नेभिगेशन
राजनीति

एकीकृत समाजवादीसँग एकताको विपक्षमा उभिए जनार्दन शर्मा

नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादीसँग एकता गर्ने निश्कर्षमा पुगेका बेला नेता जनार्दन शर्मालेले भने यो मान्य नहुने चेतावनी दिएका छन् ।

शनिबार पार्टी एकताबारे अन्तिम निर्णय लिन बसेको सचिवालय बैठकमा उनले माधव नेपालसँग एकता मान्य नहुने धारणा राखेर बैठकबाट बाहिरिएका हुन् ।

पार्टीको महाधिवेशनलाई छल्न, नेतृत्व हस्तान्तरणको मुद्दालाई आझेलमा पार्न संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकताको कुरा गरेको भन्दै उनले यसले पार्टीको हित नगर्ने जिकिर गरे ।

'अहिलेको यो एकताले वर्तमान राजनीतिको समस्यालाई पनि हल गर्दैन । विभिन्न पार्टी फुटाएर टुक्राटुक्रालाई जोडेर यो एकता पनि हुँदैन । मेरो के कुरा थियो भने समग्रतामा कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्नेगरी बृहत अभियान चलाउने, बृहत रुपमा बहस गर्ने, एउटा लामो समय लिएर हामी त्यहाँ पुग्न सक्छौ भन्ने मेरो आफ्नो मान्यता हो', उनले भने ।

शर्माले एकताबाट माओवादी पार्टीले हालसम्म मान्दै आएको विचार माओवाद छाड्न लागेकोमा पनि आपत्ति जनाए ।

'माओ विचार र माओवादलाई छोडेर बहुदलीय जनवादका आधारभूत कुराहरुमा हामी आत्मसमर्पण गर्न सक्दैनौं । यो आत्मसमर्पणमा जान्छ । यो हामीलाई स्वीकार्य छैन', उनले भने ।

नेता शर्माले प्रचण्डले नेतृत्व हस्तान्तरण गर्ने कुरालाई पूरै अस्वीकार गरेको पनि आरोप लगाए । 'जसरी यहाँ फेरि पनि मनोनित गरेर आफ्नो सुरक्षा घेरा बनाउने जो प्रयत्न भएको छ । यो कुराले यो पार्टीलाई अघि बढाउन सक्दैन भन्ने कुरालाई राखेर म यो बैठकबाट निस्केको छु’, उनले भने ।

प्रचण्डको आपत्ति

माओवादीका संयोजक प्रचण्डले भने नेता जनार्दन शर्माले बैठकमा अराजक व्यवहार देखाएको आरोप लगाए । तर अब बस्ने केन्द्रीय समिति बैठकसम्म उनलाई मनाउने पनि बताएका छन् ।

'उहाँले विषय राख्नुभयो, ल बस्नुस् सबैका कुरा सुन्ने भनेको उठेर हिँड्नुभयो । उहाँको शैली नराम्रो हो । कसैलाई मन पर्ने शैली होइन । त्यो अराजकता हो’, प्रचण्डले भने ।

शनिबारको सचिवालय बैठकले वामपन्थीबीच एकता नभए राष्ट्रिय राजनीतिमा समस्या आउने निष्कर्ष निकालेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका नेता अग्निप्रसाद सापकोटाले पार्टी एकताका वैचारिक, राजनीतिक, सैद्धान्तिक कुराहरु टुंगो लागिसकेको बताए ।

पार्टी एकतामा माओवादी केन्द्र, एकीकृत समाजवादी, महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, प्रेमबहादुर सिंह नेतृत्वको पार्टी, राजु कार्की नेतृत्वको पार्टी, सुवास काफ्ले लगायतको पार्टीहरुसँग एकता हुने सापकोटाले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति