गगन थापामा देखिएको छटपटी
नेपाली राजनीतिमा गगन थापाको उदय शान्तसँग भएको होइन । उनी एक प्रखर विद्यार्थी नेताका रुपमा उदाए ।
जतिबेला देशमा राजाको सक्रिय शासन थियो । उनको दल नेपाली कांग्रेसले समेत संवैधानिक राजतन्त्रलाई मानेको थियो । गगनले सडकबाट राजतन्त्रलाई चुनौती दिए, गणतन्त्रको नारा लगाए । त्यसबापत देशद्रोहको मुद्दा समेत खेपे । तर जोशिला भाषणहरुमार्फत भीडमा जोश भर्न कहिल्यै छाडेनन् ।
सिंगो देश गणतन्त्रको बाटोमा हिँड्न थालेपछि गगन लोकप्रिय भए । युवा, निडर र लोकप्रियता तीन चिजको संयोजन थियो गगनमा ।
गगन २०६४ सालको संविधानसभा चुनावबाट संविधानसभा सदस्य बने । त्यो त्यस्तो बेला थियो, जतिबेला कांग्रेस नराम्रोसँग पराजित भएको थियो । कांग्रेसका एकसेएक नेताहरु संविधानसभा बाहिर थिए ।
भर्खर संसद प्रवेश गरेका गगन ६०१ जनाको भीडमा हराएनन् । परैबाट देखिने, सुनिने बन्न थाले । सरकार चलाउनेहरुमा पारदर्शिता–जवाफदेहीता खोजे, नीतिगत मुद्दाहरुमा बहस गरे, अनि दलहरुमा रुपान्तरणको आवाज उठाउन थाले ।
२०७० सालमा दोस्रो संविधान सभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष चुनाव जितेर आए । संविधानसभाले २०७२ सालमा नयाँ संविधान बनायो । २०७३ सालमा प्रचण्ड सरकारमा झण्डै ९ महिना स्वास्थ्य तथा जनसंख्यामन्त्री भए ।
मन्त्रीका रुपमा ९ महिना छोटै अवधि हो, तर गगन आफ्नो छाप छाड्न सफल भए । खासगरी स्वास्थ्य क्षेत्रमा थुप्रै नीतिगत सुधारका काम गरे । शासकीय क्षमतालाई लिएर पनि उनले आफ्नो समर्थक बढाए ।
यस्तो समय पनि आयो, नेपाली राजनीतिमा गगन निर्विकल्प हुन् । उनलाई कांग्रेसको भावी सभापति र देशकै भावी प्रधानमन्त्रीका रुपमा हेर्न थालियो ।
तर अनुकलता सधैं रहन्न । अझ राजनीतिमा अनुकलताभन्दा प्रतिकुलता धेरै हुन्छ भनिन्छ । तर आज गगन अठ्यारो परिस्थितिमा छन् । उनी न त ब्याकबेञ्चर हुन्, न शीर्ष निर्णयकर्ता । अनि, उनी हिजो जस्तो निर्विकल्प पनि छैनन् । त्यसैले होला, गगनमा छटपटी देखिन्छ । पछिल्ला दुई वटा अभिव्यक्तिलाई हेरौं ।
भदौ २ गते । पार्टी कार्यालय, सानेपामा उनी भन्दै थिए, नेपाली समाजमा असन्तुष्टि छ, त्यो असन्तुष्टिको आगोमा केही मानिस मट्टितेल खन्याइरहेका छन् । दनदनी बालिरहेका छन् ।
भदौ ४ गते । काठमाडौंकै एउटा सार्वजनिक कार्यक्रममा भन्दै थिए, मसँग संख्या छ भनेर जे पनि गर्न पाइँदैन । संख्याका आधारमा गरिने निर्णय वैधानिक हुन्छ । तर आम पंक्तिले स्वीकार गर्यो भने मात्र बैध हुन्छ ।
यसले पनि गगनको छटपटी देखाउँछ । निकटवर्तीहरु पनि महामन्त्री थापामा मिड करियर क्राइसिस देखिएको स्वीकार गर्छन् ।
कतिपयको बुझाइमा गगनमा डरको सुरुवात २०७९ को चुनावमा रवि लामिछानेहरुको उदयसँगै भएको थियो । तर २०७९ वैशाखमा भएको तनहुँको उपचुनाव टर्निङ प्वाइन्ट मान्न सकिन्छ ।
त्यो चुनावमा डा. स्वर्णिम वाग्ले कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका थिए । वाग्ले तीनै हुन्, जसलाई कतिपयले गगनको अर्थमन्त्री समेत भन्न थालेका थिए । २०७९ कै चुनावमा वाग्लेलाई कांग्रेसबाट उम्मेदवार बनाउन गगनले निकै जोडबल गरेका थिए । तर सफल भएनन् ।
तनहुँ १ मा उपचुनाव हुने भएपछि वाग्लेले रास्वपा रोजे । त्यो गगनका लागि भारी पर्न गयो । उपचुनावमा एमाले लगायतका दलको पनि उम्मेदवार त थियो, तर प्रतिस्पर्धा कांग्रेस र रास्वपाको जस्तो हुन पुग्यो । महामन्त्री भएकाले गगन आफ्नो दलको उम्मेदवारलाई भोट माग्न चुनावी सभाहरुमा गए ।
त्यसक्रममा उनले स्वर्णिमविरुद्ध चर्को भाषण गरे । गगनलाई माया गर्नेहरु, स्वर्णिम जत्तिको उम्मेदवारलाई निम्छरो भएर किन गाली गरेको भनेर रिसाए । आलोचकहरुले यो पनि यस्तै रहेछ भन्न थाले । ‘देवरबाबु’को विम्ब प्रयोग गर्न थाले ।
खासमा कांग्रेसभित्र गगन थापा लडेको यही प्रवृत्तिविरुद्ध हो । उनले यही प्रवृत्तिविरुद्ध आवाज उठाए । त्यसबापत थुप्रै पटक क्षति पनि व्यहोरेका छन् । तर आज उनलाई त्यही ट्याग लाग्यो, खासगरी रास्वपा कार्यकर्ताले यसरी आक्रमण गरे ।
२०८० फागुनमा सहकारी प्रकरणसम्म आइपुग्दा त राजनीति रवि भर्सेस गगन जस्तो हुन पुग्यो । प्रचण्ड सरकारमा रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भएपछि कांग्रेसले सहकारीको मुद्दा उठायो । त्यसको फ्रन्ट फेस गगन थापा भए ।
रविमाथि छानबिन हुनुपर्छ भनेर माग गर्ने क्रममा गगनले यसो नभएको भए पनि हुन्थ्यो भन्ने ठाउँ छ । तर जे विषय उठाए, त्यसमा उनी पूर्णत गलत देखिएका छैनन् । किनकी उच्चस्तरीय संसदीय छानबिन समितिले मात्र होइन, एकपछि अर्को अदालतले समेत रविलाई सहकारी प्रकरणमा निर्दोष मानेको छैन ।
पुर्पक्षका लागि थुनामा राख्ने उच्च अदालतको आदेशविरुद्ध रविले दिएको निवेदन हेरेको सर्वोच्च अदालतले समेत रवि निर्दोष मान्न नसकिने भनेर धरौटीमा छाड्न मानेन । यसले पनि गगनले उठाएका मुद्दा गलत होइन भन्ने देखाउँछ ।
तर सहकारीको मुद्दामा सिंगो कांग्रेस एकढिक्का भएर उनको पक्षमा उभिएन । रास्वपाका नेताहरु भने रवि लामिछानेको उदयका कारण गगनको राजनीति संकटमा परेको र त्यसकै प्रतिशोध राखेको भाष्य बनाउन सफल भए ।
यसले गगनलाई ठूलो क्षति भएको देखिन्छ । समाजको एउटा ठूलो तप्का उनीसँग बेखुस देखिन्छ । यो गगनले पनि बुझेका छन् । भदौ २ को अभिव्यक्ति त्यसैको संकेत हो ।
उनलाई यो पनि थाहा छ, कि नागरिकमा रहेको असन्तुष्टि सम्बोधन गर्ने जिम्मेवारी आफ्नो हो ।
२०८१ असारमा कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि उनले दुई दलीय संयन्त्रमा बसेर काम गर्न खोजेका पनि थिए । नेताहरुका अनुसार उनी नीति निर्माण र डेलिभरीमा काम गर्ने योजनाका साथ संयन्त्रमा गएका थिए ।
ऐन कानुन संशोधनमा केही काम पनि भयो । तर सरकार र पार्टीको नेतृत्वमा रहेकाहरुले त्यसलाई निरन्तरता दिन सकेनन् वा चाहेनन् । बरु एकपछि अर्को अलोकप्रिय निर्णय गर्न थाले ।
हिजो नेपाल विद्युत प्राधिकरणका कुलमान घिसिङ हटाउने निर्णय होस् वा अहिले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी होस् । दुबैमा उनको असहमति छ । यसले नागरिकको आक्रोश बढ्छ भन्ने उनलाई थाहा छ, तर रोक्न सक्दैनन् । किनकी उनी कांग्रेसका महामन्त्री त हुन्, निर्णायक छैनन् ।
त्यसैले होला, सुरुवाीत दिनमा सरकारलाई सघाउने संयन्त्रमा सक्रियतापूर्वक काम गरेका उनी गत फागुनयता त्यस्ता बैठकहरुमा जान छोडेका छन् । बरु, पार्टीको कार्यक्रमहरुमा समय दिन थालेका छन् । आसन्न महाधिवेशनमा कांग्रेस सभापतिमा उम्मेदवारी दिने योजनामा काम गरिरहेका छन् ।
पार्टीको नेतृत्वमा नपुगेसम्म आफूले चाहेको जस्तो रुपान्तरण सम्भव रहेनछ भन्ने लागेको हुनुपर्छ । उनी सभापति बन्न पनि सक्छन्, किनकी शेरबहादुर देउवा फेरि उम्मेदवार हुने छैनन् । अरु आकांक्षीमध्ये उनी बलियो दावेदार हुन् ।
तर २०८३ मंसिर अगाडि कांग्रेसको महाधिवेशन हुने छाँट छैन । त्यस बेलासम्म सरकार र पार्टी नेतृत्वले गर्ने काम कारबाहीले जनमत धेरै भड्किने त होइन भन्ने चिन्ता उनमा छ ।
त्यसैले उनले सार्वजनिक मञ्चहरुबाटै सरकार र पार्टी नेतृत्वलाई खबरदारी पनि गर्न थालेका छन् । बिहीबार संसदमा करिव २० मिनेट बोल्दा समेत उनले विपक्षीको प्रतिवाद मात्र गरेनन्, सरकारको गति र मतिमाथि प्रश्न उठाए, खबरदारी गरे ।
यो गगन थापाको मिड करियर क्राइसिस हो । लोकप्रियताको होइन, निर्णायक तहको जिम्मेवारीको हो । विचारको होइन, राजनीतिक प्रभावको हो । उनी यसलाई पार लगाउन सफल होलान् ?

बालेन बन्लान् प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ?

मीनबहादुर गुरुङलाई महंगो परेको एउटा दान

डोजर चलाएर परिवार पाल्थे, गंगा दाहालको घरमा ज्यान गुमाए

आशा जगाउने मन्त्रीहरु

फेरि फर्किन सक्छ कागजकै लाइसेन्स
