नेभिगेशन
राजनीति

मन्त्रीका थरिथरि घोषणा : मन्त्रालयमै सुत्नेदेखि फ्री इन्टरनेटसम्म

अन्तरिम मन्त्रिपरिषदमा सोमबार ४ जना मन्त्री थपिएका छन् । 

नवनियुक्त मन्त्रीहरु अनिलकुमार सिन्हा, महावीर पुन, पूर्वन्यायाधीश अनिलकुमार सिन्हा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, शिक्षामन्त्री महावीर पुन, डा. मदन परियार र जगदिश घिमिरेले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । 

सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मा पाएका छन् । 

महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, डा. मदन परियारले कृषि तथा पशुपन्छी विकास र जगदिश खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

योसँगै सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद ८ सदस्यीय भएको छ । प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद १० देखि ११ सदस्यीय बनाउने बताइसकेकी छन् । 

यसअघि नै कार्की क्याबिनेटमा रामेश्वरप्रसाद खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री र ओमप्रकाश अर्याल गृहमन्त्री बनिसकेका छन् । 

नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गर्दै केही लोकप्रिय कार्यक्रमहरु घोषणा गरेका छन् । 

उद्योगमन्त्रीको घोषणा : स्वदेशी उत्पादन प्रयोग

उद्योग वाणिज्यसहित ३ मन्त्रालय सम्हालेका अनिलकुमार सिन्हाले सरकारी कामकाजमा नेपालमै उत्पादन हुने सामान प्रयोग गर्ने निर्णय गरेका छन् । 

उनका अनुसार यो निर्णय विशेष गरी फर्निचरमा लागू हुन्छ । हाम्रो सार्वजनिक खरिद ऐनले पनि महंगो परे पनि स्वदेशी उत्पादन नै प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । 

मन्त्री सिन्हाका अनुसार यसले स्वदेशी उद्योगहरुलाई धेरै नै सहयोग हुन्छ । 

पदभार ग्रहण गर्ने क्रममा मन्त्री सिन्हाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरु र घाइतेलाई सम्झिँदा भावुक भए । 

‘मैले जुनसुकै काम गर्दा पनि उहाँहरुको अनुहार मेरो अगाडि आउँछ, घाइतेहरुको अनुहार आउँछ, त्यसले मलाई ऊर्जा पनि दिन्छ होला’, उनले भनेका छन् । 

मन्त्री सिन्हाले आफूले युवामा सीप विकासका लागि काम गर्ने बताएका छन् । एक पटक वैदेशिक रोजगारीमा गएको व्यक्ति फेरि त्यही काममा जान नपरोस् भन्ने आफ्नो चाहना रहेको उनले बताए ।

कम्तीमा एक तह माथिको सीप सिकेर जाने वातावरण बनाउने उनको भनाइ छ । 

मन्त्री सिन्हाले जेनजी आन्दोलनमा घाइते भएकाहरुलाई रोजगारी दिलाउन उद्योगी व्यवसायीलाई आग्रह गर्ने बताएका छन् । 

३४ वर्ष कानुन व्यवसाय गरेका सिन्हा २०७३ सालमा सर्वोच्च अदालतको न्यायाधीश बनेका थिए । २०८० कात्तिकमा उनी ६५ वर्षको उमेर हदका कारण सेवा निवृत्त भएका थिए । 

वाणिज्य कानुनका ज्ञाता सिन्हाले न्यायाधीशका रुपमा पनि वाणिज्यसम्बन्धी मुद्दाहरुमै बढी चासो दिएका थिए । 

उनले आगामी प्रतिनिधिसभा चुनावबाट धेरै भन्दा धेरै युवाहरु संसदमा देख्ने चाहना रहेको पनि बताए । 

उद्योग, वाणिज्यको क्षेत्रमा अनावश्यक र झञ्झटिला कार्यविधिहरु हटाउने पनि उनले बताए । त्यस्तै अनलाइन प्रणालीलाई चुस्त बनाउने पनि उनले बताए ।

मन्त्रालयमै सुत्ने शिक्षामन्त्री पुनको घोषणा 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका वैज्ञानिक महावीर पुनले मन्त्रालयका सचिवहरुले तयार पारेको पहिलो निर्णयमा हस्ताक्षर गर्न आनाकानी गरे । 

सचिवहरुले विज्ञान प्रविधिको क्षेत्रमा विज्ञहरुको आगामी दिनमा चाल्नुपर्ने कदमका विषयमा सुझाव दिन एउटा समिति गठन गर्ने प्रस्ताव बनाएका थिए । र त्यसको कार्यादेश के के हुने उल्लेख गरेका थिए । तर मन्त्री पुनले समिति मात्र बनाएर केही नहुने त्यसका लागि बजेट नभए के अर्थ भन्दै हस्ताक्षर गर्न आनाकानी गरे । 

आफू शिक्षा मन्त्रालयका विभिन्न समितिमा यसअघि नै बसिसकेको तर एक दुईवटा बैठक बसेर मात्र टुंग्याउने गरेको भन्दै हचुवामा समिति नबनाउन आग्रह गरे । 

तर सचिवहरुले यसका लागि वार्षिक बजेट व्यवस्था भइसक्यो भनेपछि मन्त्री पुनले हस्ताक्षर गरे । उनले आफूलाई बस्ने क्वार्टर पनि नचाहिने भन्दै मन्त्रालयमै एउटा कोठा बन्दोबस्त गरिदिन आग्रह गरे ।

‘मलाई क्वार्टर चाहिन्न, सचिवजीलाई निर्देशन दिन्छु, यहाँ एउटा कोठा बनाउनुस्, एउटा बेड भए पुग्छ, म आफैं पकाएर खान्छु’, उनले भने । 

उनले आफ्ना निजी सुरक्षाकर्मीलाई पनि पछि पछि नहिड्न आग्रह गरे । मन्त्रालयमा बस्दाखेरि सँगै बसे पनि बाहिर हिँड्दा फलो गर्न नपर्ने उनको भनाइ छ । 

मन्त्री पुनले आफू शिक्षामन्त्री रहँदासम्म राष्ट्रिय आविष्कार केन्द्रमा नजाने बताएका  छन् । गत शुक्रबार नै राजीनामा दिइसकेको उनको भनाइ छ । 

वैज्ञानिक पुनले स्वदेशमै यन्त्र उपकरण बनाउन र नयाँ इनोभेसन गर्न राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गर्दै आएका छन् । आविष्कार केन्द्रले देशभरका स्वास्थ्य संस्थाका धेरै बिग्रेका उपकरणहरु मर्मत गरेको छ । 

पुनले वीरगञ्जको कृषि औजार कारखाना सञ्चालनका लागि बजेट जुटाउन देशभरि आफ्नो आत्मकथाको किताब बिक्री गर्दै आइरहेका थिए । 

मल अभावबारे बुझ्न नसकेका कृषिमन्त्री 

कृषि तथा पशुपन्क्षी विकास मन्त्री मदन परियारले रासायनिक मलको समस्या, दूध किसानको समस्यामा ध्यान दिने बताएका छन् । 

रासायनिक मल आइरहेको समाचारहरु देखेको तर किसानहरुले किन पाएका छैनन् भन्ने विषय नबुझेको बताए । 

‘यसमा अध्ययन गर्न जरुरी छ । आखिर भएको के रहेछ, किन मल समयमा उपलब्ध हुँदैन, के कमी कमजोरी भएको छ, हटाउने प्रयास गर्नुपर्छ’, मन्त्री परियारले भने । 

सरकारको मुख्य जिम्मेवारी फागुन २१ गते चुनाव गराउने नै रहेको भन्दै उनले त्यसबीचमा पनि कृषि  र पशुपन्छी मन्त्रालयको जिम्मा आफूलाई रहेको बताए । 

२ महिनापछि सार्वजनिक स्थलमा फ्रि इन्टरनेट : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले २ महिनाभित्र काठमाडौं उपत्यकाका प्रमुख सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा पुर्‍याउने घोषणा गरेका छन् । 

उनले उपत्यकाका सार्वजनिक स्थलमा २ महिनाभित्र र प्रदेश राजधानीसहित १० वटा ठूला शहरको सार्वजनिक स्थलमा ५ महिनाभित्र इन्टरनेट सेवा पुर्‍याउने निर्णय गरेका हुन् । 

उनले सञ्चार मन्त्रालयकी सचिव राधिका अर्याल र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष सुरेन्द्र भण्डारीसँग सल्लाह गरेर सार्वजनिक स्थलमा निशुल्क इन्टरनेट सुविधा दिने निर्णय गरेको बताएका छन् । 

आफू जेनजी आन्दोलनको बलमा मन्त्री भएकाले जेनजी पुस्ता र अरु नेपालीहरुको पनि जीवन सहज बनाउने निर्णय गरेको मन्त्री खरेलको भनाइ छ । 

काठमाडौंको पशुपतिनाथ, एयरपोर्ट, रत्नपार्क, चिडियाखाना लगायतका प्रमुख सार्वजनिक क्षेत्रमा निःशुल्क इन्टरनेट दिइने उनको भनाइ छ ।

त्यस्तै ७ प्रदेशको राजधानी र वीरगञ्ज, नेपालगञ्ज जस्ता प्रदेश राजधानी बाहेकका ठूला शहरका धेरै मानिसहरु जमघट हुने सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा दिइने उनको भनाइ छ । 

जेनजी आन्दोलनको महत्वपूर्ण माग भनेको भ्रष्ट्राचार नियन्त्रण र सुशासन कायम हुनुपर्छ भन्ने रहेको भन्दै उनले यो सरकारले त्यसका लागि आधारभूत काम गर्ने बताए । 

नेपालको कर्मचारीतन्त्रले राजनीतिक हस्तक्षेप बिना काम गर्न पाएमा धेरै काम  गर्न सक्ने बताए 

उनले आफूले कर्मचारीलाई स्वतन्त्र रुपमा काम गर्न दिने बताए । ‘म सहयोग गर्न आएको हो, शासन गर्न आएको होइन, अह्राउन आएको होइन, तपाईहरुले गरेको कामको गाँठो फुकाउन आएको हुँ’, उनले भने । 

दुई दशक भन्दा बढी समय देखि पत्रकारितामा संलग्न जगदिश खरेल इमेज टेलिभिजनको प्रधान सम्पादक थिए । उनले आफ्नो अन्तर्वार्तामूलक कार्यक्रम हट सिटमा राजनीतिक नेताहरुलाई कडा प्रश्न गर्थे, जसलाई धेरैले रुचाएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति