प्रचण्डको मजाक : अध्यक्ष छाडेँ, संयोजक बनेँ
८ असोज, काठमाडौं । सत्ता नै ढाल्ने गरी आन्दोलन गरेको जेनजी पुस्ताले राजनीतिक दलको नेतृत्वबाट हटाउन चाहेको तीन नेतामध्ये एक हुन्, पुष्पकमल दाहाल प्रचण्ड ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पनि जेनजी आन्दोलन लगत्तै पार्टीको बैठकहरु राखे । अब त केन्द्रीय समिति बैठकबाट आगामी मंसिरमा विशेष महाधिवेशन समेत गर्ने निर्णय गराएका छन् । तर नेतृत्व छाड्ने घोषणा भने गरेका छैनन् ।
शुक्रबार सकिएको माओवादी केन्द्रीय समिति बैठकले वर्तमान केन्द्रीय समिति भंग गर्ने र महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव अनुमोदन गरेको छ ।
प्रचण्ड हालका लागि अध्यक्ष रहेनन्, महाधिवेशन आयोजक समितिको संयोजक बने ।
जेनजी आन्दोलनपछि बसेको पदाधिकारी बैठकमा नै प्रचण्डले केन्द्रीय समिति भंग गर्ने र महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका थिए । त्यो बैठकमा नेताहरु नारायणकाजी श्रेष्ठ र जनार्दन शर्माहरुले फरक मत राखेका थिए ।
प्रचण्डले अध्यक्ष पद छाड्नुपर्ने र आफूलाई कार्यबाहक दिनुपर्ने श्रेष्ठको प्रस्ताव थियो । मंसिरमा महाधिवेशन गरेर फागुनको चुनावमा जाँदा असर पर्ने उनको तर्क थियो । नेतृत्व परिर्वतनको माग राख्दै आएका शर्माले पनि त्यसको समर्थन गरेका थिए ।
तर प्रचण्डको बहुमत भएको कुनै पनि समितिले त्यसलाई श्रेष्ठ र शर्माहरुको फरक मत स्वीकार गरेन ।
केन्द्रीय समितिको बैठकमा सहभागीहरुलाई १० वटा समूहमा विभाजन गरेर छलफल गरिएको थियो । तर १० वटै समूहका नेताहरुले प्रचण्डको प्रस्तावको समर्थन गरेका छन् । उनीहरुको दाबी छ कि ९५ प्रतिशतले केन्द्रीय समिति भंग गर्ने र महाधिवेशन आयोजक समिति बनाउने प्रचण्डको प्रस्तावको समर्थन गरेका छन् ।
बहुसंख्यक केन्द्रीय सदस्यले समर्थन गरेपछि बैठकले पनि त्यही निर्णय गरेको छ । बैठकपछि बाहिरिने क्रममा प्रचण्डले अब आफू अध्यक्ष नरहेको र संयोजक बनेको प्रतिक्रिया दिएका छन् ।
नेता वर्षमान पुनले भने पार्टीहरु लोकतान्त्रिकरण, शुद्धीकरण गर्नुपर्छ भन्ने जेनजीहरुको सन्देशलाई आत्मसाथ गरेको दाबी गरे । उनले अगाडि भने, ‘अब नयाँ पार्टी बनाउँछौं । कमरेड प्रचण्ड अध्यक्षको रुपमा रहनुहुन्न, उहाँले प्रतिस्पर्धा नै गर्नु हुन्न ।’
झण्डै चार दशकदेखि माओवादीको अध्यक्ष रहेका प्रचण्ड तीन पटक प्रधानमन्त्री भइसकेका छन् । पछिल्लो एक दशक प्रचण्डसँगै केपी शर्मा ओली र शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री भएका थिए ।
जेनजी आन्दोलनको सन्देश तीन नेताले नेतृत्व हस्तान्तरण गरुन् भन्ने पनि थियो । तर पदाधिकारी, स्थायी समिति र केन्द्रीय समितिको बैठकमा समेत प्रचण्ड आफैंले चाहिँ विशेष महाधिवेशनमा आफू अध्यक्षको उम्मेदवार नबन्ने घोषणा गरेका छैनन् ।
माओवादी केन्द्रका एक नेता भन्छन्, विशेष महाधिवेशनसम्म पुग्दा प्रचण्डले अध्यक्ष नबन्न पनि सक्नुहुन्छ, तर अहिले नै उहाँले यसबारे प्रष्ट केही बोल्नुभएको छैन ।’
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
बालेनको जवाफ : सरकार आउट अफ कन्ट्रोल छैन
रास्वपामा छैन रविको विकल्प
कांग्रेस नेताले भने : अबदेखि संसदमा प्रधानमन्त्रीलाई खोज्दिन
गृहमन्त्री सुदनको निर्णय : दरबार हत्याकाण्डको पुनः छानबिन



-1781681783.png)
-1781759377.png)

