नेभिगेशन
राजनीति

एमालेलाई प्रचण्डको आग्रह : बितण्डा मच्चाउनतिर नलागौं, चुनावमा जाऔं

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई फेरि बितण्डातिर नलाग्न आग्रह गरेका छन् ।

अहिलेको सरकारले फागुन २१ गते तोकेको निर्वाचन नमान्नु र संसद पुनर्स्थापना गरौं भन्नु अराजकता र दुर्घटना निम्त्याउने खेल भन्दै प्रचण्डले एमालेलाई त्यसतर्फ नलाग्न आग्रह गरेका हुन् । 

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले भने ‘यो अन्तरिम सरकार मात्र होइन, यो सरकारले घोषणा गरेको फागुन २१ गतेको निर्वाचन अहिलेको यथार्थ हो । यसलाई टेक्न छाडेर अर्को कुनै नारा उठाउन थालियो भने त्यो फेरि देशमा अर्को अराजकता र दुर्घटना निम्त्याउने बाहेक केही हुन सक्दैन, कुनै बितण्डातिर नजाऔं’, प्रचण्डले भने । 

नेकपा एमालेको शुक्रबार सकिएको केन्द्रीय कमिटी बैठकले संसद पुनर्स्थापना नै अहिलेको संकटको समाधान भएको निर्णय गरेको थियो । 

प्रचण्डले विगतमा पटक पटक संसद विघटन गर्नेहरुले अहिले संसद पुनर्स्थापनाको कुरा गर्नु हाँस्यास्पद हुने पनि टिप्पणी गरे । 

उनले अगाडि भने, ‘एमालेका साथीहरुलाई भन्न चाहन्छु, यथार्थ स्वीकारेर निर्वाचन सफल पार्न आउनुस्, सबै मिलेर बृहत सहकार्य गरौं, यो नै संविधान लोकतन्त्र रक्षाको बिकल्प हो, यसलाई भाँड्ने कुचेष्टा नगरौं ।’ 

प्रचण्डले जेनजी पुस्तालाई पनि वार्ता र छलफलका लागि प्रस्ताव गरेका छन् । जेनजी पुस्ताले उठाएको मागको पक्षमा आफू पनि रहेको भन्दै उनले पराइ र मित्र शक्ति चिन्न आग्रह गरे । ‘म अपिल गर्न चाहन्छु राम्रोसँग समीक्षा गरौं, छलफल गरौं । भ्रष्टाचारको अन्त्य र सुशासनको निम्ति आर्थिक समृद्धिका लागि बसेर सल्लाह गरौं, एउटा रोडम्याप बनाऔं’, उनले भने । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिएर कामचलाउ प्रधानमन्त्री भएका बेला गरेको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएको प्रचण्डले बताए । आफूले ओलीले त्यतिबेला पठाएको पत्रसमेत हेरेको भन्दै प्रचण्डले अहिले ओलीले झुट बोलेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति