इतिहासकै कमजोर अवस्थामा नेपाली पैसा, कारण भारू कि डलर
९ पटक भारतीय रुपैयाँसँगको विनिमय दर तलमाथि गरेपछि नेपालले २०४९ देखि १ सय भारु बराबर १६० नेपाली रुपैयाँ हुने गरी स्थिर विनिमय दर कायम गरेको छ ।
यसरी स्थिर विनिमयकै आधारमा अरु मुद्राको दर तोक्ने प्रणालीलाई कन्भेन्सनल पेगिङ भनिन्छ । भारुमा नेपाली रुपैयाँलाई अन्तरआवद्ध गरिएका कारण अमेरिकी डलर र अरु विदेशी मुद्राको नेपाली मूल्य भारुकै आधारमा तोक्ने गरिन्छ ।
त्यसैले भारतीय रुपैयाँ अमेरिकी डलरसँग कमजोर हुँदा त्यसको सोझो असर नेपाली रुपैयाँलाई पर्ने गरेको छ । त्यसैले अहिले नेपाली रुपैयाँ पनि अमेरिकी डलरसँग कमजोर भएको छ ।
डलरको मूल्य बढ्दा डलर चाहिने काममा हाम्रो धेरै नेपाली रुपैयाँ खर्च हुन जान्छ । मानौं एक वर्षअघि एक हजार डलर पर्ने कुनै सामान किन्दा १ लाख ३७ हजार रुपैयाँमा पाइन्थ्यो । अहिले त्यही सामान किन्न १ लाख ४५ हजार रुपैयाँ तिर्नुपर्छ ।
डलर महँगिँदै गयो भने नेपालले तिर्नुपर्ने वैदेशिक ऋणको साँवा र ब्याजवापतको पैसा पनि बढ्छ । विदेशमा घुम्न र पढ्न जाने नेपालीले गर्ने खर्चको दर पनि बढ्छ ।
रेमिट्यान्स पठाउने र पाउनेको साइडबाट हेर्दा त डलरको भाउ जति बढ्यो त्यति राम्रो । गत वर्ष नेपालमा रेमिट्यान्सका रुपमा १७ खर्ब २३ अर्ब रुपैयाँ आएको थियो । गत साउनदेखि कात्तिकसम्मको ३ महिनामै ७ खर्ब रेमिट्यान्स आएको छ ।
डलर बढ्दा निर्यातजन्य उद्योगले पनि लाभ पाउँछ । तर, नेपालले वर्षमा मुश्किलले ३ खर्ब रुपैयाँको सामान मात्र निर्यात गर्ने भएकाले डलरको मूल्य बढ्दा पनि हामीले निर्यातबाट धेरै लाभ उठाउन सकेका छैनौं ।
स्थिर विनिमय दर भएका कारण भारतीय अर्थतन्त्र अप्ठेरोमा पर्यो भने त्यसको बाछिटा नेपालमा आइपुग्छ । भारतमा महँगी बढ्दा नेपालमा पनि असर देखिन्छ ।
तर, बिर्सन नहुने कुरा भारतीय अर्थतन्त्रले प्रगति गर्दा पनि त नेपालले त्यसको अप्रत्यक्ष लाभ पाइरहेको छ । यो बेलामा नेपालले भारुसँगको विनियम दर फेरबदल गर्यो भने अनेकन जोखिम आउन सक्छन् ।
भारु र नेरुको पेगिङ भएकाले नै भारतीय व्यवस्थापकीय कौशलको फाइदा नेपालले पनि उठाइरहेको छ । यसबाट भारतलाई पनि ठूलो घाटा छैन ।
यदि अहिले भारतको अर्थतन्त्र खराब दिशामा अघि बढेको भए पक्कै पनि नेपालले यो पेगिङको खारेजीबारे सोच्न सक्थ्यो । तर, भारतको अर्थतन्त्र व्यवस्थित ढंगले नै फैलिरहेको छ । अहिलेको स्थिर विनिमय प्रणालीले नेपालमा पनि आर्थिक स्थिरता कायम राख्न योगदान दिएको छ ।
जोखिम छ भन्दैमा सधैंभरि यसरी नेपाली मुद्रा भारुमै निर्भर हुनुपर्छ भन्ने पनि हैन । सधैंभरि भारतको अर्थतन्त्रले राम्रै गर्छ भन्ने ग्यारेन्टी पनि छैन ।
त्यसैले भविष्यमा यो पेगिङका कारण आउनसक्ने जोखिमको पक्षलाई ध्यानमा राखेर आजैदेखि नेपालले अर्थतन्त्र सुधारको लागि काम गर्न सक्नुपर्छ ।
पश्चिम सेतीको सबै बिजुली हडप्ने भारतको प्रपञ्च
अन्ततः फुट्यो कांग्रेस, देउवा कि गगन अधिकारिक ?
नेपालका शहरमा झन् धेरै छन् गरिब
पेट्रोलमा १० प्रतिशत इथानोल, माइलेज के हुन्छ ?





-1767872172.jpg)
