मेरै अगाडि गोली लागेर ढले, उद्दार गरेर लग्यौं तर बचाउन सकेनौं
- किशोरी कार्की
मेरो घर विराटनगर हो । पढाइको सिलसिलामा ५ महिनादेखि काठमाडौंमा छु । अहिले कानुनको विद्यार्थी हुँ ।
जेनजी आन्दोलनबारे मलाइ धेरै ढिला मात्र थाहा भयो । जब सुनेँ, हाम्रै उमेर समूहका साथीहरुको आन्दोलन रहेछ भन्ने लाग्यो र म पनि सहभागी भएँ ।
भदौ २३ गते जेनजी आन्दोलनको क्रममा म संसद भवन बाहिरको एउटा छेउमा थिएँ ।
त्यही बेला म नजिकै रहेको युवकलाई गोली लाग्यो । त्यो गोली संसद भवन भित्रबाट आएको थियो । उसको मुटुनेरै गोली लागेर ढलेपछि सबैले हारगुहार गर्न थाले । एकदम भिडभाड थियो, एम्बुलेन्स पनि थिएन ।
त्यहीँ नजिकै रोकिराखेको एउटा मोटरसाइकल देखेँ, त्यसमा चाबी पनि झुण्डिरहेको थियो । मैले त्यही बाइकमा राखेर घाइतेलाई अस्पताल लैजाने निर्णय लिएँ ।
म बाइक चलाउन तयार भएँ, अर्का एक जनाले घाइतेलाई समातेर बाइकमा चढे । परबाट कोही करायो, मेरो बाइक–मेरो बाइक भनेर । इमर्जेन्सी छ भनेपछि लैजानुस् भन्यो ।
घाइतेलाई बीचमा राखेर नजिकैको सिभिल अस्पताल गयौं, वातावरण पुरै अश्रुग्यासमय थियो । इमर्जेन्सी छ भनेर हर्न बजाउँदै गयौं । छिटो अस्पताल पुग्न सके घाइतेको ज्यान बचाउन सकिन्छ भन्ने लाग्यो ।
मलाइ घाइते भएका ती भाइको अनुहार पनि त्याद छैन । दिउँसोदेखि मैले बाइक चलाएर घाइतेको उद्दार गरेको फोटो र भिडियो सामाजिक सञ्जालमा फैलिइसकेको रहेछ ।
सिभिल हस्पिटलले यहाँ उपचार सम्भव छैन भनेर तत्कालै टिचिङ अस्पतालमा रिफर गर्यो ।
म त्यहाँबाट फर्केर घर आएँ, कपडा धुन बाल्टीमा भिजाएँ, रगतै रगत रहेछ । त्यही बेला खबर आयो, हामीले उद्दार गरेका घाइतेको मृत्यु भएछ ।
त्यसपछि मलाई धेरै डर लाग्यो । घरमा एक्लै बस्न पनि सकिन । मामाघरमा गएँ । त्यो भाइको अनुहार त मलाइ याद थिएन, तर उसैलाई सम्झिरहेँ । फेसबुकमा यहीबारे अनेक पोस्टहरु आइरहेको थियो । त्यतिबेला मलाई एकदमै गाह्रो हुन्थ्यो ।
त्यो भाइ बाँचेको भए म एकदमै खुशी हुने थिएँ ।
भदौ २३ गते संसद भवन भित्रबाट लगातार गोली आइरहेको थियो । मान्छेको ज्यान गइसकेपछि यो आन्दोलनले ठूलो मोड लिन्छ भन्ने लागेको थियो ।
मलाई भोलिपल्ट पनि आन्दोलनमा जान मन लाग्यो । आफूलाई गोली लाग्न सक्छ भन्ने स्वीकार गरेरै म आन्दोलनमा गएकी हुँ । विराटनगरबाट ममीले फोन गरेर जान नदिनु भन्नुभएको थियो । मामाघारमा कोठामा बाहिरबाट ताल्चा लगाइदिनुभएको थियो ।
तर मलाई जसरी पनि जानुपर्छ भन्ने लाग्यो । एक जनाको भए पनि ज्यान बचाउनुपर्छ, बरु आफूलाई लागे लागोस् भन्ने भयो ।
भोलिपल्ट पनि मैले कोटेश्वरबाट केही घाइतेलाई उद्दार गरेर सिभिल अस्पताल पुर्याएँ ।
थप कुराकानी भिडियोमा हेर्नुहोला
प्रदीप अधिकारीको पैसा, पावर र पतनको कथा
ओलीलाई आफैंले अध्यक्ष बनाए, अब हटाउन चाहन्छन्
सरुवाले शिक्षकलाई रुवायो
राजनीतिक भ्रष्टाचारमा अख्तियारको आँखा




-1765982600.jpg)


