ओली क्याम्पमा प्रदीपको मौन विद्रोह, राजेन्द्र बागी
भदौ २३ र २४ को जेनजी विद्रोहपछि आफ्नो राजीनामा माग्नेहरुलाई देखाइदिन केपी शर्मा ओलीले अर्ली महाधिवेशन रोजेका थिए । अर्ली यसकारण भन्दैछु कि दशौं महाधिवेशनबाट चुनिएको कमिटीको कार्यकाल बाँकी थियो । गत भदौ २२ सम्म ओलीको तयारी पनि फागुन–चैतमा मात्र महाधिवेशन गर्ने थियो ।
तर जेनजी विद्रोहपछि नेताहरुले राजीनामा मागे । ओलीले देखाइदिन्छु भनेर महाधिवेशनको निर्णय लिए । त्यसबेलासम्म उनलाई लागेको थियो, पार्टीमा मेरो विरोध गर्नेहरुलाई तह लगाउँछु, फेरि सर्वशक्तिमान अध्यक्ष बनेर देखाइदिन्छु ।
तर यो पटक ओलीले सोचेजस्तो सहज भएन । ओेलीको विकल्प खोज्नुपर्छ भन्ने नेताहरु ईश्वर पोखरेलको समूहमा संगठित भए, अनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन गरे । यो समूहले ओलीलाई चर्को दबाव दियो ।
त्यो भन्दा ठूलो चुनौती चाहिँ ओलीलाई पदाधिकारीका आकांक्षीहरुको व्यवस्थापन थियो । किनकी भदौमा भएको विधान महाधिवेशनबाट पदाधिकारी संख्या १९ बाट घटाएर १५ मा झारिएको थियो । तर आकांक्षी धेरै थिए ।
ओलीले सचिवालयबाट निर्णय गरेर पदाधिकारी बढाउन चाहन्थे । तर पोखरेल समूहले प्रतिवाद गर्यो । त्यसपछि ओलीले आफ्नो बहुमत भएको केन्द्रीय कमिटी बैठक राखे, खिमलाल भट्टराईबाट पदाधिकारी बढाउने प्रस्ताव ल्याउन लगाएर पास गराए ।
२ उपाध्यक्ष र दुई सचिव थपे, केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाए ।
त्यसपछि आफ्नो उम्मेदवार टुंग्याउन बसे ।
ओलीका लागि सबैभन्दा कठिन निर्णय महासचिवको उम्मेदवार कसलाई बनाउने भन्ने थियो । वर्तमान महासचिव शंकर पोखरेल दोहोरिन चाहन्थे, तर पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीको पनि दाबी थियो ।
ओलीले गुरुङलाई उपाध्यक्षमा मनाए, तर ज्ञवाली टसकामस भएनन् । नेताहरुका अनुसार ज्ञवालीले ओलीलाई प्रष्ट भनेका थिए, महासचिवको उम्मेदवार नभए केन्द्रीय सदस्य मात्र बस्छु ।’
यद्यपि ओलीले पोखरेललाई नै महासचिवको उम्मेदवार रोजे । ज्ञवालीलाई उपाध्यक्षमा राखे ।
ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी नै दिएनन् । अन्तिम समयमा भृकुटीमण्डप पुगेर केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिए । ‘शंकर पोखरेल दुई पटक महासचिव बन्नुपर्ने, प्रदीप ज्ञवाली एक पटक पनि बन्न नहुने भन्ने के छ र ?’ एक नेता भन्छन् ।
ज्ञवालीको निर्णयले ओलीलाई ठूलै झड्का दिएको छ ।
ओली प्यानलबाट उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङसँगै रामबहादुर थापा बादल, विष्णु पौडेल र गुरु बरालले उम्मेदवारी दिएका छन् । ओलीले उमहासचिवको उम्मेदवारमा विष्णु रिमाल, रघुवीर महासेठ र भानभक्त ढकाल रोजेका थिए ।
तर, लेखराज भट्ट सचिवमा बस्न मानेनन् । ईश्वर पोखरेल समूहतिर जान सक्ने देखेपछि ओलीले भट्टलाई उपमहासचिव बनाएका छन् । ढकाल सचिवमा झरेका छन् ।
सचिवमा ढकालसँगै छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, यमलाल कँडेल, राजन भट्टराई, हिक्मत कार्की, शेरधन राई र महेश बस्नेत रोजे ।
ओलीले पदाधिकारी नबनाएका केहीले विद्रोह गरे । लालबाबु पण्डित, भीम आचार्य, रघुजी पन्त, अग्नि खरेल, आनन्द पोखरेल, राजेन्द्र गौतमहरु ओली टिमबाट पदाधिकारी लड्न चाहन्थे । ओलीको टिममा नपरेपछि केहीले कित्ता परिर्वतन गरे ।
पोखरेलले आफ्नो प्यानलमा उपाध्यक्ष, उमहासचिव र सचिवमा एकएक सिट खाली राखेका थिए । ओली समूहबाट टिकट नपाएपछि रघुजी पन्त पोखरेल समूहबाट उपाध्यक्षको उम्मेदवार बने । पोखरेल समूहबाट उपाध्यक्षमा पन्तसँगै गोकर्ण विष्ट, परशुराम मेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार छन् ।
महासचिवमा सुरेन्द्र पाण्डे उम्मेदवार बनेका छन् । उपमहासचिवमा आनन्द पोखरेलसँगै योगेश भट्टराई र बैजनाथ चौधरी छन् । आनन्द पोखरेल, ओली समूहबाट उम्मेदवार बन्न नपाएपछि अन्तिम समयमा ईश्वरतिर खुलेका हुन् ।
यस्तै सचिवमा कर्ण थापा, गोकुल बास्कोटा, विनोद ढकाल, इन्द्रलाल सापकोटा, ठाकुर गैरे, पुरुषोतम पौडेल, कृष्णगोपाल श्रेष्ठ र रचना खड्का उम्मेदवार बनेका छन् ।
कृष्णगोपाल श्रेष्ठ तिनै नेता हुन्, जसले एक समय ओलीलाई नेपाली राजनीतिको पेले भन्थे । कसैले ओलीमाथि प्रश्न उठाए, जवाफ फर्काइहाल्थे ।
अहिले श्रेष्ठ, ईश्वर पोखरेलको कित्तामा पुगेका छन् । ओलीको चर्को आलोचक बनेका छन् ।
गोकुल बास्कोटा, कर्ण थापाहरु पनि एक समय ओलीको कोर टिमको सदस्य मानिन्थे । तर पछिल्लो समय उनीहरु टाढिए । थापा त चर्को आलोचनक नै बने ।
लालबाबु पण्डित, भीम आचार्य, अग्नि खरेल, राजेन्द्र गौतमले पनि ओलीको राखेको केन्द्रीय सदस्य पदमा चित्त बुझाएनन् ।
पण्डित र आचार्यले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् प्रचार विभाग प्रमुख गौतमले उपमहासचिवमा र खरेलले सचिवमा उम्मेदवारी दिएका छन् । खरेल, लामो समय ओली निकट रहेर काम गरेका नेता हुन् । तर आफूभन्दा जुनियर र निरन्तर अवसर पाएकाहरुलाई सचिव बनाउँदा आफूलाई छुटाएपछि उनले विद्रोह गरेका हुन् ।
उनीहरु पोखरेलको कित्तामा भने गएका छैन् । स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।
महाधिवेशनमा देशभरबाट आएका २३ सय प्रतिनिधि छन् । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार पुस १ गते मध्यान्ह १२ बजेदेखि मतदान हुनेछ । साँझ ६ बजेसम्म मतदानको समय तोकिएको छ ।
विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको निर्णय छ । तर सहमतिको प्रयास चलिरहेको छ । त्यसैले अझै पनि निर्वाचन तालिका हेरफेर पनि हुनसक्छ ।
तर केपी ओली र ईश्वर पोखरेलको प्यानल, अनि पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म स्वतन्त्र उम्मेदवारी समेत परेकाले एमाले महाधिवेशन थप रोचक बनेको छ ।
खासगरी महासचिव सहितका पदाधिकारीमा को आउँछन् भन्ने अनुमान गर्न कठिन देखिन्छ ।
सरकार र जेनजी आन्दोलनकारीबीच सम्झौता (पूर्णपाठ)
मधेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश
'चुनाव विथोल्न एमाले मधेशलाई रणभूमि बनाउन खोज्दैछ'
रास्वपा छाडेकै दिन सन्तोष परियारले गरे बाबुराम र जनार्दनसँग सहमति



-1765351207.jpg)
