नेभिगेशन
एक्सप्लेनर भिडियो

आशिका 'दिदी'ले बदलेको मैदान, फेरिएला त शैली ?

पछिल्ला २ वर्षको समय आशिकाको दैनिक बनेको थियो, झोला भिर्‍यो । अनि महंगोमा पानी बेच्ने पसलेदेखि सडकमा फोहोर फाल्ने मान्छे, सरकारी सवारीको दुरुपयोग गर्ने कर्मचारी जो भेट्यो, त्यसलाई उनले खबरदारी गर्ने । 
अब उनको भूमिका फेरिएको छ । उनलाई सडकमा होइन, संसदमै देख्न र सुन्न पाइनेछ । प्रश्न उठ्छ, सांसद भएपछि उनले के गर्छिन् ? अब उनले हिजोको जस्तै काम गर्छिन् कि गर्दिनन् ?

००००

धादिङ मलेखुको एक विपन्न परिवारमा जन्मिएकी हुन् आशिका तामाङ । उनी जन्मेको केही समयमै बुबा र आमा अलग भए । आशिका बुवासँगै बसिन् । उनका बुवा गाउँकै एक बाहुन परिवारको हली थिए । 

बुबाले कान्छी आमा ल्याएपछि आशिकामाथि हेलाँहोचो सुरु भयो । घरको आर्थिक अवस्था पनि राम्रो थिएन । त्यही कारण उनी ८ वर्षमै अर्काको घरमा बसेर पढ्दै काम गर्न थालिन् । उनको पढाइ खर्च एउटा जर्मन संस्थाले ब्यहोरेको थियो ।

मित बुवाको घरमा बसेर एसएलसी पास गरेपछि काठमाडौंमा नर्सिङ पढ्न थालिन् । जर्मन भाषा सिकेर जर्मनी गइन् । उनको जर्मनीमै त्यहीँका नागरिक थोमससँग प्रेम विवाह भयो । 

उनलाई हिरोइन बन्ने मन थियो । त्यसैले उनले २०७२ सालमा नेपाल आएर ‘सुश्री’ फिल्म निर्माण गरिन् । त्यतिबेलाका स्टार आर्यन सिग्देलसँग स्क्रिन सेयर गरिन् । तर, फिल्म फ्लप भएपछि जर्मनी नै फर्किइन् । 

२०७४ सालतिर आशिकाले दशैंका बेला काटमार नगर्न आग्रह गर्दै फेसबुकमा एउटा भिडियो पोस्ट गरिन्, जुन भाइरल भयो । त्यो भिडियोपछि उनलाई धेरैले ‘खसिनी दिदी’ भनेर बुलिङ गरे । 

यसपछि भने आशिका सामाजिक सञ्जालमा निरन्तर देखिइन्, विपन्न र समस्यामा परेका बालबालिकालाई सहयोग जुटाउँदै पठाउन थालिन् । अनि ग्रिन एन्ड क्लिन फाउन्डेसन खोलेर सरसफाइ अभियानमा लागिन् । नेपाल आएका बेलामा उनी फोहोर ठाउँहरु सफा गर्न पनि पुग्थिन् । आफैंले डस्टबिनहरु किनेर सडक किनारमा पनि राख्थिन् । 

आफूले गरेका कामका भिडियो बनाएर सामाजिक सञ्जालमा राख्नु उनको दिनचर्या नै बन्यो । उनका गतिविधि प्रायः एउटै शैलीका हुन्थे, फोहोर सफा गर्ने, सडकमा फोहोर फाल्नेलाई गाली गर्ने र सम्बद्ध निकायलाई खबरदारी गर्ने । 

उनको यही शैलीलाई धेरै मान्छेले रुचाइदिए ।  यही क्रममा भदौ २०८१ तिर भक्तपुर–काभ्रे सीमाको साँगास्थित झोलुंगे पुल तर्न शुल्क लिएको भन्दै उनले सूर्यविनायक नगरपालिकाले राखेको बोर्ड च्यातिन् । र, टिकट नै जलाइदिइन् । 

जबकी त्यो पुल पर्यटकीय प्रयोजनमै बनेको थियो । नगरपालिकाले प्रतिवाद गरेपछि विवाद उत्पन्न भयो, यसपछि आशिका फेरि भाइरल भइन् । यो मुद्दामा उनीमाथि ५ दिनको जेल र ५०० रुपैयाँ जरिवाना भयो । 

विवादमा परेपनि आशिका रोकिँदै रोकिइनन्, उनी कहिले होटलमा गुणस्तरहीन खानाको मूल्य महँगो भएको भन्दै थर्काउन पुग्थिन्, कहिले एमआरपीभन्दा बढी मूल्य लिएकाहरुमाथि जाइ लागिहाल्थिन् । राजमार्गमा त आशिकाको क्यामेराको छड्केले व्यवसायी त्रसित भइसकेका थिए । आशिका यस्तै काम गर्न भनेर देशका विभिन्न मागमा पुग्न थालिसकेकी थिइन् ।     

आशिका सरकारी कार्यालयमा गएर कर्मचारीसँग पैठोजोरी पनि खेल्थिन् । शनिबार सार्वजनिक विदाको दिन सडकमा सरकारी सवारी चलाउनेसँग कागज माग्थिन् । कहिले एयरपोर्टको पार्किङमा शुल्क बढी लिएको भनेर झगडा गर्थिन् । 

यस्ता भिडियोहरु खिचेर आफैंले फेसबुक र टिकटकमा तुरुन्तै पोष्ट गर्थिन्, भिडियो खिच्न उनले हिडन क्यामेरा जोडिएको चश्मा प्रयोग गर्थिन् ।   

यही कारण उनी ‘दयालु अभियन्ता’ बाट निडर अभियन्ता बनिन् । पछाडि झोला भिरेर भिडियो खिच्दै हिँड्ने आशिका देशभर चर्चामा थिइन् ।   

उनको शैली आराजक भयो भनेर आलोचना गर्ने पनि उत्तिकै थिए । तर, आशिकाले यस्ता भिडियोहरु बनाउन छाडिनन् । 

०००

यही कारण उनी चर्चामा मात्रै हैन, विवादमा पनि परिरहिन् । २०८१ को दशैंतिर हवाई टिकट महँगो भएको भन्दै श्री एयरलाइन्स कार्यालयमै पुगेर कर्मचारीसँग चर्को विवाद गरिन् । तर उनले भनेजस्तो कम्पनीले १७ हजारको टिकट बेचेको पुष्टि भएन । 

२०८१ पुसमा महिला कर्मचारीलाई कामबाट निकालेको भन्दै पशुपति क्षेत्र विकास कोष पुगेर उनी त्यहाँका कर्मचारीमाथि खनिइन् । त्यसपछि उनलाई प्रहरीले अभद्र व्यवहारको कसुरमा पक्राउ गर्‍यो । 

अभियन्ताको छबि बनाइसकेकी आशिका एकाएक हिरासत पुगिन् । प्रहरीले अदालत ल्याउँदा उनको हातमा हतकडी लगाएको थियो । यो फोटो भाइरल भएपछि उनीमाथि केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिशोध साँधेको आरोप लगाउने धेरै थिए । धेरैको प्रश्न थियो, बेथिति विरुद्ध बोल्ने मान्छेलाई हतकडी लाउनै पर्छ ? 

अदालतले सफाइ दिएपछि आशिका केही समय शान्त बसिन् । उनको विरोधको शैली र स्वर मत्थर भइसकेको थियो । अब उनी पसलमा छड्के गर्न होइन, दुर्गम भेगका विद्यार्थीलाई झोला, कपडा र जुत्ता बाँड्न सक्रिय भइन् । 

गत भदौ २३ मा भएको जेनजी–आन्दोलनमा आशिका पानी बाँड्न भनेर पुगेकी थिइन् । सरकारले संसद भवनको अघि कलिला विद्यार्थीमाथि गोली बर्सायो । अस्पतालमा घाइतेहरु छटपटाइरहेका थिए । धेरै घाइते विद्यार्थीको त यहाँ आफन्त समेत थिएनन् । घाइतेहरुले रगतले लतपतिएका कपडा फेर्न समेत पाइरहेका थिएनन् । त्यही बेलामा आशिका कपडा, फलफूल र जुस लिएर अस्पताल–अस्पताल पुगिन् । बेखर्चीहरुलाई खर्च दिइन् ।    

अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई चामल, वैशाखी र पैसा सहयोग लिएर कोठा–कोठामा पुगिन् । उनी घाइतेहरुलाई ‘भाइ’, ‘बहिनी’ भन्दै सहयोग गर्न कोठामा पुगेका भिडियो सामाजिक सञ्जालहरुमा भाइरल भए । 

त्यसपछि आशिकालाई ‘राष्ट्रिय दिदी’ भन्नेहरु बढ्न थाले । उनी जेनजी आन्दोलनका घाइतेका लागि सहयोग जुटाउँथिन्, अनि घर–घर पुगेर परिवारलाई सहयोग गर्थिन् । यो खालको सक्रियता र सहयोग भावले उनले थप प्रशंसक बटुलिन् ।  

आशिकाका विगतमा कतिपय पोष्टहरु हेर्ने हो भने सनसनीपूर्ण सामग्रीमा उनको मोह बढी देखिन्थ्यो । उनी आक्रोशयुक्त भाषा बोल्थिन् । यस्ता सामग्री छिटो भाइरल पनि हुन्थे । उनी चिच्याएको भिडियोले मिलियन्स भ्युज पाउँथ्यो । 

उनले सहयोग गरेको भिडियोहरु त हालिरहिन्, देश–विदेशबाट आएको आर्थिक सहयोगको पारदर्शितामा भने प्रश्न उठ्यो । तर, आशिकामाथि आँखा चिम्लेर विश्वास गर्ने सहयोगीको संख्या पनि ठूलो थियो र अझै छ पनि । 

आशिकाले सडकबाट सधैं नागरिकको निराशाको भाषा बोल्थिन् । नागरिकको कर्तव्य पनि बुझाउन खोज्थिन् । जब राज्यले सुधारको काम गर्दैन, न्याय ग्यारेन्टी गर्दैन, नागरिकले आफ्नो कर्तव्य भुल्छ, त्यतिबेला कडा बोल्नेहरु नै लोकप्रिय हुन्छन् । आशिका त्यस्तै विकृति र विसंगतिविरुद्ध बोलेर पनि धेरैको प्रिय भएकी हुन् । 

तर, प्रश्न मात्रै उनको शैली र भिडियो खिचेर हाल्ने प्रवृत्तिमा थियो । उनका भिडियोका कारण कतिपयले गाली बेइज्जती सहनु परेको पनि थियो । गोपनीयता भंग भएको मान्नेहरु पनि धेरै थिए । त्यसैले आशिकाले कानुन हातमा लिएको ठान्नेहरु अझै पनि समाजमा छन् । तर, उनको यस्तो कामको आलोचकभन्दा बढी प्रशंसक नै धेरै थिए । 

त्यसैले उनी अभियन्ता मात्रै हैन, देशकै ‘साझा दिदी’ भइसकेकी थिइन् । यही लोकप्रियताले आशिका तामाङलाई राजनीतितिर आकर्षित गरिसकेको थियो । उनले फागुन २१ को चुनावमा आफू काठमाडौं–९ वा २ नम्बर क्षेत्रबाट स्वतन्त्र उम्मेदवार हुने घोषणा गरेकी थिइन् । 

रास्वपाको समानुपातिक उम्मेदवारको सूची सार्वजनिक भएपछि उनले माइतीघर मण्डलमा जेन–जी आन्दोलनको आइकोनिक जुत्ताका हकदार घाइते प्रकाश बोहरासँगै उभिएर भनेकी थिइन्, ‘उसको जुत्ता सडकमा । त्यो जुत्ता बनाउने गोल्डस्टार मालिक्नी चाहिँ सदनमा । ल हेर्नुस् देशको हबिगत । जुत्ताको राजनीति ।’ 

तर, उनी अन्तिममा त्यही रास्वपाबाट नै चुनाव लड्न पुगिन् । काठमाडौंमा उठ्न खोजेकी आशिकाको लोकप्रिय छविबारे रास्वपा जानकार नरहने कुरै भएन । त्यही कारण रास्वपाले आशिकालाई गृह जिल्ला धादिङ–१ बाट चुनाव लड्न पठायो । 

आशिका तुरुन्तै तयार भएर गइन् । सुरुमै उनीसँग जर्मनीको पीआर छ भन्ने हल्ला भयो । दर्ता भइसकेको उम्मेदवारी खारेज भएको हल्ला समेत चल्यो । तर, सबै हल्लाहरु चिर्दै आशिका भोट माग्न घर–घर पुगिन् । 

भोट माग्न जाँदा पनि उनले आफ्नो पुरानो शैली छोडिनन् । सिम्बोलिक रुपमा कुखुरासँग भोट मागेको भिडियोले विवादमा ल्याइदियो । झन् चुनावी सभामा लिखित मन्तब्य दिँदा ‘म भ्रष्टाचार गर्न आएकी हुँ’ भनेपछि उनको क्षमतामाथि नै प्रश्नहरु उठे । 

चुनावको अघिल्लो दिन पनि उनको उम्मेदवारी खारेज भएको अफवाह फैलिए । तर, आशिकाले ३९ हजार १२८ हजार भोट ल्याएर चुनाव जितिन् । उनका प्रतिद्वन्द्वी नेकपा एमाले भूमि त्रिपाठीले १५ हजार ३१ भोट मात्रै ल्याए ।

खासमा आशिकाको यो जित सामाजिक सञ्जालको शक्तिको परिणाम हो । उनले सामाजिक काममा देखाएको सक्रियता अर्को कारण हो । अनि रास्वपाप्रति जनताले देखाएको विश्वास पनि । 

सांसद बनेसँगै आशिका सामाजिक सञ्जालकी अभियन्ता मात्रै रहिनन्, जनताबाट निर्वाचित सांसद बनिन् । अब त उनको जिम्मेवारी सिष्टम भएन भनेर झगडा गर्ने होइन, सिष्टम बनाउने हो ।

अब उनले जनताको समस्याबारे संसदमा प्रश्न उठाउने अधिकार राख्छिन् । आफ्नै पार्टीको शक्तिशाली सरकार बन्ने भएकाले सुधारका पहलहरु गर्न सक्छिन् । 

केही समयपछि आशिकाले प्रश्न हैन, जनतालाई उत्तर दिनुपर्ने छ, शहर र राजमार्गमा पर्याप्त सार्वजनिक शौचालय किन छैनन् ? सडक र खोला फोहोर किन छ ? महँगो होटललाई कसले नियमन गर्छ ? सरकार किन विपन्नको सहारा बन्न सकेन ? आशिकाले अब यो प्रश्नको उत्तर सरकारसँग नै माग्न पाउँछिन् । प्रश्न गरेबापत अब उनी थुनिनुपर्ने छैन । 

उनी अहिलेसम्म बेथितिविरुद्ध सडकमा चिच्याइरहिन्, अब यही नबसेको थिति बसाल्न संसदमा बोल्न सक्छिन् । नयाँ कानुन प्रस्ताव गर्न र बनाउन सक्छिन्, मन्त्रालय, विभाग, नियामक निकाय सबैलाई जवाफदेही बनाउने भूमिका निभाउन सक्छिन् । 

तर, सांसद भएपछि उनी केही सीमाभित्र बाँधिएकी छिन् । अब उनले मर्यादाका हिसाबले अभियन्ताले जसरी काम गर्न मिल्दैन, बेलगाम बोल्न पनि मिल्दैन, तथ्य नजाँची आरोप लगाउन पनि पाइँदैन । कसैको अनुमति बिना भिडियो खिच्ने र सार्वजनिक गर्ने काम अब उनीबाट अपेक्षा गर्न सकिँदैन । 

अब उनी संसदमा जति वजनदार ढंगले प्रस्तुत हुन्छिन्, त्यसले नै भोटरमाथि न्याय हुनेछ । क्षणिक चर्चा भन्दा पनि दूरगामी परिवर्तनका मुद्दाहरुमा उनको ध्यान पुग्नुपर्छ । 

एउटा अभियन्ता एकैपटक सांसद बन्दा कानुनका केस्रा–केस्रा केलाउन कठिन नै हुन्छ, तर, जनताको समस्यालाई सुन्ने, बुझ्ने र समाधान गर्ने चाहना भयो भने सबै कुरा सजिलो हुँदै जान्छ । 

अब हेर्न बाँकी छ, आशिका तामाङ अभियन्ता नै रहन्छिन्, कि गज्जबको नीति बनाउने नेता बन्छिन् ?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो