बालेन, रवि र कुलमान एउटै दलमा आए के हुन्छ ?
आजको दिनमा नेपाली राजनीतिमा लोकप्रिय तीन पात्र हुन् बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङ । तीनै जना एउटै पार्टीमा आए भने के होला ?
नयाँ राजनीतिक आन्दोलनको सुरुवात हुनेछ कि अहंकार, विचारधारा र शक्ति संघर्षको नयाँ अखडा बन्नेछ ?
०००
सुरुमा बालेन, रवि र कुलमानहरुको खोजी किन भइरहेको छ भन्नेबारे कुरा गरौं।
२०६२/६३ को जनआन्दोलनपछि नै नेपालको शासन सत्ता प्रमुख तीन पार्टीको हातमा छ । कांग्रेस, एमाले र माओवादीका नेताहरुले पालैपालो सत्ताको नेतृत्व गरेका छन् ।
यिनीहरुको सत्ताको खेलबाट आजित भएका नागरिकले २०७९ को चुनावमा नै घन्टी बजाएर आफ्नो असन्तुष्टि पोखेका थिए ।
तर तीन दलको नेतृत्वमा रहेकाहरुको बानी व्यहोरा फेरिएन। शासन शैली पनि उस्तै रह्यो ।
परिणाम, भदौ २३ र २४ मा जेनजी विद्रोह भयो । ३६ घण्टा भन्दा कम समयमा राज्यविहीनताको अवस्था बन्यो । लागेको थियो, अब त दलहरुले चेत्लान्, नेतृत्व हस्तान्तरण होला । कांग्रेसमा गगन थापा र विश्वप्रकाश शर्माहरुले त्यसको पहल पनि लिए ।
तर तीन महिना पुग्दा नपुग्दै ओली देउवाहरुले गुमेको आँट जम्मा गरिसके । ओली अर्को कार्यकालका लागि अध्यक्ष भइसके । देउवालाई फेरि सभापति बन्न त विधानले छेक्छ, तर अहिले नै एक वर्ष कार्यकाल लम्ब्याउन सकिन्छ कि भनेर लागेका छन् ।
पुष्पकमल दाहाल प्रचण्ड पनि १०/१२ वटा दललाई मिलाएर नेतृत्वमा बसिरहेका छन् । त्यसैले मानिसहरुले रवि, बालेन र कुलमानहरुको खोजी गरेका छन् । हामीले अगाडि नै भनिसक्यौं, उनीहरु एक ठाउँमा आउँछन् कि आउँदैनन् अनुमान गर्नतिर नलागौं ।
एक ठाउँमा आए भने पोलिटिकल ट्राइ एंगल बन्नेछ । बालेन शाह आफैंमा विद्रोहका प्रतीक हुन् । २०७९ वैशाखमा भएको स्थानीय तह चुनावमा स्वतन्त्र हैसियतमा काठमाडौं महानगरपालिकाको मेयर जिते । संघीय राजधानीको मेयर आफैंमा ठूलो पद हो ।
कांग्रेस, एमाले जस्ता वर्षौंको इतिहास भएका दललाई भारी मतान्तरले हराउँदै बालेन मेयर निर्वाचित भएका थिए । त्यसपछि पनि उनले विद्रोही छविलाई कायमै राखेका छन् ।
प्रमुख प्रशासकीय अधिकृतका विषयमा, फोहोर व्यवस्थापन र विकास निर्माणका काममा उनले संघीय सरकारसँग निरन्तर पैठोजोरी खेलेका छन् । उनी सार्वजनिक मञ्चहरुमा कम बोल्छन् । भन्नैपर्ने विषय सामाजिक सञ्जालमा स्टाटस लेख्छन् ।
धेरै युवाहरुका लागि आज पनि बालेन आशाको प्रतीक हुन् ।
राजनीतिक विश्लेषक सीके लालका अनुसार उनलाई धनबल र सैन्य बलको पनि समर्थन छ । धन बल भनेको काठमाडौंको ठूला व्यापारिक समूह हुन् ।
जसको साथर समर्थन बालेनलाई छ । विभिन्न कारणले उनको परिवारको स्थायी सत्तामा राम्रो पहुँच रह्यो । त्यसैले सैन्य शक्ति र पुराना सम्भ्रान्तहरुको उनलाई समर्थन छ ।
नेवा बुद्धिजीवीहरु, जसलाई आफ्नो आवाज हरायो भन्ने परेको छ, उनीहरुको पनि बालेनलाई साथ छ । त्यसमाथि विद्रोही छविका कारण युवाहरुको उत्तिकै समर्थन छ ।
भलै जेनजी विद्रोहपछि उनीमाथि प्रश्न उठाउनेहरु पनि देखिए । तर आजको दिनमा नेपालको राजनीतिमा कुनै व्यक्ति सबभन्दा लोकप्रिय छ भने त्यो बालेन नै हुन् भन्दा फरक पर्दैन ।
००००
रवि लामिछाने नेता मात्र होइनन्, मास कम्युनिकेटर हुन् । उनी जनताको आक्रोश बुझ्न सक्छन् । लामो समय टेलिभिजनमा काम गरेकाले कम्युनिकेसन स्किल राम्रो छ ।
२०७९ असारमा पार्टी खोलेर उनले ६ महिनामै २१ सिटको पार्टी बनाएर देखाए । राजनीतिमा आएदेखि उनी नागरिकता, पासपोर्ट, सहकारीको रकम अपचलन जस्ता गम्भीर विवादमा मुछिएका छन् ।
तैपनि उनलाई प्रश्न गर्नेभन्दा समर्थन गर्नेहरु धेरै छन् । पछिल्लो पटक थुनामुक्त हुँदा पनि बुटवलको सुप्रिम सहकारीबाट अपचलन भएको रकममध्ये उनको भागमा पर्ने बराबरको पैसा धरौटी राखेर छुटेका हुन् ।
यसको अर्थ के हो भने उनी दोषी ठहर भएका त छैनन्, तर निर्दोष पनि प्रमाणित भएका होइनन् । तैपनि नागरिकको ठूलो पङ्ति उनकै समर्थनमा देखिएको छ ।
खासगरी ठूला दलको गतिविधिबाट वाक्क भएकाहरुले ओली–देउवाहरुलाई चुनौती दिनसक्ने व्यक्तिका रुपमा रविलाई हेरेका छन् ।
००००
अब कुरा गरौं, कुलमान घिसिङको । राइट म्यान इन राइट प्लेस हुने हो भने अहिलेकै सिस्टमले पनि रिजल्ट दिन्छ भन्ने उदाहरण हुन् कुलमान ।
खासगरी नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएका बेला उनले जसरी १८ घन्टासम्म रहेको लोडसेडिङ अन्त्य गरे, त्यसबाट धेरैको मन जितेका छन् ।
झन् केपी शर्मा ओली सरकारले ४ महिना कार्यकाल बाँकी छँदा विद्युत प्राधिकरणबाट बर्खास्त गरेका कारण पनि उनीप्रति सहानुभूति थपिएको छ ।
भदौ २३/२४ को जेनजी विद्रोहपछि ऊर्जा, सहरी विकास र भौतिकपूर्वाधार गरी तीन वटा मन्त्रालय सम्हालेका छन् । त्यसमा पनि उनले जसरी एक्सन लिए, सरकारले डेलिभरी दिन नसकेर आजित भएका जनताको समर्थन नै पाएका छन् ।
राजनीतिमा उनको अर्को स्ट्रेन्थ पनि छ । त्यो हो, काठमाडौं उपत्यका वरिपरिकोजिल्लामा रहेका तामाङ समुदायको समर्थन । नेपाली राजनीतिको मूल नेतृत्वमा अहिलेसम्म तामाङ समुदाय पुग्न पाएको छैन ।
एक समय कांग्रेसमा भीमबहादुर तामाङ थिए । राप्रपामा बुद्धिमान तामाङ र एमालेमा शेरबहादुर तामाङहरु छन् । तर तीनवटै पार्टीको मूल नेतृत्वले उनीहरुलाई त्यसरी अगाडि राखेनन् ।
जब कुलमान राजनीतिमा आए, तामाङ समुदायले नयाँ नेता भेटाएका छन् । नेपाली समाजमा टेक्नोक्रयाटलाई राजनीतिक नेतृत्वमा देख्न चाहनेहरु पनि छन् । स्वभाविक रुपमा उनीहरु कुलमानतिर आकर्षित भएका छन् ।
कुलमानले डेलिभरीको राजनीति गर्छु भनेकाले व्यापारिक क्षेत्रको पनि साथ छ । अब तीनै जना एक ठाउँमा आए भने के हुन्छ ?
युवा मतदाता, शहरी मध्यम वर्ग र पुराना दलहरुबाट निराश भएकाहरु जबर्जस्तरुपमा आकर्षित हुनेछन् । एक प्रकारले भन्ने हो भने अबको चुनाव नेपाली राजनीतिमारिसेट बटम थिचे जस्तो हुनसक्छ ।
प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मात्र होइन, कांग्रेस र एमालेलाई नै ठूलो धक्का लाग्ने छ । उनीहरुलाई आफ्नो कोर मतदाता जोगाउन समेत हम्मेहम्मे पर्नसक्छ ।
किनकी नेपाली मतदातामा ठूलो हिस्सा युवा मतदाताको छ । निर्वाचन आयोगका अनुसार अघिल्लो चुनावमा भन्दा यस पटक १० लाख बढी मतदाता हुनेछन् ।
युवा मतदातामा पुराना राजनीतिक दलप्रति आक्रोश छ । पुराना दलले राज्यकोस्रोत साधन दोहन गरे, भ्रष्टाचार बढ्यो, सुशासन दिन सकेनन् भन्ने युवाहरुको बुझाइ छ ।
२०७९ सालमा जम्मा ६ महिनाको तयारीमा रास्वपा एक्लैले संसदमा २१ सिट जितेको थियो । काठमाडौं, चितवन र तनहुँमा त प्रत्यक्ष चुनाव नै जित्यो । पोखरा, दाङ, बुटवल, धरानजस्ता शहरी क्षेत्रमा पनि उल्लेख्य मत पायो ।
समानुपातिक पद्धति तर्फ पनि काठमाडौं र शहरी क्षेत्रमा कांग्रेस– एमालेहाराहारी नै मत पायो । त्यसपछिका साढे ३ वर्षमा रास्वपाले आफ्नो संगठन देशैभरि विस्तार गरेको छ । रास्वपाको आफ्नै जनाधार तयार भइसकेको छ ।
त्यसमा बालेन र कुलमान पनिथपिँदा त त्यसले देशब्यापी रुपमा नै नयाँ सन्देश प्रवाह गर्नेछ । यो भन्न जति सहज छ, मिलिहाल्न त्यही नै गाह्रो पनि छ ।
किनकी जसले जे भने पनि रास्वपा रविको व्यक्तिगत लोकप्रियताको आडमा बनेको पार्टी हो । रास्वपाको निर्णय प्रक्रियामा रवि एक्लै हावी छन् ।
रविमाथि नागरिकता, राहदानी र सहकारी ठगीको आरोप लाग्दा पार्टीभित्र उनीमाथिसामान्य प्रश्न समेत कसैले गर्न सकेन । नेतृ सुमना श्रेष्ठले रास्वपाले देशभन्दा माथि पार्टी र पार्टी भन्दा माथि नेतालाई राख्न थालेको आरोप लगाएकी थिइन् ।
पार्टीभित्रै केही नेताहरुले रुपान्तरणको आवाज उठाएका थिए, तर उनीहरुको आवाज दबिएको छ । कुलमानले उज्यालो नेपाल पार्टी दर्ता गराएका छन् । विद्युत प्राधिकरणमा गरेको कामबाट बनेको ब्राण्डलाई राजनीतिक पुँजी बनाउन खोजेका छन् ।
त्यसैले पार्टीको नाम उज्यालो नेपाल र चुनाव चिन्ह पनि बिजुलीको चिम राखेका छन् । बालेनले पनि आफ्नै ब्राण्ड बनाउन चाहन्छन्, त्यसैले आफ्ना समर्थकको नेतृत्वमा देश विकास पार्टी दर्ता गराएका छन् ।
स्वतन्त्र उम्मेदवार भएर काठमाडौंको मेयरमा चुनाव लड्दा लिएको लौरो नै यही दलको चुनाव चिह्न हो । रवि, बालेन र कुलमानको समस्या के हो भने उनीहरु व्यक्तिगत रुपमा लोकप्रिय छन्।
तर उनीहरुको लोकतान्त्रिक संस्कारमा काफी प्रश्न उठेको छ ।
मेयर बालेनको काठमाडौंमहानगरपालिका चलाउने तरिका, रविको पार्टी चलाउने तरिका र कुलमानले हिजो विद्युतप्राधिकरण चलाएको तरिकामा एउटा समानता छ, विरोधी मतहरुको उपेक्षा ।
तीनै जना कुनै लोकतान्त्रिक पद्धतिबाट खारिएर आएका होइनन्, निर्णय प्रक्रियामाएक अर्काको कुरा सुन्ने, छलफलबाट आएका सुझावलाई समेटेर निर्णय गर्ने होइन, आफूलाई लागेको काम गर्नेहरु हुन् ।
त्यसैले तीन वटा ब्राण्डको मर्जर नै चुनौती पूर्ण छ । स्रोतहरुका दाबी छकि बालेन, कुलमानको नेतृत्व स्वीकार गर्न तयार छन् । तर दलको नाम र चुनाव चिह्नमा हुबहु स्वीकार गर्न चाहेनन् ।
कुलमानले पनि उज्यालो नेपाल र चिम आफ्नो ब्राण्डिङ भएकाले त्यसलाई फेरफेर गर्न चाहेनन् । रविको हकमा पनि त्यही हो । रास्वपा नाम र घन्टी चुनाव चिह्न स्थापित भइसकेको छ ।
त्यसैले एकै ठाउँमा आउँदा पदीय भागबण्डा मिलाउन गाह्रो छ । सहमतिका लागि रवि, बालेन र कुलमानहरुबीच पनि भागबण्डा हुन सक्ने समाचारहरु बाहिरिएका छन् ।
नयाँ पार्टीमा पनि पुरानै दलको कार्यशैली देखिएको भन्दै आलोचनापनि सुरु भएको छ । तीनै जनामा प्रधानमन्त्री बन्ने महत्वाकांक्षा छ । उनीहरुको कार्यशैली फरक छ ।
त्यसैले बालेन, कुलमान र रविहरुको एकता सहज छैन । तर अहिले जेनजी विद्रोहले राखेको परिर्वतनको आकांक्षा सम्बोधन गर्नु छ ।
त्यसका लागि ओली– देउवाहरुलाई हराउनु छ रसंसदमा नयाँ शक्तिहरुको बलियो उपस्थिति गराउनु छ । यो शर्तमा सम्झौता हुनसक्छ ।
त्यो बेला तीन जनाले सुझबुझका साथ काम गरे,इगोहरुलाई व्यवस्थापन गर्न सके भने नेपाली राजनीतिमा नयाँ मानक बन्न सक्छ ।
पुराना दलहरुले बाँडीचुँडी देशका स्रोत साधनको दोहन गरे भन्ने भाष्य बनेका बेला नागरिकले पनि नयाँ विश्वासिलो शक्ति पाउनेछ । तर सुशासन, पारदर्शिता र जवाफदेहीतामा कत्तिको खरो उत्रिनेछन् भन्ने प्रश्न भने रहिरहनेछ ।
त्यो अवस्थामा उनीहरु पनि अन्तरिक कहलमा फस्न सक्नेछन् । एमाले र माओवादी मिलेर बनेको नेकपामा जस्तै बिग्रह आउन सक्नेछ ।
अनि नागरिकमा निराशाको अर्को तहको निराशा आउन सक्छ ।
निष्कर्षमा भन्दा रवि, बालेन र कुलमान आआफ्नो जंगलको सिंहजस्ता छन् । अब प्रश्न छ, एउटै जंगलमा तीनवटा सिंह कसरी रहला ?
चितवन ३ मा रेनु कि सोविता ?
दल बदलु उम्मेदवारको बोलवाला भएको एउटा क्षेत्र
चितवन २ मा रविलाई पहिलाजस्तो छैन सजिलो
सुदनको इन्ट्रीले माओवादी गढमा फेरिएको हिसाब किताब
बहालवाला प्रधानमन्त्री हारेको त्यो चुनाव





