नेभिगेशन
राजनीति

ओलीले देखे सुरक्षा थ्रेेट : देश छोडेर भाग्दिन, सुरक्षा देऊ

११ असोज, काठमाडौं । नेपाली सेनाको सुरक्षाबाट बाहिर आएका केपी शर्मा ओली शनिबार पहिलो पटक सार्वजनिक मञ्चमा देखिए । तर पूर्वप्रधानमन्त्री ओलीमा आफ्नो सुरक्षालाई लिएर डर देखिएको छ । 

भदौ २३ गते जेनजी आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएपछि त्यसको आक्रोशमा भदौ २४ गते काठमाडौंमा ठूलो प्रदर्शन भयो । त्यस क्रममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रधानमन्त्री निवास बालुवाटारमा समेत आगजनी भयो । प्रधानमन्त्री ओली भदौ २४ गते दिउँसो राजीनामा दिएर हेलिकप्टर चढेर सेनाको क्याम्पमा गएर बसे । 

एक सातापछि असोज २ मा सेनाको सुरक्षाबाट बाहिर आएका उनको बालकोटस्थित घरसमेत जलेको छ । अहिले उनी भक्तपुर गुण्डुमा एमालेका स्थानीय नेताको घरमा बसेका छन् । 

गुण्डुमै शनिबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रमबाट सार्वजनिक मञ्चमा देखिएका ओलीले आफ्नो मनमा रहेको असुरक्षा भाव लुकाएनन् । 

अहिले सामाजिक सञ्जालमा केपी ओलीको नयाँ घर भनेर लोकेट गरिएको र हमला गर्र्न उक्साउने खालका गतिविधि देखिएको ओलीले बताए । 

‘केपी ओलीको नयाँ घर भनेर लोकेट गरेर यहाँबाट यति मिनेटमा पैदल पुगिन्छ, यति मिनेटमा गाडीमा पुगिन्छ, सबै हमला गर्न जाऔं, घर देखाइएको छ, सरकार के हेरेर बसेको छ ?’, ओलीले प्रश्न गरे । 

यही बेला सरकारले पूर्वपदाधिकारीहरुले कानुन विपरीत लिइरहेको सुरक्षा लगायतका सुविधा कटौती गर्ने निर्णय गरेको छ । त्यस्तै ओलीलगायत प्रमुख दलका शीर्ष नेताको पासपोर्ट रोक्काको तयारी  भइरहेको समाचारहरु पनि कतिपय सञ्चार माध्यममा आएका छन् । ओलीले यसप्रति आपत्ति जनाए । 

‘सरकार, गाडी फिर्ता गर्छु, पासपोर्ट रोक्छु, मुद्दा चलाउँछु भनेर धाक लगाएर बसेको छ । सरकारका केही कर्तव्य हुन्छन् कि हुन्नन् ? म सोध्न चाहन्छु,’ उनले अगाडि भने, ‘सुविधा चाहिएन, सुरक्षा दिनुपर्छ कि पर्दैन ?’

सामाजिक सञ्जालमा आफ्नो ज्यान मार्ने धम्की आइरहेको भन्दै ओलीले सुरक्षा थ्रेटको चिन्ता  गरे । ‘अहिले एउटा हल्ला चलाइएको छ, केपी ओली केपी ओली भन्ने... मान्छेहरुलाई भन्न लगाइएको छ, मलाई बन्दुक देऊ म हान्दिन्छु, मलाई ड्रोन देऊ ड्रोनबाट हान्दिन्छु, मलाई के देऊ म त्यसबाट केपी ओली मार्दिन्छु यस्ता खालका आवेशहरु ती कुरा सगौरव प्रशारण गरिएको छ’, ओलीले भने । 

उनले शान्तिपूर्ण रुपमा बाँच्न पाउनुपर्ने आफ्नो मौलिक हक रहेको बताए । उनले आफू देश छाडेर नभाग्ने पनि बताएका छन् । 

६ हजारभन्दा बढी कैदीबन्दी जेल फर्किन बाँकी रहेको भन्दै उनले जेलमा जान र कानुनी उपचार खोज्न आग्रह गरे । उनले भने, प्रहरीका हातहतियार गोलीगठ्ठा खोसेर जसले लिनु भएको छ, अहिलेकै अवस्थामा बुझाउन आग्रह गर्न चाहन्छु ।’

ओलीले भदौ २३ गते जेनजी आन्दोलनमा गोली चलाउने आदेश नदिएको र कसरी गोली चल्यो पनि थाहा नभएको बताए । 

बालुवाटारमा आफू आन्दोलनमा क्षति नहोस् भन्ने कामना गरेर बसिरहेको उनले बताए । 

‘गोली चल्यो भनेको सुनेपछि गोली चलाउने तहमा कसरी पुग्यो मैले सोधेको थिएँ, जवाफ पाइन’, ओलीले भने । 

आफूले १४ जनाको ज्यान गइसकेको जानकारी पाउँदा कसरी भयो भनेर सोधेको र कहाँ गोली लागेको छ भनेर पनि जानकारी मागेको बताए । ओलीले भने ‘सुरक्षा फोर्स ले त घुँडामुनि हान्छ, कसरी टाउकोमा हान्छ ?’  

२३ गतेको घटनाका विषयमा आफू छानबिन आयोगको प्रतिवेदन पर्खिरहेको ओलीले बताए । ‘२३ र २४ गतेको घटनाहरुको सन्दर्भमा आयोगको प्रतिवेदन पर्खिन जरुरी छ ।’

एमाले अध्यक्ष ओलीले देशलाई फेरि संंवैधानिक लोकतान्त्रिक मुलधारमा ल्याउने, सुशासन र शान्ति सुव्यवस्था कायम गरिछाड्ने बताए । अहिले जे भएको छ, त्यो समाधान नभएको भन्दै उनले भने, ‘सम्वादका लागि म राजनीतिक दलहरुलाई आग्रह गर्न चाहन्छु ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति