नेभिगेशन
एक्सप्लेनर भिडियो

बाहिरी चक्रपथ : जनता झुक्याउने र दलाल पोस्ने कागजी आयोजना

काँठ क्षेत्रमा धेरै जग्गा बिक्रीका लागि विज्ञापन गर्दा ‘बाहिरी चक्रपथभित्र पर्ने’ भन्दै प्रचार गरिन्छ । तर अहिलेसम्म बाहिरी चक्रपथ नै छैन । यो बन्छ कि बन्दैन भन्ने पनि थाहा छैन । 

यसरी बाहिरी चक्रपथको नाम लिएर कति जग्गा बिक्री भए थाहा छैन । तर, धेरै मान्छेहरु बाहिरी चक्रपथ नाममा फसिसकेका छन् । अझै फसिरहेका छन् ।   

खासमा बाहिरी चक्रपथ आयोजना प्रलोभन मात्रै हो । हामीले यसो भन्दा कसैले भन्लान्, बाहिरी चक्रपथ सरकारले नै घोषणा गरिसकेको हो, कसरी प्रलोभन मात्रै हुन्छ ?

हो, यो सकारले घोषणा त गरेको छ । तर, के यो आयोजना साँच्चिकै बन्छ ? यो अहिलेकै तरिकाले बनाउन सम्भव छ ? हाम्रो जवाफ हो, छैन । 

बन्दैन भने सरकारले किन यो आयोजनाको फाइल क्लोज गरेको छैन त ? 

०००००

सरकारले २०५८ सालमा उपत्यकाको पूरै काँठ क्षेत्रलाई समेट्ने गरी ९२ किलोमिटरको बाहिरी चक्रपथ बनाउने योजनामा छलफल गर्‍यो । यो अवधारणालाई त्यतिबेला ‘ग्रेटर काठमाडौं’ भनिएको थियो । 

त्यो अवधारणा अनुसार काम गर्न भनेर उपत्यका विकास प्राधिकरणले २०६० सालदेखि गृहकार्य थाल्यो । बाहिरी चक्रपथको काम गर्ने छ्ुट्टै शाखा स्थापना गरेर काम गर्‍यो । 

२०६२ सालमा काठमाडौं, भक्तपुर र ललितपुरका काँठ क्षेत्र घेर्ने गरी चक्रपथ बनाउने घोषणा बजेट भाषणबाटै भयो । त्यसपछि उपत्यका विकास प्राधिकरणले २०६५ मा डीपीआर अर्थात् डिटेल प्रोजेक्ट रिपोर्ट तयार गर्‍यो । 

त्यसपछि चाहिँ हल्ला चर्कियो, अब आउटर रिंगरोड बनिहाल्छ । काँठ क्षेत्रबाट फराकिलो सडक बन्छ, यहाँको जग्गाको भाउ त अब कहाँ हो कहाँ पुग्छ ! 

सुरुमा त यो आयोजना ९० किलोमिटरको हुन्छ भन्ने हल्ला थियो । जग्गा धनी र भूमाफियाहरु आफैं मनगढन्ते तरिकाले चक्रपथको रुट यहीँबाट जान्छ भनिदिन्थे । सरकारले डीपीआर बनाउन सुरु गरेपछि राजनीतिक नेतृत्व पनि यो चलखेलमा मिसिएको थियो । सबै आ–आफ्ना ठाउँ र क्षेत्र हुँदै बाहिरी चक्रपथ बनाउन लबिङमा थिए ।  

डीपीआरमा यो चक्रपथ ७१ दशमलब ९१ किलोमिटरको हुने भनियो । ३५.०८ किलोमिटर काठमाडौंमा, १५.८ किलोमिटर ललितपुर र २१.०५ किलोमिटर भक्तपुरमा पर्ने भयो । चन्द्रागिरीको बलम्बुलाई ‘जिरो पोइन्ट’ मानेर उपत्यका घेर्ने गरी रिंगरोड बन्ने तय भयो । 

यो प्रस्तावित रुट चोभारबाट गम्चा, सतुंगल, नैकाप, पुरानो भञ्ज्याङ, सीतापाइला, गोंगबु, टोखा गाउँ, चपली, चुनिखेल, गोकर्णेश्वर हुँदै थली डाँछी थियो । त्यहाँबाट दुवाकोट, सिर्जनानगर, दधिकोट, लुभु, विष्णुडोल, हरिसिद्धी, धापाखेल बुङ्मती भएर चोभारमा जोड्ने प्रस्ताव थियो ।    

डीपीआरमा बाहिरी चक्रपथ आठ लेनको प्रस्ताव गरिएको थियो । सडकका दुबै भागमा साइकल ट्रयाक र फुटपाथ रहने भनियो । सडकको बीचमा ग्रिनरी बेल्ट समेत राखेर ५० मिटर फराकिलो आधुनिक रोड बनाउने प्रस्ताव भयो । यो बन्दा तीन जिल्लाका धेरै नयाँ र पुराना बस्ती समेटिने अवस्था थियो । यो आयोजना बनाउन ४२ अर्ब खर्च लाग्ने डीपीआरमा उल्लेख थियो । 

तर, यो डीपीआर बनेकै १७ वर्ष भयो, बाहिरी चक्रपथ त्यही दराजमा थन्किएको डीपीआरमा सीमित छ । हुन त धेरै पटक बजेट भाषणमा यो आयोजना बनाउने भनिएको छ ।  

२०६५ सालमा डीपीआर बन्दा त आयोजना बनाउन उपयुक्त मात्रै हैन, अति उपयुक्त थियो । अनिवार्य पनि थियो । किनभने त्यतिबेला प्रस्तावित यो रिंगरोड क्षेत्रमा ठूलो वस्ती थिएन । अहिलेको रिंगरोड भन्दा बाहिर र प्रस्तावित बाहिरी चक्रपथभन्दा भित्रका धेरै क्षेत्र खाली थिए ।

बाहिरी चक्रपथको चर्चाले घडेरीका रुपमा जग्गा बेच्ने क्रम तीव्र थियो । फाटफुट मात्रै घरहरु बन्दै थिए । त्यही बेला सरकारले काम सुरु गरेको भए चक्रपथ बनिसक्थ्यो । 

जग्गा अधिग्रहण गर्न पनि महँगो पर्ने थिएन । बाहिरी चक्रपथको लागि स्थानीयको सहमतिमा निःशुल्क जग्गा लिएर त्यसको आसपास टाउन प्लानिङ गर्ने अवधारणामा काम गरेको भए जग्गा अधिग्रहण पनि गर्नु पर्दैन थियो । 

घडेरीका रुपमा विकास भएका जग्गा महँगोमा बिक्ने भएकाले मान्छेहरुले जग्गा एकीकरण योजनाकै शैलीमा सित्तैमा बाहिरी चक्रपथलाई जग्गा दिनसक्थे । 

तर, सरकारले बाहिरी चक्रपथको हल्लामात्र चलायो । तर न डोजर चलायो, न त त्यसका लागि गर्नुपर्ने काममा लागि कलम चलायो ।

स्थानीयहरुसँग छलफल समेत चलाएन । त्यही कारण योजनाको खाका बन्यो, तर कागजमा मात्रै ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो