नेभिगेशन
एक्सप्लेनर भिडियो

धेरै र थोरै जनसंख्या भएका १० निर्वाचन क्षेत्र

नेपालको जनसंख्या वितरण धेरै नै असमान हुँदै गएको छ । कतै जनसंख्या थुप्रिने र कतै गाउँहरु खाली हुने भइरहेको छ । 

हिमाली र पहाडी क्षेत्रमा तिब्र रुपमा जनसंख्या घटिरहेको छ भने तराई र शहरी क्षेत्रमा जनसंख्या बढिरहेको छ ।

२०७४ सालमा संसदीय निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्यालाई पहिलो आधार र भूगोललाई दोस्रो आधार बनाइएको थियो ।

जनसंख्यालाई मात्र आधार बनाएको भए त्यतिबेलै हिमाल र पहाडका सिंगो जिल्ला पनि एउटा निर्वाचन क्षेत्र बन्न सक्ने थिएनन् । त्यसैले संविधानमा नै प्रत्येक जिल्लामा कम्तीमा एउटा निर्वाचन क्षेत्र हुनुपर्ने लेखिएको थियो । 

अहिले १६५ निर्वाचन क्षेत्रमध्ये हिमाल र पहाडका ३५ वटा जिल्लामा एउटा मात्र निर्वाचन क्षेत्र छ । काठमाडौं, मोरङ, झापा, रुपन्देही जस्ता जिल्लामा धेरै निर्वाचन क्षेत्र छन् । त्यतिबेला २०६८ सालको जनगणनाको आधारमा निर्वाचन क्षेत्र तोकिएको थियो ।

अहिले हामीसँग २०७८ सालको जनगणनाको तथ्यांक छ, तर अहिलेसम्म आइपुग्दा हाम्रो निर्वाचन क्षेत्रको जनसंख्या धेरै नै असमान भइसकेको छ । 

राष्ट्रिय तथ्यांक कार्यालयले २०७८ सालको जनगणनाका आधारमा  निर्वाचन क्षेत्रअनुसार जनसांखिक प्रतिवेदन सार्वजनिक गरेको छ । 

त्यो तथ्यांकले देखाउँछ कि नेपालमा साढे ५ हजार जनसंख्या भएको निर्वाचन क्षेत्र पनि छ र साढे दुई लाख जनसंख्या भएको निर्वाचन क्षेत्र पनि छ । 

००० 

निर्वाचन क्षेत्रको जनसांखिक प्रतिवेदन अनुसार धेरै जनसंख्या भएको निर्वाचन क्षेत्रको कुरा गरौं । 

सबैभन्दा धेरै जनसंख्या भएको निर्वाचन क्षेत्र हो काठमाडौं–२ । यहाँको जनसंख्या २ लाख ६८ हजार १६९ छ र घरधुरी संख्या ७१ हजार ८२९ छ । 

दोस्रो धेरै जनसंख्या भएको क्षेत्र हो रुपन्देही–२ । यहाँको जनसंख्या २ लाख ६५ हजार २०३ छ र घरधुरी संख्या ६७ हजार ८३७ छ । 

तेस्रो धेरै जनसंख्या भएको निर्वाचन क्षेत्र हो, भक्तपुर–२ । यहाँको जनसंख्या २ लाख ६२ हजार ८५ छ । अनि घरधुरी संख्या ६७ हजार ८८५ छ । 

चौथो ठूलो निर्वाचन क्षेत्र हो चितवन–२ । यहाँको जनसंख्या २ लाख ६२ हजार ५५ जना छ । यहाँ घरधुरी संख्या ६६ हजार ३० छ । यहाँबाट २०७९ को चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने निर्वाचित भएका थिए । 

पाँचौं ठूलो निर्वाचन क्षेत्र सुनसरी–२ हो । यहाँ २ लाख ५७ हजार २६४ जनसंख्या छ । घरधुरी संख्या ६० हजार ११८ रहेको छ । 

छैटौं ठूलो निर्वाचन क्षेत्रमा ललितपुर–३ पर्छ । यहाँको जनसंख्या २ लाख ५० हजार ८१० छ । घरधुरी संख्या ६४ हजार ६९७ छ । 

सातौं ठूलो क्षेत्रमा बर्दिया–१ पर्छ । यहाँको जनसंख्या २ लाख ४५ हजार २४९ छ र घरधुरी संख्या ५६ हजार ६३७ छ । 

आठौं ठूलो निर्वाचन क्षेत्र हो सुर्खेत–२ । यहाँको जनसंख्या २ लाख ४३ हजार ६७६ छ । यहाँ घरधुरी संख्या ५६ हजार ९५३ छ । 

नवौं ठूलो निर्वाचन क्षेत्र हो, बैतडी । बैतडी सिंगो जिल्ला नै एक निर्वाचन क्षेत्र हो । यहाँको जनसंख्या २ लाख ४२ हजार १५७ छ । दशौं ठूलो निर्वाचन क्षेत्र हो कपिलवस्तु–१  । 

यहाँको जनसंख्या २ लाख ३९ हजार ८७९ छ । यहाँ घरधुरी संख्या ४६ हजार १५२ रहेको छ । 

०००० 

अब कम जनसंख्या भएको निर्वाचन क्षेत्र र तिनीहरुको जनसंख्या कति छ हेरौं । 

सबैभन्दा कम जनसंख्या भएको क्षेत्र हो, मनाङ । यहाँको जनसंख्या जम्मा ५ हजार ६५८ छ र घरधुरी संख्या जम्मा १५७२ छ । मनाङ सिंगो जिल्ला नै एउटा निर्वाचन क्षेत्र हो । सबैभन्दा धेरै जनसंख्या रहेको काठमाडौं–२ को जनसंख्या मनाङको भन्दा २ लाख ६२ हजारले धेरै छ । 

दोस्रो थोरै जनसंख्या भएको निर्वाचन क्षेत्र हो मुस्ताङ । यहाँको जनसंख्या १४ हजार ४५२ छ । 

तेस्रो थोरै जनसंख्या भएको क्षेत्र हो, डोल्पा । यहाँको जनसंख्या जम्मा ४२ हजार ७७४ छ । चौथो कम जनसंख्या भएको क्षेत्र रसुवा हो, यहाँ ४६ हजार ६८९ जना छन् । पाचौं थोरै जनसंख्या भएको हुम्लामा ५५ हजार ३९४ जना छन् । छैटौं थोरै जनसंख्या भएको रुकुम पूर्वमा ५६ हजार ६८६ जना छन् । 

सातौं थोरै जनसंख्या भएको मुगुमा ६४ हजार ५४९ जना छन् । आठौंमा तेह्रथुम छ, यहाँको जनसंख्या ८८ हजार ७३१ छ । नवौंमा छ ललितपुर–१ । यहाँको जनसंख्या १ लाख ३ हजार ६२३ छ । दशौंमा सोलुखुम्बु छ । यहाँको जनसंख्या १ लाख ४ हजार ८५१ छ ।  

कम जनसंख्या भएका १० जिल्लामा ललितपुर र रुकुम पूर्वबाहेक अरु हिमाली जिल्लाहरु हुन् । रुकुम पूर्व भने २०७२ सालमा संविधान जारी भएपछि रुकुम जिल्ला विभाजन गरेर बनाएको जिल्ला हो । 

०००० 

राष्ट्रिय तथ्यांक कार्यालयले पछिल्लो १० वर्षमा जनसंख्या अत्यधिक बढेका र घटेका निर्वाचन क्षेत्र पनि छुट्याएको छ । 

त्यस आधारमा सबैभन्दा धेरै जनसंख्या बढेको निर्वाचन क्षेत्र भक्तपुर २ हो । यहाँ २०६८ सालमा १ लाख ६२ हजार ९८७ जना थिए । २०७८ सालमा २ लाख ६२ हजार ८५ पुगे । १० वर्षको बीचमा यहाँको जनसंख्या ठ्याक्कै १ लाख बढेको छ । 

जनसंख्या धेरै बढेको दोस्रो निर्वाचन क्षेत्र हो, रुपन्देही २ । तेस्रोमा काठमाडौं २, चौथोमा झापा २, पाचौंमा काठमाडौं ७, छैटौंमा कास्की १, सातौंमा कैलाली ५, आठौंमा सुर्खेत २, नवौंमा ललितपुर २ र दशौंमा मोरङ ३ रहेका छन् । 

अब जनसंख्या अत्यधिक घटेका निर्वाचन क्षेत्र कुन कुन छन् हेरौं । सबैभन्दा धेरै जनसंख्या घटेको निर्वाचन क्षेत्र हो रामेछाप । यो एउटा सिंगो जिल्ला नै एउटा निर्वाचन क्षेत्र हो । यहाँ २०६८ सालमा २ लाख २ हजार ६४६ जनासंख्या थियो । २०७८ मा आउँदा १ लाख ७० हजार ३०२ मा झरे । 

जनसंख्या घट्ने निर्वाचन क्षेत्रको दोस्रो नम्बरमा काठमाडौं–१, तेस्रोमा खोटाङ, चौथोमा अछाम १, पाचौंमा स्याङ्जा १, छैटौंमा मनाङ, सातौंमा भोजपुर, आठौंमा गुल्मी १, नवौंमा तेह्रथुम र दशौंमा काभ्रे १ रहेका छन् । 

०००० 

नेपालको संविधानले २० वर्षमा निर्वाचन क्षेत्र पुनरावलोकन हुने व्यवस्था गरेको छ । नेपालमा २०७४ सालमा निर्वाचन क्षेत्र निर्धारण गर्दा २०६८ सालको जनगणनालाई आधार लिइएको थियो । 

तर १० वर्षमा नै जनसंख्या असमान भइसकेको छ । अब २०८८ सालको जनगणनाको नतिजाका आधारमा २०९४ सालमा नेपालको निर्वाचन क्षेत्र पुनरावलोकन हुनेछ । 

२०६८ सालदेखि २०७८ सालकै बीचमा जनसंख्या वितरणमा यति धेरै असमानता देखिइसकेको छ । ग्रामीण क्षेत्रमा विकासका पूर्वाधार, अवसर र सुविधाको कमी अनि शहर तथा विदेशमा बसाईं सर्ने ट्रेण्डका कारण २०८८ सालसम्म गाउँहरु अझै रित्तिने देखिन्छ । 

यसरी जनसंख्या घट्दै जाने हो भने हिमाली र पहाडी क्षेत्रका सबैजसो जिल्लामा एउटा मात्र निर्वाचन क्षेत्र रहन सक्छ । त्यसको सट्टा शहर तथा मधेशका जिल्लामा निर्वाचन क्षेत्र बढ्ने देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो