ओली र रमेश लेखकलाई काठमाडौं छाड्न पनि रोक
भदौ २३ र २४ गतेको घटना अनुसन्धानका लागि गठित जाँचबुझ आयोगले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहित ५ जनालाई विदेश भ्रमण रोक लगाउन र अनुमति लिएर मात्र काठमाडौं छाड्न पाउने व्यवस्था गर्न सिफारिस गरेको छ ।
आइतबार बसेको आयोगको बैठकले भदौ २३ र २४ को घटनाहरुको छानबिन तथा जाँचबुझका लागि उनीहरु अनुसन्धानको दायरामा रहेकाले विदेश भ्रमणमा रोक लगाउन आवश्यक कारबाही गर्न सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको छ ।
त्यस्तै छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने भएकाले आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न पनि सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको छ ।
आयोगले विदेश भ्रमणमा रोक लगाउन र अनुमति नलिई उपत्यका बाहिर जान नपाउने व्यवस्था गर्न भनेका अन्य व्यक्तिमा पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालिन प्रमुख जिल्ला अधिकारी छवि रिजाल रहेका छन् ।
भदौ २३ गते जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा १९ जनाको मृत्यु भएको थियो ।
त्यसको आक्रोशमा भोलिपल्ट संसद, सिंहदरबार, सर्वोच्च अदालत, पार्टी कार्यालयहरु, प्रहरी कार्यालयहरु तोडफोड भएको थियो भने झडप, गोली प्रहार र आगजनीबाट गरी कुल ७४ जनाको मृत्यु भइसकेको छ ।
हेर्नुहोस् आयोगको विज्ञप्ति

केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?

-1790087654.png)



