नेभिगेशन
राजनीति

गगन–विश्वको बटमलाइन : कार्यबाहक अस्वीकार्य, अधिवेशनबाटै नयाँ नेतृत्व

२३ असोज, काठमाडौं । केन्द्रीय कार्यसमितिको एजेण्डा तय गर्न नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बिहीबार बैठक बस्यो, तर बैठकमा पार्टी सभापति शेरबहादुर देउवा उपस्थित भएनन् ।

आफैंले बोलाएको बैठकमा देउवा अनुपस्थित हुनुलाई धेरैले कार्यबाहक दिन तयार भएको अर्थ लगाएका छन् । जेनजी बिद्रोहका क्रममा आक्रमणमा परेका देउवा लामो समय अस्पतालमा बसे ।

त्यहाँबाट डिस्चार्ज भएपछि पनि सार्वजनिक भएका छैनन् । बिहीबारको बैठकमा भने आउने अनुमान थियो, तर आएनन् ।

देउवाको अनुपस्थिति यसकारण अर्थपूर्ण छ कि जेनजी विद्रोहपछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व परिर्वतन गर्न कस्सिएका छन् । 

देउवा त्यसका लागि तयार नभए विशेष महाधिवेशन बोलाउन भनेर देशभर हस्ताक्षर अभियान समेत चलाएका छन् । संस्थापन पक्षका नेताहरु भने कार्यबाहक तोक्न लगाएर भएपनि महामन्त्रीद्वयको अभियानमा ब्रेक लगाउन चाहन्छन् ।

त्यस्तो बेला देउवाले आफैंले राखेको मिटिङमा नआएर उपसभापति पूर्णबहादुर खड्कालाई चलाउन दिएका हुन् ।

तर पार्टी कार्यालय सानेपामा बसेको बैठकमा महामन्त्री गगन थापाले आफूहरुको बटमलाइन प्रष्ट पारेका छन् । देउवा मात्र होइन, उनले तोकेको कार्यबाहकलाई पनि स्वीकार गर्न तयार छैनौं ।

बैठकमा महामन्त्री थापाले दुबै महामन्त्रीले केन्द्रीय कार्यसमितिको म्याद थप गर्ने प्रस्ताव नल्याउने प्रष्ट पारे ।

कांग्रेसको वर्तमान कार्यसमितिको चार वर्षे म्याद यही मंसिरमा सकिँदैछ । कांग्रेसको विधानमा विशेष परिस्थितिमा एक वर्षसम्म कार्यकाल थप्न सकिने व्यवस्था छ । विगतमा पनि धेरैजसो समय म्यादथप गरिएको थियो ।

विधानतः प्रस्ताव ल्याउने काम महामन्त्रीद्वयको हो । महामन्त्रीद्वयले आफूहरुले यस्तो प्रस्ताव कुनै हालतमा नल्याउने बताएका छन् । जेनजी विद्रोहको प्रष्ट सन्देश तीन नेता (देउवा, ओली र प्रचण्ड) ले बिदा लिउन् भन्नुभएको भन्दै महामन्त्री थापाले बैठकमा भनेका थिए, ‘जनताले बिदा गरे भन्ने, हामीले चाहिँ एक वर्ष म्याद थप्ने ? यो सडकमा व्यक्त भएको जनमतको घोर अपमान हुन्छ ।’

मंसिरभित्र नियमित महाधिवेशन गर्न सकिने उनले बताए । यसका लागि प्रष्ट योजनासहित आउने थापाले बताए ।

विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाइरहेका महामन्त्रीले नियमित महाधिवेशनको प्रस्ताव ल्याउनु संस्थापन पक्षका नेताहरुका लागि सरप्राइज थियो । 

त्यसैले उनीहरुले नियमित महाधिवेशन गर्ने, तर मंसिरमा सम्भव नहुने तर्क गरे । महामन्त्रीद्धय गगन र विश्वप्रकाश त्यसमा सहमत भएनन् ।

‘नियमित सम्भव हुन्न भने विशेष महाधिवेशन गरौं,’ उनीहरुले भने, ‘एक डेढ वर्षका लागि नेतृत्व छानौं ।’

एक नेताका अनुसार बिहीबारको बैठकमा दुबै महामन्त्री केमा प्रष्ट देखिएका छन् भने अब कांग्रेसमा शेरबहादुर देउवाको नेतृत्व मात्र होइन, उनले तोक्ने कार्यबाहक सभापति समेत स्वीकार्य छैन । अधिवेशनबाटै नयाँ नेतृत्व चुन्नुपर्छ । चाहे त्यो नियमित महाधिवेशन होस् वा विशेष महाधिवेशन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति