नेभिगेशन
राजनीति

प्रचण्डको मजाक : अध्यक्ष छाडेँ, संयोजक बनेँ

८ असोज, काठमाडौं । सत्ता नै ढाल्ने गरी आन्दोलन गरेको जेनजी पुस्ताले राजनीतिक दलको नेतृत्वबाट हटाउन चाहेको तीन नेतामध्ये एक हुन्, पुष्पकमल दाहाल प्रचण्ड ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पनि जेनजी आन्दोलन लगत्तै पार्टीको बैठकहरु राखे । अब त केन्द्रीय समिति बैठकबाट आगामी मंसिरमा विशेष महाधिवेशन समेत गर्ने निर्णय गराएका छन् । तर नेतृत्व छाड्ने घोषणा भने गरेका छैनन् ।

शुक्रबार सकिएको माओवादी केन्द्रीय समिति बैठकले वर्तमान केन्द्रीय समिति भंग गर्ने र महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव अनुमोदन गरेको छ । 

प्रचण्ड हालका लागि अध्यक्ष रहेनन्, महाधिवेशन आयोजक समितिको संयोजक बने ।

जेनजी आन्दोलनपछि बसेको पदाधिकारी बैठकमा नै प्रचण्डले केन्द्रीय समिति भंग गर्ने र महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका थिए । त्यो बैठकमा नेताहरु नारायणकाजी श्रेष्ठ र जनार्दन शर्माहरुले फरक मत राखेका थिए ।

प्रचण्डले अध्यक्ष पद छाड्नुपर्ने र आफूलाई कार्यबाहक दिनुपर्ने श्रेष्ठको प्रस्ताव थियो । मंसिरमा महाधिवेशन गरेर फागुनको चुनावमा जाँदा असर पर्ने उनको तर्क थियो । नेतृत्व परिर्वतनको माग राख्दै आएका शर्माले पनि त्यसको समर्थन गरेका थिए ।

तर प्रचण्डको बहुमत भएको कुनै पनि समितिले त्यसलाई श्रेष्ठ र शर्माहरुको फरक मत स्वीकार गरेन ।

केन्द्रीय समितिको बैठकमा सहभागीहरुलाई १० वटा समूहमा विभाजन गरेर छलफल गरिएको थियो । तर १० वटै समूहका नेताहरुले प्रचण्डको प्रस्तावको समर्थन गरेका छन् । उनीहरुको दाबी छ कि ९५ प्रतिशतले केन्द्रीय समिति भंग गर्ने र महाधिवेशन आयोजक समिति बनाउने प्रचण्डको प्रस्तावको समर्थन गरेका छन् ।

बहुसंख्यक केन्द्रीय सदस्यले समर्थन गरेपछि बैठकले पनि त्यही निर्णय गरेको छ । बैठकपछि बाहिरिने क्रममा प्रचण्डले अब आफू अध्यक्ष नरहेको र संयोजक बनेको प्रतिक्रिया दिएका छन् ।

नेता वर्षमान पुनले भने पार्टीहरु लोकतान्त्रिकरण, शुद्धीकरण गर्नुपर्छ भन्ने जेनजीहरुको सन्देशलाई आत्मसाथ गरेको दाबी गरे । उनले अगाडि भने, ‘अब नयाँ पार्टी बनाउँछौं । कमरेड प्रचण्ड अध्यक्षको रुपमा रहनुहुन्न, उहाँले प्रतिस्पर्धा नै गर्नु हुन्न ।’

झण्डै चार दशकदेखि माओवादीको अध्यक्ष रहेका प्रचण्ड तीन पटक प्रधानमन्त्री भइसकेका छन् । पछिल्लो एक दशक प्रचण्डसँगै केपी शर्मा ओली र शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री भएका थिए ।

जेनजी आन्दोलनको सन्देश तीन नेताले नेतृत्व हस्तान्तरण गरुन् भन्ने पनि थियो । तर पदाधिकारी, स्थायी समिति र केन्द्रीय समितिको बैठकमा समेत प्रचण्ड आफैंले चाहिँ विशेष महाधिवेशनमा आफू अध्यक्षको उम्मेदवार नबन्ने घोषणा गरेका छैनन् ।

माओवादी केन्द्रका एक नेता भन्छन्, विशेष महाधिवेशनसम्म पुग्दा प्रचण्डले अध्यक्ष नबन्न पनि सक्नुहुन्छ, तर अहिले नै उहाँले यसबारे प्रष्ट केही बोल्नुभएको छैन ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति