नेभिगेशन
राजनीति

महाकालीको किनारमा विपिन अन्तिम बिदाइ

कञ्चनपुरको भीमदत्त नगरपालिकाको माल्लिकार्जुन टोलका महानन्द जोशीको घर दुई वर्षदेखि यसै अध्याँरो थियो । झन् लक्ष्मी पूजाकै दिनमा इजरायल–प्यालेस्टाइन युद्धमा मारिएका आफ्ना छोरा विपिनको शव आइपुग्यो । 

देशभर दिपावली भइरहँदा महानन्दको घरको भने दियो नै निभेको थियो । इजरायल–प्यालेस्टाइन युद्धमा हमासले बन्धक बनाएकै अवस्थामा विपिनले ज्यान गुमाउन पुगे । यो कुरा थाहा पाउन पनि परिवारलाई २ वर्ष लाग्यो । 

गाजामा युद्धविराम भएपछि विपिन रिहा हुने आश थियो । तर उनको शव आइपुग्यो । मंगलबार कात्तिक ४ गते बिहान ८ बजेपछि विपिनको शवयात्रा सुरु भयो ।

विपिनको रिहाइका लागि देश विदेश धाएकी उनकी बहिनी पुष्पा मुर्छित थिइन् । आमा पद्माको आखाको आशु रित्तिसकेको थियो । बाबु महानन्द पनि आफूलाई सम्हाल्न सकिरहेका थिएनन् । मलामी जान निस्किएका सबैका आँखा भिजेका थिए । यो हृदयविदारक क्षणमा सबै शोकाकुल थिए । 

विपिनको शब घरबाट महाकाली नदीतर्फ लगियो । बजारका चोक–चोकमा उनको अन्तिम बिदाइका लागि मान्छेहरु जम्मा भएका थिए । 

बजार कटेपछि विपिनको शवलाई शव वाहनमा राखियो । शव बाहनसँगै मलामी जानेको लामो ताँती थियो । महाकाली किनार पुगेपछि विपिनको शब चितामा राख्न बाकसबाट निकालियो । त्यसपछि मलाम गएकाहरुले थाहा पाए, विपिनको शवको त अस्थिपञ्जर मात्रै पो रहेछ ! 

कस्तो बिडम्बना ! परिवारले अन्तिम बिदाइ गर्दा पनि उनको मुख हेर्न पाएन । 

विपिनलाई सशस्त्र प्रहरी बलको एउटा टुकडीले सलामी दियो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले नेपालको राष्ट्रिय झण्डा ओढाए । 

नेपालका लागि इजरायली राजदूत स्मुलिक आरी बास पनि थिए । उनी शब लिएर जाँदा सँगै विपिनको घर पुगेका थिए । इजरायली राजदूतले चिता छेवैमा उभिएर इजरायली राष्ट्रपतिको शोक सन्देश पढेर सुनाए । 

विपिनको शवमा इजरायलको राष्ट्रिय झण्डा पनि ओढाइयो । इजरायली दूतावासका प्रतिनिधिले महाकाली नदीको एउटा ढुंगा टिपे र साथै बोके । यसको अर्थ थियो, महाकालीमा बिलाएका विपिनको सम्झना इजरायलले गरिरहनेछ । 

यसपछि विपिनलाई बाबु महानन्द जोशी र ठूलो बुवाका छोरा किशोर जोशीले दागबत्ती दिए । 

अन्तिम संस्कारको बेलामा विपिनले प्रयोग गरेका सरसामग्री महाकाली किनारमा लगिएको थियो । विपिनका कपडा, डायरीसहित अरु सामग्री महाकाली नदीमा बगाइयो । 

विपिन संगीतका पारखी थिए । आफैं गिटार बजाउँथे । विपिन नै नभएपछि उनले बजाउने गीतार पनि के काम ! त्यो पनि महाकाली नदीमै बिसर्जन गरियो । 

२०८० को असोजको सुरुमा विपिन सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रमका लागि इजरायल पुगेका थिए । एक वर्षका लागि इजरायल पुगेका विपिन त्यहाँ पुगेको १८ दिनमै हमास बिद्रोहीको कब्जामा पुगे । 

२०८० असोज २०मा हमासले इजरालयमा आक्रमण गर्दा १० नेपाली विद्यार्थी मारिए । हमासले बंकरभित्र फालेको एउटा ग्रिनेड टिपेर बाहिर फालेका विपिनलाई हमास विद्रोहीले साथै लिएर गएका थिए । उनी जीवितै रहेको प्रमाणहरु पनि फेला परेको थियो । त्यसैले परिवार उनको सकुशल फिर्तिका लागि निकै मिहिनेत गर्‍यो । आमा र बहिनी इजरायल समेत पुगिन् । 

गाजामा युद्धविराम भएपछि विपिन सकुशल फर्किने आश थियो । तर हमासले विपिनको शब इजरायललाई हस्तान्तरण गर्‍यो । विपिन किन र कसरी मारिए भन्ने अहिलेसम्म खुुलेको छैन ।

इजरायली सुरक्षा अधिकारीहरुले बन्धक बनाएको केही समयमै विपिनको हत्या भएको हुनसक्ने बताएको छ । तर त्यसको पनि स्वतन्त्र पुष्टि भएको छैन ।

हमासले हस्तान्तरण गरेको शव विपिनकै हो भन्ने डीएनए टेष्टबाट पुष्टि भएपछि सोमबार काठमाडौं ल्याइएको थियो । प्रधानमन्त्री सुशीला कार्कीले श्रद्धाञ्जली दिँदै विपिन सबै नेपाली आमाको बहादुर सन्तान भएको बताएकी थिइन् । उनले विपिनको हिम्मत साहसप्रति गर्व रहेको बताएकी थिइन् । 

इजरायली राष्ट्रपतिले पनि शोक सन्देश पठाएका छन्, जसमा विपिनलाई एक बहादुर नेपाली भनेका छन् । विपिनले ठूलो साहस देखाउँदै साथीहरुको ज्यान जोगाएको उल्लेख छ । विपिनको नामले इजरायल र नेपालको सम्बन्धलाई सधैं जोड्ने विश्वास पनि शोक वक्तव्यमा छ । 

हो, विपिनले बहादुरी देखाए, बंकरभित्रका १७ जना साथीको ज्यान पनि जोगाए । तर विपिन इजरायल र हमासको युद्धमा सहभागी व्यक्ति थिएनन् । उनी त केबल २२ वर्षको उमेरमा सुखद भविष्यका लागि इजरायलमा कमाउने र कृषिकर्म सिक्न गएका निर्दोष विद्यार्थी थिए । अकारण विदेशी भूमिका भएको उनको निधनले सारा देशलाई स्तब्ध बनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति