नेभिगेशन
एक्सप्लेनर भिडियो

स्थानीय चुनावमा रास्वपा उम्मेदवार बन्न के के चाहिन्छ योग्यता ? 

तपाईं, आसन्न स्थानीय चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्न इच्छुक हुनुहुन्छ ? 

पार्टीमा पहिल्यैदेखि लागेको हुँ । पार्टीको ठूलो नेता चिनेकै छु भनेर उम्मेदवार बन्नेमा ढुक्क भएर बस्नुभएको त छैन ? तर त्यसरी उम्मेदवार भइँदैन । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय चुनावका लागि उम्मेदवार छनोटको छुट्टै मापदण्ड बनाएको छ । 

उम्मेदवार छनोट रुपरेखा पनि सार्वजनिक भइसक्यो । यसअनुसार अब हुने स्थानीय तह चुनावमा उम्मेदवारी दिन चाहनेले ३ चरणको परीक्षा पास गरेर मात्र उम्मेदवार बन्न पाउनेछन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार छनोटलाई वैज्ञानिक, खुला र प्रतिस्पर्धात्मक बनाउने भनेको छ । उसले भनेको छ, ‘उम्मेदवार नेताको निगाहबाट होइन, नागरिकको भरोसा, पार्टीको मूल्य मान्यता, सार्वजनिक आचरण, नेतृत्व क्षमता र संस्थागत मूल्यांकनबाट तय हुनुपर्छ ।’ 

स्थानीय तहको निर्वाचनको मिति त तय भइसकेको छैन । तर आगामी फागुनमा हुने सम्भावना बढी छ । किनकी २०७९ वैशाखमा निर्वाचित भएका स्थानीय जनप्रतिनिधिहरुको कार्यकाल २०८४ वैशाखसम्म मात्र हो । स्थानीय तहलाई जनप्रतिनिधि विहीन नबनाउने हो भने फागुनमा चुनाव गर्नुपर्छ । निर्वाचन आयोगले पनि फागुनमा चुनाव गर्नुपर्ने हुनसक्छ भनेर आफ्नो तयारी गरिसकेको छ । 

स्थानीय तह निर्वाचनमा सबै पदमा उम्मेदवारी दिन एउटा पार्टीलाई देशभर ३५ हजार २२१ उम्मेदवार आवश्यक पर्छ । 

२९३ नगरपालिकाको मेयर र उपमेयर, ४६० गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाका वडाध्यक्ष । १३ हजार ४८६ जना खुला वडा सदस्य, ६ हजार ७४३ जना महिला वडासदस्य र ६ हजार ७४३ जना नै दलित महिला वडा सदस्यका उम्मेदवार आवश्यक पर्छ । 

पहिलो पटक स्थानीय निर्वाचनमा भाग लिन लागेको रास्वपा आगामी स्थानीय चुनावमा ३५ हजार २२१ सिटमा उम्मेदवार उठाउन चाहन्छ । 

रास्वपा देशको सबभन्दा ठूलो पार्टी हो । ६ महिना अगाडि मात्र भएको आम चुनावमा रास्वपाले अभूतपूर्व सफलता पाएको थियो । त्यसैले स्थानीय चुनावमा पनि रास्वपाको सम्भावना बलियो हुन्छ भनेर घन्टी चुनाव चिन्ह लिएर उठ्न चाहने धेरै छन् ।

तर रास्वपाले उम्मेदवार छनोटका लागि मापदण्ड बनाएको छ । स्थानीय तह नागरिकको दैनिक जीवनसँग सबैभन्दा नजिकको सरकार भएकाले त्यहाँको नेतृत्व केवल चुनाव जित्ने पात्र मात्र होइन, सेवा प्रवाह सुधार्ने, सुशासन कायम गर्ने पात्र खोज्ने रास्वपाले बताएको छ ।

यदि कोही व्यक्ति स्थानीय तहमा रास्वपाको उम्मेदवार बन्न चाहन्छ भने उसले ३ वटा चरण पार गर्नुपर्छ । 

पहिलो हो, क्यान्डिडेट क्लब । 

स्थानीय तह निर्वाचनमा मेयर वा अध्यक्षदेखि वडा सदस्यसम्म उम्मेदवार दिन इच्छुक व्यक्तिले पहिला क्यान्डिडेट क्लबमा निवेदन दिनुपर्नेछ । क्यान्डिडेट क्लबमा निवेदन दिन पार्टीको सक्रिय सदस्य भएको हुनुपर्छ । 

यदि रास्वपाको सक्रिय सदस्यता प्रणाली कार्यान्वयन भएको छैन भने साधारण सदस्यले पनि निवेदन दिन पाइन्छ । 

नगरपालिकाको मेयर/उपमेयर, गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष र वडाध्यक्षको उम्मेदवार बन्न रास्वपाको सदस्यता लिएको ४५ दिन पूरा भएको हुनुपर्छ । अनि अरु दल छाडेर आएको भए रास्वपाको सदस्यता लिएको ९० दिन भएको हुनुपर्नेछ । 

समाजका प्रतिष्ठित, विज्ञ, स्वच्छ छवि भएका र पार्टीलाई आवश्यक पर्ने विशेष क्षमता भएका व्यक्तिहरुका लागि भने पार्टी सदस्यता लिएको हुनुपर्दैन । उनीहरुका लागि ल्याटरल इन्ट्रीको व्यवस्था गरिएको छ । तर त्यस्ता व्यक्तिले उम्मेदवार बन्न चाहेमा वडाध्यक्ष पदका लागि पालिका समिति र जिल्ला समितिको लिखित सहमति चाहिन्छ । 

गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष अनि नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार बन्न जिल्ला समिति र प्रदेश समितिको लिखित सहमति चाहिन्छ । उपमहानगर र महानगरको प्रमुख र उपप्रमुखका लागि केन्द्रीय समितिको लिखित सहमति चाहिन्छ । 

उम्मेदवारका लागि आवेदनसँगै सम्पत्ति विवरण र प्रहरी रिपोर्ट पेश गर्नुुपर्छ । आफ्नो पारिवारिक र वैवाहिक अवस्थाबारे पनि जानकारी गराउनुपर्नेछ । सम्बन्ध कानुनी रुपमा पूर्णत वैध र स्पष्ट छ, कुनै कुरा लुकाएको छैन वा विवादित अवस्था छैन भनेर स्वघोषणा गर्नुपर्नेछ । 

कुनै प्रकारको घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार वा सार्वजनिक स्थलमा अमर्यादित व्यवहारमा संलग्न छैन भनेर पनि स्वघोषणा गर्नुपर्छ । साइबर बुलिङ, चरित्र हत्या, अनलाइन ठगी वा अन्य कुनै पनि प्रकारको डिजिटल दुर्व्यवहारमा पनि संलग्न छैन भनेर स्वघोषणा गर्नुपर्छ । 

मिटरब्याज, सट्टेबाजी, हप्ता असुली, ढुकुटी, हुन्डी वा सहकारीको वचत अपचलनमा संलग्न छैन भनेर पनि स्वघोषणा गर्नुपर्छ । 

उम्मेदवारी दिन चाहेको पालिका वा वडा अन्तर्गत सञ्चालित कुनै पनि विकास निर्माण, ठेक्कापट्टा र उपभोक्ता समितिमा संलग्नता भएको वा नभएको पनि खुलाउनुपर्नेछ । यसैगरी अदालत, अख्तियार, वा अरु न्यायिक निकायमा भ्रष्टाचार, ठगी जस्ता फौजदारी मुद्दा वा अरु झैझगडा छ कि छैन पनि खुलाउनुपर्ने हुन्छ । 

गत फागुनमा भएको प्रतिनिधिसभा सदस्यको चुनावमा उम्मेदवार भएकाहरुले स्थानीय तहमा उम्मेदवार बन्न पाउने छैनन् । त्यो चुनावमा टिकट नपाएका वा सामानुपातिकको बन्दसूचीमा नाम नभएकाहरुले मात्र स्थानीय तह चुनावमा उम्मेदवार बन्न पाउनेछन् । तर एउटा शर्त के छ भने अहिले स्थानीय तहको उम्मेदवार छनोट प्रक्रियामा सामेल भएकाहरु अब हुने प्रदेशसभा चुनावमा सहभागी हुन पाउने छैनन् । 

०००

यो त भयो निवेदन दिने प्रक्रिया । दोस्रो चरणमा निवेदन दिने व्यक्तिहरुको मूल्यांकन प्रक्रिया सुरु हुन्छ । 

यो चार चरणमा हुन्छ । 

उम्मेदवार छनोटको पहिलो चरण हो, लिडरसिप एकेडेमी । रास्वपाबाट उम्मेदवार बन्न लिडरसिप एकेडेमीमार्फत प्रशिक्षण लिएकै हुनुपर्छ । त्यहाँ राजनीतिक संस्कार, नीतिगत स्पष्टता, जनसेवा, स्थानीय सुशासनका विविध आयामका विषयमा प्रशिक्षण दिइन्छ । 

त्यसपछि आवेदकमा नेता हुने गुण कत्तिको छ भनेर हेरिन्छ । तोकिएको न्यूनमत मापदण्ड पार गर्नेहरुलाई छनोट गरेर अघिल्लो चरणमा लगिनेछ । बाँकी भने त्यहीँबाट आउट हुनेछन् । 

मूल्यांकनको दोस्रो चरण हो, पोलिटिकल प्रोक्सिमिटी जाँच । यहाँ उम्मेदवार बन्न आकांक्षीहरुको राजनीतिक पृष्ठभूमि, पार्टीभित्रको भूमिका, जनसम्बन्ध, चारित्रिक धरातल, लोकप्रियता, अनुभव चुनाव जित्ने सम्भावनाबारे मूल्यांकन गरिन्छ । मूल्यांकनका लागि हरेक विषयमा निश्चित अंकभार तोकिएको छ । 

मूल्यांकनको तेस्रो चरण हो, समावेशीता । जनसांख्यिकीय अनुपात, उमेर समूह, लैंगिक समानता, अपांगता, भौगोलिक विकटता र समाजिक आर्थिक पृष्ठभूमि आदिका आधारमा आकांक्षीको समावेशिता पनि मूल्यांकन गरिन्छ । यसको पनि अंक भार छ । 

त्यसपछि आउँछ, प्राइमरी निर्वाचन । 

प्रारम्भिक निर्वाचनमा रास्वपाका पार्टी सदस्यहरुले मतदान गरेर आफ्नो पालिका वा वडाका उम्मेदवारहरु छनोट गर्नेछन् । रास्वपाले पार्टीभित्रको हाइरार्कीका आधारमा मतदातालाई पनि ३ किसिममा विभाजन गरेको छ । 

सक्रिय सदस्यहरुको मतदाता मण्डल, मध्यवर्ती सांगठनिक मतदाताहरुको मण्डल र विशिष्ट मतदाताको मण्डल । 

वडा सदस्यका उम्मेदवार छनोट गर्दा सक्रिय मतदाता मण्डलले मात्र मतदान गर्नेछ । तर वडा अध्यक्षदेखि माथिका उम्मेदवार छनोट गर्दा सक्रिय मतदाता मण्डलसँगै मध्यवर्ती मतदाता मण्डल र विशिष्ट मतदाता मण्डलले पनि मत हाल्नेछन् । 

मध्यवर्ती सांगठनिक मतदाता मण्डलमा पालिका समितिका सदस्य, निर्वाचन क्षेत्रका सदस्य, जिल्ला र प्रदेश समितिका सदस्य, केन्द्रका विभिन्न विभागहरुका सदस्य आदि हुन्छन् । विशिष्ट मतदाता मण्डलमा चाहिँ केन्द्रीय सदस्य र संघीय सांसदहरु रहन्छन् । 

प्राइमरी चुनावमा २५ प्रतिशत भन्दा बढी मतदान हुनैपर्छ । नभए त्यो प्राइमरी अवैध मानिन्छ । 

प्राइमरीमा नो भोटको व्यवस्था पनि राखिएको छ । उम्मेदवारका आकांक्षीमध्ये कुनै पनि ठीक छैनन् भनेर मत दिन पनि पाइन्छ । त्यस्तो मत धेरै भयो भने उम्मेदवारका आकांक्षी सबै अयोग्य हुन्छन् । 

प्राइमरी निर्वाचन भौतिक रुपमा होइन, अनलाइन विधिबाट हुनेछ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले बनाएको पार्टीको आधिकारिक मोवाइल एपबाट मतदान हुनेछ । इन्टरनेटको पहुँच नभएको, भौगोलिक विकटता वा अन्य कारणले अनलाइनबाट भोटिङ गर्न सम्भव नभए ट्याबलेट वा कम्प्युटर राखेर अफलाइन डिजिटल मतदान हुनेछ । 

चार मापदण्डमा मूल्यांकन गरेपछि बल्ल कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय रास्वपाले लिनेछ । रास्वपाका अनुसार लडरसिप एकेडेमीको २५, पोलिटिकल प्रोक्सिमिटीको २५, समावेशीताको १० र प्रारम्भीक निर्वाचनको ४० प्रतिशत अंक भार छ । कुल अंकभारमा सबभन्दा अगाडि भएकालाई टिकट दिइने रास्वपाले बताएको छ ।

रास्वपाले स्थानीय तहको उम्मेदवार छनोटको यो प्रक्रियामा आर्थिक लेनदेन र चलखेलमा पूर्ण रुपमा रोक्ने दाबी गरेको छ । प्राइमरी निर्वाचनमा धाँधली गरे कडा कारबाही हुने बताएको छ  । अनि उम्मेदवार छनोटमा संलग्न पदाधिकारी र सदस्यहरु पदीय मर्यादा, निष्पक्षता, संस्थागत जिम्मेवारी विपरीत काम गरे वा गोप्य सूचना चुहाएमा पनि कारबाही गर्ने  रास्वपाको उम्मेदवार छनोटको मापदण्डमा उल्लेख छ । 

रास्वपाले यस्तो मापदण्ड बनाएको यो पहिलो पटक होइन  रुपन्देही ३ को उपचुनाव तय भएपछि उम्मेदवाार छनोट गर्न यस्तै अभ्यास गरेको थियो । तर जब टिकट वितरण भयो, विवादित बन्यो । उम्मेदवारका प्रतिस्पर्धीे र पार्टीकै नेताहरुले प्रश्न उठाए । 

जेनजी आन्दोलनपछि फागुनमा आम चुनाव हुने भयो । रास्वपाले समानुपातिक उम्मेदवार छनोटका लागि मापदण्ड बनायो । प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहनेसँग २५ हजार र समानुपातिक उम्मेदवार बन्न चाहनेसँग ५० हजार रुपैयाँ शुल्क लिएर फारम भरायो । तर जब उम्मेदवार छनोट गर्ने बेला भयो, प्राइमरी पनि भएन, कुनै मापदण्ड पनि बनेन । नेताहरु मिलेर लिस्ट बनाए, उनीहरुले नै टिकट बाँडे । 

जब सार्वजनिक रुपमा प्रश्न उठ्यो, नेताहरुले अन्तिम समय बालेन शाह लगायतको पक्षसँग सहमति गरेकाले प्राइमरी लगायतको प्रक्रिया पुरा गर्न नसकेको तर्क गरे । अब स्थानीय चुनाव आउँदैछ, रास्पावाले फेरि उम्मेदवार छनोटको मापदण्ड बनेको छ । अब हेर्नु पर्नेछ, रास्वपाले साँच्चै आफूले बनाएको मापदण्डअनुसार उम्मेदवार छनोट गर्छ वा अघिल्लो पटक जस्तै कुनै बहना बनाउँछ ? 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो