नेभिगेशन
एक्सप्लेनर भिडियो

नेपालमा सुनमा लगानी गर्न सरकारले यसरी हालेको छ तगारो

एक वर्षअघि एक तोला सुनको मूल्य १ लाख ६२ हजार रुपैयाँ थियो । 

अहिले २ लाख ५८ हजार पुगेको छ । 

एक वर्ष अघि सुन किन्नेले झण्डै तोलामा ९६ हजार रुपैयाँ कमाइसकेको जस्तो देखिन्छ । 

डेढ लाख लगानी गर्दा एक वर्षमै ९० हजारको रिटर्न दिने अरु व्यवसाय के होला ? 

के नेपालमा सुनमा लगानी गर्न सहज छ त ? 

००० 

अहिले सुनको मूल्य यसरी बढिरहेको छ कि नेपाली लगानीकर्ताहरु सुनतिर तानिएका छन् । अब पनि सुनमा लगानी नगरे अहिलेजस्तै अर्को वर्षमा गएर फेरि पछुताउनुपर्ने हो कि भन्ने ठानिरहेका छन् । 
सुनको मूल्य अझै बढ्छ कि घट्छ भन्नेबारे अहिले विश्वबजार मै थरी–थरीका अड्कलबाजी छन् । 

विश्वमा जब युद्ध र झै–झगडाहरु बढ्छ, अनिश्चतता छाउँछ, तब सुनको माग बढ्छ । यस्तो बेलामा शेयर बजारजस्ता क्षेत्रमा लगानी गर्नु धेरै जोखिमपूर्ण हुन्छ, त्यसैले लगानीकर्ता सुनकै लगानी सुरक्षित ठान्छन् । 

अनि मानिसहरुले सुन किन्न थाल्छन्, अर्थशास्त्रको सिद्धान्तले भन्छन्, बजारमा जब माग बढ्छ, अनि भाउ बढ्न थालिहाल्छ । अहिले भएको पनि त्यही हो । 

रुस र युक्रेनको युद्ध रोकिएको छैन । विभिन्न शक्ति राष्ट्रबीच भूराजनीतिक तनाव छ । अमेरिकाले सबैजसो देशलाई भन्सार दर बढाएर ट्रेड वारमा छ । यही बेला अमेरिकी फेडरल बैंकले निक्षेपको ब्याजदर घटाइरहेको छ । 

अमेरिकी सरकारको सबैभन्दा ठूलो सुनको भण्डार फोर्टनक्सको विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पले नै प्रश्न उठाएका छन् । उनले त्यहाँ कति सुन छ हेर्ने भनेपछि त्यहाँ तोकिएको परिमाणमा सुन छ कि छैन भन्ने आशंका बढेको छ । त्यसैले अमेरिकाले ठूलो मात्रामा सुन सञ्चय बढाइरहेको छ ।

ब्रिक्स गठबन्धनले अमेरिकी मुद्रालाई कमजोर बनाउने रणनीतिअनुसार व्यापारका साझा नीतिहरु बनाइरहेका छन् । डलरमै हुने अन्तर्राष्ट्रिय कारोबार अरु मुद्रामा समेत हुन थालेको छ । 

यही बेला विश्वभरका केन्द्रीय बैंकहरु पनि सुनको भण्डारण बढाउन केन्द्रित छन् । अमेरिकी कमोडिटी अर्थात् वस्तु विनिमय बजारमा किनबेच भएका सुन लगानीकर्ताले भौतिक रुपमै माग्न थालेका छन् । 

यस्ता कारणहरुले सुनको माग उच्च भएको छ । तर, सुनको आपूर्ति भने सीमित छ । त्यही कारण सुनको मुल्य उच्च दरमा उकालो लागिरहेको हो । 

०००० 

दिनदिनै सुनको भाउ बढिरहेको समाचार सुन्दा तपाईंलाई पनि लागेको होला । यही बेलामा अलिकति सुन किनेर राख्न पाए त ... । 

विश्वमा दीर्घकालीन लगानीको क्षेत्रमा सुन सबैभन्दा बढी सुरक्षित मानिन्छ । सुन किनेर राख्ने र महंगो भएका बेला बेच्ने, तुरुन्तै नाफा भइहाल्यो । 

तर यो मात्र होइन, विश्वमा सुनमा लगानी गर्ने धेरै तरिकाहरु आइसके । 

विश्वका धेरै देशमा सुन कारोबार हुने सजिलो माध्यम हो, कमोडिटी मार्केट अर्थात् वस्तु बजार । जुन बजार नेपालमा छैन । यसबारे कानुन त छ, तर धितोपत्र बोर्डले यस्तो बजार स्थापना गर्न रुचि नै दिएको छैन ।  

कमोडिटी बजार, वस्तुको कारोबार हुने बजार हो । जसरी नेप्सेमा सेयर कारोबार हुन्छ, त्यसैगरी सम्पत्तिजन्य वस्तुको किनबेच लागि विदेशमा कमोडिटी बजारहरु हुन्छन् । त्यहाँ कसैले सुन बेच्न राख्छन्, त्यो सुन लगानीकर्ताले किन्न पाउँछन् । 

सुन किनेपछि हातमै सुन आउने हैन, त्यो सुन लाइभ मार्केटमा कारोबार भएपछि त्यसको रेकर्ड लगानीकर्ताको टीएमएसमा देखिन्छ । र, आफूले चाहेका बेला लगानीकर्ताले सो सुन त्यही बजारमा बेच्न पाउँछ । 

यसमा नाफाघाटा हिसाब सेयरको बजारको जस्तै हो । लगानीकर्ताले आफ्नो रिस्कमा सुन किन्छ, कहिले बेच्ने भन्ने निर्णय पनि उसैको हातमा हुन्छ । 

यसरी सुनमा पनि सेयरमा जस्तै दीर्घकालीन र अल्पकालीन लगानी हुन्छन् । कसैले ट्रेडरकै रुपमा ठूलो मात्रा सुन किनेर थोरै मूल्य बढ्नासाथ बेचेर नाफा बुक गर्छन् । कोही चाहिँ लामो समयसम्म पनि सुन नबेची बस्छन् र मूल्य धेरै बढेको मौकामा बेच्छन् ।  

०००० 

विभिन्न देशहरुमा केन्द्रीय बैंक र बैंकहरुले सुनमा लगानीको स्किम नै ल्याउँछन् । बैंकलाई आवश्यक पर्ने लगानीयोग्य निक्षेप संकलनको उद्देश्यले यस्तो गरिन्छ । बैंकहरुले आफूसँग भएको सुन लकरमा राखेर बण्ड जारी गर्छन् । 

त्यो बण्ड किन्ने लगानीकर्ताले आफूले चाहेको समयमा बैंकबाट किन्न र बेच्न पाउँछन् । अर्थात् आजको मूल्यमा यति परिमाणको सुन किनेँ भन्ने आधारमा सुनमा लगानी गरिन्छ । 

किनेको सुन घरमा सुन ल्याएर राखिरहनुपर्दैन । र, बेच्नुपर्दा सोही दिनको मूल्यका आधारमा बैंकले पैसा पनि दिन्छ । यसरी गहना नबनाई, घरमा नल्याई पनि सुनमा लगानी गर्न सकिन्छ । तर, यो व्यवस्था पनि नेपालमा छैन । 

सुनमा लगानीको अर्को अभ्यास पनि छ, त्यो हो, निश्चित समय अवधिका लागि सुन नै बचत गर्न पाउने सुविधा । मानौं तपाईंसँग सुनको एक किलो गहना छ । 

त्यो बचत गर्ने हो भने सुरुमा बैंकले त्यसको वास्तविक मूल्यांकन गर्छ । अनि निश्चित अवधिमा पाउने प्रतिफल ग्यारेन्टी गर्छ । अर्थात्, बैंकले तपाईंको सुन लिएर राख्छ, यति समयपछि तपाईंलाईं यति प्रतिफल दिन्छु समेत भन्छ । 

यसले दुई वटा फाइदा हुन्छ, एक त प्रतिफल अनुसार सुनको परिमाण नै थपिन्छ, अनि अर्को सुनको मूल्य बढ्यो भने त्यसको लाभ पनि हुन्छ । 

यो अभ्यास भारतमै छ । त्यहाँ बैंक तथा वित्तीय संस्थाले सुन बचतमा वर्षमा १ देखि २.५ प्रतिशतसम्म प्रतिफल दिन्छन् । तर, सुन ३ देखि १५ वर्षसम्म बचतमा राख्नैपर्छ । 

अझ कतिपय बैंकहरुले त मासिक रुपमा निश्चित रकम बचत गर्नेलाई चक्रीय प्रतिफलसहित बचत बराबरको सुननै दिन्छन् । यसले सुन जोड्न नसक्नेहरुलाई सुनमा लगानी गर्न नै मौका दिएको छ । 

०००० 

यो त भयो विश्वबजारको कुरा, नेपालमा सुनमा लगानी गर्ने के के उपाय छ त ? नेपालीले सुनको मूल्यबाट कसरी फाइदा उठाउने त ? 

सुनमा लगानीको मामिलामा भने नेपालमा खुशीको खबर छैन । तपाईंलाई लाग्ला शहरमा यति धेरै सुन पसल खुलेका छन् किन नपाउने ? तर ती त सबै सुनका तयारी गरगहना बेच्ने पसल हुन् । 

बजारमा काँचो सुन नै किन्न पाइन्छ कि ! नेपालमा काँचो सुनको कारोबार गर्नै पाइँदैन । राष्ट्र बैंकले तोकेअनुसार देशभरमा दैनिक २५ किलो काँचो सुन बैंकहरुले विदेशबाट ल्याउन पाउँछन् । 

सुन पसलेहरुले आफूलाई चाहिने सुन बैंकहरुबाटै किन्ने हो । व्यवसायीले तपाईं–हामीलाई काँचो सुन बेच्न पाउँदैनन् । सर्वसाधारणलाई काँचो सुन बेच्नु गैरकानुनी हो । 

तर, बजारमा काँचो सुनको कारोबार नै हुँदैन भन्ने चाहिँ हैन । नेपालमा विभिन्न देशबाट अवैध मार्ग भएर सुन तस्करी भइरहेको नै छ । ती सुन ब्ल्याक मार्केटमा बिक्री वितरण भइरहेको पनि हुन्छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघमा पूर्वअध्यक्ष माणिकरत्न शाक्यका अनुसार अहिले करिब ६० देखि ७० प्रतिशत सुन कालोबजारीको सुनले धानिएको छ । तर, त्यस्तो कालोबजारीको सुन किन्नु अर्को अपराध हो । त्यसमा हुने लगानी गैरकानुनी मात्रै हैन, जोखिमयुक्त पनि हो । 

००००० 

त्यसैले नेपालमा सुनमा लगानी गर्ने भनेको गहना किनेर हो । तर, गहनामा गरिने लगानीले धेरै फाइदा दिँदैन । 

यसको कारण हो, गहना बनाउँदा त्यसको ज्याला तिर्नुपर्छ, अनि गहना तयार पार्दा हुने सुनको नोक्सानीलाई सामान्य भाषामा जर्ती भनिन्छ । 

आज असोज ३१ गते सुनको मूल्य २ लाख ५८ हजार छ, तर तपाईले सुनको गहना बनाएर किन्दा २ लाख ९० हजार रुपैयाँ तिर्नुपर्छ । 

पछि त्यही गहना बेच्न जानुभयो भने गहनाको तौल बराबरको पैसा पनि पाउनुहुन्न, त्यसमा जर्ती कटाएर मात्र सुनको हिसाब गरिन्छ । 

त्यसमाथि अहिले सरकारले गहनामा २ प्रतिशत बिलासी करलगाएको छ । त्यसैले गहना किनेर सुनमा लगानी गरेको छु भन्नु त्यति फाइदा हुने कुरा होइन । 

फेरि लगानी गर्ने उद्देश्यले किन्ने हो भने त केही बढी परिमाणमै किन्न पर्‍यो । त्यो गहना लगेर कहाँ राख्ने ? धेरै गहना घरभित्र राख्नु पनि सुरक्षित हुँदैन । बैंकको लकरमा लगेर गहना राख्ने विकल्प छ । 

बैंकको लकरमा सुन राखेर बस्दा सुनको मूल्य राम्रो दरमा बढ्यो भने त ठीकै हो, खासै मूल्य बढेन भने लकरको भाडा, ज्याला–जर्तीको भाग कटाउँदा सुनमा झन् घाटा होला भन्ने पो डर हुन्छ । 

अहिले पो सुनको मूल्य बढिरहेको छ र मान्छेलाई सुनमा लगानी नगरेर गल्ती भो भन्ने लागिरहेको छ । तर, सुनको मूल्य सधैं यसरी बढ्छ भन्ने हुँदैन । परिस्थति सधैं सुनको बजारको अनकूल पनि हुँदैन ।

००००  

यति हुँदा हुँदै पनि वैध रुपमा सुन पसलबाट ज्याला र जर्ती कम लाग्ने गरी सुनका बेरुवा र बालाजस्ता गहना बनाएर सुन किन्न सकिन्छ । तर, ठूलो मात्रामा सुनमा लगानी गर्छु भन्यो भने बजारमा सजिलै ठूलो परिमाणमा वैध सुन पाउन कठिन नै हुन्छ ।

किनभने नेपालमा वैधानिक रुपमा दिनमा औसत २५ किलो सुनको मात्र कारोबार गर्न पाइन्छ । त्यहीबाट व्यवसायीहरुले सुन पाउने हो र तपाईं हामीलाई बेच्ने हो । कुनै सिजनमा त यही सुन पनि बजारलाई बढी हुन्छ अनि बिहेको सिजन र चाडबाडका बेला सुनको माग धान्न पनि गाह्रो हुन्छ । 

०००

नेपालमा सुनलाई लगानी गर्ने वस्तुमा रुपमा हेरिएको छैन, यो भनेको गहनाको रुपमा प्रयोग गर्ने कुरा हो, अनि बिलासी वस्तु हो भन्ने मान्यता बनाइएको छ । त्यसैले लगानीकर्तालाई सजिलो हुने गरी कानुनहरु बनेका छैनन् । 

त्यसैले संसारभर नै अभ्यासमा रहेको सुनको लगानी नेपालमा प्रतिबन्धित छ । लगानी नै गर्छु भन्दा महँगोमा गहनामा किनेर मात्र गर्नुपर्छ । जुन, कति जोखिमपूर्ण छ भन्ने बारे त हामीले चर्चा गरिसक्यौं । 

०००० 

नेपालमा पनि सुनमा लगानी गर्न चाहनेहरु धेरै छन् । तर, सुनमा लगानीको कानुन र वातावरण दुबै बनाइएको छैन । 

सुन सम्पत्तिका रुपमा सर्वमान्य वस्तु हो । बरु कुनै देशको मुद्रा कुनै देशमा नचल्ने हुन्छ, तर सुन सबै देशमा समान मूल्यपंक्तिमा स्वीकार हुन्छ । त्यसैले सुन भुक्तानीकै माध्यम पनि हो । 

अर्थतन्त्र बलियो बनाइराख्नका लागि नोट छाप्नुअघि त्यसको ब्याकअपका लागि केन्द्रीय बैंकहरुले सुन नै किनेर राख्छन् । यसले पैसालाई खोस्टा बन्न दिँदैन । नेपालको केन्द्रीय बैंक पनि अहिले सुनमा लगानी बढाउन लागेको छ । 

त्यही राष्ट्र बैंकले किन्न पाउने काँचो सुन जनताले भने किन्न पाउँदैनन् । विगतमा वैदेशिक रोजगारीमा जानेले ५० ग्रामसम्म काँचो सुन ल्याउन पाउँथे । 

तर, सरकारले अहिले गहना भए मात्रै ल्याउन दिने व्यवस्था गरिसकेको छ । विदेशमा जोडेको सुन पनि गहना बनाएर मात्रै ल्याउन पाउने व्यवस्था एक हिसाबले अन्यायपूर्ण नै छ । 

०००

नेपालमा सुनमा लगानी गर्न नै नदिनु खास कारण भने सरकार र राष्ट्र बैंकको डर हो । सरकार र राष्ट्र बैंकलाई के लाग्छ भने सुनको लगानी खोलियो भने विदेशबाट नेपालमा ठूलो परिमाणमा सुन नेपाल आउँछ । त्यो सुन किन्न ठूलो मात्रामा विदेशी मुद्राको प्रयोग हुन्छ । 

जसले गर्दा भविष्यमा विदेशी मुद्राको संकट पनि निम्तिन सक्छ । अझ अर्को डर भनेको अवैध बाटोबाट सुन ल्याएर त्यसलाई वैधानिक तवरले कारोबार गर्ने प्रयत्नहरु हुन सक्छन् । जसले भन्सार राजस्वमा पनि ठूलो प्रभाव पार्नसक्छ ।

सुनमा लगानी बढेमा विदेशबाट आउने रेमिट्यान्स समेत घट्ने डर सरकारलाई छ । किनकी सुन किन्न विदेशमै रेमिट्यान्स होल्ड हुन्छ, अनि हुण्डी बढ्ने जोखिम पनि हुन्छ ।  

अनि लगानी जति सुनमा ओइरियो भने उत्पादनमूलक क्षेत्रमा लगानी घट्ने डर पनि छ । जग्गामा जस्तै सुनमा पुँजी थुप्रने र लगानी फस्ने जोखिम पनि हुनसक्छ । नेपाल सरकारले सुनलाई अनुत्पादक लगानीको क्षेत्र मानेको छ । त्यसैले यसमा बिलासी कर समेत थपेर अनावश्यक वस्तुका रुपमा व्यवहार गरिरहेको छ । 

हुन त आजको विश्व जोखिम मोलेरै अभौतिक मुद्रा अर्थात् बिट क्वाइनको कारोबारमा दौडिएको छ । तर, भौतिक रुपमा प्राप्त हुने सुनलाई भल्टमा राखेर लगानी गर्न दिन समेत सरकार तयार छैन । 

सुनमा लगानी खोल्दा हुने कतिपय जोखिमहरु पनि गम्भीर नै छन् । तर, त्यस्तो जोखिम न्युनीकरणका उपायहरु छन् । सुनमा लगानी खोल्दा सरकारलाई घाटा छ कि नाफा छ भन्ने विषयमा अहिलेसम्म अड्कलबाजी र विश्लेषणहरु मात्रै भएका छन्, अध्ययन भएका छैनन् । 

सुनको लगानीले घाटा मात्रै गर्छ भन्ने चाहिँ पटक्कै हैन । सुनको मूल्यबाट लगानीकर्ताले बुक गर्ने नाफामा सरकारले पूँजीगत लाभकर नै उठाउन सक्छ । यस्तो कर अहिले जग्गा र सेयरबाट सरकारले प्रशस्त उठाइरहेकै छ । 

सुनको लगानीले लगानीकर्तालाई पनि लगानीका क्षेत्रको विविधीकरणमा मद्दत पुग्छ । एउटा मात्रै क्षेत्रमा लगानी गरेमा त्यसमा जोखिम बढी हुन्छ । तर, पूँजी हुनेहरुले सेयर, घरजग्गा, सुन जस्ता क्षेत्रमा लगानी गरे भने जोखिम पनि बाँडिन्छ । कुनै क्षेत्रमा मन्दी नै आएपनि अर्को क्षेत्रले जोगाउन सक्छ । 

विश्वभरिका सुन लगानीकर्ताले यो पटकको बुममा ठूलो नाफा हात पारेका छन् । सुनमा दीर्घकालीन लगानी धेरै जोखिमयुक्त मानिंदैन । कुनै समयमा यसले कतिसम्म नाफा दिनसक्छ भन्ने कुरा अहिले नै उदाहरणका रुपमा छ । 

नेपाली लगानीकर्तालाई पनि यस्तो अवसर दिँदा के हुन्छ ? देशलाई साँच्चिकै अप्ठेरो पर्छ कि भविष्यमा झन् बढी लाभ हुन्छ ? सुनको लगानीले हुने जोखिम कम गरेर लगानी खोल्ने सम्भावना छ कि छँदै छैन ? यसका लागि राष्ट्र बैंकले एउटा बृहत अध्ययन गर्न आवश्यक छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

रवीन्द्र घिमिरे नेपाल शो डटकमका पत्रकार हुन् । 

थप एक्सप्लेनर भिडियो