'यत्रो लगानी गरेर पहाड नजानु भन्थे, पैचो मोडल सफल भयो'
नेपालको पहाडी क्षेत्रमा फल्ने तरकारी र फलफूल अनगिन्ती छ । घरैपिच्छे थोरै थोरै उत्पादन हुने यस्ता अन्नबाली, फलफूल र तरकारी बजारको अभावमा त्यसै खेर गइरहेको छ ।
नजिक बजार नभएका कारण किसानले आफैं बेच्न पनि सक्दैनन् । थोरै थोरै संकलन गरेर बजार ल्याएर बेच्दा फाइदा नहुुने भएकाले व्यापारीहरु पनि गएका छैनन् ।
यस्तै बेलामा ११ वर्षअघि गुल्मी, पाल्पा र अर्घाखाँचीलाई केन्द्र बनाएर कृषि बजारीकरण गर्ने गरी पैंचो पसल नामको कम्पनीले काम सुरु गर्यो । अहिले यो कम्पनीले आफैं केचप, अचार, जामजस्ता सामग्री उत्पादन गर्छ भने बुटवलमा २ वटा तरकारी बजार सञ्चालन गर्छ ।
अनि गाउँगाउँमा तरकारी संकलन केन्द्र र बिक्री केन्द्र पनि राखेको छ । पैचो पसलको काम र पहाडी क्षेत्रको कृषि उपज बजारीकरणको अनुभवबारे पैचो पसल प्रालिका प्रबन्ध निर्देशक ध्रुव न्यौपानेसँग नेपाल शोका विनोद ढकालले गरेको कुराकानी :
पैचो पसल प्रालि कस्तो व्यवसाय हो र यसले कसरी काम गरिरहेको छ ?
पैचो पसल प्रालि कृषिलाई व्यवसायिकरण गर्ने उद्देश्यले स्थापित अवधारणा हो । नेपालमा धेरैजसो हिमाली र पहाडी जमिन छ । त्यहाँ धेरै छरिएको बस्ती छ । किसानहरुको उत्पादन पनि सानो–सानो मात्रामा छ । त्यो उत्पादनलाई एकीकृत गरेर अलि धेरै बनाएर राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा कसरी बेच्न सकिन्छ भनेर हामीले पैचो पसल सुरु गरेका हौं ।
२०७१ सालमा गुल्मीको बलेटक्सार भन्ने ठाउँमा पैचो पसल प्रालिको प्रधान कार्यालय खोल्यौं । यो कम्पनीले गुल्मी, अर्घाखाँची र पाल्पाका विभिन्न गाउँहरुमा मुख्य गरेर खेतीपातीमा काम गरिरहेको छ । गुल्मीमा फलफूल र तरकारी प्रशोधन केन्द्र राखेका छौं । फलफूल र तरकारी प्रशोधनमा हामी नेपालको ठूलै कम्पनीमध्येमा पर्छौं । त्यहाँबाट उत्पादित सामग्री नेपाल र विभिन्न देशमा बिक्री भइसकेको छ ।
पैचो पसलको प्रशोधन केन्द्रले के के उत्पादन गर्छ ?
मुख्य गरेर होटल र चाउचाउ कम्पनीलाई चाहिने रेसिपीहरु हामी उत्पादन गर्छौं । टोम्याटो केचप हाम्रो प्रमुख उत्पादन हो । त्यसपछि सोया सस, भिनिगर आदि सससँग सम्बन्धित उत्पादनहरु छन् ।
त्यसबाहेक १६/१७ किसिमका नेपाली स्वादका अचारहरु उत्पादन गरिरहेका छौं । यी अचारहरु १०० ग्रामदेखि २० किलोग्रामसम्मका प्याकेटमा उत्पादन गर्छौं ।
पहाडका फलफूल प्रशोधन गरेर जाम बनाएका छौं, जाम पनि ठूला होटलका लागि ६ केजीको प्याकमा उत्पादन गर्छौं भने घरका लागि आधा केजीका प्याकहरु छन् ।
यसबाहेक कोदोको पीठो, मकैको आटो, सिस्नोको पाउडर, गुन्द्रुक, मस्यौरा पनि उत्पादन गर्छौं । निबुवाको चुक पनि बेचिरहेका छन् । यस हिसाबले हामीले ८०–९० थरि उत्पादनहरु बजार पठाइरहेका छौं ।
पहाडी क्षेत्रमा कृषि उपजहरु धेरै किसानहरुबाट संकलन गर्नुपर्छ, त्यसका लागि संयन्त्र कस्तो बनाउनुभएको छ र ती संयन्त्रले कसरी काम गरिरहेको छ ?
सुरुमा हामी कुनै गाउँ छनोट गर्छौं । त्यो गाउँमा २५–३० देखि ६०–७० वटासम्म घर हुन सक्छ । त्यहाँका किसानहरुलाई पैचोको प्रणालीमा आवद्ध गर्छौं । त्यसका लागि हामीले सफ्टवेयर विकास गरेका छौं । जसरी बैंक खाता खोल्छौं, किसानहरुले पैचोमा खाता खोल्छन् । खाता खोलेपछि किसानहरुले के के बिक्री गर्न सक्छन् भनेर हामी विवरण संकलन गर्छौं ।
हामी र किसानबीचको समन्वयको काम गर्ने गाउँका अगुवा किसानलाई रोजगारी पनि दिन्छौं । किसानलाई सेन्ट्रर पर्ने ठाउँमा कलेक्सन सेन्टर बनाउँछौं ।
किसानहरुले गर्ने उत्पादनका आधारमा हप्तामा एक पटक वा दुई पटक कलेक्सन सेन्टरबाट तरकारी र अन्नबाली संकलन गर्छौं ।
किसानहरुलाई चाहिने बीऊ, विषादी र प्राविधिक सहयोग हामी दिन्छौं । किसानलाई थाहा नभएको कुरा सिकाउँछौं, अन्धाधुन्ध विषादी प्रयोग नगर्न सिकाउँछौं ।
औसतमा हामी दिनमा ४–५ वटा कलेक्सन सेन्टरबाट तरकारी र अरु कृषि उपज संकलन गर्छौं । त्यसको सबै डेटा सफ्टवेयरमा पनि राख्छौं । सफ्टवेयरबाट सेन्ट्रल कलेक्सनमा कति कृषि उपज संकलन भयो भनेर लेखाजोखा गर्छौं ।
अनि हाम्रो प्रशोधन केन्द्रमा चाहिने छुट्याउँछौं, बढी भएको बुटवलको दुईवटा तरकारी बजारमा ल्याउँछौं । गाउँमा किसानहरुलाई पनि आफूसँग नभएको तरकारी चाहिएको हुन सक्छ । अवश्यकता अनुसार त्यहाँ पनि वितरण गर्छौं ।
कृषिमा हाम्रो दुईवटा विभाग छ, एउटाले पशु चौपाय हेर्छ, अर्कोले बालीनाली हेर्छ । पशु चौपाय हेर्नेले गाईबस्तुको एआई गर्ने, कुनै बिमार भए हेर्ने काम गर्छ ।
बालीनाली हेर्नेले किसानहरुलाई खेतीपातीमा पर्ने प्राविधिक सहयोग गर्छ । अहिले हामीले अनुसन्धानको हिसाबले आफैंले पनि १०० रोपनी जमिनमा खेती गरिरहेका छौं । त्यहाँ कृषि प्राविधिकलाई पनि खेतीमा संलग्न गराएका छौं ।
कृषिको काम गर्न किन पहाड नै रोज्नुभयो, पहाडमा धेरै मात्रामा उत्पादन हुँदैन, थोरै थोरै संकलन गर्दा मूल्यमा प्रतिस्पर्धा गर्न कठिन हुन्छ होला ? पहाडमै काम गर्ने सोचाइ कसरी आयो ?
कुनै पनि व्यवसायमा अलग पहिचान नभई हामी प्रतिस्पर्धा गर्न सक्दैनौं । हामीले संसारभरलाई बेच्ने भनेको हाम्रो अल्टिच्युड (उचाइ) हो । उचाइमा फलेको कृषि उपज हामीसँग छ भन्न सकेमा मात्र हामीले भ्यालु क्रिएट गर्न सक्छौं । यो उत्पादन ५ हजार फिट, ६ हजार फिटमा फलेको हो भन्न सक्यौं भने मात्र हाम्रो अलग पहिचान हुन्छ । होँचो भूभागमा फलेका कृषि उत्पादन त धेरै ठाउँमा पाइन्छ ।
हामीले अर्गानिक उत्पादन गर्ने हो भने त हामीलाई तहतहको जमिन चाहिन्छ । एउटै उचाइमा बाह्रै महिना एकैथरि तरकारी वा फलफूल उत्पादन गर्न सकिँदैन । जस्तै टमाटरको केचप बनाउँछौं भने बाह्रै महिना गोलभेँडा चाहिन्छ । त्यसका लागि कि त तराइमा तापक्रम मेन्टेन गर्ने गरी खेती गर्नुपर्यो, त्यो अर्गानिक हुँदैन । त्यसैले प्राकृतिक रुपमा तापक्रम मिलाउन जाडो महिनामा होचो भूभागमा खेती गर्ने र गर्मी महिनामा उचाइमा खेती गर्न सकिन्छ । त्यसैले हामीले पहाड रोजेका हौं ।
फेरि पहाडमा बस्ने जनसंख्यालाई केही अवसर छैन । उहाँहरु पहाडमा बस्न त रुचाउनुहुन्छ, तर आम्दानीको आधार के त ? आम्दानीको आधार भएन भने त मान्छे सधैं बस्न सक्दैन । त्यसैले उहाँहरुलाई सधैं पहाडमा बस्न सक्ने वातावरण पैंचोको मोडलले दिन सक्छ । कम्पनीका हिसाबले हेर्दा गाउँबाट कृषि उपज संकलन गरेर रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ । किसानको ठाउँबाट हेर्दा उहाँहरुको पनि कृषि उपज बिक्री भयो र आम्दानीको आधार भयो ।
पहाडको अर्को फाइदा के हो भने त्यहाँ हरेक महिना नयाँ नयाँ खालको फलफूल पाकिरहेको हुन्छ । बाह्रै महिना फलफूल निकाल्न सकिन्छ । जुन होचो भूभागमा सम्भव हुँदैन । यो कुराले पहाड उत्कृष्ट छ । पहाडलाई हामीले अवसरमा बदल्न सक्छौं भने राम्रो उद्योग बनाउन सकिन्छ भन्ने ठानेर पहाड गएका थियौं । १० वर्षको कामले झन् हौसला थपेको छ ।
पैचो पसल सुरु गर्दा धेरैले मलाई भनेकै हो, जहाँ केही पनि छैन, त्यहाँ किन जाँदैछौ, यो त गलत बाटो भयो । यत्रो लगानी गरेर पहाड जानु मुख्र्याइँ हो भनेर भनेका थिए । म पनि सुरुमा डराएकै हो ।
ठूलो भोल्युममा त पाइँदैन, कसरी व्यवसाय चलाउने भन्ने लागेको थियो । तर किसानलाई पनि बजारबाट दैनिक उपभोग्य सामान किन्नुपर्छ, किसानलाई त्यो दिएर कर्मचारी बचाउन सकिन्छ र उहाँहरुको उत्पादन ल्याएर उद्योग चलाउन सकिन्छ भनेर काम सुरु गर्यौं । यो कन्सेप्ट राम्रो देखियो ।
पूरा भिडियो यहाँ हेर्नुहोस् :

अष्ट्रेलिया टूर, वेष्ट इण्डिज सिरिज र विश्वकप सपना
-1756377348.jpg)
जाजरकोटको पहिलो शिविरले मेरो जीवन नै परिवर्तन गरिदियो
-1753073695.jpg)
राजनीतिज्ञ राम्रो व्यवस्थापक भएनन्, अब मूल सफा गर्नुपर्छ

'ट्रेन्डिङ बिजनेस होइन, आफैं ट्रेन्ड सेट गर्ने हो'
