विन्दास मन्त्रीको मन्त्रालय फुटाउने हुटहुटी
कहिले घाँटीभरी वायरलेस माइक भिरेर बोलिरहेका देखिन्छन् । कहिले मन्त्रालयमै ढिँडो मस्काइरहेको भिडियो आउँछ ।
बेलाबेला अन्तर्वार्तामै रक्सी त खाइदिन्छु भनिदिन्छन् । यी सबै देख्दा तपाईँलाई लाग्नसक्छ, यिनी कस्तो खालका मन्त्री होलान् !
सरल जीवनशैली उनको पहिचान नै हो । भान्सा र बेडरुमसम्म पत्रकारलाई पहुँच दिनु उनको उदारता हो ।
तर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीका रुपमा भने महावीर पुन विषय विज्ञता भएका मन्त्री हुन् ।
काठमाडौं शहरमा इन्टरनेटको सहज उपलब्धता नभएको बेला उनले म्याग्दीको गाउँमा वायरलेस इन्टरनेट पुर्याएका थिए ।
राज्यले इनोभेसनलाई प्राथमिकता नदिँदा उनले राष्ट्रिय आविष्कार केन्द्र चलाए । अनि, मन्त्री भएका बेला अब छु्ट्टै विज्ञान प्रविधि मन्त्रालय बनाउन चाहेका छन् ।
००००
म्याग्दीको नाङ्गीमा जन्मेका महावीरको परिवार उनी १४ वर्षको हुँदा चितवन बसाइँ सर्यो । उनले चितवनबाटै विद्यालय शिक्षा पूरा गरे ।
२०३० सालमा अमृत क्याम्पसबाट आइएस्सी पास गरेर फर्केपछि १३ वर्ष उनले चितवनका विभिन्न विद्यालयमा अस्थायी शिक्षक भएर पढाए ।
शिक्षक बन्दादेखि नै उनमा विज्ञान प्रविधिबारे केही रुची बढेको देखिन्छ । चितवनको खैरहनी हाइस्कुलमा शैक्षिक सामग्री किन्न बेसार खेती, बंगुरपालन र माछापालन गरेर पैसा जम्मा गरे । अनि पटना गएर शैक्षिक सामग्री किनेर ल्याएका थिए ।
पछि देउसी भैलो खेलेर पैसा जम्मा गरेर भारतबाटै विज्ञान प्रयोगशालाका लागि धेरै सामानहरु किनेर ल्याएका थिए ।
उनले सन् १९८६ सालमै चितवनमा विश्वकप फुटबलको फाइनल खेल देखाएका थिए । त्यतिबेला चितवनमा नेपाल टेलिभिजनको सिग्नल टिप्दैनथ्यो ।
एउटा जुगाड खालको एन्टेना भारतको गोरखपुरतिर फर्काएर भारतीय टेलिभिजनको सिग्नल टिपाएर विश्वकप फुटबलको फाइनल देखाएका थिए ।
शिक्षकबाट राजीनामा दिएर उनी पढ्नका लागि अमेरिका गए । चार वर्ष अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्कामा छात्रवृत्तिमा पढे । अमेरिकाबाट घर आएपछि आफू जन्मेको गाउँ म्याग्दीको नाङ्गी गए ।
त्यो २०४९ सालको कुरा थियो । गाउँको विद्यालयलाई मिडिल स्कुलबाट हाइस्कुलमा स्तरोन्नति गर्ने विषयमा गाउँलेको कचहरी बसेको थियो । कचहरीले गाउँबाट लाहुरे हुनेहरुले एक महिनाको तलब वा पेन्सन दिने, अनि गाउँलेले श्रमदान गर्ने निर्णय गर्यो ।
भर्खरै अमेरिकाबाट आएका महावीर पुनसँग पनि केही हजार चन्दा मागे । तर उनले मसँग पैसा छैन बरु २ वर्ष तलब नलिई पढाउँछु भनेर प्रस्ताव राखे । त्यसपछि आफू जन्मेको गाउँमा स्वयंसेवक शिक्षकको रुपमा पढाए ।
शिक्षक हुँदा उनले गाउँमा नयाँ नयाँ प्रयोग गरिरहन्थे । होस्टलमा बस्ने विद्यार्थीलाई बत्ती बाल्न एक जना विदेशीलाई एक किलोवाटको माइक्रो हाइड्रो जेनेरेटर किन्न लगाएर स्थानीय खोलाबाट बिजुली निकाले ।
त्यो बिजुलीले बत्ती बाल्न मात्र पुग्थ्यो । महावीर पुनले कम्प्युटर पनि चलाउन अलि धेरै बिजुली निकाल्न अर्को विदेशीबाट सहयोग खोजे र २ किलोवाटको जेनेरेटर किनेर कम्प्युटर चलाउन पनि बिजुली निकाले ।
त्यतिबेला नयाँ कम्प्युटर धेरै महंगो पथ्र्यो । त्यसैले महावीरले अमेरिकामा आफू पढेको विश्वविद्यालयका बिग्रेका १२ वटा कम्प्युटरको पाटपूर्जा सुटकेशमा हालेर ल्याए । एउटा काठको बाकसमा जोडजाड पारे र कम्प्युटरको सीपीयू बनाए ।
पोखराबाट मनिटर किनेर ल्याएर कम्प्युटर चल्ने बनाए । अनि म्याग्दीका विभिन्न गाउँका विद्यालयलाई दुई दुई वटाका दरले बाँडिदिए ।
वायरलेस इन्टरनेट
सन् २००२ मा महावीर पुनले म्याग्दीको नाङ्गी गाउँमा इन्टरनेट नै पुर्याए । त्यतिबेला काठमाडौं लगायतका केही शहरमा भर्खर भर्खर वाइफाइ इन्टरनेट चल्न थालेको थियो । तर वाइफाइ राउटरको सिग्नललाई धेरै टाढा पुर्याउने एन्टेना नेपाली बजारमा पाइँदैनथ्यो । किनकी माओवादी द्वन्द्व चर्किएका कारण सरकारले नै नेपालमा वायरलेसको समान किन्न र प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो ।
महावीरले घरमा टिभी हेर्न प्रयोग गर्ने डिस एन्टेनाको प्रयोग गरेर पोखराको इन्टरनेट म्याग्दीको गाउँमा पुर्याए ।
उनले पोखरामा आफन्तको घरमा एउटा डिस एन्टेना राखे । अनि अर्को डिस एन्टेना पोखरादेखि ३४ किलोमिटर टाढाको मोहरे डाँडामा राखे । यसरी पहिला मोहरे डाँडामा इन्टरनेट पुर्याए, त्यसपछि त्यहाँदेखि ६ किलोमिटर टाढाको नाङ्गी गाउँमा पनि डिस एन्टेनाकै सहायताले वायरलेस इन्टरनेट पुर्याए ।
महावीर पुनले टिभीको डिस एन्टेनाको बीचमा मट्टितेल भर्न प्रयोग हुने एक लिटरको भाँडोलाई घोप्टो पारेर राख्थे । त्यसमा पोखराबाट आएको सिग्नललाई केन्द्रित गरिन्थ्यो । अनि गाउँबाट आएको सिग्नललाई पनि पोखरातिर पठाउन त्यस्तै जुगाड प्रविधि अपनाइएको थियो ।
अनि त्यो एक लिटरको भाँडोभित्र तामाको डण्डी तेर्सो पारेर राखिएको थियो र त्यो तामाको डण्डीमा बाहिरपट्टी राउरटबाट आएको तामाको तार जोडिएको थियो ।
त्यतिबेलासम्म घरमा मात्र प्रयोग गरिने राउटरलाई प्रयोग गरेर कसैले पनि लामो दूरीसम्म वाइफाइ सिग्नल पठाएर इन्टरनेट चलाएका थिएनन् । तर महावीरले म्याग्दी जिल्लाको नाङ्गी गाउँ र त्यहाँको हिमाञ्चल हाइस्कुल इन्टरनेटसँग जोडिने नेपालको पहिलो गाउँ बनाए । गाउँमा इन्टरनेट पुर्याएका कारण धेरैको ध्यान तान्यो ।
सन् २००४ देखि महावीरलाई गाउँ गाउँदेखि इन्टरनेट जडान गरिदिन अनुरोधहरु आउन थाले । महावीरले पनि विभिन्न जिल्लाका २०० भन्दा बढी गाउँमा यही प्रविधिबाट इन्टरनेट पुर्याइदिए ।
त्यो काम गर्न उनले नेपाल वायरलेस नामको संस्था नै खोलेका थिए । २००८ बाट गाउँ गाउँमा मोवाइल नेटवर्क र २०१५ देखि मोवाइल डाटाबाटै इन्टरनेट चल्न थालेपछि भने उनले वायरलेस इन्टरनेट विस्तारको काम गर्न छाडे ।
उनले वायरलेस इन्टरनेटको विकास र अन्य सामुदायिक कामका लागि विभिन्न पुरस्कार पाएका छन् । सन् २००७ मा उनले ५० हजार डलरको रामोन म्यागासेसे पुरस्कार पाए । उनलाई अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्काले अनरेरी डक्टरेटको उपाधिसमेत दिएको छ ।
आविष्कार केन्द्रको स्थापना
म्याग्दीको गाउँमा बसेर स्कुल चलाउँदा नै उनले स्कुलको आम्दानी बढाउन स्थानीय समुदायसँग मिलेर धेरै काम गरेका थिए ।
झण्डै २० वर्ष त्यसरी काम गरेपछि उनलाई लाग्यो, मैले त एउटा गाउँ मात्र होइन, देशभरिका मान्छेले फाइदा लिन सक्ने काम गर्नुपर्छ ।
महावीर पुनले दक्षिण कोरिया, सिंगापुर, इजरायल, चीन आदि देशका बारेमा अध्ययन गरे । त्यहाँ इनोभेसनमा ठूलो लगानी गरेकै कारण देशले छिटो फड्को मारेको थाहा पाए ।
सन् २०१२ मा चीनको बेइजिङमा इनोभेसन फोरममा गएपछि भने उनलाई नेपालमा इनोभेसन सेन्टर खोलिहाल्ने हुटहुटी जाग्यो ।
२०६९ सालमा उनी तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेट्न गए । इनोभेसन सेन्टर खोल्ने आफ्नो प्रस्ताव सुनाए ।
इनोभेसन सेन्टरको दिगो आर्थिक आम्दानीका लागि १० मेगावाट क्षमतको जलविद्युत आयोजना बनाउनुपर्ने र त्यसबाट वर्षमा करिब ७–८ करोड रुपैयाँ बचाउन सकिने बताए । त्यतिबेला सरकारबाट अगाडि बढ्नू भन्ने सुझाव पाए ।
महावीर पुनसहित ५ जना मिलेर नेसनल इनोभेसन सेन्टर अर्थात राष्ट्रिय आविष्कार केन्द्र नामको गैरनाफामूलक कम्पनी दर्ता गरे । केन्द्रको संस्थापक हालका अर्थमन्त्री रामेश्वरप्रसाद खनाल पनि हुन् ।
आविष्कार केन्द्रको दिगो स्रोत व्यवस्थापनका लागि हरेक सरकारका प्रधानमन्त्री, अर्थमन्त्री र सचिवहरुलाई भेटिरहेका छन् । तर सिंहदरबार जति धाए पनि सरकारबाट कुनै सहयोग पाएनन् । तर पनि महावीरले हार मानेनन् ।
त्रिभुवन विश्वविद्यालयले जग्गा र टहरो दियो । महावीर पुनले त्यसलाई मर्मत गरेर कार्यालय र काम गर्ने ठाउँ बनाए ।
कोरोना महामारीपछि मात्र आविष्कार केन्द्रमा १०० भन्दा धेरै अनुसन्धानका काम भएका छन्, जसमा ६० प्रतिशत असफल भए ।
तर राष्ट्रिय आविष्कार केन्द्रले देशका धेरै अस्पतालका पुराना उपकरणहरु मर्मत सम्भार गरेर काम चल्ने बनाइदिएको छ । केही निजी अस्पतालसँग बायो मेडिकल उपकरण र मेसिनहरु मर्मतको लागि वार्षिक सम्झौता पनि गरेको छ ।
भर्खर जन्मेको बच्चालाई न्यानो बनाउने बेबी वार्मर, कफी भुट्ने र गेडागुडी भुट्ने मेसिन, कुखुराको अण्डा कोरलेर चल्ला निकाल्ने मेसिन, दूधबाट खुवा बनाउने मेसिन आदि बनाएको छ ।
त्यस्तै पुराना गाडीहरुको इन्जिन निकालेर विद्युतीय गाडीमा रुपान्तरण गर्ने, अस्पताल र होटलहरुमा सेवा दिने सर्भिस रोबोट बनाउने जस्ता काम पनि भइरहेका छन् । राष्ट्रिय आविष्कार केन्द्रमा अनुसन्धान गर्ने धेरै युवा अहिले आफ्नै उद्यम सञ्चालन गर्ने भइसकेका छन् ।
अनि राष्ट्रिय आविष्कार केन्द्रले आफ्नो आम्दानी बढाउन वीरगञ्जको कृषि औजार कारखाना पनि सञ्चालन गरेको छ । कृषि औजार कारखानाले बेबी वार्मर, सोलार डायर, कफी भुट्ने मेसिन, खुवा बनाउने मेसिन, टपरी बनाउने मेसिन आदि बनाएर बिक्री गरेको छ ।
राष्ट्रिय आविष्कार केन्द्रसँग काठमाडौंको कीर्तिपुर, वीरगञ्जको कृषि औजार कारखाना र पोखराको आईसीटी पार्क गरी तीन ठाउँमा काम गर्ने ठाउँ छ । तीन ठाउँमा गरी करिब ८० जनाले काम गरिरहेका छन् ।
कृषि औजार कारखाना चलाउन बजेट अपुग भएपछि महावीर पुनले आफ्नो आत्मकथा लेखे र देशभरि घुम्दै आफ्नो आत्मकथा बेच्न थाले ।
अहिलेसम्म उनको २ लाख ४० हजार प्रति किताब बिक्री भएको छ । त्यसबाट १० देखि १२ करोड रुपैयाँ कलेक्सन भएको छ ।
काठमाडौंमा जेनजी आन्दोलन भएर सत्ता पल्टिँदा पनि उनी ताप्लेजुङमा किताब बेचिरहेका थिए । जेनजीहरुले फोन गरेर मन्त्री बन्न अफर गरे । कर नै गरेपछि उनी शिक्षा र विज्ञान प्रविधि मन्त्री भए ।
०००
मन्त्री पुनले आफूले गरेको कामबारे फेसबुकमै लेखिरहेका छन् । मन्त्रीका रुपमा दिनदिनै गर्नुपर्ने काम र निर्देशनहरु पनि उनले फेसबुकमा लेखिदिन्छन् ।
तर उनले केही राम्रा कामको भने सुरुवात गरेका छन् । मन्त्री भएको भोलिपल्टै असोज ७ गते मन्त्री पुनले एउटा निर्णय गरे, सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप गर्ने ।
हाल शहरी क्षेत्रको विद्यालयमा कम्प्युटर पढाइ सामान्य भइसक्यो । तर ग्रामीण क्षेत्रको सामुदायिक विद्यालयमा कम्प्युटरको पढाइ हुँदैन । त्यहाँ सबै विद्यार्थीको पहुँचमा कम्प्युटर छैन । अनि कम्प्युटर पढाउने दक्ष शिक्षक पनि छैनन् । मन्त्री पुनले कम्प्युटर नै पढेका शिक्षकको दरबन्दी राख्ने निर्णय गरेका छन् । यसले भविष्यमा सामुदायिक विद्यालयमा कम्प्युटर पढ्ने वातावरण बन्न सक्छ ।
मन्त्री पुनका विज्ञ सल्लाहकार अभिषेक घिमिरेका अनुसार शिक्षकको खाली रहेको दरबन्दीमा कम्प्युटर शिक्षक राख्ने तयारी भइरहेको छ ।
अनि, कम्प्युटर विज्ञानलाई अनिवार्य विषयकै रुपमा विकास गर्नेबारे पाठ्यक्रम विकास केन्द्रसँग छलफल भइरहेको छ ।
मन्त्री पुनको सबभन्दा प्राथमिकता भने मन्त्रालय फुटाउने र छुट्टै विज्ञान प्रविधि मन्त्रालय बनाउनेमा देखिन्छ ।
२०८० वैशाखमा विज्ञान प्रविधि क्षेत्रको इनोभेसनका लागि बजेट छुट्याउन माग गर्दै माइतीघरमा ३ दिन ३ रात धर्ना दिएका थिए ।
त्यसपछि सरकारसँग कुल विकास बजेटको १ प्रतिशत रकम इनोभेसनका लागि छुट्याउने सहमति भएको थियो । त्यो भनेको करिब ३ करोड रुपैयाँ हुन आउँछ । सरकारले सहमति त गर्यो, तर बजेट छुट्याएन ।
महावीर पुन, इनोभेसन कुनै पनि देशको दिमाग हो भन्छन् । उनका अनुसार विद्यार्थीहरुले विश्वविद्यालयमा पढेका कुराहरु अभ्यास गर्न पाएनन् भने उनीहरुले सिक्दैनन् । त्यस्तो पढाइको कुनै अर्थ हुँदैन । त्यसको लागि राज्यले व्यवहारिक विज्ञान र इनोभेसनको अवसर दिनुपर्छ ।
यो काम अहिलेको शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले गर्न सक्दैन । छुट्टै बलियो मन्त्रालय चाहिन्छ ।
बजेटको हिसाबले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अहिले सबैभन्दा धेरै बजेट पाउने मन्त्रालयहरुमै पर्छ ।
यो वर्षका लागि शिक्षा मन्त्रालयले २ खर्ब ११ अर्ब रुपैयाँ बजेट पाएको छ । तर बजेटको ठूलो हिस्सा शिक्षा क्षेत्रमा, त्यसमा पनि शिक्षकको तलब भत्तामा जान्छ । विज्ञान प्रविधिको क्षेत्रमा थोरै मात्र छ ।
त्यसैले उनी विज्ञान प्रविधि मन्त्रालय अलग्गै बनाउन चाहन्छन् । मन्त्री पुनका विज्ञ सल्लाहकार अभिषेक घिमिरेका अनुसार मन्त्रालय सञ्चालनको कार्यविधि बन्दैछ । त्यसपछि मन्त्रिपरिषदमा प्रस्ताव जान्छ । मन्त्रिपरिषद्ले निर्णय गर्यो भने विज्ञान मन्त्रालय गठन हुन्छ पनि ।
०००
हिजो इनोभेसनका लागि बजेट माग गर्दै सिंहदरबार धाए । आज सिंहदरबारको त्यो कुर्सीमा आफैं छन् । हिजोका सरकारसँग मागिरहेको विषय सम्बोधन गर्ने ठाउँमा छन् ।
अनि आविष्कार केन्द्रकै संस्थापकमध्येका एक रामेश्वर खनाल अर्थमन्त्री छन् । यो बेला उनीहरुले राष्ट्रिय आविष्कार केन्द्रलाई पर्याप्त बजेट दिन सक्छन् ।
तर आविष्कार केन्द्रका महाप्रबन्धक राकेश झाका अनुसार मन्त्री हुँदासम्म महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रका लागि केही गर्ने छैनन् । आफू मन्त्री हुँदा आफ्नै संस्थाको हितमा काम गरेको अपजस उनी बोक्न चाहँदैनन् ।
पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश शाह मन्त्री महावीर पुनले राष्ट्रिय विज्ञान कोष बनाउन जोड गर्नुपर्ने बताउँछन् । अनि त्यसको सञ्चालन कार्यविधि र अर्थ मन्त्रालयबाट त्यसमा बजेट निकासा गराउनुपर्छ ।
मन्त्री पुनको मन्त्रालय फुटाउने योजना भने पूर्वमन्त्री शाहलाई त्यति ठीक लागेको छैन । इनोभेसनका लागि राज्यले गर्ने भनेको आवश्यक बजेटको बन्दोबस्त र इनोभेसनको इकोसिस्टम बनाइदिने हो । मन्त्री पुनले यही काम गरुन् ।
ओलीलाई आफैंले अध्यक्ष बनाए, अब हटाउन चाहन्छन्
सरुवाले शिक्षकलाई रुवायो
राजनीतिक भ्रष्टाचारमा अख्तियारको आँखा



-1765351207.jpg)


