नेभिगेशन
एक्सप्लेनर भिडियो

राजेन्द्र-धवल सम्बन्ध : मित्रताबाट तिक्ततातिर

मध्य जेठ आन्दोलनको होइन, खेतीपातीको मौसम हो । त्यसमाथि राजतन्त्र पुनर्स्थापना आफैंमा सम्भव माग होइन । त्यसैले आन्दोलन असफल हुनुमा यस्ता धेरै कारण छन् ।

यसमा आन्दोलनकारीमध्ये देशभर संगठन भएको शक्ति राप्रपाको घर झगडा पनि एउटा रहेको नेताहरु स्वीकार गर्छन् । 

के हो राप्रपाको झगडा ? कमल थापालाई हराउन एक भएका राजेन्द्र लिङ्देन र धवलशम्शेर राणाको शक्ति संघर्ष कहाँ पुगेर टुंगिन्छ ? 

राजेन्द्र–धवलको सम्बन्ध बिग्रेको प्रचण्ड सरकारमा राप्रपा सहभागी भएदेखि हो । राप्रपा महामन्त्री धवलशमशेर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्न चाहन्थे । । उनले अध्यक्ष लिङ्देनलाई प्रस्ताव गरे, ‘तिमी ऊर्जा लेऊ, मलाई पर्यटन देऊ ।’

राजेन्द्र आफू त ऊर्जामन्त्री बनेर सरकारमा गए, तर महाहन्त्री धवललाई मन्त्री बनाएनन् । विक्रम पाण्डे र ध्रुवबहादुर प्रधानलाई मन्त्री र दीपक सिंहलाई राज्यमन्त्री बनाए । 

राप्रपाका नेताहरुका अनुसार आफैं पार्टीको फर्स्ट म्यान बन्ने आकांक्षी बोकेका महामन्त्री धवलशम्शेर, लामो समयसम्म लिङ्देनको साथमा बसिराख्न सम्भव थिएन । तर सरकारमा जान नपाएका कारण उनी चाँडै टाढिए ।

त्यसपछि उनले अध्यक्ष लिङ्देनसँग असन्तुष्ट नेताहरुसँग सम्बन्ध बनाउँदै गए । महाधिवेशनमा कमल थापाको प्यानलबाट उपाध्यक्ष जितेका बिक्रम पाण्डे र महामन्त्री जितेकी कुन्तिकुमारी शाही यसै लिङ्देनको साथमा थिएनन् । 

निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी पनि समानुपातिक पद्धतिबाट सांसद हुन नपाउँदा अध्यक्ष लिङ्देनसँग रिसाएका थिए । 

स्रोतका अनुसार पार्टी महाधिवेशनमा नै लिङ्देनले समानुपातिकको पहिलो नम्बरमा राख्ने प्रतिद्धवद्धता जनाएर लोहनीको समर्थन लिएका थिए । तर लिङ्देन वचनमा टिक्न सकेनन् । 

भयो के भने पशुपतिशम्शेर जबराले चुनावको समयमा पार्टी कोषमा झण्डै ४ करोड सहयोग गरे । र, समानुपातिक सूचीमा बस्न चाहे । त्यसपछि लिङ्देनले कसको नाम पहिलो नम्बरमा राख्ने भनेर कार्यसम्पादन समितिमा

मतदान गराए र, जबरा धेरै मत पाएर पहिलो नम्बरमा रहे । त्यहीबेलादेखि नै डा. लोहनी पनि अध्यक्ष लिङ्देनसँग खुसी थिएनन् । 

वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पनि पार्टी सरकारमा गएकोमा अध्यक्ष लिङ्देनसँग असन्तुष्ट थिए । 

महामन्त्री धवलले असन्तुष्टहरुलाई एकठाउँमा ल्याए र, लिङ्देनलाई चुनौती दिन थाले । 

यसको सुरुवात २०८० पुसमा भयो । राप्रपा अध्यक्ष लिङ्देनले कोशी प्रदेशको सभामुखमा अम्बरबहादुर विष्टलाई उम्मेदवार बनाए । तर डा. लोहनी नेतृत्वको निर्देशक समितिले उम्मेदवारी फिर्ता लिन भनेर लिखित निर्देशन नै दिए ।

लोहनीको निर्देशनले विष्टलाई सभामुख बन्न त रोकेन, राप्रपाको घर झगडालाई भने थप मलजल गर्‍यो । परिणाम, पार्टीको सबै जसो संरचनामा बहुमत भएकाले लिङ्देनले पनि असन्तुष्ट पक्षलाई पेल्न थाले ।

त्यसको पहिलो शिकार धवलशम्शेर नै भए । राप्रपाले आन्दोलनका लागि भनेर महामन्त्री धवलशम्शेरको नेतृत्वमा आन्दोलन परिचालन समिति बनाएको थियो । तर लिङ्देनले आफ्नै नेतृत्वमा आन्दोलन मुल समिति गठन गर्ने निर्णय गराए । 

२०८१ असोजमा पुग्दा त अध्यक्ष लिङ्देनले पार्टीको शक्तिशाली विभाग, संगठन विभाग प्रमुखबाट पनि धवललाई हटाइदिए । त्यो पनि यस्तो बेलामा, जतिबेला उनी उपचारका लागि भारत गएका थिए । लिङ्देनले धवललाई हटाएर उपाध्यक्ष बुद्धिमान तामाङलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिए । 

२०८१ माघमा बसेको केन्द्रीय समिति बैठकमा धवलशमशेरले पनि लिङ्देनको नेतृत्वविरुद्ध लिखित रुपमै धावा बोले । लिङ्देनमा सत्ता मोह देखिएका कारण सदन र सडकमा राप्रपा कमजोर भएको बताए । 
उनको  राजनीतिक प्रतिवेदनको निश्कर्ष थियो– प्रचण्ड सरकारमा गएका कारण पार्टी ओरालो लाग्यो ।

राप्रपामा घर झगडा भुसको आगो झै भइरहेका बेला प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्य आयो । उनले आफूलाई साथ दिन आह्वान गरे । 

अनि, २०८१ फागुनमा पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं आउँदा  स्वागतमा एयरपोर्ट बाहिर ठूलो समूह भेला भयो । राजावादी शक्तिहरु आन्दोलन गर्न हौसिए । धवल पक्षले लिङ्देनमाथि हावी हुने अवसरको रुपमा यसलाई उपयोग गरे । उनीहरुले लिङ्देन बाहेकको नेतृत्वमा आन्दोलन गर्ने रणनीति बनाए ।

पशुपतिशमशेर जबराको घरमा भेला गरेका उनीहरुले पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई आन्दोलनको नेतृत्व लिन प्रस्ताव गरे । लोकेन्द्रले उमेर र स्वास्थ्यका कारण आफूले नसक्ने भनेर अस्वीकार गरे । त्यसपछि यो समूह पशुपतिशमशेर जबरासम्म पुग्यो । जबराले पनि अस्वीकार गरे ।

तेस्रो विकल्पका रुपमा नवराज सुवेदीसमक्ष पुगे । राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष ८६ वर्षका सुवेदी राप्रपाको कार्यसम्पादन समिति सदस्य समेत हुन् । उनी आन्दोलनको नेतृत्व गर्न तयार भए । २०८१ चैत २ गते कार्यसम्पादन समितिको बैठकमा नवराज सुवेदीले पूर्वराजाले नै आफूलाई आन्दोलनको नेतृत्व गर्न भनेको सुनाए । 

उनले भनेका थिए, ‘सबैलाई समेट्न सक्ने तिमी नै भयौ, तिमीले नै अघि बढ्नू भनेर हुकुम भयो ।’ खासमा राप्रपाकै पदाधिकारीहरुको साथ पाएका सुवेदीलाई पूर्वराजाका प्रमुख सचिव पशुपतिभक्त महर्जनले संयोजकको भूमिका लिन भनेका रहेछन् । तर लिङ्देनलाई दबावमा राख्न उनले पूर्वराजातिर देखाए । 

त्यसको दुई दिनपछि चैत ४ गते सुवेदीको नेतृत्वमा ११ सदस्यीय जनआन्दोलन समिति घोषणा भयो । रवीन्द्र मिश्र सदस्य सचिव बसे भने धवलशमशेर राणा जनपरिचालन समिति संयोजक बने ।

११ सदस्यीय समितिमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नाम भने १० औं नम्बरमा राखिएको थियो । लिङ्देनले तुरुन्तै यो समितिमा नबस्ने सार्वजनिक घोषणा गरिदिए । अनि, चैत ५ गते कार्यसम्पादन समितिको बैठक राखेर राप्रपाले आफ्नै नेतृत्वमा आन्दोलन गर्ने निर्णय समेत गराए । ।  

पार्टीले निर्णय गरेपनि प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र, बिक्रम पाण्डे, धवलशमशेरहरु नवराज सुवेदीकै नेतृत्वमा आन्दोलन गर्नेमा दृढ थिए । त्यसैले दुर्गा प्रसाईंले चैत १५ गते तीनकुनेमा गर्ने प्रदर्शनलाई सुवेदी नेतृत्वको समितिले समर्थन गर्‍यो । 

राजसंस्थाको पक्षमा आन्दोलन हुँदा सहभागी हुनैपर्ने दबाबमा लिङ्देन पनि परे । अनि चैत १४ गते प्रवक्ता मोहनकुमार श्रेष्ठले विज्ञप्ति निकालेर तीनकुनेको आन्दोलनमा सहभागी हुन कार्यकर्तालाई अपिल गरे । तर प्रदर्शनमा गरेनन् । 

रवीन्द्र मिश्र, धवलशमशेर राणा, बिक्रम पाण्डे लगायत लिङ्देन इतर पक्षका नेताहरु सक्रिय सहभागी भए । १५ गते तीनकुनेमा के भयो, भनिराख्नु परेन । 

आन्दोलन हिंसात्मक भएपछि वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा नै पक्राउ परे । यसले पनि राप्रपाको घरझगडामा थप घ्यू थपेको छ । 

धवलशम्शेर पक्षका नेताहरु, पार्टी अध्यक्ष लिङ्देनमाथि मिश्र र राणाको रिहाईका लागि पहल नगरेको आरोप लगाउँछन् । संसदमा तीनकुने घटनाको छानबिनका लागि न्यायिय आयोग गठन गर्नुपर्ने माग नगरेको उनीहरुको आरोप छ । 

उनीहरु जेठ १८ गते प्रदर्शनका क्रममा कमल थापा पक्राउ परेपछि लिङ्देनले गरेको भाषण सम्झिन्छन् । 

त्यतिबेला लिङ्देनले थापालाई तत्काल रिहा नगरे देशभर आन्दोलन गर्ने चेतावनी दिएका थिए । राप्रपाका एक पदाधिकारीले भन्छन्, ‘हिजो आफ्नै पार्टीका नेताहरु पक्राउ गर्दा नाम समेत लिनुभएन । तर आज अर्को दलको अध्यक्ष, जोसँग सम्बन्ध समेत त्यति राम्रो छैन, उहाँ पक्राउ गर्दा यसरी विरोध गर्नुभयो । यसले कतै उहाँले धवलशम्शेर र रवीन्द्र मिश्रहरु भित्रै जाओस् भन्ने त चाहनु भएको होइन भन्ने आशंका बढेको छ ।’ 

पछिल्लो दिनमा राजवादीहरुको आन्दोलन रोकिएको छ, तर राजेन्द्र लिङ्देन र धवलशमशेरको वर्चश्वको लडाईं रोकिएको छैन । यो महाधिवेशनसम्मै पुग्ने निश्चित जस्तो छ । 

राप्रपाले महाधिवेशनको मिति त तोकेको छैन, तर चार वर्षे कार्यकाल आगामी मंसिरमा पूरा हुनेछ । नेताहरुका अनुसार राजेन्द्र लिङ्देन र धवलशमशेरको वर्चश्वको लडाईंमा कसले बाजी मार्छ भन्ने त्यही महाधिवेशनले टुंगो लगाउने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

विनोद ढकाल नेपाल शो डटकमका पत्रकार हुन् । 

थप एक्सप्लेनर भिडियो