मीनबहादुर गुरुङलाई महंगो परेको एउटा दान

जेन–जी आन्दोलनको आडमा भएको विध्वंशको मूल निशानामा पर्यो, भाटभटेनी सुपरमार्केट । त्यही भाटभटेनी, जसले ५ हजार नेपालीलाई रोजगारी दिएको थियो, नेपालमा सपिङ कल्चरलाई आधुनिक बनाउँदै थियो ।
एउटा किराना पसलबाट उठेको सुपरमार्केट ब्राण्ड, जेन–जी आन्दोलनको आडमा लुटपाट मच्चाउने र राजनीतिक प्रतिशोध साँध्नेहरुले खरानी बनाइदिए । सत्तासँगको रिस भाटभटेनीमाथि पनि पोखियो ।
०००
खोटाङमा एउटा सामान्य किसान परिवारमा जन्मिएका हुन्, मीनबहादुर गुरुङ । उनी पढ्नका लागि काठमाडौं आएका थिए ।
सुरुमा उनले दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारीको हाजिर विवरण टिप्ने काम गरे । पछि सरकारी स्वामित्वको नेपाल बैंकमा जागिरे भए । नेपाल बैंकको जागिर खाँदाखाँदै अर्थशास्त्रमा मास्टर डिग्री गरे ।
२०४१ सालमा बल्ल उनी व्यवसायमा प्रवेश गरे । काठमाडौंको विशालनगरमा प्रख्यात मन्दिर छ, भाटभटेनी । त्यही मन्दिर नजिकै एउटा किराना पसल खोले ‘भाटभटेनी स्टोर’ ।
३५ हजार रुपैयाँ लगानीमा खोलेको त्यही स्टोरले भाटभटेनीको जग बसाल्यो । यो पसल सुरुमा मीनबहादुरकी श्रीमती सावित्रीले चलाउँथिन् । दिनको २ हजार रुपैयाँसम्मको कारोबार हुन्थ्यो ।
व्यापार बढ्दै गएपछि गुरुङ दम्पतिले भाटभटेनी स्टोर्सलाई विस्तार गर्ने निर्णय गरे । २०४८ मा १२० वर्ग फिटको क्षेत्रफलको पसललाई तीन हजार वर्ग फिट क्षेत्रफलको दुई तले भवनमा सारे ।
त्यतिबेला पसल विस्तार गर्दा २५ लाख रुपैयाँको लगानी गरेका थिए । पसल ठूलो भएपछि दिनमै ५० हजार रुपैयाँको व्यापार हुन थाल्यो । त्यही पसल नै नक्साल भाटभटेनीको रुपमा विकास भयो ।
त्यसपछि पनि नक्साल भाटभेटनीलाई मीनबहादुर गुरुङले धेरै पटक विस्तार गरिसके ।
भाटभटेनीलाई पहिलो पसलबाट दोस्रोमा विस्तार गर्न मीनबहादुरलाई २४ वर्ष लाग्यो । मीनबहादुरले भाटभटेनीको दोस्रो स्टोर महाराजगञ्जमा २०६५ सालमा खोले । त्यसपछि कोटेश्वर, चुच्चेपाटी, पाटन, पोखरा, अनामनगर, बालाजु, कलंकी, त्रिपुरेश्वरमा शाखाहरु खुले ।
अनि उपत्यका बाहिरका धरान, भरतपुर, बुटवल, विराटनगर, भैरहवा, हेटौंडा, धनगढी, वीरगञ्ज, जनकपुर, बिर्तामोड र दमकमा शाखाहरु खुले । यसबीचमा उपत्यकाभित्र सातदोबाटो, साना गाउँ, टोखामा पनि शाखाहरु खुले । मीनबहादुरले यति धेरै स्टोर खोल्न आफैंले सम्पत्ति जोडेका थिएनन्, बैंकबाट ऋण लिँदै शाखा खोल्दै गरे । गत वर्षसम्म भाटभटेनीको ऋण १७ अर्ब रुपैयाँ भन्दा बढी पुगेको थियो ।
अहिले भाटभटेनीका देशभर २७ वटा स्टोर छन् । यी स्टोरहरुमा दैनिक औसतमा एक लाख मानिसले सामान किनमेल गर्छन् ।
भाटभटेनीले सन् २०२४ मा ३० अर्ब ६२ करोड रुपैयाँको कारोबार गरेको थियो । एक वर्षअघि सन् २०२३ को २९ अर्ब ७९ करोड रुपैयाँको कारोबार गरेको थियो ।
सन् २०२४ मा कम्पनीको नाफा १३.८ प्रतिशत पुगेको थियो ।
००००
भाटभटेनीले नेपालमा सुपर मार्केटहरु मात्रै विस्तार गरेन, नेपालीको सपिङ कल्चर र एक्सिपिरियन्स बदल्न पनि सहयोग गर्यो । दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, इलेक्ट्रोनिक्स र घरायसी प्रयोजनका सबै सामान एकै ठाउँमा किन्न पाइने विकल्प दियो ।
अहिले पनि नेपालमा सुपरमार्केट गएर सामान किन्ने प्रचलन धेरै बढेको छैन । तर, शहरहरुमा त्यस्ता धेरै मान्छेहरु छन्, जो सपिङका लागि सुपरस्टोरहरुमै पुग्छन् । भाटभटेनी नै खोज्छन् ।
नेपालमा अन्तर्राष्ट्रिय स्तरको सपिङ अनुभव दिने पहिलो ब्राण्ड हो भाटभटेनी । यसले ग्राहकलाई चाहिने सामानहरु पसल–पसल चाहार्दै हिन्नुपर्ने बाध्यता हटाइदिएको छ ।
अहिले पनि भाटभटेनीलाई टक्कर दिने अर्को सुपरस्टोर ब्राण्ड नेपालमा छैन ।
व्यवसायी मीनबहादुर गुरुङले भाटभटेनीका स्टोर चलाउने काम मात्र गरेनन् । पछिल्लो समय उनी फरक फरक व्यवसाय पनि अघि बढाउँदैछन् ।
उनले दरबारमार्गमा पहिले होटल अन्नपूर्ण रहेको ठाउँमा अर्को होटल खोल्दैछन् । जुन, होटलका लागि अहिले भवन निर्माण भइरहेको छ ।
मीनबहादुरले चितवनमा नेपालकै ठूलो कोल्ड स्टोरमा पनि लगानी गरेका छन् । व्यवसायी उमेश श्रेष्ठसँगको सहकार्यमा उनले चितवनमा खोल्ने कोल्ड स्टोरले अन्तर्राष्ट्रिय स्तरको सेवा दिने लक्ष्य राखेको छ ।
उनले जलविद्युत र बैंकिङ क्षेत्रसम्म लगानी गरेका छन् । उनले भाटभेटीमा बेचिने कपडाससहित कतिपय उपभोग्य सामग्रीको उद्योग समेत आफैं चलाइरहेका छन् ।
०००
मीनबहादुर गुरुङले भाटभटेनीमार्फत व्यवसायमा ठूलो सफलता हात पारेकै हुन् । उनको परिश्रम, मिहिनेत अनि सफलताको कथा धेरै नेपालीका लागि प्रेरणाको स्रोत बन्नसक्छ ।
उनले भाटभटेनीबाट कमाएको धेरै पैसा समाजसेवा र दानमा पनि लगाएका छन् । नेपाली समाजमा उनी जति व्यवसायमा परिचित छन्, दान दातव्यमा पनि उत्तिकै कहलिएका छन् ।
मीनबहादुर गुरुङले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १४ वर्षअघि आकस्मिक कक्षको भवन बनाइदिएका थिए । यस वर्ष फेरि अर्को भवन बनाएर हस्तान्तरण गरेका छन् ।
डा. भगवान कोइरालाको पहलमा काठमाडौंको हेपाली हाइटमा बनिरहेको बाल अस्पतालका लागि मात्रै गुरुङले ४१ करोड सहयोग गरिसकेका छन् । उनले सो अस्पताल निर्माणमा कुनै आर्थिक स्रोत अभाव हुन नदिने भन्दै अझै दान गर्ने वचन दिएका छन् ।
यस्ता बाल अस्पताल सात वटै प्रदेशमा बनाउने योजनामा पनि गुरुङले सहयोग गर्ने बताउँदै आएका छन् ।
गुरुङले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढ्ने ग्रामीण भेगका विद्यार्थीलाई पनि सहयोग गर्दै आएका छन् । उनले दिएको छात्रवृत्तिमा रोल्पा, खोटाङ, मुगु, डोल्पा, बैतडी, दार्चुला, संखुवासभा, ताप्लेजुङ, पाँचथर र कालीकोटका विद्यार्थीहरु डाक्टर बनिसकेका छन् ।
यस्तै गुरुङले प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई राहत कोषमा रकम दिनेदेखि विभिन्न सामाजिक क्षेत्रहरुमा आवश्यक सहयोग रकम उपलब्ध गराउने काम गर्दै आएका पनि हुन् ।
उनले आफ्नो व्यवसायको सामजिक उत्तरदायित्वलाई राम्रोसँग नै निभाउँदै आएका हुन् । सामाजिक कामका लागि सहयोग माग्न जानेहरु गुरुङलाई भेटेपछि रित्तो हात फर्किर्नुपर्दैन ।
०००
उनको यो दानवीर छविले नै हो, उनीसँग सहयोग माग्नेहरु पनि उत्तिकै हुन्थे ।
तर मीनबहादुर गुरुङले गरेको एउटा दानले उनको दानवीर छविलाई नै धक्का लाग्यो । त्यो दान थियो, नेकपा एमालेलाई १० रोपनी १४ आना जग्गामा पार्टी कार्यालय बनाउने घोषणा ।
नेकपा एमालेको बल्खुमा रहेको आफ्नो भवन २०७२ को भूकम्पले क्षतिग्रस्त भएको थियो । यसपछि एमाले पार्टी निकटका प्रतिष्ठान र व्यवसायीको घरमा कार्यालय सार्दै थियो ।
पछिल्लो समय ललितपुरको च्यासलमा तुलसीलाल अमात्य प्रतिष्ठानको भवनमा केन्द्रीय कार्यालय राखेको थियो ।
तर, यहाँ वर्षैसाल बाढीले पार्टी कार्यालय डुबाउँथ्यो । २०८१ असोजको बाढीले त भुइँतलाका सबै कोठाहरु डुवानमा पर्यो । पार्टी कार्यालयमा धेरै क्षति पनि पुर्यायो ।
यही बेला एमालेले नयाँ पार्टी भवन बनाउन गुरुङसँगै सहयोग माग्यो । गुरुङ राजी पनि भए । उनको तर्क थियो, ‘देश बनाउने पार्टीहरुलाई मैले केही सहयोग गर्दा के हुन्छ र !’
गुरुङले गत वर्ष फूलपातिका दिन एमालेलाई एक वर्षभित्र आफ्नै जग्गामा ३ वटा भवन बनाएर दिने घोषणा गरे । यसअनुसार कीर्तिपुरको मैत्री नगरमा जग्गा व्यवसायी कालु गुरुङको १० रोपनी १४ आना जग्गा भाटभटेनीका नाममा पास भयो र त्यसमै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भवन शिलान्यास पनि गरे ।
यसरी व्यवसायीबाट दानमा लिएको जग्गामा व्यवसायीले नै भवन बनाएर दिने कुराले एमाले पंक्तिमा असन्तुष्टि छायो । यसको पार्टीभित्र र बाहिर दुबैतिर बाट विरोध भयो ।
व्यापारीको पैसा लिएर पार्टी कार्यालय बनाउँदा त्यसले स्वार्थको द्वन्द्व हुने र पार्टी कार्यकर्ताले लज्जाबोध गर्नुपर्ने भन्दै विरोध चर्किएको थियो । तर, एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले विरोधको प्रतिवाद गरे । एउटा भारी बोक्ने गुरुङको छोराले गरिखाएको देख्न नसकेको भन्दै गुरुङ र पार्टीको आलोचना नगर्न चेतावनी दिए ।
यस्तो दान नलिन सुझाव दिएका एमाले नेता भीम रावललाई पार्टीबाट निष्कासनमा परे । नेतृ विन्दा पाण्डे र उषकिरण तिम्सेनालाई ६ महिना पार्टी सदस्यबाट निलम्बित भए ।
यस्तो दान लिन रोक्नुपर्ने भन्दै अदालतमा मुद्दा पुगेको थियो । तर, सर्वोच्चले सो रिट नै खारेज गरेपछि एमालेले गुरुङबाट दान लिने बाटो खुलेको थियो ।
मीनबहादुर गुरुङ आफैं पनि त्यो दानको बचाउमा आए । उनले एमालेलाई मात्र होइन, अरु पार्टीहरुलाई पनि भवन बनाउन सहयोग गर्ने घोषणा गरे । विगतमा पनि भवन बनाउँदा पार्टीहरुलाई सहयोग गर्दै आएको खुलाए । मीनबहादुरले आफू एमाले कार्यकर्ता रहेको पनि अन्तर्वार्ताहरुमा खुलाएका थिए ।
यो दान प्रकरणले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई फाइदा भन्दा बेफाइदा बढी भयो । भाटभटेनीमा एमाले नेताहरुको लगानी छ भन्ने भाष्य बन्यो ।
गुरुङलाई विगतदेखि नै राजनीतिक आडमा व्यापारिक साम्राज्य खडा गरेको आरोप लाग्दै आएको थियो । माओवादी नेताहरुको पैसा परिचालन गरेको आरोप उनीमाथि वर्षौंसम्म लागिरह्यो । २०६३ मा माओवादी शान्ति प्रक्रियामा आएको दुई वर्षपछि भाटभटेनीले आक्रामक लगानी विस्तार गरेकाले पनि यस्तो आंशकामा बल पुगेको थियो । तर, गुरुङमाथिको यो आरोप कहिले पनि पुष्टि भएन ।
गुरुङको भाटभटेनी विवादमा आइरहनुको अर्को कारण थियो, कर छली । भाटभटेनीले कर छलेको भन्दै २०६६ सालमै मुद्दा चलेको थियो । त्यसमा १० वर्षपछि २०७६ मा सर्वोच्च अदालतबाटै भाटभटेनी दोषी ठहर भयो ।
करिब एक अर्ब कर तिर्नुपर्ने भएपछि भाटभटेनीले सर्वोच्चको फैसलामा पुनरावेदन गरेको थियो । तर, सो मुद्दा पनि हारेपछि उसले जरिवाना र व्याजसहित करिब १ अर्ब ६० करोड कर तिरेको थियो ।
भाटभटेनीका सञ्चालक विवादमा आएको अर्को प्रकरण थियो, ललिता निवासको जग्गा घोटाला प्रकरण । यो प्रकरणमा त गुरुङ लामो समय हिरासतमा नै बस्नुपर्यो । माओवादी नेतृत्वको तत्कालीन सरकारले उनलाई २ पटक पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
ललिता निवासको १ सय १२ रोपनी जग्गामध्ये आधाभन्दा बढी जग्गा गुरुङ र उनी आसपासका व्यक्तिको नाममा थियो । उनले व्यक्तिगत, संयुक्त, भाटभटेनी सुपरमार्केट आफन्तका नाममा यो जग्गा किनेका थिए । विशेष अदालतले उनलाई भ्रष्टाचारको आरोपमा २ वर्ष कैद र करिब ४० करोड जरिवानाको फैसला गरेको थियो । यो मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ ।
गुरुङको भाटभटेनीले उधारोमा सामान किन्ने र बेचेको लामो समयसम्म उद्योगी र व्यवसायीलाई रकम भुक्तानी नगर्ने गरेको गुनासो पनि सुनिन्छ ।
२०८० माघ महिनामा व्यवसायी प्रेमप्रसाद आचार्यले संसद भवनअघि आत्मदाह गरेपछि गुरुङले यसबारे प्रहरीमा वयान नै दिनुपरेको थियो । म्याद गुज्रेको सामान बेचेको आरोपमा बेलाबेला बजार अनुगमन गर्ने निकायले भाटभटेनीलाई जरिवाना गरेको पनि छ ।
नेपालमा व्यवसाय गर्नेहरु धेरैजना कर छलीजस्ता मुद्दामा जोडिइरहेकै हुन्छन् । ललिता निवासको जग्गा प्रकरणमा गुरुङमाथि एउटा दाग लागेकै थियो, तर एमालेलाई जग्गा दान गरेर त्यसमै भवन पनि बनाइदिने निर्णयले उनीमाथि युवाहरुको आक्रोश बढेको थियो ।
किनकी बारम्बार सत्तामा जाँदा पनि डेलिभरी दिन नसकेको, भ्रष्टाचार बढेको जस्ता कारण देखाएर युवाहरु एमाले र यसको नेतृत्वसँग असन्तुष्ट थिए ।
यति ठूलो व्यापारिक साम्राज्य खडा गर्दा उनीमाथि वक्रदृष्टि लगाउने पनि पक्कै कम थिएनन् । गत चैत १५ मा राजावादी आन्दोलनकै क्रममा पनि भाटभटेनीको कोटेश्वर शाखामा लुटपाट र तोडफोड भएको थियो । त्यतिबेला त केही निजी सुरक्षा गार्डहरुले प्रतिरोध गर्दा लुटपाट गर्नेहरु भाग्ने अवस्था भयो ।
पछिल्लो पटक सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरुमाथि प्रतिबन्ध लगाएपछि जेन–जी आन्दोलन सुरु भयो । यसको मुख्य मुद्दा भ्रष्टाचार नियन्त्रण र सुशासन थियो ।
भदौ २३ गते सरकारले चरम दमन गरेपछि आन्दोलनकारीले संसद भवन, सर्वोच्च अदालतदेखि सिंहदरबारसम्म जलाए । धेरै नेताका घर जलाए ।
आन्दोलन यति विध्वंशात्मक बन्यो राजनीतिसँग साइनो भएका भनिएका व्यवसायीका घरदेखि व्यापारिक भवनहरुसम्म लुटपाट भयो । आगजनी भयो । मीनबहादुर गुरुङको भोटभटेनी पनि निशानामा पर्यो ।
गुरुङले ४१ वर्ष लगाएर बनाएको भाटभटेनीलाई एक दिनमै माटोमा मिलाउने गरी आक्रमण भयो । अहिले टोखा, सातदोबाटो, अनामनगर, साना गाउँ, त्रिपुरेश्वर, पाटन र नेपालगञ्जको स्टोर मात्रै सग्लो छ ।
नक्साल, महाराजगञ्ज, बौद्ध, कोटेश्वर, पोखरा, चितवन, हेटौडा, बिर्तामोड, दमक, बिराटनगर र धरानका स्टोहरु लुटपाटपछि आगजनी गरेर खरानी बनाइएको छ । बालुवाटार वेयरहाउसमा पनि आगजनी गरिएको छ ।
कलंकी, ठिमी, बालाजु, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी, भैरहवाका ९ वटा भाटभटेनीमा तोडफोड र लुटपाट भएको छ ।
भाटभटेनीमा भएको आक्रमण सम्पूर्ण ढंगले आपराधिक छ । गुरुङले गलत गरेका छन् भने उनलाई दण्डित गर्ने कानुनी प्रक्रिया र विधि छन् । यसरी व्यक्तिगत सम्पत्तिमाथि लुटपाट र आगजनीले देशको भलो गर्दैन ।
गुरुङले नेपालमै बसेर नेपालीहरुलाई नै रोजगारी दिइरहेका छन् । कयौं परिवारको रोजीरोटी उनको सुपरमार्केटमा निर्भर छ । कतिपय नेपाली उद्यमीका सामान भाटभटेनीले बिक्री गरिदिएको छ र उनीहरुको व्यवसाय टिकेको छ ।
त्यसैले यस्ता विध्वंशले गुरुङ र गुरुङजस्ता लगानीकर्ताको मनोबल गिराउँछ । हुन त गुरुङले अझै हार मानेका छैनन्, उनले खरानी भएका भाटभटेनीलाई फेरि उठाउने प्रण गरेका छन् । आफ्नो सपनामा आगो लगाउनेहरुलाई फेरि उठेर देखाउने उनको अठोट गरेका छन् ।
उनले आफू विक्षिप्त भएपनि अझै हिम्मत नहारेको र अझै पनि देशभित्रै बसेर काम गरिरहने बताएका छन् ।
यतिबेला नेपाली समाजले बुझ्न जरुरी छ, आफ्नो मिहिनेतले धनी हुनु पाप हैन । हो, व्यवसायीहरु राजनीतिमा जोडिने र राजनीतिज्ञ व्यवसायीहरुसँग मिसिने संस्कृतिप्रति समाजमा वितृष्णा छ । यसलाई शुद्धिकरण गर्न व्यवसायी र राजनीतिकर्मी दुबै सुध्रिन जरुरी छ ।
भविष्यमा यस्तो हुन नदिन सरकारले स्वार्थको द्वन्द्वसम्बन्धी कानुन बनाएरै गुरुङ जस्ता व्यवसायी र दलहरुको सम्बन्धको सीमा तोक्नुपर्छ । नत्र व्यवसायीमाथि राजनीति गरेको आरोप लाग्ने र नेतामाथि व्यवसायी पोसेको आरोप लाग्ने सिलसिला चलिरहन्छ ।
भएका भन्दा नभएका हल्ला बढी चल्दा त्यसले समाजमा पैसा कमाउनु अपराध र भ्रष्टाचार मात्रै हो भन्ने भाष्य बनाउँछ । त्यसले अन्ततः देशभित्र लगानीको वातावरण धमिलिन्छ ।

बालेन बन्लान् प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ?

डोजर चलाएर परिवार पाल्थे, गंगा दाहालको घरमा ज्यान गुमाए

आशा जगाउने मन्त्रीहरु

फेरि फर्किन सक्छ कागजकै लाइसेन्स
