पहिले प्रचण्डलाई 'भित्ते राष्ट्रपति' बनाए, अहिले घोषणापत्रबाटै गायब
आज भन्दा १८ वर्ष अगाडि मुलुक संविधानसभा चुनावको तयारीमा थियो । भर्खर शान्ति प्रक्रियामा आएको माओवादी पुरानो संसदीय प्रणालीको चुनावमा भाग नलिने भन्थ्यो ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको वकालत गर्थ्यो । कतिसम्म भने गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति कमरेड प्रचण्ड भनेर पोस्टर टाँसेको थियो, वाल पेन्टिङ गरेको थियो ।
तर अन्तरिम संविधान २०६३ मा माओवादीले खोजेजस्तो प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली थिएन ।
संसदबाट निर्वाचित प्रधानमन्त्रीकै व्यवस्था थियो । जब पहिलो संविधानसभा निर्वाचन भयो, माओवादी पहिलो दल बन्यो । अनि गणतन्त्र नेपालको पहिलो राष्ट्रपति चाहिँ कांग्रेसको राजनीति गरेका डा. रामवरण यादव बने ।
त्यसैले प्रचण्डलाई भित्ते राष्ट्रपति भनेर विपक्षीहरुले उडाए ।
भदौ २३ को जेनजी बिद्रोहपछि पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिने माग उठेको थियो ।
नेपालको संविधानमा संसदले प्रधानमन्त्री छान्ने व्यवस्था छ । यही कारण राजनीतिक स्थिरता नभएको भन्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको खुलेर वकालत गरे । प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी पनि यसको पक्षमा उभियो ।
तर संसद बिघटन भएर चुनाव घोषणा भइसकेकाले यो मुद्दा त्यसै सेलायो । अनि, अघिल्लो चुनावसम्म प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको वकालत गर्दै आएको माओवादी यसपटक आफ्नो एजेण्डाबाट पछि हटेको छ ।
प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका कम्युनिस्ट घटकसँग एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ । यसको संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल छन् ।
यो पार्टीले माघ २८ गते आफ्नो घोषणापत्र सार्वजनिक गर्यो । प्रतिवद्धतापत्र नाम दिएको नेपाली कम्युनिस्ट पार्टीको घोषणापत्रमा शासकीय स्वरुपबारे लेखिएको छ, ‘संविधान संशोधन गरेर शासकीय स्वरुपमा आमूल परिवर्तन गर्न, नियन्त्रण र शक्ति सन्तुलन हुने गरी शासकीय स्वरुप परिमार्जन गर्ने ।’
शासकीय स्वरुप परिमार्जन त गर्ने, तर कस्तो बनाउने ? त्यसबारेमा नेपाली कम्युनिस्ट पार्टी केही बोलेको छैन ।
शासकीय स्वरुप किन परिमार्जन गर्नुपर्ने भन्नेबारे लामो ब्याख्या छ ।
बहुदलीय व्यवस्था पुनस्र्थापनापछिका ३५ वर्षमा देशले सामाजिक आर्थिक रुपान्तरणमा ठूलो फड्को मार्न नसकेको उसको निश्कर्ष छ । त्यसको मुख्य कारण राजनीतिक तथा नीतिगत अस्थिरता हो भनेको छ ।
अहिलेको निर्वाचन प्रणालीबाट एउटै पार्टीले बहुमत ल्याएर पाँच वर्षसम्म सरकार चलाउने सम्भावना न्यून रहेको पनि उसको ठहर छ । त्यसैले राजनीतिक स्थिरताका लागि संविधान संशोधन गर्ने भनेको छ ।
निर्वाचन प्रणाली अत्यन्तै खर्चिलो र भड्किलो भएको पनि भनेको छ । यसले भ्रष्टाचारलाई बढाएको र कमजोर आर्थिक अवस्था भएका नागरिकले चुनाव लड्नै नसक्ने भएको पनि निष्कर्ष निकालेको छ ।
त्यसैले निर्वाचन प्रणाली परिवर्तन गरेर सरल र कम खर्चिलो बनाउने नेपाली कम्युनिस्ट पार्टीले बताएको छ ।
तर कस्तो निर्वाचन प्रणाली सरल र कम खर्चिलो हुन्छ भन्ने किटान गरेको छैन ।
कतिसम्म भने सांसदहरुले कानुन निर्माणको काम मात्र गर्ने, मन्त्रीहरुको संख्या २५ बाट पनि घटाएर सानो आकारको बनाउने भनेको छ ।
तर सरकारको नेतृत्व संसदबाट छान्ने कि प्रत्यक्ष निर्वाचनबाट छान्ने अथवा शासकीय प्रणाली कुन अपनाउने भन्ने प्रष्टसँग बोल्न सकेको छैन ।
०००००
जबकी प्रचण्ड नेतृत्वको पार्टीले जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको वकालत गर्दै आएको थियो ।
२०७२ सालको संविधानमामा समेत तत्कालिन एकीकृत नेकपा माओवादीले १२ बुँदे फरक मत राखेको थियो । जसको पहिलो बुँदामा नै लेखिएको थियो, जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति कार्यकारी प्रमुख रहने शासकीय स्वरुप राख्ने ।
२०७९ सालको चुनावसम्म माओवादी प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा थियो ।
एकपटक २०७९ सालको चुनावको माओवादीको घोषणापत्र हेरौं । घोषणापत्रमा माओवादीले लेखेको थियो, ‘स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति ।’
माओवादीको दाबी थियो, ‘संसदीय शासकीय स्वरुप राजनीतिक स्थिरता र सरकारको स्थायित्व दिन असक्षम सावित भयो ।’
त्यसैले सिंगो देशलाई एउटै निर्वाचन क्षेत्र मानेर मतदाताले राष्ट्रपतिका उम्मेदवारलाई मतदान गर्ने व्यवस्था गर्ने माओवादीको एजेण्डा थियो ।
निर्वाचनमा ५१ प्रतिशत मत ल्याउने उम्मेदवार राष्ट्रपति निर्वाचित हुने माओवादीको प्रस्ताव थियो ।
प्रदेशमा पनि सिंगो प्रदेशलाई एउटै निर्वाचन क्षेत्र मानेर मतदाताले प्रदेश प्रमुखका उम्मेदवारलाई मतदान गर्ने भनेको थियो । ५१ प्रतिशत ल्याउने उम्मेदवार प्रदेश प्रमुख भएर ५ वर्ष प्रदेशमा शासन चलाउने माओवादीको नीति थियो ।
अनि मन्त्रिपरिषद राष्ट्रपतिले नै गठन गर्ने । सांसदहरु मन्त्री बन्न नपाउने, कानुन निर्माणमा मात्र केन्द्रित हुने भनिएको थियो ।
अहिले १६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट छनोट हुन्छन् ।
माओवादीले प्रत्यक्ष निर्वाचित प्रणाली हटाएर समानुपातिक प्रणालीबाट सांसद छान्ने व्यवस्था मात्र राख्ने भनेको थियो ।
२०७९ को घोषणापत्रमा माओवादीले लेखेको थियो, ‘हाल नेपालले अवलम्बन गरिरहेको समानान्तर मिश्रित निर्वाचन प्रणाली अत्यन्तै खर्चिलो र भ्रष्टाचारको कारण हुन गई जनतामा राजनीति, राजनीतिक दल र नेतृत्वप्रति चरम वितृष्णा सिर्जना भएको अवस्था छ । यो अवस्थाको अन्त्य गर्न विद्यमान निर्वाचन प्रणालीमा संशोधन गरी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पूर्ण समानुपातिक समावेशी निर्वाचन प्रणाली अवलम्बन गरिनेछ ।’
प्रतिनिधिसभाको चुनाव जातीय जनसंख्या क्लस्टरको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली मार्फत गर्ने घोषणा गरेको थियो ।
खस आर्य, आदिवासी जनजाति, दलित, मधेशी–तराई समुदाय, थारु र मुस्लिम क्लस्टरका आधारमा चुनाव गर्ने भनेको थियो । ३५ प्रतिशत महिला प्रतिनिधित्व हुने योजना सार्वजनिक गरेको थियो ।
यहाँसम्म आइपुग्दा माओवादीमा अनौठो विरोधाभास पनि देखियो । प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको वकालत गरिरहने, संसदीय प्रणालीबाट सबैभन्दा धेरै सत्ताको लाभ पनि लिने ।
२०६४ यताका १८ वर्षको अवधिमा करिव करिब ५ वर्ष माओवादी सरकार बाहिर बसेको छ ।
२०६५ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकार, २०७० सालमा सुशील कोइराला नेतृत्वको सरकार र २०८१ मा केपी ओली नेतृत्वको सरकारमा मात्र माओवादी रहेन । नभए कहिले आफ्नै नेतृत्वमा, कहिले एमाले नेतृत्वमा त कहिले कांग्रेस नेतृत्वमा सरकारमा गयो ।
माओवादी अध्यक्ष प्रचण्ड आफैं तीन पटक प्रधानमन्त्री भए ।
त्यसो भए के प्रचण्ड नेतृत्वको दलले यही कारण प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली छाडेको हो त ? नेताहरुका अनुसार पार्टीमा आन्तरिक सहमति भइनसकेका कारण घोषणापत्रमा लेख्न नसकिएको हो ।
नेपाली कम्युनिस्ट पार्टीमा अहिले पूर्वमाओवादी मात्र छैन । एमालेबाट विभाजित भएर आएको एकीकृत समाजवादी पनि छ ।
२०७८ सालमा गठन भएको एकीकृत समाजवादी शासकीय स्वरुप कस्तो हुने भन्नेबारेमा प्रष्ट थिएन । २०७९ सालको उसको चुनावी घोषणापत्रमा शासकीय स्वरुप कस्तो हुने भन्ने उल्लेख नै छैन ।
उसले निर्वाचन खर्चिलो भएको र यसबाट कसैको पनि बहुमत नआउने भएकाले सुधार गर्नुपर्ने मात्र भनेको थियो ।
एकीकृत समाजवादीले ०७९ को घोषणापत्रमा भनेको थियो, ‘कुनै पनि पार्टीको एकल बहुमत नआएपछि गठबन्धन सरकार बन्ने र त्यो अस्थिर भई विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको छ । हामी यस निर्वाचन प्रणालीलाई सुधार गरेर सरल र कम खर्चिलो बनाउन चाहन्छौं ।’
तर माधव नेपाल स्वंय चाहिँ अहिले पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको विपक्षमा छन् । नेकपाका नेताहरुका अनुसार माधव नेपालको असहमतिका कारण घोषणापत्रमा प्रत्यक्ष निर्वाचित प्रणाली उल्लेख नगरिएको हो ।
नेपाली कम्युनिस्ट पार्टीले एकतामा आएका सबै पार्टी र समूहका प्रतिनिधिलाई समेटेर घोषणापत्र मस्यौदा समिति बनाएको थियो । मस्यौदा समितिको नेतृत्व पूर्वमाओवादी नेता नारायणकाजी श्रेष्ठले गरेका थिए । जसमा पूर्व एकीकृत समाजवादीका नेता प्रमेश हमाल, जसपाबाट आएका राजेन्द्रप्रसाद श्रेष्ठलगायत यो समितिमा थिए ।
एक सदस्यका अनुसार मस्यौदा समितिलाई सुरुमै प्रत्यक्ष निर्वाचित कार्यकारीको विषय घोषणापत्रमा समावेश नगर्न भनिएको थियो ।
नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङ अहिले घोषणापत्रमा संविधान संशोधनको विषय मात्र लेखेको बताउँछन् ।
संविधान संशोधनको विषयमा छलफल सुरु भएपछि मात्र आफ्नो पार्टीको एजेण्डा अघि सार्ने उनी बताउँछन् । नेता गुरुङको भनाइ छ, ‘अहिले संविधान ओपन गर्ने कुरा ठूलो हो, कन्टेन्ट के राख्ने भन्ने कुरा संशोधन प्रक्रिया चल्यो भने भन्ने हो ।’
अर्बौं राजस्व डुबाउने स्मार्ट टेलिकमको सम्पत्ति बिक्री प्रकरण
सहकारीमा फसेको ३९ अर्ब फिर्ता हुँदै, यस्तो छ सरकारी याेजना
१६०० मान्छेको कुर्सी खाेसेर बालेनले मोलेको जोखिम
कलंकी–बसुन्धरा रोडको मुहार फेर्दै चीन, सुध्रिएला बालेनसँग सम्बन्ध ?
लिपुलेकमा भारतको अर्को बलमिच्याइँ, बालेनले के गर्लान् ?




