्सक भएर आफ्नै ठाउँमा फर्किएपछि काम गर्ने वातावरण कस्तो भयो ?
म त्यतिबेलाको क्षेत्रीय अस्पताल (हालको कर्णाली प्रादेशिक अस्पताल) मा बालरोग विशेषज्ञको रुपमा काम गर्न गएको थिएँ ।
म सुर्खेत गएपछि डाक्टर पढेका धेरै भाइबहिनीहरुले त्यहाँ काम गर्ने वातावरण कस्तो छ भनेर सोध्थे, मैले जहिले पनि राम्रो छ, आउ मिलेर काम गरौं भन्थेँ । यसरी धेरै चिकित्सकहरु फर्किए, म भन्दा पहिला काम गरिरहेकाहरु धेरै प्रेरणादायी हुुनुहुन्थ्यो, २४ घण्टा खटेर काम गर्नुहुन्थ्यो ।
म कस्तो बेलामा त्यहाँ पुगेँ भने नयाँ संविधान बनेको थियो, स्थानीय सरकार र प्रदेश सरकारहरु भर्खरै गठन भएका थिए । केही समस्या पर्यो भने तत्कालै भन्न सकिने, त्यसै कारण सहज भयो । कोरोना महामारीजस्तो केही अप्ठेरो अवस्था पनि आयो ।
सुर्खेत त कर्णालीको विकसित ठाउँमा पर्छ, कर्णालीका अरु जिल्लाहरु झन् दुर्गम छन्, ती ठाउँहरुमा तपाईंहरु कसरी जानुभयो, त्यहाँसम्म सम्बन्ध कसरी विकास गर्नुभयो ?
मलाई पहिलो पटक सुर्खेतबाहिर जाजरकोट लैजाने काम बीबीसीका पत्रकार प्रकाश पन्तले गर्नुभयो । उहाँले त्यस्तो ठाउँँमा जानुपर्छ भनेर प्रेरणा दिएपछि एउटा शिविर लिएर जाजरकोट गयौं । हामीले बालबालिका र महिलाका लागि स्वास्थ्य शिविर गरेका थियौं । त्यो पहिलो शिविर नै मेरो लाइफ ‘लाइफ चेन्जिङ’ भयो ।
दुर्गममा हामीले कुनै शिविर लिएर गयौं भने बालबालिका, हाडजोर्नी, आँखाको, कानको शिविरमा आउने बिरामीको लाइन एकैछिनमा सिद्धिन्छ । तर महिलाहरुको लाइन धेरै लामो हुन्छ, उपचार गर्न दुई/तीन दिनसम्म पनि लाग्न सक्छ ।
किन यस्तो भयो भनेर बुझ्दाखेरि त, ९२ प्रतिशत महिलाहरुको नाममा कुनै पनि सम्पत्ति नै रहनेछ । अहिलेको सुकुम्बासीको परिभाषा अनुसार हामीले सोचेभन्दा धेरै महिलाहरु सुकुम्बासी रहेछन् । श्रीमानको नाममा जग्गा भएर महिला जग्गाधनी हुँदैन, आफ्नो नाममा हुनुपर्छ । महिला बिरामी भइन् भने उपचारका लागि कि श्रीमानलाई भन्नुपर्यो, कि बालाई भन्नुपर्यो ।
एकचोटी उपचार गर्न ठाउँमा लगिदेला, तर दोस्रो चोटी, तेस्रो चोटी पनि जानुपर्यो, धेरै फलोअप गर्नुपर्ने रहेछ भने त्यो रोग छिप्पिँदो रहेछ । त्यसैले महिलाहरु दीर्घरोग पालेर बस्दा रहेछन् र कहिले शिविर लाग्ला भनेर कुरेर बस्दा रहेछन् । त्यसपछि मैले महिलाहरुको बारेमा अलि गहिराइमा बुझ्नुपर्छ भनेर धेरै पुस्तकहरु पढेँ ।
त्यसमध्ये एउटा पुस्तक छ, ‘ह्वाइ जेन्डर म्याटर इन इकोनोमी ?’ महिलामाथिको विभेदले कुनै पनि देशको अर्थतन्त्रमा कसरी असर गरिरहेको छ भन्ने कुराले मलाई स्ट्राइक गर्यो । अनि मैले आफ्नो पहिलो पुस्तक (शून्यको मूल्य) मा एउटा शब्द क्वाइन गरेँ, आमा अर्थतन्त्र । आमाहरुले धानिदिएको अर्थतन्त्र, उनीहरुमाथि उपयुक्त लगानी नगरिएको कारण खस्किएको अर्थतन्त्र ।
एउटा शिविरबाट त धेरै काम गर्न सकिँदैन, रोग पत्ता मात्र लाग्न सक्छ, थप उपचारका लागि त फेरि अस्पतालमा नै जानुपर्छ । कर्णालीमा नियमित उपचार गर्ने स्वास्थ्य संस्थाहरु कस्ता छन् ?
कुनै पनि प्रणालीलाई हेर्ने बेलामा अहिले कस्तो छ, यसको सम्भावना कस्तो छ र कस्तो खालको काम भइरहेको छ भन्ने हेर्नुपर्छ । कुनै पनि प्रणाली तालजस्तो एक ठाउँमा अडेको हुँदैन, नदीजस्तो बगेको हुन्छ, त्यसैले यो १० वर्षमा कर्णालीको स्वास्थ्यमा जुन प्रकारको परिवर्तन भयो, त्यो देशकै लागि आशालाग्दो छ । यद्यपि काम गर्न धेरै बाँकी छ ।
कर्णालीमा जन्मिएका धेरै डाक्टर आफ्नो ठाउँमा फर्किएका छन् । उनीहरुले आआफ्नो ठाउँमा आआफ्नो डिपार्टमेन्ट धानेर बसेका छन् । यो बीचमा केही राम्रा नेताहरु पनि कर्णालीले पायो । उहाँहरुको पनि कोशिस त्यसमा छ । मलाई लाग्छ, अबको केही समयमा कर्णाली नेपालको एकदमै बलियो क्षेत्र भएर उदाउनेछ ।
कर्णालीमा स्वास्थ्य संस्थाको संरचना कत्तिको बलियो छ ?
स्वास्थ्यका संरचना पिरामिड आकारको हुन्छ । सबैभन्दा तल हेल्थ पोस्टहरु हुन्छन् र यिनीहरुको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । कर्णालीमा ३१६ हाराहारी हेल्थ पोस्टहरु छन् । यी हेल्थपोस्टले राम्रोसँग काम गर्यो भने मान्छेले सामान्य रोग लाग्दैमा ठीक उपचार पाउँछ, रोग छिप्पिन पाउँदैन । त्यसैले कर्णालीजस्तो ठाउँमा हेल्थ पोस्टहरुमा ठूलो लगानी गर्नुपर्छ ।
त्यसपछि रोग छिप्पिहाल्यो भने जाने भनेको जिल्ला अस्पतालमा हो । जिल्ला अस्पतालमा एमडीजीपी, हाडजोर्नी सर्जरी, मेडिसिन, बाल रोग र स्त्री रोग विशेषज्ञको समूह बनाएर सेवा दिन सक्यौं भने जिल्ला अस्पताल पूर्ण हुन्छ । त्यसले धेरै रोगलाई त्यहीँ रोक्छ, ठीक बनाएर घर पठाउँछ । लगभग ८० देखि ९० प्रतिशतसम्म रोग जिल्ला अस्पतालमा नै रोकिन सक्छ ।
त्यसपछि बाँकी १० प्रतिशत विशिष्टिकृत अस्पतालमा जानुपर्ने हुन सक्छ, मृगौला रोगको मृगौला रोग अस्पताल, मुटुको मुटु अस्पतालमा जानुपर्छ । यसरी हामीले समग्र स्वास्थ्य संरचनालाई नै बलियो बनाउनुपर्छ । एउटा–दुईटा अस्पताल बनाएर मात्र हुँदैन ।
तपाईंहरुले नियमित शिविर कसरी गरिरहनुभएको छ, किनकी शिविरका लागि बजेट त कहिँ छुट्याइएको हुँदैन, हरेक पटक दाता खोज्नुपर्ने हुन सक्छ ?
हिजोआज धेरै स्थानीय सरकार चनाखो छ, धेरै सरकारहरुले हामीसँग सम्पर्क गरेर शिविर सञ्चालन गरिदिन आग्रह गर्नुहुन्छ । हामीले औषधि तपाईहरु किन्नुस्, हामी डाक्टरहरुको आउने-जाने र खाने खर्च आफैं ब्यहोर्छौं भन्छौं । यसरी शिवरिहरु भइरहेको छ ।
स्थानीय सरकारले स्थानीय स्वास्थ्य संरचनालाई बलियो बनाउन कत्तिको काम गरेका छन् ?
पछिल्लो समय धेरै राम्रो काम भएको छ । स्थानीय तहका नेताहरुको राजनीतिक करिअर भर्खर सुरु भएको हुन्छ । पहिलो, उनीहरुलाई राम्रो काम गरिन भने माथि जान सक्दिन भन्ने दबाब हुन्छ । दोस्रो, उनीहरु स्थिर छन् कसैले निकाल्न सक्दैन, त्यसैले शक्तिशाली पनि छन् । तेस्रो, उनीहरुले गरेको काम छिट्टै देखिन्छ । उनीहरुको काम दिनदिनै जनतासँग ठोक्किने खालको छ ।
त्यसैले स्थानीय सरकारहरुले हाम्रो क्षेत्रमा धेरै राम्रो काम गरिरहेका छन् । सिक्नुपर्ने कुरा पनि धेरै छ । जीवनमा सफल हुनु, खुशी हुनु मात्र मान्छे हुनु होइन, गल्ती गर्नु, गल्तीबाट सिक्नु, हार्नु, दुखी हुनु यो पनि मानवीय दैनिकी हो ।
यदि पूर्ण मान्छे बन्ने हो भावनात्मक रुपमा यसलाई सुरुमा स्वीकार गरे हुन्छ । म बाट राम्रो काम पनि हुन्छ, गल्ती पनि हुन्छ । आउँदा दिनमा यसलाई सुधार्दै लैजाने चाहिँ मान्छेको गुण हो ।
एक जना डाक्टरले चाहँदा कति काम गर्न सक्छ ?
मेरो विचारमा नेपालमा समाज परिवर्तनको दियो बन्न सक्छ चिकित्सक । अहिले पनि मानिसहरुले चिकित्सकलाई धेरै सम्मान गर्छन्, उसले भनेको कुरा सुन्छन् । किनकी उसले धेरै पुस्तक पढेको हुन्छ, धेरै ठाउँ देखेको हुन्छ, विद्वानहरुसँग संगत गरेको हुन्छ ।
अनि डाक्टरले ती मान्छेहरुको सेवा गर्छ, जो विभिन्न समस्या लिएर आएको हुन्छ । उनीहरुको समस्या सुधार्दै सुधार्दै जाँदा ऊ आफू पनि सुध्रिएको हुन्छ । मैले पुस्तकमा पनि लेखेको छु, ‘डाक्टरी जीवनको यही मोडमा बुझेको थिएँ, डाक्टरले केवल विरामीलाई जीवन दिँदैन, केही बिरामीको उपचारमा डाक्टरले पनि नयाँ जीवन पाउँछ ।’
तपाईंले काम सुरु गर्दा कर्णाली कस्तो थियो, अहिले कस्तो छ ?
नयाँ संविधानपछि यो देशमा कुनै ठाउँको राम्रो विकास भएको छ, भने त्यो कर्णाली नै हो ।
म चाहिँ सकारात्मक र उज्वल कर्णाली देखिरहेको छु, यद्यपि समस्या र चुनौतीहरु छन् । मलाई लाग्छ अहिलेका युवामा यस्तो राम्रो चेत छ कि उनीहरुले प्रश्न गरेको, गरिएको प्रश्नको उत्तर दिएको हेर्छु म, कर्णाली जुर्मुराउँदैछ । अब छिट्टै कर्णाली सम्पन्न प्रदेशको रुपमा विकास हुनेछ ।
म जाँदा हालको प्रादेशिक अस्पताल पुरानो भवनमा थियो, काम गर्ने डाक्टर ४ जना थिए । अहिले सय भन्दा धेरै डाक्टर छन् ।
अस्ति एक जना मान्छेले भन्नुभयो, मैले त सोचेकै थिइनँ, यत्रो अस्पताल यहाँ बनेको छ भनेर नेपालको ठूलोमध्येको एउटा रंगशाला कर्णालीमा छ । राष्ट्रिय खेलकुद कर्णालीमै हुँदैछ ।
तपाईंले मानिस खुशी हुनुपर्छ, खुशीले झन् धेरै खुशी बढाउँदै लैजान्छ भन्नुभएको छ, त्यो भनेको के हो ?
मलाई खुशी राख्नु मेरो दायित्व पनि हो, खुशी कहीँ भेटिने चिज होइन, यस्तो होला र खुशी होउँला भन्ने होइन । जुन समाजमा खुशी मानिसहरु हुन्छन्, त्यहाँ आपराधिक घटनाहरु पनि कम हुन्छ । एउटा खुशी मान्छे बढी सहयोगी हुन्छ । बढी मिलनसार हुन्छ ।
खुशी भनेको कुनै उपलब्धी होइन, खुशी भनेको त बानी हो । खुशी रहिरहने बानी हुन्छ । खुशी बानीका लागि आफैंले अभ्यास गर्नुपर्छ । अहिले सुन्दा यस्तो अभाव छ, कसरी खुशी हुने भन्छन्, तर खुशी बानीको विकास गर्न सकिन्छ ।
अहिलेका युवा, जसले पढाइ पूरा गरेको छ, उसले जागिर पाएको छैन, परिवार हेर्नुपर्ने दायित्व छ, विदेश जाने कि के गर्ने भन्ने अन्योल छ, कसरी खुशी हुने ?
एउटा सोचका कारण जीवन नै परिवर्तन हुँदो रहेछ । यो कुरा चिकित्सकीय थेरापीसँग जोडिएको छ । दोस्रो विश्वयुद्धपछि मानसिक समस्याको पहिलो ओखती बन्यो । पहिला मानसिक रोगीलाई थुनेर राख्नुपर्थ्यो, ओखती बनेपछि घरमै बसेर खान मिल्यो । यस्ता बिरामीहरुमा औषधि खाँदासम्म रोग ठीक हुने र खान छाडेपछि बल्झिन थाल्यो ।
रोग बल्झिएकाहरुको अध्ययन भयो । अनि केही सोचाइहरुका कारण मानसिक रोग पुनः बल्झिन्छ भन्ने पुष्टि भयो । यो सोचाइलाई सुधार गर्यो भने मान्छे मानसिक रुपमा बलियो हुन्छ भन्ने कुरा पत्ता लाग्यो र त्यसबाट विकास भयो, एउटा थेरापी जसलाई कग्नेटिभ बिहेबिहेर थेरापी भनिन्छ ।
यसलाई उदाहरणसहित व्याख्या गरौं । एउटा युवकले प्लस टुसम्मको पढाइ पूरा गर्यो, अब उसलाई लाग्यो कि ब्याचलर पढ्न भनेजस्तो कलेज नै पाइएन । उसको साथीसँगको सम्बन्ध पनि राम्रो छैन वा लभ लाइफ पनि भर्खरै विछोड भएको छ । उसलाई लाग्यो कि, मेरो जीवनमा केही पनि छैन, पढाइ पनि अगाडि बढिरहेको छैन, अनि उसले मेरो जीवनमा केही पनि छैन भन्ने सोच राख्यो भने त्यसलाई भनिन्छ अल इन नन फेनोमेनन । अर्थात भनेजस्तो भएन भने केही पनि भएन भन्ने सोच ।
त्यसपछि उसका शब्दहरु कस्तो निस्किन्छ भने म त अलिकति कमजोर छु कि क्या हो, जीवन अगाडि कठोर छ कि क्या हो, गुड लुकिङ छैन कि क्या हो, ब्रेक अप पनि भयो । मसँग भनेजस्तो साथी नै छैन भन्ने कुरा बारम्बार मुखबाट निस्किन थाल्छ ।
अब उसको व्यवहार कस्तो हुन्छ भने ऊ एक्लो हुने, अलिकति लागू औषध प्रयोग गर्ने, चुरोट खाने । यसरी एक्लिँदा के हुने खतरा बढ्यो भने नयाँ साथी वा नयाँ प्रेमी प्रमिका भेटिने सम्भावना झन् घट्छ । नयाँ साथी सम्बन्ध घट्यो । अरु कलेजमा स्कलरसिप पाउने सम्भावना पनि घट्यो ।
त्यसरी नसोचेर ए म प्लस टु सम्म त आएँ नि, एसईई पास गर्न गाह्रो भएको थियो, तर यहाँसम्म त आएँ नि । धेरै साथी नभए पनि यी दुई जना त छन् नि । ब्रेक अप त भयो तर हाम्रो दुई वर्ष राम्रो सम्बन्ध भयो नि ।
अनि कलेजहरु कति धेरै होलान्, मैले १० वटा कलेजमा मात्र प्रयास गरेर नभएको त होइन नि भनेर तथ्यमा आधारित सोच विकास गर्नुपर्यो, भावनामा आधारित सोच होइन । तथ्यमा आधारित सोच बनायो भने उसका शब्दहरु, लेट्स ट्राइ, प्रयास गरौं न यो नभए त्यो हुन्छ । जीवनमा सफल भइहालिन्छ भन्ने हुन्छ । यसरी एउटा सोचाइले मान्छेलाई चक्रमा पार्ने र सफल बनाउने दुबै हुन सक्छ ।
कुराकानीको थप अंश भिडियोमा हेर्नुहोला :

अष्ट्रेलिया टूर, वेष्ट इण्डिज सिरिज र विश्वकप सपना
-1757945525.jpg)
'यत्रो लगानी गरेर पहाड नजानु भन्थे, पैचो मोडल सफल भयो'
-1753073695.jpg)
राजनीतिज्ञ राम्रो व्यवस्थापक भएनन्, अब मूल सफा गर्नुपर्छ

'ट्रेन्डिङ बिजनेस होइन, आफैं ट्रेन्ड सेट गर्ने हो'
