नेभिगेशन
एक्सप्लेनर भिडियो

इन्दिरा गान्धीसँग हतियार डिल र नेपालमा सशस्त्र क्रान्ति

२०२६ सालतिरको कुरा हो । 

वीपी कोइराला भारतमा निर्वासनमा थिए । भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीलाई भेट्न पुगे । 

भेटमा वीपीले इन्दिरालाई प्रस्ताव गरे, ‘तपाईंले मलाई मद्दत गर्नुपर्‍यो ।’ 

इन्दिरा गान्धीले सोध्छिन्, ‘कस्तो मद्दत ?’

‘मलाई एक करोड रुपैयाँ चाहियो र अलिकति हतियार चाहियो । म नेपालमा क्रान्तिका लागि परिपक्व परिस्थिति देख्छु’, वीपीले जवाफ दिए । 

इन्दिरा गान्धीले वीपीलाई आश्वस्त पार्दै भनिन्, ‘त्यो कुनै समस्या होइन, तपाईं आफ्नो संगठन बनाउनुस्, म त्यो तपाईंलाई इन्तजाम गरिदिन्छु ।’ 

इन्दिराले के पनि भनिन् भने, ‘यस विषयमा तपाईं अरु कसैसँग कुरा नगर्नुस् । मेरा मन्त्रीहरु वा र का प्रमुखसँग पनि कुरा नगर्नुहोला ।’ 

बीपी कोइराला किन सशस्त्र क्रान्ति गर्ने निश्कर्षमा पुगे, हतियार कसरी जुटाए ? सशस्त्र क्रान्तिका क्रममा के के भए ? अनि वीपी किन क्रान्तिको बाटो छाडेर मेलमिलापको नीति लिएर नेपाल फर्किए ?  

****

वीपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री । २००७ सालमा राणाविरोधी आन्दोलन गरेका वीपी प्रजातन्त्र पुनस्र्थापनापछि बनेको राणा–कांग्रेस संयुक्त सरकारको गृहमन्त्री भएका थिए । 

२०१५ सालमा जब राजा महेन्द्रले चुनाव गरे । वीपीको पार्टी नेपाली कांग्रेसले संसदमा बहुमत ल्यायो । 

वीपी संसदबाट निर्वाचित प्रधानमन्त्री बने । प्रधानमन्त्रीका रुपमा उनले जम्मा डेढ वर्ष काम गर्न पाए । त्यति छोटो अवधिमा पनि उनले शासकीय सुधारका काम गरे । इजरायल र पाकिस्तानसँग दौत्य सम्बन्ध गाँसे, चीनसँग सगरमाथाको विवाद समाधान गरे । 

उनले एउटा रफ्तारमा काम गरिरहेका थिए, तर राजा महेन्द्रसँग उनको सम्बन्ध राम्रो भएन । 

अन्ततः २०१७ साल पुस १ गते राजा महेन्द्रले वीपीलाई पक्राउ गरेर जेल हाले, शासन सत्ता आफ्नै हातमा लिए ।  

बिना कुनै कसुर वीपी कोइराला ८ वर्ष काठमाडौंको सुन्दरीजलको एउटा घरमा कैदीका रुपमा बस्न बाध्य भए । 

८ वर्ष जेल बसेपछि वीपी २०२५ साल कात्तिक १४ गते रिहा भए । रिहा भएपछि उनले राजा महेन्द्रसँग भेट्न चाहेका थिए । तर वीपीलाई नभेटी राजा उपचारका लागि लण्डन गए । 

वीपी पनि उपचारका लागि भारतको बम्बई गए । राजा महेन्द्र लण्डनबाट बम्बई आए । भारतमै रहेका वीपी, राजालाई स्वागत गर्न एयरपोर्ट पुगे । 

एयरपोर्टमा भेट्दा राजा महेन्द्रले ‘कस्तो छ’ भनेर वीपीको स्वास्थ्यबारे चासो देखाए । तर धेरै कुरा हुन पाएन । वीपीले बम्बईमै राजासँग भेट्न खोजे, राजा मानेनन् । ‘वीपी पनि ओखती गर्न आएको र म पनि अलिकति आराम गर्न आएको । यहाँ किन भेट्ने ? पछि भेटौंला’ भनेर टारिदिए ।  

त्यसपछि पनि वीपीका भाइ गिरिजा राजा महेन्द्रसँग वीपीको भेटघाट मिलाउन सकिन्छ कि भनेर प्रयास गरिरहेका थिए । तर राजाले गिरिजालाई पनि भेट्न मानेनन् । उनले प्रधानमन्त्री सूर्यबहादुर थापालाई भेटे । 

सूर्यबहादुर थापाले विराटनगरको वीपीको भाषणबाट राजा रिसाएको सुनाए । २०२५ माघमा विराटनगरमा भएको एउटा आमसभामा वीपीले राजाले जारी गरेको पञ्चायती संविधान नमान्ने भन्दै भाषण गरेका थिए ।  

‘त्यस्तो कुरा पनि बोल्ने हो ? एकदम जागेर बसेका छन् राजा । फेरि समातिनुहुन्छ क्यारे तपाईंको दाजु’, सूर्यबहादुरले सुनाए । 

त्यही कुरा गिरिजाले वीपीसम्म पुर्‍याए । ८ वर्ष जेल बसेर निस्केका वीपीलाई फेरि जेल बस्ने मन थिएन । बल्ल बल्ल जेलबाट छुटेको, फेरि जेल बस्नुपर्‍यो भने पार्टी लथालिंग हुन्छ भन्ने उनलाई लाग्यो । 

त्यसपछि वीपीले भारतमा बसेर तयारी गर्ने र नेपाल आएर सशस्त्र क्रान्ति गर्ने योजना बनाए ।

****

नेपाली कांग्रेसले त्यसभन्दा अगाडि नै २ पटक सशस्त्र क्रान्ति गरिसकेको थियो । पहिला २००७ साल कात्तिकमा राणा शासनविरुद्ध गरेको थियो । कांग्रेसले मुक्ति सेना बनाएर तराईका विभिन्न जिल्लामा फौजी आक्रमण नै गरेको थियो । 

राणा शासन विरुद्ध राजा त्रिभुवन नै सक्रिय भए । उनी दरबार छाडेर भारतमा शरण लिन पुगे । राजा दिल्ली गएपछि मुक्ति सेनाले झन् संघर्ष चर्काए । झापा, इलाम, विराटनगर, वीरगञ्ज, भैरहवा, डोटी लगायतका ठाउँ कब्जामा लिए । 

अन्ततः २००७ साल फागुनमा दिल्लीमा राजा, राणा र कांग्रेसको त्रिपक्षीय समझदारी भयो । त्यसपछि नेपालमा राणा शासन अन्त्य भयो । राणा र कांग्रेसको संयुक्त सरकार बन्यो । कांग्रेसले हतियार उठाएको ३–४ महिनापछि देशमा प्रजातन्त्र स्थापना भएपछि मुक्ति सेनालाई सरकारी फौज रक्षा दल बनाइयो । त्यही रक्षा दल २०१२ सालमा नेपाल प्रहरीमा रुपान्तरण भयो । 

२०१५ सालमा पहिलो आम निर्वाचन भएर बनेको सरकारलाई २०१७ साल पुस १ गते  राजा महेन्द्रले कु गरिदए । त्यसपछि कांग्रेसले २०१९ सालमा दोस्रो सशस्त्र क्रान्ति गर्‍यो । 

त्यतिबेला वीपी जेलमा थिए । कांग्रेसको कार्यबाहक अध्यक्ष सुवर्णशमशेर थिए । उनले भारतमै बसेर राजाविरुद्ध सशस्त्र युद्ध सुरु गरेका थिए । सुरुमा यो आन्दोलनलाई भारतको सपोर्ट थियो । 

तर त्यही बेला भारत र चीनबीच सीमासम्बन्धी विवाद चर्कियो, युद्ध नै सुरु भयो । चीनसँग युद्ध सुरु भएपछि भारतले सुवर्ण शमशेरलाई नेपालको सशस्त्र युद्ध रोक्न आग्रह गर्‍यो, युद्ध रोकियो । 

२०२५ सालसम्म पुग्दा सुवर्णशमशेरले राजासँग समझदारी गरेर अगाडि बढ्ने नीति लिइसकेका थिए । उनको निष्कर्ष थियो, ‘राजनीतिक उद्देश्यका लागि हिंसा उपयुक्त बाटो होइन ।’

तर बीपी कोइरालालाई भने सशस्त्र क्रान्तिबाट नेपालमा पुनः प्रजातन्त्र फर्काउन सकिन्छ भन्ने लागेको थियो । वीपीले आफ्नो आत्मवृत्तान्तमा भनेका छन्, ‘मेरो आधारभूत अनुमान के थियो भने जनतामा क्रान्तिकारी उत्ताप छ । र एउटा दृढ निश्चयी सानो समूहले क्रान्तिकारी कार्य गर्‍यो भने जनताको अपार समर्थन पाइन्छ ।’ 

उनले अगाडि लेखेका छन्, ‘एक–डेढ– दुई हजार मान्छेका लागि अलिकति हतियार चाहिएको थियो, ... हतियार उपलब्ध भयो र हामीले देशभित्रै केन्द्र बनाएर गर्‍यौं भने सरकारले हाम्रो मुकाबिला गर्न सक्दैन ।’ 

तर सुवर्णशमशेरले साथ दिएनन् । कृष्णप्रसाद भट्टराई, श्रीभद्र शर्मा, महेन्द्रनारायण निधिहरु पनि सशस्त्र क्रान्तिको विपक्षमा रहे । गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालाहरु भने सशस्त्र युद्धको पक्षमा थिए ।

त्यसपछि वीपी हतियार खोज्नतिर लागे । त्यही सिलसिलामा इन्दिरा गान्धीसँग हतियार र पैसा सहयोग मागेका थिए । 

वीपी भारतको मात्र भर परेर बसेनन् । उनले बेलायत, जर्मनी, स्वीडेन र इजरायलसँग पनि हतियार सहयोग मागे । 

बेलायत र जर्मनीले खासै चासो दिएनन् । स्वीडेन हतियार पनि दिन तयार भयो । तर भारतको सहमति चाहिने सर्त राख्यो । 

त्यसबेला उसले भनेको थियो, ‘हतियार त सहयोग गरौंला, तर त्यो हतियार तपाईंसम्म कसरी पुर्‍याउने ? भारतको मञ्जुरीबिना त सकिदैन ?’ 

वीपीले भारतको समर्थन रहेको सुनाए । जवाफमा स्वीडेनका नेताले भनेका थिए, ‘भारतको समर्थन छ भने हामीकहाँ आइरहनै पर्दैन ।’ 

इजरायलले पनि त्यही भन्यो । 

पछि त वीपीले हतियार बेच्ने गिरोह भारतमै भेटे । त्यो गिरोहले पैसा पाए जति पनि हतियार दिन्छु भन्यो । 

वीपीले ३ हजार हतियार किन्ने र युवाहरुलाई ट्रेनिङ गराउने योजना बनाएका थिए । उनले मध्यप्रदेश र मिर्जापुरको बीचमा पर्ने जंगल क्षेत्रमा ट्रेनिङ गर्ने ठाउँ पनि हेरेका थिए । 

वीपीले सहयोग जुटाएको थोरै थोरै पैसा दिँदै गए, उसले हतियार दिन थाल्यो । 

पछि बंगालीले लगे हतियार 

कांग्रेसले हतियार जम्मा पारे पनि सशस्त्र विद्रोह थालेको थिएन । २०२७ साल अर्थात् सन् १९७१ को समय । 

त्यतिबेला हालको बाङ्लादेश पाकिस्तानकै एउटा भाग थियो । त्यसलाई पूर्वी पाकिस्तान भनिन्थ्यो । पाकिस्तानसँग अधिकारको लडाइँ लडिरहेको पूर्वी पाकिस्तानले स्वतन्त्रताका लागि सशस्त्र युद्ध सुरु गर्‍यो । 

भारतीय नेताहरुले वीपीलाई भन्न थाले, ‘उनीहरुले हतियार पाइरहेका छैनन्, तपाईहरुको हतियार दिनुस्, उनीहरुले पैसा दिन्छन् ।’

बाङ्लादेशमा युद्धरत समूहले पनि भन्यो, ‘अहिले तपाईंलाई चाहिएको छैन भने हामीलाई दिनुस्, तपाईलाई पछि फिर्ता गरौंला ।’ 

वीपीले हतियार दिए । त्यही हतियारको बलमा पूर्वी पाकिस्तानले पाकिस्तानसँग युद्ध गर्‍यो । भारतले पूर्वी पाकिस्तानलाई सहायता गर्‍यो । 

२०२७ चैतमा पाकिस्तानबाट पूर्वी पाकिस्तान अलग भयो र बाङ्लादेश नाममा छुट्टै देश बन्यो । 

तर वीपीले हतियार फिर्ता पाएनन् । उनले आत्मवृत्तान्तमा भनेका छन्, ‘न हतियार पाइन्छ, न त्यसको दाम पाइन्छ, मैले त्यसलाई पूरा गुमाएँ ।’ 

सशस्त्र क्रान्तिको सुरुवात

बांङ्लादेशबाट हतियार त पाएनन्, तर बीपी सशस्त्र क्रान्तिकै नीतिमा थिए । त्यसका लागि युवा समूह पनि बनाएका थिए । 

नेपाली सेना छाडेका क्याप्टेन यज्ञबहादुर थापाले भारतको फारबिसगञ्जमा युवाहरुलाई तालिम दिने गरेका थिए । 

२०२९ साल भदौ महिनादेखि सशस्त्र क्रान्ति सुरु भयो । २०२९ भदौ ९ गते सप्तरीको हरिपुरस्थित प्रहरी चौकीमा भएको आक्रमण कांग्रेसको सशस्त्र क्रान्तिको पहिलो कारबाही थियो ।

राति ११ बजेतिर भारतको वीरपुरबाट आएका करिब एक सय जना हतियारधारी समूहले गाउँका घरहरुमा आगो लगाउनुका साथै चौकीमा आक्रमण गर्‍यो । 

गोली हानाहान हुँदा एक जना प्रहरीको मृत्यु भयो । केही आक्रमणकारी घाइते भए । घाइते सबैलाई उनीहरुले नै भारततर्फ लिएर गए । 

२०३० साल चैत ३ गते त राजाको सवारीमै बम प्रहार भयो । राजा वीरेन्द्र त्रिभुवन अस्पताल निरीक्षणका लागि विराटनगर पुगेका थिए । अस्पताल निरीक्षण गरेर फर्किँदा उनी चढेको मोटर भन्दा ४०० गज पर बम पड्काइयो । विस्फोटमा परेर २ जनाको मृत्यु भएको थियो भने ३७ जना घाइते भए । 

यो घटनामा संलग्नको आरोपमा धनकुटाका कांग्रेस कार्यकर्ता भीमनारायण श्रेष्ठ पक्राउ परेका थिए । 

प्लेन हाइज्याक

सशस्त्र क्रान्ति गरिरहेका बेला कांग्रेसले पैसा जुटाउन अर्को ठूलो घटना गरायो, प्लेन हाइज्याक । 

२०३० साल जेठ २८ गते विराटनगरको नेपाल राष्ट्र बैंकको कार्यालयबाट ३० लाख रुपैयाँ काठमाडौं लगिँदै थियो । त्यसका लागि नेपाल एयरलाइन्सको विमान आएको थियो । त्यही प्लेन कांग्रेसका कार्यकर्ताहरुले हाइज्याक गरे । 

दुर्गा सुवेदी, नरेन्द्र ढुंगेल, बसन्त भट्टराईसहित केही साहसी युवा विराटनगरबाट काठमाडौं जाने भन्दै त्यो प्लेन चढे । हाइज्याक गरेर नेपाल भारत सीमाबाट ७ किलोमिटर टाढाको फारबिसगञ्जमा पुर्‍याए । 

फारबिसगन्जमा दोस्रो विश्वयुद्धको समयमा प्रयोग गरिएको पुरानो अस्थायी विमानस्थल थियो । 

त्यहीँ विमान अवतरण गराए । पैसाको बाकस निकाले, अनि नेपाल एयरलाइन्सको विमान फर्काए । विमान नै अपहरण गरेर जम्मा पारेको ३० लाख रुपैयाँ कांग्रेसले हतियार खरिदमा प्रयोग गर्‍यो । 

यो काण्डपछि अपहरणमा संलग्न कांग्रेस नेताहरु भारतमा पनि भूमिगत हुनुपर्‍यो । नेपाल सरकारको अनुरोधमा भारतले उनीहरुको व्यापक खोजी गर्‍यो । दुर्गा सुवेदी र बसन्त भट्टराई पक्राउ परे, भारतमै मुद्दा चल्यो । पछि धरौटीमा रिहा भए र २०३७ सालमा मात्र नेपाल फर्किन पाए । 

यो घटनाले कांग्रेसलाई राजनीतिक रुपमा नोक्सान पुग्यो । तर तत्काल भने हतियार किन्न प्रशस्त पैसा भएकाले योद्धाहरुमा उत्साह भर्ने काम गर्‍यो ।

टिमुरबोटे काण्ड 

२०३१ साल मंसिरमा कांग्रेसले पूर्वाञ्चल कब्जा गर्ने योजना बनायो । ओखलढुंगामा सेनाको विष्णु दल गुल्म थियो । त्यहाँ धेरै हात हतियार र युद्ध सामग्रीहरु थिए । त्यहाँ ७०० जना सैनिक थिए । 

ओखलढुंगा ब्यारेक लुट्न कांग्रेसका ५३ जना योद्धा जुर्मुराए । कांग्रेसको टोलीमा केही भूपू सैनिक थिए, उनीहरुले ब्यारेकका केही सैनिक अधिकारीसँग सम्पर्क गरे । उनीहरुले सहयोग गर्ने आश्वासन दिए । 

भारतको दरभंगामा लडाकुहरुको ५ वटा समूह बनाइयो । प्रत्येक समूहमा एक जना लिडर र एक जना गाइड तोकियो । यो सिंगो आक्रमणको फौजी नेतृत्व क्याप्टेन यज्ञबहादुर थापाले गरे । राजनीतिक कमिसारको काम राम–लक्ष्मण नामका दुई दाजुभाइले गरे । 

कांग्रेसको टोली भारत जयनगरको नाकाबाट जनकपुर हुँदै ओखलढुंगातिर लागे । उनीहरु प्रत्येकसँग दुई–दुई वटा ३६ नम्बरको ग्रिनेड, एक–एक वटा स्टेन गन, केही पेस्तोल र रिभल्भर थियो । 

अनि १५० देखि २०० राउन्ड गोली थियो । तर ओखलढुंगा पुग्ने बेलामा टोलीमा रहेका केही सदस्यहरु बाटो बिर्सेको निहुँमा हराए । कोही अनेक बहाना गरेर भागे । गाउँमा भेट भएकाहरुले पनि प्रहरीलाई खबर गरिदिएपछि कांग्रेसका योद्धाहरु ओखलढुंगाको ब्यारेक हान्न जान सकेनन् । 

बरु लुक्दै लुक्दै सोलुखुम्बुतिर लागे । २०३१ साल पुस १ गते सल्लेरीमा आक्रमणको योजना बनाए ।  

तर पुस १ गते बिहान उज्यालो नहुँदै उनीहरु टिमुरबोटेको जंगलको एउटा ओढारमा घेराबन्दीमा परे । 

सेनाले ओढारमै गोली र बम वर्षा गर्‍यो । ३ घण्टा दोहोरो भिडन्त भयो । त्यहाँ २७ जना कांग्रेस कार्यकर्ता मारिए । 

कमाण्डर यज्ञबहादुर थापा पक्राउ परे । २०३५ साल माघ २६ गते यज्ञबहादुर थापासँगै विराटनगर बम काण्डमा समातिएका भीमनारायण श्रेष्ठलाई तत्कालीन सरकारले मृत्युदण्ड दियो । 

सशस्त्र युद्ध गर्ने भने पनि कांग्रेसको ठूलो तयारी थिएन । धेरैजसो हिट एण्ड रन स्टाइलमा बम पड्काएर भाग्ने खालका कामहरु मात्र भएका थिए । सरकारलाई चुनौती दिने गरी कुनै फौजी कारबाही गर्न सकेन । 

टिमुरबोटे काण्डले त ठूलै धक्का दियो ।

****

वीपीको नेतृत्वमा सशस्त्र क्रान्ति सफल भएन । त्यतिबेला उनीसँग काम गर्ने कार्यकर्ता, सार्वजनिक भएका वीपी र कांग्रेस कार्यकर्ताको भनाइबाट सशस्त्र युद्ध सफल नुहुनुका केही कारणहरु बुझ्न सकिन्छ । 

एक त पार्टीभित्रै सहयोग पाएनन् । सुवर्ण शमशेरले उनलाई सहयोग गरेनन् । भारतबाट पनि अपेक्षित सहयोग पाएनन् । 

त्यो बेला भारतमा इन्दिरा गान्धी शक्तिशाली प्रधानमन्त्री थिइन् । उनले २०३२ असारमा संकटकालको घोषणा गरिन् । विपक्षीहरुमाथि धरपकड बढाइन् । २०२७ सालमा पाकिस्तान टुक्र्याएर बाङ्लादेश बनाउन भारतले साथ दियो । अनि २०३२ सालमा भारतले सिक्किमलाई आफूमा विलय गरायो । 

त्यतिबेला बीपीका कार्यकर्ता धर्म गौतमका अनुसार पाकिस्तान विभाजन भएर बाङ्लादेश बन्नु र सिक्किम भारतमा विलय भएपछि वीपीले नेपालको राष्ट्रियतामाथि पनि खतरा देखे । त्यसपछि उनले राष्ट्रियताका विषयमा राजा र आफू एक ठाउँमा रहेको भन्दै सशस्त्र क्रान्ति अन्त्य गरे र नेपाल फर्किने निर्णय लिए । 

जसलाई उनले मेलमिलापको नीति भनेर परिभाषित गरे । २०३३ साल पुस १६ गते नेपाल फर्किँदा वीपीले एउटा वक्तव्य दिए । 

जसमा उनले भनेका छन्, ‘हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारका लागि मात्र थियो । त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौं । नेपाली कांग्रेसलाई आज दोहोरो जिम्मेवारी आइपरेको छ । यो दोस्रो जिम्मेवारी हो देशको अस्तित्वको रक्षा गर्ने ।’ 

कांग्रेसले मेलमिलापको नीति अन्तर्गत सबै नेता कार्यकर्ता आ–आफ्नो ठाउँमा फर्किने निर्णय गर्‍यो । 

२०३३ साल पुस १६ गते वीपी कोइराला र गणेशमान सिंह पटनाबाट तत्कालिन शाही नेपाल वायु सेवा निगमको जहाज चढेर काठमाडौं आए । तर विमानस्थलमा ओर्लिएलगत्तै  उनीहरु पक्राउ परे । 

फेरि सुन्दरीजल जेलमा राखिए । करिब एक वर्ष जेल बस्दा वीपीको स्वास्थ्य अवस्था खराब हुँदै गयो र, तत्कालिन राजा वीरेन्द्रले जेलमुक्त गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

विनोद ढकाल नेपाल शो डटकमका पत्रकार हुन् । 

थप एक्सप्लेनर भिडियो