नेभिगेशन
राजनीति

नि:शर्त एमाले फर्किने रामकुमारी झाँक्री समूहको घोषणा 

१९ कात्तिक, काठमाडौं । रामकुमारी झाँक्री नेतृत्वको समूहले नेकपा एमाले फर्किने घोषणा गरेको छ । यद्यपि लिने कि नदिने एमालेमा भरपर्ने उनीहरुले बताएका छन् । 

माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि एकीकृत समाजवादी तीन टुक्रा भएको छ । 

अध्यक्ष माधवकुमार नेपाल समूहले माओवादी सहितका ८ दलसँग मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा गर्दैछन् । महासचिव घनश्याम भुसाल नेतृत्वको समूहले एकीकृत समाजवादीलाई पुनर्गठन गर्ने तयारी गरेका छन् । 

स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरुले भने बुधबार पत्रकार सम्मेलन गरेर आफूहरु मुलघर एमाले फर्किन चाहेको बताएका छन् । ‘हामी हाम्रो मुलघर एमालेमा फर्किने अभियानमा छौं’ पूर्व सांसद समेत रहेका नेता श्रेष्ठले भने, एमालेसँग वार्ता सम्वादमा छौं ।’ 

जानेर नजानेर चार वर्ष अगाडि पार्टी विभाजन गरेको भन्दै उनले घर फर्किने वातावरण बनाइदिन आग्रह गरे ।

एमाले फर्किन आफूहरुको कुनै शर्त नरहेको भन्दै श्रेष्ठले अगाडि भने, ‘हामीलाई केही चाहिएको छैन । हाँसेर बोलिदिए सम्मानजनक व्यवहार भए पुग्छ ।’ 

नेता रामकुमारी झाँक्रीले विचार सिद्धान्त मिल्नेहरु एक ठाउँमा आउनुपर्छ भन्ने आफूहरुको मत रहेको बताए । देशभरका साथीहरुलाई गोलबद्ध हुन आग्रह गर्दै उनले भनिन्, ‘नयाँ गन्तव्यका लागि सम्वाद जारी राखेका छौं ।’

श्रेष्ठका अनुसार जिल्ला, गाउँ नगर कमिटीमा भएका नेता कार्यकर्तासँग छलफल गरेर वृहत घर फर्किने अभियान चलाउने बताए । ‘आजै एमाले प्रवेश गर्न त एउटा माला किनेर ल बा लगाइदिनुस् भने त भइहाल्यो,’ उनले भने, ‘हामी राष्ट्रियसभामा कार्यक्रम गरेर घर फर्किने अभियान चलाउन चाहन्छौं ।’  

उनले अगाडि भने, ‘तिमीहरु चाहिँदैनौं भन्यो भने त देखा जाएगा ।’ 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति