नख्खु कारागारमा रवि : कोठाभित्रै गुम्सिनु पर्दैन, स्नुकर खेल्न पाउँछन्
सीपी मैनालीले ब्रेक गरेको नख्खु कारागारमा रविको बास
अन्ततः रवि लामिछानेको जेल सरुवा भयो । उनी अब ललितपुरको नख्खु कारागारमा रहनेछन् ।
उनको चाहना त डिल्लीबजार कारागारमा बस्ने थियो । तर सरकारले ठाउँ खाली नभएको भनेर भैरहवामै राख्यो । भैरहवा कारागारमा उनको अवस्थालाई लिएर अनेक विवाद आए, राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गर्यो र सरकार रविलाई जेल सार्ने निश्कर्षमा पुग्यो ।
तर रविले रोजेको भन्दा अर्को कारागारमा उनको स्थानान्तरण भयो ।
कस्तो छ नख्खु कारागार ?
नख्खु कारागार काठमाडौं उपत्यकाभित्रका ३ कारागारमध्ये सबैभन्दा फराकिलो कारागार हो । यो करिब ४० रोपनी क्षेत्रफलमा फैलिएको छ । यो कारागार मुख्य शहरी क्षेत्रदेखि दक्षिण पश्चिमतर्फ ललितपुरको भैंसेपाटी जाने बाटोमा पर्छ । चक्रपथ एकान्तकुनाबाट करिब १ किलोमिटरको दूरीमा ।
यो जेलको क्षमता एक हजार जना हो । हाल ७८९ जना कैदी र ५०३ जना थुनुवा गरेर १२९२ जना छन् । क्षमताभन्दा केही बढी कैदी भए पनि राम्रैसँग म्यानेज भइरहेको जेलर भीमराज कोइराला बताउँछन् ।
यहाँ रहेका सबै कैदीबन्दी पुरुष मात्र छन् । नख्खु कारागारमा महिलाका लागि छुट्टै भवन बनिरहेको छ । तर तयार भइसकेको छैन ।
कारागारमा ३ वटा भवन छन् । एउटा नयाँ र दुईवटा पुरानो । सबै भवनमा कैदी बन्दीहरु सामूहिक रुपमा मिलेर बस्नुपर्छ ।
नख्खुमा रविले भैरहवा कारागारमा जस्तो एक्लै बस्न पाउने छैनन् ।
२०८१ चैत २५ गतेदेखि ८२ को साउन ३० गतेसम्मको चार महिना रवि भैरहवा कारागारको ४ नम्बर ब्लकको हलमा एक्लै बसे । उनलाई सुत्नका लागि लो बेड थियो, बस्नका लागि सोफा । अनि अध्ययनका लागि टेबुल, कुर्सी थियो । ब्लकमा शैचालय पनि थियो । त्यसैले अरु कैदीबन्दीले जस्तो शौचालयका लागि पालो कुर्नु पर्ने अवस्था थिएन ।
अब नख्खु कारागारमा यो सुविधा पाउँदैनन् ।
यद्यपि भैरहवा कारागारमा उनलाई राखेको कोठाको झ्याल समेत बन्द थियो र एकाध पटक बाहेक कोठाबाहिर निस्कन पनि पाएका थिएनन् । अनि भैरहवामा अत्यधिक गर्मी समेत थियो ।
काठमाडौं, भैरहवा जस्तो गर्मी छैन । उनी कोठाभित्र थुनिएर बस्नुपर्ने पनि छैन ।
नख्खु कारागारका जेलर भीमराज कोइरालाका अनुसार भर्खरै जेल सरुवा भएर आएका कैदीबन्दीलाई एक दिन अब्जरभेसनमा राखिन्छ । उनको स्वास्थ्य जाँच गरेपछि अरु कैदीबन्दी रहेको भवनमा लगिने छ ।
नख्खु कारागारको बन्दीगृह भित्रै स्नुकर खेल्ने ठाउँ छ । त्यहाँ कैदीबन्दीहरुले स्नुकर खेल्न पाउँछन् ।
बन्दीगृह बाहिर फराकिलो खुला ठाउँ भएकाले त्यहाँ कैदीबन्दीहरुले हिँडडुल गर्न, खुला ठाउँमा टाइम पास गर्न पाउँछन् ।
नख्खु कारागारमा मनोसामाजिक अपांग बन्दी अस्पताल छ । अस्पतालमा एक जना कन्सल्ट्यान्ट साइक्याट्रिक डाक्टर छन् । अनि १/१ जना एमबीबीएस डाक्टर, हेल्थ असिस्टेन्ट, अहेब र अनमी पनि छन् ।
२०८० फागुनमा नेपाल विपश्यना केन्द्रले नख्खु कारागारमा विपश्यना ध्यान केन्द्रको पनि स्थापना गरेको छ । त्यहाँ काठमाडौं उपत्यकाका तीनवटै कारागारका कैदी बन्दीले विपश्यना बस्न नाम लेखाउन सक्छन् । त्यसपछि उनीहरुले पालो अनुसार विपश्यनामा बस्न पाउनेछन् ।
देशका धेरै कारागारका कैदीबन्दीले जेलमा रहेको अवस्थामा मुढा वा अरु यस्तै हस्तकलाका सामान बनाएर अतिरिक्त आम्दानी गर्छन् । तर नख्खु कारागारका कैदीबन्दीले मुढा बुन्दैनन् ।
यहाँका कैदी बन्दीले गलैंचा र थाङ्का बुन्छन्, पोते उन्छन् । अनि अरु हस्तकलाका कामहरु पनि गर्छन् ।
००००
नख्खु बाहेक काठमाडौंमा अरु दुई वटा जेल छन्, केन्द्रीय कारागार र डिल्लीबजार कारागार ।
सेन्ट्रल जेलमा ३ हजार ७७१ जना कैदीबन्दी छन् । यो देशभरमै धेरै कैदीबन्दी रहेको जेल हो ।
डिल्लीबजार कारागारमा ६७१ जना छन् । डिल्लीबजार कारागारलाई भीआईपी कैदी बन्दी बस्ने कारागारका रुपमा चिनिन्छ । मनाङबाट प्रदेशसभा सदस्य जितेका पूर्व गुण्डानाइके दीपक मनाङे हाल डिल्लीबजार कारागारमै छन् ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पनि डिल्लीबजार कारागारमै बसेका थिए । भ्रष्टाचार मुद्दामा जेल सजाय काटेका कांग्रेस नेता चिरञ्जीवि वाग्ले, खुमबहादुर खड्का र जयप्रकाश प्रसाद गुप्ता डिल्लीबजार कारागारमै बसे । अरु पनि थुप्रै नाम छन्, जो डिल्लीबजार कारागारमा बसेका छन् ।
शहरको मध्य भागमा रहेकाले डिल्लीबजार कारागार भेटघाटका लागि सहज छ । कैदीबन्दीले बाहिर क्यान्टिनबाट चिया मगाएर आगन्तुकसँग चिया खाँदै कुरा गर्ने सुविधा पाउँछन् ।
भेट्न जानेलाई एकै छिनमा पुगेर फर्किन सहज हुने, पार्किङको सुविधा पनि सहज भएकाले डिल्लीबजार कारागार जेल सजाय काट्ने भीआईपीहरुको रोजाइमा पर्छ ।
रवि लामिछानेले पनि सुरुमा डिल्लीबजार कारागार रोजेका थिए । उनले आफूविरुद्ध ४ वटा जिल्ला अदालत र ३ वटा उच्च अदालतमा मुद्दा चलिरहेको र आफ्ना कानुन व्यवसायी काठमाडौंमै रहेकाले डिल्लीबजार सरुवा हुन निवेदन दिएका थिए । तर डिल्लीबजारमा ठाउँ नभएको भनेर सारिएन ।
त्यसपछि रवि अदालत गए । जिल्ला अदालत रुपन्देहीले रविलाई स्थानान्तरणको आदेश दियो ।
जेल प्रशासनले वास्ता गरेन । त्यसपछि रविलाई जेलमा निकै दयनीय अवस्थामा राखेको, एसी भएको कोठामा राखेको भनेर फरक फरक दाबी आए । राष्ट्रिय मानवअधिकार आयोगको टोली अनुगमनमा गयो ।
भैरहवा कारागारका अरु कैदीबन्दी भन्दा रवि सहज अवस्थामा नै थिए । तर कमजोर भौतिक पूर्वाधार र क्षमताभन्दा धेरै कैदीबन्दी राखिएका कारण त्यहाँको अवस्था राम्रो थिएन । त्यसमाथि रवि उपपप्रधान तथा गृहमन्त्री भइसकेको र संसदको चौथो ठूलो दलका सभापति हुन् ।
अदालतले समेत स्थानान्तरणका लागि आदेश दिएकाले कारागार प्रशासनले नख्खुमा सरुवा गर्ने निर्णय गर्यो ।
००००
नख्खुमा पनि भीआईपी कैदीबन्दीहरु बस्छन् । किनकी सबै भीआईपीले डिल्लीबजार कारागारमा बस्न पाउँदैनन् । त्यसैले कतिपय भीआईपी कैदी बन्दी केन्द्रीय कारागार र नख्खु कारागारमा पनि बसेका छन् ।
रौतहटमा इँटाभट्टामा जलाएर मान्छे मारेको अभियोगमा थुनामा परेका कांग्रेस नेता मोहम्मद अफताब आलम नख्खु कारागारमै बसेका थिए ।
एनसेलको कार्यालयमा बम पड्काएको आरोप लागेका विप्लव समूहका नेता हेमन्तप्रकाश ओली पनि नख्खु कारागारमा बसेका थिए ।
पूर्वराज्यमन्त्री सञ्जयकुमार साह पनि नख्खु कारागारमा बसेका थिए ।
अलि पुरानो विगतमा जाने हो भने त नख्खु कारागार जेलब्रेकको घटनाका कारण निकै चर्चित समेत छ ।
२०२८ सालमा कम्युनिस्ट युवाहरुले झापा विद्रोह सुरु गरे । त्यसक्रममा जमिन्दारहरुको हत्या समेत गरेपछि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, सीपी मैनाली, आरके मैनाली लगायत पक्राउ परे । ओली लगायतका कतिपय नेतालाई सेन्ट्रल जेलमा राखिएको थियो भने सीपीहरुलाई नख्खुमा ।
जेल बसेको करिब १ वर्षपछि २०३३ साल चैत १२ गते नख्खु जेल ब्रेक गरेर भागे ।
यसरी भाग्नेमा सीपी मैनाली, घनेन्द्र बस्नेत, धर्म घिमिरे, नरेश खरेल, नारद वाग्ले, जीवन मगर, राजेन राजवंशी, हर्क खड्का, भीष्म धिमाल, वीरबहादुर लामा माधव पौडेल, प्रदीप नेपाल, गोपाल शाक्य, परमेश्वर यादव र अशोक न्यौपाने थिए । सीपी मैनाली अहिले नेकपा मालेको महासचिव छन्, घनेन्द्र बस्नेतहरु एकीकृत समाजवादीमा छन् । धेरै नेता चाहिँ एमालेमा छन् ।
त्यो टोलीको ठूलो नेता सीपी मैनाली थिए, उनले जेलमा अरु मानिसहरुलाई भेट्ने अल्मल्याउने काम गर्थे । सुरुङ खन्दाको हल्ला कसैले थाहा नपाओस् भनेर प्रदीप नेपालले गितार बजाउँथे ।
वीरबहादुर लामा, धर्म धिमालहरुले सुरुङ खन्थे ।
२०३३ माघ अन्तिम हप्तादेखि उनीहरुले सुरुङ खन्न सुरु गरेका थिए ।
जेलभित्रै तरकारी बारीमा खन्न प्रयोग हुने कुटो नै सुरुङ खन्ने हतियार थियो । जेलको बारमा एउटा भरुवा बन्दुकको नाल पनि थियो । त्यो नाल र भान्सामा प्रयोग हुने डाडु पन्यु समते सुरुङ खन्न प्रयोग गरे ।
सुरुङ खन्दा निस्कको माटो उनीहरुले कोठामा ओछ्यान जस्तो बनाएर राखे । कतिपय माटो तरकारी बारीमा राखे । कतिपय माटो भने इनारको पानीले बगाइदिए । ३२ दिनमा ६५ मिटर लामो सुरुङ तयार गरे ।
त्यसपछि २०३३ साल चैत १२ गते उनीहरु सुरुङबाट निस्केर भागे । यो घटनालाई नख्खु जेल ब्रेक भनेर चिनिन्छ ।
नख्खु कारागार गुण्डागर्दी र झैझगडाका लागि पनि त्यत्तिकै बदनाम ठाउँ हो । जेलभित्रको कुटाकुटमा यहाँ केही कैदीबन्दीको मृत्यु समेत भएको छ ।
२०७६ वैशाखमा बर्दियाका भक्तबहादुर सुनारको जेलभित्रै हत्या भएको थियो । उनलाई जेलमै रहेका कैदीले विषादियुक्त रसायन खुवाएर हत्या गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धानबाट खुलेको थियो ।
२०७६ साउनमा पनि कैदी पवनकुमार महतोले भुइँमा बिछ्याएको ब्लकले हान्दा अर्का कैदी पूर्णबहादुर राजीको मृत्यु भएको थियो ।
२०७१ सालतिर गुण्डा नाइके अभिषेक गिरीको समूहले जेल प्रशासनले सुविधा नदिएको भन्दै भित्रबाट चाबी लगाएर कारागार नै नियन्त्रणमा लिएका थिए ।
चौकीदार र उनका सहयोगीले कैदीबन्दीमाथि ज्यादती गरेको घटना त यहाँ कति भएको छ कति ? यद्यपि पछिल्ला दिनमा भने यस्ता घटना कम भएको छ ।

बालेन बन्लान् प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ?

मीनबहादुर गुरुङलाई महंगो परेको एउटा दान

डोजर चलाएर परिवार पाल्थे, गंगा दाहालको घरमा ज्यान गुमाए

आशा जगाउने मन्त्रीहरु

फेरि फर्किन सक्छ कागजकै लाइसेन्स
