धुर्मुसलाई उधारोले होइन, राजनीतिले रुवायो
जब नेपाली क्रिकेटले ओडीआई स्टाटस पायो, देशमा अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला होस् भन्ने चाहे ।
देशकै खेलकुद मन्त्रालयको बजेट २ अर्ब ९४ करोड हुँदा धुर्मुस सुन्तली फाउन्डेसन ३ अर्बको रंगशाला बनाउन कस्सियो ।
त्यही रंगशालाका कारण आज रोएर हिँड्नु परेको छ । सिंगो परिवारले नानाभाती सुन्न परेको छ, ट्रोलको शिकार हुनु परेको छ ।
भरतपुरमा निर्माणधीन गौतमबुद्ध क्रिकेट रंगशालाको विवाद के हो ? रंगशाला महानगरलाई हस्तान्तरण गरिसक्दा पनि किन मिलेको छैन १८ करोडको हिसाब ?
*****
सोलुखुम्बुमा जन्मेका र झापामा हुर्केका सीताराम कट्टेल एसएलसी पास गरेपछि काठमाडौं आए । उनको रहर कलाकारितामा थियो । त्यसैले हास्य विधाका कार्यक्रमहरुमा सानोतिनो भूमिका निभाउन थाले ।
२०६४ सालमा सुरु भएको मेरी बास्सै टेलिश्रृङ्खला उनको जीवनका लागि टर्निङ प्वाइन्ट बन्यो ।
उनको कलाकारिताले प्रसिद्धि पायो । कलाकारिताकै क्रममा चिनजान भएका उनले कुञ्जना घिमिरेसँग बिहे गरे । त्यसपछि त यो जोडी मेरी बास्सैमा निर्वाह गरेको पात्रको नाम धुर्मुस र सुन्तलीको लोकप्रिय भए ।
देशभित्र विभिन्न ब्राण्डको ब्राण्ड एम्बेसडर पनि बने । विदेशका कार्यक्रममा समेत उनीहरुकै डिमान्ड हुन्थ्यो ।
२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि उनीहरुको जिन्दगीले नयाँ मोड लियो ।
उनीहरु कलाकारितासँगै समाजसेवामा जोडिए । सुरुमा राहत वितरणमा खटिए । त्यसपछि पीडितहरुको घर बनाउने काममा लागे ।
धुर्मुस सुन्तली फाउण्डेसन खोलेर त्यसमार्फत काभ्रेको पाँचखाल नगरपालिका डाँडागाउँमा पहरी समुदायका लागि २० घरको एकीकृत बस्ती बनाए । करिब ३ महिना अवधिमै बस्ती तयार पारे ।
चौतर्फी प्रशंसा भएपछि थप बस्ती बनाउन लागे । धुर्मुस सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–८ गिरानचौरमा ६७ घर बनायो । ५ करोड रुपैयाँ सहयोग उठाएर ६ महिनामै बस्ती तयार पार्यो ।
त्यसपछि महोत्तरीको बर्दिबास नगरपालिका–२ को मुसहर बस्तीमा ५३ घर बनायो । २०७३ पुसमा सुरु गरेर २०७४ वैशाखमै बस्ती तयार पार्यो । यहाँ बस्ती बनाउन फाउन्डेसनले ६ करोड ३३ लाख रुपैयाँ सहयोग उठायो ।
चौथो बस्तीका रुपमा रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा ४७ वटा घरको मुसहर र दलित बस्ती बनायो ।
२०७४ असोजमा सुरु गरेर २०७४ माघमा बस्ती तयार पार्यो । यसको लागत ५ करोड ९६ लाख रुपैयाँ थियो ।
त्यसपछि क्रिकेट रंगशाला
देशभित्र चारवटा एकीकृत बस्ती बनाइसकेको धुर्मुस सुन्तली फाउन्डेसनको हाइ हाइ थियो । फाउन्डेसनले सिंगो नेपालको प्रतिनिधित्व गर्ने नमुना नेपाल परियोजना सुरु गर्ने घोषणा गरेको थियो ।
तर २०७४ साल चैतमा नेपालले क्रिकेटको वान डे स्टाटस पायो । तर नेपालमा एउटा पनि क्रिकेटको अन्तर्राष्ट्रिय रंगशाला थिएन । अन्तर्राष्ट्रिय मान्यता पाएको एक मात्र खेल ग्राउण्ड त्रिवि, कीर्तिपुर मैदान मात्र थियो । त्यसैले धेरैले धुर्मुस सुन्तलीलाई बस्ती होइन, क्रिकेट रंगशाला बनाउन सल्लाह सुझाव दिए ।
उनीहरु पनि रंगशाला बनाउन तयार भए । स्थानीय तहहरुले आफ्नो ठाउँमा रंगशाला बनाइदिन आग्रह गर्दै जग्गा देखाए । काठमाडौं उपत्यकाका साथै मकवानपुर, रुपन्देही, दाङ, कास्की, मोरङ, झापा आदि क्षेत्रमा गएर उनीहरुले जग्गा हेरे । अन्ततः चितवनको भरतपुर महानगरपालिका वडा नं १६ रोजे ।
त्यहाँ कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको सरकारको २० बिघा ८ कठ्ठा जग्गा थियो ।
त्यो जग्गा भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउन्डेसनलाई क्रिकेट रंगशाला बनाउन दिने भयो । अनि जनस्तरबाट जति रकम उठ्छ, अपुग रकम राज्यले खर्चिने आश्वसन पाएपछि धुर्मुस सुन्तली फाउण्डेसनले गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन तयार भयो ।
धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महाननगरबीच भएको सहमतिको बुँदा नम्बर ६ मा प्रष्ट लेखिएको छ, ‘...तोकिएको अवधिमा निर्माण कार्य सम्पन्न गर्न स्रोत अपुग भएमा आपसी सहमतिका आधारमा स्रोत जुटाई निर्माण कार्य सम्पन्न गर्नु दुबै पक्षको दायित्व हुनेछ ।'
सहमतिअनुसार २०७५ माघ १६ गते काठमाडौंमा भव्य कार्यक्रम राखेर रंगशाला निर्माणको घोषणा भयो ।
कार्यक्रममा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला उपस्थित थिए ।
खासमा त्यो धुर्मुसको चलाखीपूर्ण कदम थियो । किनकी सरकार केतिबेला परिवर्तन हुने हो, थाहा छैन । जुन सरकार आउँदा पनि रंगशाला निर्माणका लागि सहयोग होस् भन्ने तीन दलका शीर्ष नेताहरु बोलाएका थिए ।
६ महिनाभित्र गुरुयोजना बनाउने र गुरुयोजना तयार भएको दुई वर्षभित्र रंगशाला भरतपुर महानगरलाई हस्तान्तरण गर्ने घोषणा थियो । त्यसपछि धुर्मुस सुन्तलीले रंगशाला निर्माणको काम अगाडि बढाए ।
विस्तृत परियोजना प्रतिवेदन बन्यो, जसले रंगशाला बनाउन करिब ३ अर्ब ५५ करोड रुपैयाँ लाग्ने देखायो ।
रंगशाला निर्माणमा धुर्मुस आफैं खटिन्थे । ढुंगा माटो बोक्नेदेखि साइटमा परेका काम उनी अरु मजदुर सरह नै गर्थे । कयौं दिन राति २ बजेसम्म ढलान गराएर विहान ५/साढे ५ बजे उठिसक्थे ।
धुर्मुसले देश विदेशमा कार्यक्रम गरेर पैसा जुटाए । रंगशाला घुम्न आउनेहरुसँग टिकटबापत पैसा संकलन पनि गरे ।
२०७६ माघ १९ देखि २७ गतेसम्म महायज्ञ पनि लगाए । त्यसक्रममा कुल ६९ करोड रुपैयाँ दान दिने कबोल भयो ।
सहयोग जुटाउन धुर्मुस सुन्तली फाउन्डेसनले २०७७ फागुनमा अर्को उपाय पनि लगायो, रंगशालाको कु्र्सीमा नाम लेखिदिने । हाम्रो रंगशाला मेरो कुर्सी नामको अभियान घोषणा गरेर १ लाख रुपैयाँ दिए कुर्सीमा नाम राखिदिने भनियो । यसरी पनि केही रकम संकलन भयो ।
२०७७ को चैतमा कोरोना महामारीका कारण सरकारले एक महिना भन्दा बढी समय लकडाउन गर्यो ।
लकडाउनका कारण रंगशाला निर्माणको काम पनि रोकियो । लकडाउन हटेपछि पनि रंगशाला निर्माणले गति लिन सकेन । रकम अभाव हुन थाल्यो । सप्लायर्सहरुले सामान रोक्न थाले ।
२०७८ असोजमा क्रिकेट रंगशाला निर्माणको काम पूर्णतः रोक्यो ।
त्यसबेलासम्म रंगशालामा भुइँको काम सकिएको थियो भने प्याराफिट निर्माण भइरहेको थियो । प्रतिशतमा भन्ने हो भने मैदानको काम ९५ प्रतिशत सकिएको थियो भने समग्रमा ३९ प्रतिशत ।
रकम जुटाएर काम अगाडि बढाउन नसक्ने देखेपछि फाउन्डेसनले रंगशालाको स्वामित्व लिइदिन २०७८ साल पुस २ गते भरतपुर महानगरलाई पत्र लेख्यो । त्यसपछि धुर्मुसका दुःखका दिन सुरु भए ।
किनकी फाउन्डेसनको हिसाब थियो, रंगशालामा ५७ करोड ९३ लाख रुपैयाँ खर्च । नगद र जिन्सी गरेर ३९ करोड ८० रुपैयाँ संकलन भएको थियो । १८ करोड ४३ लाख उधारो तिर्न बाँकी छ ।
महानगरपालिकाले क्रिकेट रंगशाला जिम्मा लियो । अहिले अर्कै ठेकेदारमार्फत निर्माणको काम गराइरहेको छ ।
तर १८ करोड ४३ लाख उधारो जस्ताको तस्तै छ । यो हिसाब मिलाउन उनले ५ वर्ष सिंहदरबारको चक्कर लगाए । शीर्ष नेताहरुलाई भेटे, युवा तथा खेलकुद मन्त्रालय, प्रदेश सरकार, भरतपुर महानगर जताततै पुगे । सबैले सहानुभूति देखाए, आश्वासन दिए, तर समस्याको गाँठो फुकाएनन् ।
एकपछि अर्को अडिट रिपोर्ट बन्यो, तैपनि धुर्मुसले मुक्ति पाएनन् । २०८० सालमा संघीय सरकारले रंगशालाको सिर्जित दायित्व भूक्तानीका लागि भनेर भरतपुर महानगरपालिकामा १२ करोड अनुदान पठायो, त्यो रकम फ्रिज भयो ।
तर यो पटक धुर्मुस आशावादी थिए । किनकी पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानको रिपोर्टले ६० करोडको काम भएको रिपोर्ट दियो । त्यही रिपोर्टको आधारमा भुक्तानी गर्ने भनेर चालु आर्थिक वर्षको बजेटमा भरतपुर महानगरलाई सःशर्त अनु्दान शीर्षकमा १५ करोड रुपैयाँ बजेट छु्टयाइयो ।
यो रकम रंगशाला निर्माणमा धुर्मुसले गरेको कामको भुक्तानीका लागि थियो । त्यसको शीर्षक थियो, पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानको मूल्यांकनको आधारमा सिर्जित सम्पत्ति खरिद ।
१५ करोड रुपैयाँ भरतपुर महानगरको खातामा आइसक्यो । तर भरतपुर महानगरपालिकाले पैसा दिन मानेको छैन । त्यसपछि धुर्मुस आफैं सिंहदबार धाएर पत्र लेखाए, फेरि महानगरले अड्कायो । महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलको तर्क छ कि कोही व्यक्ति वा संघसंस्थाले गरेको काम सरकारले खरिद गर्दा पैसा के आधारमा दिने भन्ने कानुन नै छैन ।
*****
धुर्मुस सुन्तलीले जति गरे, त्यो काम महानगरले जिम्मा लिइसक्यो । पाँचपाँच वटा अडिट रिपोर्टले पनि क्रिकेट रंगशाला निर्माणमा आएको सहयोग रकममा कुनै आर्थिक अपचलन गरेको देखिँदैन । संघीय सरकारले पटकपटक बजेट छुट्याइयो, तैपनि १८ करोड उधारोको हिसाब टुंगिएको छैन ।
कतिसम्म भने भरतपुर महानगरले रंगशाला निर्माणका क्रममा प्रयोग भएको विजुलीको बक्यौता तिरिसक्यो, केन्द्र सरकारले रकम दिँदा समेत निर्माण सामाग्रीको बक्यौता तिर्न मान्दैन ।
किन त ? यसको कारण हो, राजनीति मिलेन ।
जतिबेला धुर्मुस क्रिकेट रंगशाला बनाउन अग्रसर भएका थिए, त्यसबेला एमाले र माओवादीको वाम गठबन्धनको सरकार थियो । २०७५ जेठमा त एमाले र माओवादीले एकता गरे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाए ।
त्यो पार्टीको दुई अध्यक्ष थिए, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड । भरतपुर प्रचण्डको निर्वाचन क्षेत्र थियो । उनकै छोरी रेणु दाहाल त्यही मेयर थिइन् । उनीहरुकै आडभरोसामा धुर्मुसलाई रंगशाला बनाउन भरतपुर लगिएको थियो ।
किनकी धुर्मुस त कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमै काम गर्न चाहन्थे । तर त्यसबेला नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा थियो । त्यसैले खेलकुद परिषद गए । यो त त्रिभ्वन विश्वविद्यालयको जग्गा हो, प्याराफिट उठाउन मिल्दैन भन्ने जवाफ पाए । त्यसपछि उनि मुलपानी पुगे । डीपीआर मगाएर हेरे, कार्यप्रगति र खर्च विवरण खोजे । तर पाएनन् । बरु नयाँ ठाउँ हेर्नुस् भनियो र, धुर्मुसलाई भरतपुर लगियो ।
त्यहाँ जग्गा त थियो, तर पानी जम्ने दलदल । रंगशाला बनाइहाले पनि ड्रेनका लागि नै पूर्वाधार बनाउनुपर्ने थियो । तर सरकारले नै अपुग भएको रकम हामी दिन्छौं भनेपछि धुर्मुसले पनि आँट गरे ।
त्यही उनको गल्ती भयो ।
धुमुर्सले राज्यलाई विश्वास गरे, राज्यले विश्वास घात गर्यो । कतिसम्म भने रंगशाला बनाउन लगाएको महायज्ञमा कबोल गरेको ६९ करोड रकममध्ये ५१ करोड प्रदेश तथा स्थानीय सरकारकै थियो ।
बागमती प्रदेश सरकारका तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलले ३० करोड रुपैयाँ सहयोगको घोषणा गरे । भरतपुर महानगरले ८ करोड र अरु स्थानीय तहहरुले पनि सानो ठूलो अंक घोषणा गरे ।
तर जब नेकपामा विवाद सुरु भयो, केन्द्रदेखि स्थानीय सरकारको नेतृत्वमा रहेकाहरु दुई कित्तामा बाँडिए ।
औपचारिक रुपमा एमाले र माओवादी बनेपछि त अझै समस्या भयो ।
एमालेतिर भएकाहरुले प्रचण्ड र रेनुको भरतपुरमा रंगशाला बनाउन किन रकम दिने भनेर दिएनन्, माओवादीतिर लागेकाहरुले पनि धुर्मुस सुन्तलीलाई एमाले निकट भन्दै असहयोग गर्ने नीति लिए ।
परिणाम, प्रचण्ड प्रधानमन्त्री, माओवादीकै शालिकराम जम्मरकट्टेल बागमती प्रदेशको मुख्यमन्त्री र रेणु दाहाल भरतपुरको मेयर हुँदा समेत गौतमबुद्ध रंगशालाको १८ करोडको गाँठो फुकेन ।
अनि, सबैलाई हसाउने एउटा कलाकार ५ वर्षदेखि रोएर हिँडेको छ । लगातारको टेन्सनका कारण धुर्मुसमा एन्जाइटीको समस्या देखिएको छ । आर्थिक रुपमा पनि उनी अफ्ठ्यारो अवस्थामा छन् ।
७/८ वटा कम्पनीको ब्राण्ड एम्बेसडर थिए । कलाकारिता छाडेर रंगशाला बनाउन लागेपछि त्यो पनि बन्द भयो । आफू चढिरहेको गाडी बेचेर २६ लाख तिरे । कहिले इन्ड्राइभ पठाओमा हिँड्छन्, कहिले आफन्तको सहयोग लिन्छन् ।
भाडा तिर्न नसक्ने भएपछि बानेश्वरमा रहेको धुर्मुस सुन्तली फाउण्डसेनको कार्यालय बन्द भएको छ ।
तर उनी नै ट्रोलको शिकार भइरहेका छन् । कहिले उनले लगाएको जुत्ता त कहिले लिफ्ट लिएर चढेको गाडीसँग जोडेर अनेकौ लान्छना लाग्छ ।
तैपनि धुर्मुसलाई क्रिकेट रंगशाला बनाउने आफ्नो निर्णयमा पछुतो छैन । राज्य र जनताको दुरी मेट्न चाहेका थिए । जनता र राज्य मिल्यो भने देश बन्न धेरै समय लाग्दैन भन्ने सन्देश दिन खोजेका थिए ।
सिंगो खेलकुद मन्त्रालयको बजेट २ अर्ब ९४ करोड हुँदा धुर्मुस ३ अर्बको रंगशाला बनाउन कस्सिएका थिए ।
त्यसमा उनलाई गर्व छ । नेपाली क्रिकेटले फड्को मारेको देख्दा आनन्द मिल्छ ।
५ वर्षमा आफूले जे भोगे, त्यसलाई जिन्दगीको लेखान्त भनेर चित्त बुझाएका छन् । किनकी एकदिन त फरफारक नगरी सुख्ख छैन । उनी त्यही एक दिनको पर्खाइमा छन् ।
बस, त्यो एक दिन छिट्टै आओस् ।
काठमाडौंको शान थियो ट्रलीबस, अब देशभर चलाउन बन्दैछ प्लान
'नेताहरूले १० वर्ष अड्काए, अब हुँदैछ ब्रेक-थ्रुु'
डोजरले निल्न लागेको एउटा पुरानो बजार
झन् सहज हुँदैछ जापानको रोजगारी


-1764082340.jpg)

1-(2)-1763877443.jpg)


