नेभिगेशन
राजनीति

देउवाको अवकाश : बलपूर्वक तर सहज

जेनजी बिद्रोहका क्रममा भदौ २४ गते आक्रमणमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार पहिलो पटक सार्वजनिक भए । पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका उनले पूर्णबहादुर खड्कालाई कार्यबाहक दिएको घोषणा गरेका छन् ।

पूर्वप्रधानमन्त्री देउवाको यो कदमलाई कांग्रेसजनले सक्रिय राजनीतिबाट अलग भएको मानेका छन् ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार आसन्न महाधिवेशनबाट नयाँ नेतृत्व चयन नगर्दासम्म कांग्रेसको सभापति देउवा नै रहने छन् । उनले चाहे भने बैठकमा आउन पनि सक्छन् ।

तर कांग्रेसको दैनिक काम कारबाहीमा देउवा सभापतिका रुपमा सहभागी हुने छैनन् । दैनिक कार्यकारी काम कार्यबाहक सभापति खड्काले नै गर्ने छन् ।

देउवाको सन्देश

खड्कालाई कार्यबाहक दिएको घोषणा गर्नुअघि देउवाले जेनजी आन्दोलन, पार्टीको महाधिवेशन लगायतका विषयमा आफ्नो धारणा राखेका थिए ।

केन्द्रीय कार्यसमितिको बैठकमा लिखित सम्बोधन गरेका उनले सेप्टेम्बर ८ मा भएको जेनजीहरुको आन्दोलनलाई जायज भनेका छन् । ‘उहाँहरुको मुलुकप्रतिको चासो र चिन्तालाई सम्बोधन गर्नुपर्छ’ भन्दै कार्यसमितिको ध्यानाकर्षण समेत गराएका छन् ।

साथसाथै आन्दोलनका क्रममा भएको तोडफोड, आगजनीका साथै आफू र आफ्नो परिवारमाथि भएको आक्रमणलाई  सुनियोजित र योजनावद्ध भनेका छन् । 

आन्दोलनका क्रममा सेप्टेम्बर ९ देउवा दम्पत्तिमाथि आक्रमण भएको थियो । देउवाको गर्धनमा धारिलो हतियारले काटेको थियो र १२ टाँका लगाउनु परेको थियो । उनीहरुको घर जलेको छ ।

देउवाले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेका छन् । तर निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन् । निष्पक्ष, स्वतन्त्र र भयसहित वातावरणमा चुनाव हुन्छ भन्ने सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

पार्टीको एकतामा जोड दिएका उनले महाधिवेशन समयमै गर्नुपर्ने पनि बताएका छन् । नेताहरुका अनुसुार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले देउवाको वक्तव्यमै मंसिरमा महाधिवेशन गर्ने विषय समेटिएर आओस् भन्ने चाहेका थिए । किनकी विधानअनुसार चार वर्षे कार्यकाल मंसिरसम्म मात्र छ ।

तर विधानमा एक वर्षसम्म म्याद थप गर्न सकिने व्यवस्था छ, र संस्थापन पक्षका नेताहरु चुनावपछि मात्र महाधिवेशन गर्न चाहन्छन् ।

त्यसैले देउवाको वक्तव्यमा विधान बमोजिम महाधिवेशन भनेर मध्यमार्गी भाषा आएको छ ।

फोर्सफुल एक्जिट

सम्बोधनको अन्तिममा उनले उपसभापति खड्कालाई कार्यबाहक दिने निर्णय लिएको बताएका छन् । नेता मीन विश्वकर्माका अनुसार देउवा महाधिवेशनसम्म सभापति पदमा रहेपनि अभिभावकीय भूमिकामा मात्र हुनेछन् । देउवाको सम्बोधनको भाषाले पनि उनी सक्रिय राजनीतिबाट अलग भएको छनक दिएको छ ।

नेपाली राजनीतिमा देउवाको उदय सुदूरपश्चिमबाट जुझारु युवाका रुपमा भएको थियो । अहिलेको भाषामा भन्दा त्यसबेलाका ‘जेनजी’ थिए उनी । वीपी कोइराला, कृष्णप्रसाद भट्टराईहरुले जोडबल गरेर कांग्रेसमा ल्याएका थिए । समयक्रमसँगै उनी नेतृत्वमा आए । पाँच–पाँच पटक प्रधानमन्त्री समेत भए ।

जेनजी विद्रोह अगाडिसम्म उनी छैटौं पटक प्रधामन्त्री हुने र पार्टीको नेतृत्व पनि आफूले चाहेको मान्छेलाई सुम्पिएर सहज रुपमा बिदा लिने अवस्था थियो । पार्टीमा उनको पकड यति बलियो थियो कि कसैले चाहेर पनि उनलाई रोक्न सक्ने अवस्था थिएन ।

तर जेनजी बिद्रोहसँगै उनी सक्रिय राजनीतिबाट फोर्सफुल एक्जिट लिन बाध्य भए । त्यसरी हेर्दा उनका लागि यो पक्कै सुखद होइन ।

तर जेनजी बिद्रोहपछि उनले जुन एक्जिट रोजे, यो सुझबुझपूर्ण कदम चाहिँ हो । किनकी जेनजी आन्दोलनको सन्देश केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डहरुले राजनीतिबाट बिदा लिउनु भन्ने पनि हो ।

एमाले अध्यक्ष ओली कुनै हालतमा नेतृत्व नछाड्ने मुडमा छन् । कतिसम्म भने उनी जेनजी आन्दोलनलाई नै स्वीकार गर्न तयार देखिएका छैनन् । माओवादी अध्यक्ष प्रचण्डले अध्यक्ष त छाडे, तर साना दलहरुसँग एकता गरेर फेरि नेतृत्वमा स्थापित हुने प्रयास कायमै राखेका छन् ।

देउवालाई पनि अहिले नेतृत्व छाड्नुहुन्न, महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्नुस् भन्नेहरु थिए । देउवाले चाहेको भए म म छु, कसले हटाउँछु भन्नसक्थे । केन्द्रीय कार्यसमितिको उनको बहुमत पनि छ । तर देउवाले त्यसो गर्न चाहेनन् । संख्याको तागत त छ, तर नैतिक तागत छैन भन्ने राम्ररी बुझेको देखिन्छ ।

त्यस अर्थमा भन्ने हो भने देउवाको एक्जिट फोर्सफूल त हो, तर त्यसलाई उनले ग्रेसफूल बनाउन प्रयास गरेका छन् । जुन सकारात्मक हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति