नेभिगेशन
राजनीति

जेनजी विद्रोहमा भएको दमनबारे बोले रमेश लेखक

२४ असोज, काठमाडौं । जेनजी विद्रोहका समयमा गृहमन्त्री रहेका रमेश लेखक लामो समय मौन रहे । सार्वजनिक मञ्चहरुमा पनि देखिएनन् । 

तर शुक्रबार कांग्रेसको बैठकमा सहभागी भए । अनि, सञ्चारकर्मीहरुसँग भदौ २३ र २४ गते भएको घटनाका विषय बोले, आफ्नो स्पष्टीकरण दिए । 

अघिल्लो दिन तत्कालीन प्रधानमन्त्री ओली जाँचबुझ आयोगको प्रतिवेदन नमान्ने बताएका थिए । तत्कालीन गृहमन्त्री लेखकले त्यस्तो भाषा बोलेनन् । 

तत्कालीन प्रधानमन्त्री वा गृहमन्त्रीले गोली चलाउन आदेश नदिएको र दिने विषय पनि नभएको बताए । आयोगलाई पनि लोकतान्त्रिक मूल्यमान्यता रहेर काम गर्न आग्रह गरे । आन्दोलनमा घुसपैठ भएको भनेर स्वयंम जेनजीहरु समेत भनेको भन्दै उनले आफूसँग भएको धेरै सूचना सम्बन्धित निकायमा दिने समेत बताए । 

लेखकको भनाइ उनकै शब्दमा 

भदौ २३ र २४ गते अत्यन्त दुखद र पीडादायी घटना भएका छन् । युवा पिढीले जेन जेडले केही महत्वपूर्ण र असल मागहरु राखेर आफ्नो प्रदर्शन गरेको थियो । जसमा भ्रष्टाचार निर्मुल गर्ने, देशमा सुशासन स्थापना गर्ने, पारदर्शीता सुनिश्चित गर्ने र सूचनाको हकलाई निर्वाध कार्यान्वयन गर्ने आदि थिए । यो नयाँ पुस्ताको मात्र सरोकार र माग नभएर सम्पूर्ण जनताकै चाहना, माग, आवश्यकता थियो भन्ने मलाई लाग्छ । 

तर दुर्भाग्यबस उहाँहरुले गर्नु भएको प्रदर्शनमा घुसपैठ भयो र अत्यन्त दुःखदायी र पीडादायी घटनाहरु भएका छन् । सबभन्दा पहला भदौ २३ र २४ गते ज्यान गुमाउनु हुने सम्पूर्ण व्यक्तिहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्न चाहन्छु । शोकसन्तत परिवारमा गहिरो समवेदना व्यक्त गर्न चाहन्छु । र, घटनामा परेर घाइते भएका सबैको शिघ्र स्वास्थ्यलाभको कामना गर्न चाहन्छु । 

यि घटनाहरु अत्यन्त दुःखदायी थिए, पीडादायी थिए । र, म के आग्रह गर्न चाहन्छु भने मैले २३ गतेकै दिनमा तत्कालीन गृहमन्त्रीको पदबाट राजीनामा गरिसकेको थिएँ । त्यसपछि २४ गते पनि दुःखदायी घटनाहरु भए । 

अहिले बलप्रयोग गर्ने विषयमा तत्कालीन प्रधानमन्त्रीजी, गृहमन्त्रीले आदेश गरेको हो भन्ने खालका चर्चा भएका छन्, विषय उठेका छन् । म स्पष्ट रुपले के आग्रह गर्न चाहन्छु भने यी विषयमा प्रधानमन्त्री र गृहमन्त्री जो सुकै भएपनि आदेश गर्ने विषय होइनन् । त्यस्तो खालको बल प्रयोग गर्ने कुनै आदेश गरिएको छैन । प्रधानमन्त्रीजीको तर्फबाट मेरो तर्फबाट भएको छैन । 

घटनाहरु दुःखद भए । धेरै मानिसको ज्यान गयो । सरकारी संरचनाहरु र व्यक्तिगत आवासमा आगजनी भएको छ । धेरै दुःखद घटना भए । मलाई गहिरो पीडा भयो । म अत्यन्त दुखित भएँ । मैले तत्काल मन्त्री पदबाट राजीनामा गरेको सबैमा विदितै छ । 

यसैसन्दर्भमा विकसित घटनाक्रमलाई लिएर कांग्रेसले आफ्ना बैठकहरु गरिराखेको छ । आज पनि पदाधिकारी, पूर्व पदाधिकारी र कार्यसम्पादन समितिका सदस्यहरुका बीचमा आगामी केन्द्रीय समितिको एजेण्डाहरुका बारेमा छलफल भइराखेको छ । म के आग्रह गर्न चाहन्छु भने आज कांग्रेसमा एकताको आवश्यकता छ । कांग्रेसमा मात्र होइन, समग्र मुलुकमा संविधानकोम रक्षा, लोकतान्त्रिक पद्धतिको सुस्थापनाका निम्ति सबै राजनीतिक दलहरुको बीतमा सम्वाद र एकता आवश्यक छ । 

युवा पुस्ताले जे मागहरु उठाउनु भएको छ, त्यसलाई पनि समेटेर सम्वादको माध्यमबाट अगाडि बढाउनुपर्छ । उत्तेजना, आग्रह पूर्वाग्रह, प्रतिशोधबाट माथि उठेर विधिको शासन स्थापना गर्न सबै दल जिम्मेवार हुन जरुरी छ । 

भदौ २३ र २४ गतेको घटनाको विषयमा छानबिन गर्न आयोग बनेको छ । त्यसका सन्दर्भमा पनि प्रश्नहरु उठेका छन् । तर अहिले आग्रह पूर्वाग्रह, प्रतिशोध राखेर काम गर्ने समय होइन ।

सरकार, आयोग र दलहरुले हाम्रा लोकतान्त्रिक मूल्य मान्यताभित्र बसेर मुलुकको संविधान बमोजिम आआफ्ना कामहरु गर्नु पर्दछ । कानुनी शासनभित्र बसेर आफ्ना काम अगाढि बढाऔं, मेरो आग्रह छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति