रविको अवस्था : कालकोठरी न भीआईपी सुविधा
सहकारी ठगीको मुद्दामा रवि लामिछाने साढे चार महिनादेखि भैरहवा कारागारमा छन् । उच्च अदालत बुटवलले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनी २२ चैतमा पक्राउ परेका थिए । तर पछिल्ला दिनमा जेलमा उनको अवस्थाबारे फरक फरक खबर आयो ।
एउटा समाचारले भन्यो, साँघुरो कोठा छ, झ्यालहरु समेत बन्द गरिएको छ । राम्रोसँग हावा र उज्यालो समेत आउँदैन । निकै दयनीय अवस्थामा रविलाई राखिएको छ ।
अर्को समाचार आयो, रविलाई जेलमा भीआईपी सुविधा दिइएको छ । गर्मी भयो भने एसी चलाउँछन्, बढी चिसो भयो भने कुलर प्रयोग गर्छन् । ल्याण्डलाइन टेलिफोन छ ।
आखिर कुन चाहिँ सही हो ? भैरहवा कारागारमा रहेका अरु कैदी बन्दीको तुलनामा रविले बढी सेवा सुविधा पाएका छन् । तर यसको अर्थ सबै राम्रो छ भन्ने चाहिँ होइन ।
भैरहवा मात्र होइन, हाम्रो सबै जेलहरु सुधार गृह होइन, यातना गृहहरु जस्ता छन् । क्षमताभन्दा धेरै कैदीबन्दी राखिएको छ । कैदीबन्दीलाई न्यूनतम सेवा सुविधा समेत छैन । यो हाम्रो यथार्थ हो ।
कारागार व्यवस्थापन विभागका अनुसार देशभरका ७२ जिल्लामा ७५ वटा कारागार छन् । जहाँ करिब ३० हजार कैदीबन्दी छन् । जबकी कारागारहरुको क्षमता १८ हजार ५०० जना मात्र हो ।
त्यही कारण थुप्रै कारागारहरुमा क्षमताभन्दा धेरै कैदीबन्दी छन् । क्षमताभन्दा धेरै कैदीबन्दी राखेपछि उनीहरुको दैनिकी कष्टकर हुने भइहाल्यो ।
भैरहवा कारागारकै कुरा गरौं । २५० जना क्षमताको कारागार हो यो । तर ६३१ जना कैदीबन्दी राखिएको छ । एउटै कोठामा ३०/४० जनालाई राखिएको छ । त्यहाँ कैदीबन्दीहरुले राति खुट्टा पसारेर समेत सुत्न पाउँदैनन् ।
कारागारमा जम्मा १८ वटा ट्वाइलेट छ । त्यसैले दिशापिसाब गर्न पनि पालो कुर्नुपर्छ ।
त्यही कारागारको ब्लक नम्बर ४ मा छन् रवि लामिछाने । यो ब्लकमा उनी एक्लै बस्छन् । ब्लक भनिएपनि यो ठूलो हल हो । रविले अदालतमा दिएको निवेदनमा उल्लेख भए अनुसार यो ब्लक ३५ फिट लम्बाइ र १२ फिट चौडाइको छ । कोठाभित्रै शौचालय छ । २ वटा फ्यान जोडिएको छ । बस्नका लागि सानै भएपनि सोफा छ । सुत्नका लागि लो बेड छ । अध्ययनका लागि एउटा टेबल र कुर्सी पनि छन् ।
यसरी हेर्ने हो भने भैरहवा कारागारका अरु कैदी बन्दीले भन्दा राम्रो सेवा सुविधा रविले पाएका छन् । कम्तीमा सुत्नका लागि छोटै भएपनि सिंगल बेड छ, शौचालय जान पालो कुर्नु पर्दैन । भुईँमा कार्पेट छ । मन लागेको बेला कुर्सी वा सोफामा बसेर पुस्तक पढ्न सक्छन् । भेट्न आउनेहरुसँग कुराकानी गर्न पाउँछन् ।
त्यही भैरहवा कारागारमा छविलाल जोशी छन् । रवि र उनको मुद्दा एउटै हो सुप्रिम सहकारीको रकम अपचलन । छवि नेपाल प्रहरीका पूर्वडीआईजी हुन् । तर उनी अरु कैदी बन्दीहरुसँगै बसेका छन् । एउटै कोठामा २८/३० जनासम्म बस्छन् ।
त्यसैले थोरै नै भएपनि भैरहवाका अरु कैदी बन्दीलाई भन्दा रविलाई सहज छ भन्न सकिन्छ ।
यसको अर्थ रविलाई सबै राम्रो छ, भीआईपी सुविधा पाएका छन् भन्ने चाहिँ पटक्कै होइन ।
ठूलो हलजस्तो कोठाको ढोका फलामे बारको ढोका छ । त्यहाँ जाली लगाइएको छ ।
तर झ्यालहरु भने प्लाइउडले टालिएको छ । कारागार प्रशासनका अनुसार कोरोना महामारीको समयमा कैदी बन्दीहरुका लागि आइसोलेसन सेन्टर बनाइएको थियो ।
कारागार परिसर खुला भएकाले बाहिरबाट सर्प आउनसक्छ, कसैले ढुंगा वा इँटा हान्न सक्ने भएकाले सुरक्षाका लागि प्लाइउडले टालिएको थियो । त्यो अहिले पनि कायमै छ । रविलाई राखेपछि के गर्ने भनेर सोधिएको थियो । तर सुरक्षाका कारण हो भने ठीकै छ भनेर सहमति जनाएको कारागार प्रशासनको दाबी छ ।
जे सुकै कारणले होस्, झ्यालमा प्लाइउड ठोकेर डामडुम टालेपछि कोठामा राम्रोसँग हावा पास हुन सक्दैन । त्यही कारण धोएका लुगा सुक्न गाह्रो छ । सोमबार अनुगमनमा गएका मानवअधिकारकर्मीहरुलाई पनि रविले पातलो लुगा सुकाउन पनि गाह्रो भएकोे सुनाएका थिए । आफ्नो टावेल सुँघिदिनुस् भनेर आग्रह गरेका थिए । घाम देख्न नपाएकाले होला, हल्का गन्हाएको थियो ।
उनी बस्ने ब्लकमा शौचालय त छुट्टै छ, तर त्यसमा ढोका छैन । होचो वाल लगाइएको छ ।
सबभन्दा महत्वपूर्ण चाहिँ उनी कोठा बाहिर हिँडडुल गर्न पाउँदैनन् । भैरहवा कारागारको कमाण्डर छैन । त्यही कारण सुरक्षा चुनौती भनेर कारागार प्रशासनले उनलाई ब्लक नम्बर ४ बाट बाहिर आउन दिन चाहँदैन । कपाल काट्ने, ब्लड प्रेसर जाँच्ने जस्तो कामका लागि बाहिर आउँछन् । कुनै बेला उनले आग्रह गरेमा प्रहरीले बाहिर आउन दिन्छ । तर नियमित रुपमा त्यो छुट हुन्न ।
त्यही कारण रवि लामिछानेको धेरै जसो समय ३५ बाइ १२ फुटको कोठामा बित्छ ।
सोमबार कारागार अनुगमनमा गएकी इन्सेक प्रतिनिधि रिमा बिसीका अनुसार भैरहवा कारागारमा रविलाई अरु कैदीभन्दा नराम्रो व्यवहार गरिएको छैन । तुलनात्मक रुपमा ६३० जना अरु कैदीबन्दी भने रवि लामिछाने सहज अवस्थामा छन् ।
त्यसैले रवि लामिछाने न जेलको कालकोठरीमा दयनीय अवस्थामा छन्, न एसी सहितका भीआईपी सुविधा उपभोग गरिरहेका छन् । खासमा हाम्रा जेलहरुकै अवस्था कमजोर छ । पूर्वाधारहरु बलिया छैनन्, पर्याप्त पनि छैनन् । त्यहाँ बस्नेहरुका आधारभूत आवश्यकताहरु पूरा गर्न पनि सरकार चुकेको छ ।
अदालतको आदेशबाट जेल परिसकेपछि रविले पनि त्यसबाट अछुतो हुन सक्दैनन्, छैनन् ।
त्यसैले रविलाई कारगारमा कस्तो व्यवहार गरियो होइन, हाम्रा कारागारहरु कहिलेसम्म यातनागृह जस्तो बनाइराख्ने भन्ने मुख्य प्रश्न हो । रविको हकमा चाहिँ अदालतले समेत अनुमति दिइसकेको अवस्थामा किन कारागार स्थानान्तरण गरिएन भन्ने हो ।
सोमबार अनुगमनमा गएकी मानवअधिकार आयोगकी सदस्य लिली थापाले पनि यसबारे छलफल गर्ने प्रतिक्रिया दिएकी छन् ।

बालेन बन्लान् प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ?

मीनबहादुर गुरुङलाई महंगो परेको एउटा दान

डोजर चलाएर परिवार पाल्थे, गंगा दाहालको घरमा ज्यान गुमाए

आशा जगाउने मन्त्रीहरु

फेरि फर्किन सक्छ कागजकै लाइसेन्स
