नेभिगेशन
एक्सप्लेनर भिडियो

ख्यालख्यालमै फुटेको थियो कांग्रेस

गिरिजाप्रसाद कोइराला पनि पार्टी फुटोस् भन्ने चाहँदैनथे, शेरबहादुर देउवा पनि फुटको पक्षमा थिएनन् । तर २०५९ सालमा ख्याल ख्यालमै कांग्रेस फुट्यो । 

अहिले पनि गगन थापा, शेखर कोइराला कोही पनि पार्टी फुटाउने पक्षमा छैनन् । तर नेताहरु जसरी अगाडि बढेका छन्, त्यसले फुट त निम्त्याउने होइन भन्ने संशय देखिएको छ ।  

यस्तो छ फुटको इतिहास

२०५६ को आम चुनावमा कांग्रेसले बहुमत त ल्यायो, तर कांग्रेस नेताहरु प्रधानमन्त्री बनाउने र हटाउने खेलमा व्यस्त रहे ।  

सुरुमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए । एक वर्ष नपुग्दै गिरिजाप्रसाद कोइरालाले उनलाई हटाएर आफू प्रधानमन्त्री भए । उनलाई पनि डेढ वर्ष नपुग्दै देउवाले विस्थापित गरे । 

तर देउवालाई डे वानदेखि नै सभापति कोइरालाको सहयोग रहेन । देउवालाई हटाउने खेलमा लागे । 

महन्थ ठाकुरदेखि रामशरण महतससम्मलाई प्रधानमन्त्रीका रुपमा अगाडि सारे । त्यसले पनि पार नलागेपछि अरु दलहरुसँग मोर्चाबन्दी गरे । बिद्रोही माओवादीसँग समेत छलफल गरे । 

सबै गतिविधिले देउवाको मनमा चिसो पस्न थालेको थियो, गिरिजाप्रसादले कतै माअ‍ोवादीसँग मिलेरै मलाई हटाउने त होइन ।

२०५९ साल जेठ ८ गते । 

प्रधानमन्त्री देउवा, राजा ज्ञानेन्द्रसँग परामर्श गर्न भनेर नारायणहिटी छिरेका थिए । तर संसद विघटन गर्ने र चुनावको मिति सिफारिस गर्ने पत्रमा हस्ताक्षर गरेर फर्किए । 

उनलाई सिधा लागेको थियो, चुनाव हुन्छ, पार्टीमा स्थापित हुन्छु । 

त्यसका लागि उनले तत्कालीन राजा ज्ञानेन्द्रको भूमिका सहयोगी हुने बुझे । किनकी गिरिजाप्रसाद कोइरालाप्रति ज्ञानेन्द्र शाह पटक्कै सकारात्मक थिएनन् । त्यसैले गिरिजासामू चुनाव गर्ने प्रधानमन्त्रीसँग सम्झौता गर्नुको विकल्प हुँदैनथ्यो । 

ज्ञानेन्द्रको योजना अर्कै थियो । देउवालाई प्रयोग गरेर पार्टीहरुलाई छेउ लगाउने र सत्ता हातमा लिने । देउवाले त्यो बुझ्न सकेनन् । पार्टी फुट्नसक्छ, ज्ञानेन्द्र शाहले सत्ता हातमा लिन्छन् भन्ने कल्पना समेत गरेका थिएनन् । 
त्यसैले प्रतिनिधिसभा विघटन गरेर चुनावमा जाने बाटो रोजे । 

जवाफमा कांग्रेसले भोलिपल्टै बहालवाला प्रधानमन्त्री देउवालाई पार्टीको साधारण सदस्यबाट ३ वर्षका लागि निष्कासन गर्ने निर्णय गर्‍यो । 

पार्टीबाट निकालिएपछि निकटवर्तीहरुले देउवालाई देशभरका नेताहरुलाई बोलाउन सल्लाह दिए । त्यसरी सल्लाह दिनेमा रामचन्द्र पौडेल पनि थिए, जो अहिले राष्ट्रपति छन् । तर देउवा ‘यहाँ मान्छे बोलायो भने त पार्टी फुट्छ नि !’ भन्दै टार्थे । 

खुमबहादुर खड्का, विजयकुमार गच्छदार, चिरञ्जीवी वाग्ले, बलबहादुर केसी लगायतका नेताहरुले हिम्मत गर्नुपर्छ भनेर देउवालाई सुर्‍याए । 

सरकार ढाल्ने र बनाउनेदेखि एमाले फुटाउने धन्दा गरेका उनीहरु अझ शक्ति आर्जन गर्न चाहन्थे । त्यसका लागि पार्टी फुटाउन पनि तयार थिए । 

उनीहरुले देउवालाई चर्को दबाव दिए । रामचन्द्र पौडेलले पनि गिरिजाप्रसाद कोइरालालाई अन्तिम जय नेपाल गरेर आएँ भन्न थालेपछि देउवाले काठमाडौंमा कार्यकर्ताको भेला बोलाए ।

नेताहरुका अनुसार त्यतिबेलासम्म पनि देउवा पार्टी फुटाउने निर्णयमा पुगिसकेका थिएनन् । गिरिजाप्रसाद कोइरालाले पनि पार्टी विभाजनले वर्षौंसम्म अप्ठ्यारो दिन आउँछ भन्ने देखेका थिए । दुबै नेताको चाहना बुझेरै होला, नेता चक्रप्रसाद बास्तोलाले समझदारीका लागि पहल थाले । 

सहमति पनि भयो : देउवाले पार्टीको सहमति विना संकटकाल लगाउने लगायतका निर्णय गरेकोमा कमजोरी स्वीकार गर्ने । पार्टी नेतृत्व, खासगरी गिरिजाप्रसादले माफी दिने । 

प्रधानमन्त्री भएर चुनावमा जान पाउने, कांग्रेस पार्टीमा पनि रहने हुँदा देउवाले आफ्नो जित हुने देखेका थिए । गिरिजाप्रसादले पनि पार्टी जोगिने र नेतृत्वमा आफू रहिरहने हुनाले आफ्नो जित नै देखेका थिए । 

सहमतिको मस्यौदा तयार भयो । पार्टी कार्यालयमा लिखित हस्ताक्षर गर्ने तय भयो । 

त्यसअघि नेताहरु खाना खान गए । कोइराला आफ्नो निवास गए, अरु नेताहरुका लागि डा. रामशरण महत कहाँ खाना तयार थियो । 

सहमतिबारे ब्रिफिङ गर्न गएका डा. महतलाई तत्कालिन महामन्त्री सुशील कोइरालाले बेस्सरी झपारे । यहाँ किन आएको, गइहाल भने । नेताहरुका अनुसार सुशील कोइराला, जे पर्छ, व्यहोर्ने तर, देउवामाथि गरेको कारबाही फिर्ता नगर्ने पक्षमा थिए ।

शैलजा आचार्यले पनि सहमतिको विरोध गरेपछि गिरिजाप्रसाद पारिवारिक दबावमा परे । उनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय दबाव पनि थियो, भनिन्छ । जेहोस्, कोइराला सहमतिबाट ब्याक भए । चक्र बास्तोलामार्फत सहमति हुन नसक्ने सन्देश पठाए । 

देउवा विकल्पविहीन भए । अनि, काठमाडौंमा जम्मा भएका नेता कार्यकर्ताको भेलालाई नै विशेष महाधिवेशनमा परिणत गर्ने निर्णय गरे । भेलाले २०५९ असार ४ गते गिरिजाप्रसाद कोइरालालाई हटाउने र देउवालाई पार्टी सभापति बनाउने निर्णय गर्‍यो । 

परिणाम, कांग्रेस फुट्यो । देउवाले नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरे । राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्, त्यसबेला गिरिजाप्रसाद कोइरालाले पनि पार्टीमा फुट चाहेका थिएनन् र देउवाले पनि थिएनन् । धेरै नेताहरु पनि पार्टी जोगाउन लागेका थिए । ख्यालख्यालमै कांग्रेस फुट्यो ।’ 

नेताका अनुसार सुशील कोइराला, शैलजा आचार्य, खुमबहादुर खड्का, विजय गच्छदार, चिरन्जिवी वाग्ले लगायत दुबैतिरका दोस्रो तहका नेताहरुका कारण कांग्रेस फुट्यो । 

०००

२०६४ सालको संविधानसभा चुनाव अगाडि कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकता भयो । ६ वर्षपछि नेताहरु एउटै पार्टीमा त आए, तर भावनात्मक रुपमा एकता हुन वर्षौं लाग्यो । 

यतिबेला कांग्रेसमा फेरि फुटको भय देखिएको छ । 

झट्ट सुन्दा यो दाबी अतिशयोक्तिपूर्ण लाग्न सक्छ, दूराशयपूर्ण लाग्न पनि सक्छ । कसले फुटाउँछर कांग्रेस भन्ने प्रश्न पनि आउँछ । 

किनकी पार्टी सभापतिको दाबेदारमध्ये गगन थापा ढिलो चाडो सभापति भइहाल्छन् । विशेष महाधिवेशनको पक्षमा भएको हस्ताक्षरलाई आधार मान्ने हो भने उनको पक्षमा बहुमत नै देखिएको छ । त्यस्तो बेला गगनले किन पार्टी फुटाउनु पर्‍यो ? 

शेखर कोइराला, कृष्ण सिटौलाहरुले पार्टी फुटाउने क्षमता नै राख्दैनन् । 

तर पार्टी फुट योजना बनाएर हुन्न । एकपछि अर्को कदमले त्यहाँ पुर्‍याउने हो । कांग्रेस मात्र होइन, अरु पार्टीहरु पनि कसरी फुटे भनेर केलाउने हो भने यही देखिन्छ ।

महामन्त्री गगन थापा सग्लो कांग्रेसको सभापति बन्न चाहन्छन्, शेखर कोइराला, कृष्ण सिटौलाहरु पनि कांग्रेस फुटाउन चाहँदैनन् । तर कांग्रेस फुट्न हुन्न भनेर जे गरिरहेका छन्, त्यसले फुटको सम्भावनालाई नजिक बोलाउँदैछ ।

किनकी गगन थापा, विश्वप्रकाशहरुको बटमलाइन हो, नेतृत्व हस्तान्तरण । 

उनीहरुले बारम्बार भनेका छन् कि भदौ २३ अगाडि र भदौ २३ पछाडिको समय फरक छ । त्यसैले नियमित महाधिवेशन गरेर होस् वा विशेष महाधिवेशन गरेर होस्, पार्टीमा नयाँ नेतृत्व आउनुपर्छ, नयाँ एजेण्डा लिएर मात्र चुनावमा जानुपर्छ । 

उनीहरुकै इच्छा अनुसार विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान चल्यो । १४औं महाधिवेशनको बहुमत अर्थात करिव ५५–५६ प्रतिशत महाधिवेशन प्रतिनिधिले साथ दिए । 

त्यसपछि महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमितिमा दुई पटक नियमित महाधिवेशनको कार्यतालिका पेश गरिसके । पहिला मंसिर अन्तिम साताको कार्यतालिका पेश गरेका थिए, पछि संशोधन गरेर पुसको मध्यको अर्को तालिका ल्याएका छन् । 

तर केन्द्रीय समितिमा बहुमत होल्ड गरिरहेको संस्थापन पक्ष न नियमित महाधिवेशन गर्न तयार छ, न विशेष । उनीहरुको तर्क छ, अहिले महाधिवेशन होइन, चुनावमा केन्द्रित हुनुपर्छ ।

महाधिवेशन गर्दा कांग्रेसमा माथिदेखि तलसम्म प्यानल बन्छ । त्यसको तिक्तताका बीच चुनावमा जाँदा घात अन्तर्घात हुनसक्छ । कांग्रेसको विगतको अनुभवले पनि त्यही भन्छ ।

तर नेतृत्व परिर्वतन नगरी भोट माग्न जान सकिन्न भन्ने महामन्त्रीहरुको तर्क पनि त्यत्तिकै बलियो छ । त्यो भन्दा महत्वपूर्ण चाहिँ चुनावअघि महाधिवेशन गर्नुपर्छ भनेर बहुमत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसके । नेतृत्व परिवर्तनका लागि विशेष महाधिवेशन मागिसके । 

महामन्त्री गगन थापा ‘विशेष महाधिवेशन’ नामको यस्तो बाघमाथि सवार छन्, जसको सहज अवतरण भएन भने उनीहरुलाई नै खान सक्छ ।

त्यसैले गगन थापाहरुलाई पार्टीमा राख्ने कि पार्टी फुटाउन बाध्य बनाउने भन्ने कांग्रेसको हातमा छ, अझ भनौं शेरबहादुर देउवाको हातमा छ ।

नेताहरुका अनुसार यसका लागि कांग्रेससँग २ वटा मात्र विकल्प छ । 

पहिलो, महामन्त्रीले प्रस्ताव गरेको पुस १६ देखि १९ मा नियमित महाधिवेशन गर्ने । 

बरु सबै तहको अधिवेशन नगर्न पनि सकिन्छ । वडा, गाउँ नगर, क्षेत्र र महाधिवेशन प्रतिनिधि र केन्द्रको मात्र अधिवेशन गर्ने । जिल्ला र प्रदेशको अधिवेशन चुनावपछि गर्न सक्छ । 

दोस्रो : विशेष महाधिवेशनको प्रक्रिया सुरु गर्ने । यसका लागि पहिला केन्द्रीय कार्यालयमा बुझाइएको हस्ताक्षर सनाखत गर्नुपर्छ । 

कोठे छलफलहरुमा त पूर्वमहामन्त्रीद्वय कृष्ण सिटौला र विमलेन्द्र निधिले यो हस्ताक्षर ४० प्रतिशतभन्दा कममा झार्ने दाबी गरेका छन् । तर यो त्यति सम्भव नभएको नेताहरु बताउँछन् । 

त्यसैले हस्ताक्षर सनाखत गर्दा ४० प्रतिशत पुग्यो भने पुस २७ भित्र विशेष महाधिवेशन गर्नैपर्छ । किनकी कांग्रेसको विधानको धारा १७ ले यही भन्छ ।

नियमित महाधिवेशन पनि नगर्ने, विशेष महाधिवेशन पनि नबोलाउने हठ गरिराख्ने हो भने कांग्रेस फुट्न आइतबार कुर्नु पर्दैन । 

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि अहिले नेताहरुले लिएको अडानले राम्रो संकेत गरेको बताउँछन् । उनको भनाइ छ कि, यसरी जाने हो र, भेला बोलाउन थाल्ने हो भने दुर्घटना हुन्छ ।’ 

त्यसैले यो बेला सबभन्दा बढी जिम्मेवार सभापति शेरबहादुर देउवा हुनुपर्छ । अनि गगन थापा पनि त्यतिकै सचेत हुनुपर्छ ।

०५९ मा गिरिजाप्रसाद जुन भूमिकामा थिए, आज देउवा त्यही भूमिकामा छन् । त्यो बेला गिरिजाप्रसाद कोइरालाले सुशील कोइराला र शैलजा आचार्यहरुको दबाव खेप्न नसक्दा पार्टी फुटेको थियो । अहिले देउवाले, कृष्ण सिटौला र बिमलेन्द्र निधिहरुको हठलाई हेर्दा पार्टीमा अर्को फुट आउन सक्छ । 

त्यसैले उनले केही नेताको हठ होइन, कांग्रेसको हित कहाँ छ भनेर हेर्नुपर्छ । त्यो भनेको अधिवेशन नै हो । देउवाले भनिसकेका छन् कि विशेष महाधिवेशन गर्दा पार्टीमा बिग्रह आउँछ । त्यसो हो भने नियमित महाधिवेशनको प्रक्रिया सुरु गर्नुपर्छ । किनकी विधान अनुसार, १४औं महाधिवेशनबाट चुनिएको कार्यसमितिको चार वर्षे अवधि मंसिरसम्म मात्र हो । 

देउवाले केही नेताको स्वार्थ मात्र हेर्ने हो भने कांग्रेसको अधिवेशन त रोकिएला, तर गगन थापाहरुलाई रोकिराख्न गाह्रो छ । 

किनकी गगन थापाहरुले नयाँ पार्टी बनाउनुपर्छ भन्ने थुप्रै छन् । उनी आजसम्म किन त्यतातिर अगाडि बढेका छैनन् भने कांग्रेसकै मूल नेता बन्न सक्छु भन्ने आत्मविश्वास उनमा देखिन्छ । तर एउटा यस्तो दिन पनि आउने छ, जुन दिन उनलाई लाग्ने छ कि कांग्रेसको मूल नेता भएपनि मसँग केही बाँकी रहन्न । त्यो दिन उनले कांग्रेसमा बसेर सबथोक गुमाउनुभन्दा कम क्षति हुने बाटो रोज्न सक्छन् । नयाँ पार्टी गठनको निर्णय लिनसक्छन् । 

त्यसैले बल देउवाको कोर्टमा छ ।

केही थान नेताहरुको स्वार्थमा हिजो आफूले जस्तो गगनलाई पार्टी फुटाउन बाध्य बनाउने वा नेतृत्व हस्तान्तरको प्रक्रिया सुरु गरेर गगनहरुसँगै कांग्रेसलाई जोगाउने । 

अनि, गगन थापाले पनि हिन्दी फिल्म ‘कालिया’मा अमिताभ बच्चनको डाइलग ‘म जहाँ उभिन्छु, लाइन त्यहीबाट सुरु हुन्छ’ भने जस्तो नगरी अघिल्लो पुस्ताका नेताहरुको पनि विश्वास जितेर पार्टीको नेतृत्व गर्छु भन्ने सन्देश दिन सक्नुपर्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो