नेभिगेशन
एक्सप्लेनर भिडियो

त्रिविले पाएन उपप्राध्यापक, जाँच दिएका सबै फेल

त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट २१८ जना उपप्राध्यापक मागेको थियो, १३०६ जनाले जाँच दिए, तर पास भए जम्मा ४७ जना मात्र । 

यो त्रिवि सेवा आयोगले असार ९ गते निकालेको नतिजा हो । यस अगाडि पनि धेरै पटक त्रिविले मागे अनुसार शिक्षक पाउन सकेको छैन । 

देशमा शैक्षिक बेरोजगारको संख्या विकराल छ, आफ्नो योग्यता अनुसार जागिर र तलब नपाएर उच्च शिक्षा हासिल गरिरहेकाहरु पनि सानातिना काममा अल्झिरहेका छन् । 

तर विश्वविद्यालय पढाउने आकर्षक जागिरमा भने यो हालत छ, किन पाउन सकेन त्रिविले मागे अनुसार उपप्राध्यापक ? 

असार ९ गते प्रकाशित उपप्राध्यापकको लिखित परीक्षाको नतिजाबाटै कुरा सुरु गरौं । 

त्रिविले २०७७ फागुन ९ गते र २०७८ असार १५ गते उपप्राध्यापकका लागि विज्ञापन खोलेको थियो । त्यसको परीक्षा भने २०८१ मंसिरमा मात्र लियो । असार ९ गते नतिजाले त हाम्रो उच्च शिक्षाको ऐना नै नै देखाइदियो । 

कानुन संकायमा २२ जना उपप्राध्यापक मागिएको थियो, ३० जनाले लिखित परीक्षा दिएका थिए, एक जना पनि पास भएनन् । 

kanun--1750853533.png
 

व्यवस्थापनमा ७५ जना उपप्राध्यापक मागिएको थियो, ३६८ जनाले लिखित परीक्षा दिएका थिए, तर ५ जना मात्रै पास भए । पास सबैले खुलातर्फको सिटमा नाम निकालेका हुन् । आरक्षणतर्फको महिला ११ जना, आदिवासी जनजाति ९, मधेशी ८, दलित ३, अपांग २ र पिछडिएको क्षेत्र १ सिटमा कोही पनि पास भएनन् । 

जनप्रशासनमा ८ जना उपप्राध्यापक मागेको थियो, २१ जनाले लिखित परीक्षा दिएका थिए, अन्तर्वार्तामा १ जना मात्र छानिए । 

मानविकी तथा सामाजिक शास्त्रका ११ विषयमा ५८ जना उपप्राध्यापक माग गरेकामा जम्मा ३३ जना मात्र अन्तर्र्वातामा छानिए । 

अंग्रेजीमा २५ जना मागेकामा जम्मा १० जना मात्र पास भए । अर्थशास्त्रमा १५ जना मागेकामा १४ जना मात्र पास भएका छन् । 

English-result--1750853583.png
इतिहास र कम्प्युटर एप्लिकेसन विषयमा २/२, खेल विज्ञान, हिन्दी र मैथिलीमा १/१ जना मागिएको थियो । कसैले पनि लिखित परीक्षा पास गर्न सकेनन् । 

शिक्षा संकायका ११ विषयमा गरी ५५ जना उपप्राध्यापक मागिएको थियो, ३४६ जना सहभागी भएका थिए, तर ८ जना मात्र पास भए । 

शिक्षाको आधार विषयमा १२ जना मागिएको थियो, कोही पनि पास भएनन् । सूचना प्रविधि शिक्षामा ५, विज्ञान शिक्षा र अर्थशास्त्र शिक्षामा ४–४, पाठ्यक्रम मूल्यांकनमा ३ जना उपप्राध्यापक मागिएको थियो । कोही पनि पास भएनन् । 

नेपाली शिक्षामा ८ जना मागेकामा ४ जना र गणित शिक्षामा ८ जना मागेकामा २ जना, स्वास्थ्य शिक्षामा ५ जना मागेकामा १ जना पास भएका छन् । त्यस्तै शैक्षिक योजनामा ४ जना मागेकामा १ जना मात्र पास भएका छन् । 
त्रिभुवन विश्वविद्यालयमा यसअघिका विज्ञापनमा पनि माग अनुसार शिक्षक पास भएका छैनन् । 

२०८२ जेठ ९ गते त्रिविले भौतिक शास्त्र र रसायनशास्त्रको उपप्राध्यापकको लिखित परीक्षाको नतिजा निकालेको थियो । जसमा भौतिक शास्त्रमा २५ जना माग गर्दा ३ जना मात्र पास भए । 

रसायनशास्त्रमा २४ जना माग गरेकामा ९ जना मात्र पास भए । 

जेठ ७ गते निकालेको नतिजा हेर्दा तथ्यांकशास्त्रमा १५ जना मागिएको थियो, २ जना मात्र पास भए । 

प्राणीशास्त्रमा २० जना मागेकामा ७ जना पास भएका थिए । 

जेठ ६ गते निकालेको नतिजामा कम्प्युटर विज्ञानमा २० जना मागेकामा ५ जना मात्र पास भएका थिए । 

गणितमा २० जना मागेकामा २ जना मात्र पास भएका थिए । 

त्रिभुवन विश्वविद्यालयमा विगतमा आंशिक प्राध्यापकलाई स्वतः करारमा नियुक्ति र करारलाई स्वतः स्थायी पनि गरिन्थ्यो । 

विगतमा सेवा आयोगको परीक्षा पनि पारदर्शी थिएन । पदाधिकारीकै मिलेमतोमा परीक्षार्थीको नम्बर केरमेट गरेर पास फेल गराएको भनेर अख्तियारमा मुद्दासमेत परेको थियो । र केही प्राध्यापक र कर्मचारी दोषी ठहर पनि भएका थिए । 

२०७२ सालमा संविधान जारी भएपछि भने त्रिवि जस्ता सरकारी स्वामित्वको संस्थाहरुमा कर्मचारी पदपूर्ति गर्दा लोकसेवा आयोगको सहभागिता अनिवार्य गरियो । 

त्रिविका प्राध्यापकहरु लोकसेवा आयोगको प्रवेशपछि त्रिवि सेवा आयोगको परीक्षामा धेरै सुधार आएको छ । 

आंशिक प्राध्यापक संघर्ष समितिका अध्यक्ष गोकुल लिम्बु त्रिविको पाठ्यक्रम अव्यवहारिक रहेकाले धेरै परीक्षार्थी फेल भएको बताउँछन् । 

त्रिविले उपप्राध्यापकको परीक्षाका लागि २०७७ सालमा लिखित परीक्षाको नयाँ पाठ्यक्रम लागू गरेको छ । जस अनुसार उपप्राध्यापकले १००–१०० पूर्णांकको दुईवटा परीक्षा दिनुपर्छ । 

पहिलो पत्रको १०० नम्बर वस्तुगत प्रश्न हुन्छ, जसमा उत्तर बिगारेमा नम्बर घटाइन्छ । 

दोस्रो पत्रको १०० नम्बरमा विषयगत विज्ञता, अनुसन्धान तथा शिक्षण सिकाइका विषयमा विश्लेषणात्मक उत्तर लेख्नुपर्छ । 

उपप्राध्यापकको नतिजाले विश्वविद्यालयको पढाइ साह्रै कमजोर रहेको देखाउँछ । त्रिविले खोलेको विज्ञापनमा दरखास्त दिनेहरु नेपालकै विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेकाहरु हुन् । नयाँ परीक्षा प्रणाली भएकाले धेरै परीक्षार्थीलाई गाह्रो भएको हुन सक्ने त्रिविका पुराना प्राध्यापकहरु बताउँछन् । 

लोक सेवा आयोग, शिक्षक सेवा आयोग जस्तो हरेक वर्ष ठूलो संख्यामा विज्ञापन खुल्ने विषयमा बजारमा पाठ्य सामग्री पनि प्रशस्त पाइन्छ । तर त्रिवि सेवा आयोगमा केही सयको संख्यामा खुल्छ र कहिले खुल्छ पनि टुंगो हुँदैन त्यसैले बजारमा यसका पाठ्यसामग्री हुँदैन । 

परीक्षार्थीहरुले पाठ्यक्रम हेरेर आफैं पाठ्य सामग्री जुटाउनुपर्छ । नियमित परीक्षा लिइरहेमा परीक्षार्थीमा पनि अध्ययन गर्ने बानी विकास हुने र नतिजामा सुधार आउने देखिन्छ । 

त्रिवि सेवा आयोगका अध्यक्ष प्रा.डा. घनश्याम भट्टराईका अनुसार अहिले नतिजा आएको  विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो । त्यसैले परीक्षा हुने कि नहुने अन्योल थियो । सर्वोच्चको आदेश ढिला गरी आएपछि अन्तिम समयमा परीक्षा सञ्चालन भएको थियो । 

त्यसैले परीक्षार्थीले तयारी राम्रो नगरेको हुन सक्ने उनले बताए । अनि नयाँ पाठ्यक्रम अनुसार नेगेटिभ मार्किङको व्यवस्थालेपनि धेरै जना फेल भएको हुन सक्ने अध्यक्ष भट्टराईले बताए । 

उनका अनुसार त्रिविले परीक्षा पाठ्यक्रम परिमार्जन गर्दैछ । अब १०० मा ४० नम्बर ल्याए पनि पास हुने व्यवस्था गर्ने अध्यक्ष भट्टराईले बताए । 

यसअघि उपप्राध्यापकको परीक्षाको पाठ्यक्रम धेरै विशाल थियो । ‘के पढ्ने भन्ने नै थिएन, २४/२५ वटा विषय पढेर जाँच दिन सक्ने कुरा भएन, त्यसैले धेरै फेल भएका हुन सक्छन्, अबको परीक्षामा त्यस्तो हुँदैन’, अध्यक्ष भट्टराईले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

विनोद ढकाल नेपाल शो डटकमका पत्रकार हुन् । 

थप एक्सप्लेनर भिडियो