डोजर चलाएर परिवार पाल्थे, गंगा दाहालको घरमा ज्यान गुमाए
जेनजी उमेरका २६ वर्षका सरोज खत्री, जो डोजर चलाएर आफ्ना भाइबहिनीको पढाइ खर्च जुटाउँथे, बाबुआमालाई घर खर्च दिन्थे ।
भदौ २३ गते पनि दिनभरि काम गरेर साँझ घर फर्किएका थिए । त्यसै दिन सुरु भएको जेनजी समूहको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर १९ जनाले ज्यान गुमाएका थिए ।
आफू पनि जेनजी पुस्ताकै, त्यसमाथि आफूभन्दा कम उमेरका भाइबहिनीले समेत ज्यान गुमाएपछि सरोज पनि आन्दोलनमा जाने निश्कर्षमा पुगे । बाबुआमाले रोक्दारोक्दै उनी भदौ २४ गतेको प्रदर्शनमा निस्किए ।
‘अहिले पनि चुप लागे कहिले बोल्ने ? म मात्र होइन हामी सबै प्रदर्शनमा जानुपर्छ’, सरोजको भनाइ उधृत गर्दै उनकी आमा सरिताले भनिन् ।
भदौ २४ गते घरबाट बिहानै निस्किएका उनी फेरि कहिल्यै घर फर्किएनन् । पढ्ने रहर हुँदाहुँदै गरिबीकै कारण ११ कक्षाबाटै पढ्न छाडेका उनी आफ्नो एक भाइ र एक बहिनीलाई धेरै पढाउन चाहन्थे ।
रोगी आमा, बुबा र सिंगो परिवारको आश उनीमाथि नै थियो । भदौ २४ गते दिउँसोसम्म पनि खाना खान नआएपछि आमाले उनलाई फोन गरिन् । फोन सम्पर्क भएन, आमा खोज्दै विभिन्न अस्पताल धाइन् । तर कुनै अस्पतालमा सरोज फेला परेनन् ।
२४ गते राति अबेरसम्म कुनै खबर नआएपछि भदौ २५ गते विहानै फेरि छोरा खोज्न निस्किएकी उनी प्रचण्ड निवास, युलेन्स स्कुललगायत जलिसकेका भवनहरु तिर लागिन् । अन्ततः उनका छोरा प्रचण्ड पुत्री गंगा दाहालको घरभित्रको बाथरुममा जलिसकेको अवस्थामा फेला परे ।
कम्मरमाथिको भाग मात्र चिनिने गरी बाथरुमको एक कुनामा घोप्टो परेको अवस्थामा थियो सरोजको शव ।
उनले बाथरुमको झ्यालबाट गुहार मागिरहेको स्थानीयको भनाइ छ ।
सरोजकी दिदी बिनाका अनुसार सरोजले झ्यालबाट निस्कने प्रयास गर्दै झ्यालको ग्रिल पनि बंगाएका थिए । यदि घरभित्र जेनजीको मात्र समूह हुन्थ्यो भने सरोजले गुहार पाउथे भन्ने उनको भनाइ छ ।
सरोजलाई कसैले रोकेको हुदैनथ्यो भने उनी भागेर छतमा पनि जान सक्थे त्यहाँ भित्र पक्कै जेनजी मात्र थिएनन् भन्ने उनको आशंका छ ।
२५ गते सरोजको शव पोष्टमार्टमका लागि लगियो । आन्दोलन कहिले सम्म चल्ने हो ठेगान थिएन, न्यायका नाममा कहिलेसम्म आफ्नो छोराको शव त्यसै राख्ने ? परिवारले भदौ २६ गते नै सरोजको दाहसंस्कार गर्यो ।
आन्दोलका क्रममा घाइते भएकाहरुलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की अस्पतालमै पुगेकी थिइन् । जेननी अगुवाहरु पनि आफूहरु निरन्तर घाइते र मृतकका परिवारसंग सम्पर्कमा रहेको बताउछन् तर सरोजको घरमा के बितिरहेको छ, त्यसमा सान्तवना दिने समेत कोही छैन ।
सरोज एक प्रतिनिधि पात्र हुन् । भदौ २४ गतेको आन्दोलनमा परेर यसरी जलेर मृत्यु हुनेको संख्या धेरै ठूलो छ ।
जेनजी प्रदर्शनकै क्रममा आफ्नो छोराले ज्यान गुमाएपछि आफूलाई सान्त्वनादिन कोही आइदेओस्, फोन मात्र गरेर भएपनि बुझ्ने प्रयास गरिदियोस् भन्ने परिवारको अपेक्षा छ । अहिले बनेको सरकारमाथि सरोजको परिवारको मात्र होइ सबैजसो मृतक परिवारको यस्तै अपेक्षा छ ।

बालेन बन्लान् प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ?

मीनबहादुर गुरुङलाई महंगो परेको एउटा दान

आशा जगाउने मन्त्रीहरु

फेरि फर्किन सक्छ कागजकै लाइसेन्स
