अध्यक्ष जितेर पनि ओरालो यात्रामा ओली
केपी शर्मा ओली तेस्रो पटक एमाले अध्यक्ष निर्वाचित भए । ईश्वर पोखरेलले फराकिलो अन्तरले चुनाव हारे ।
हारेर पनि पोखरेलले राजनीति जितेका छन् । अनि, ह्याट्रिक जितमा पनि ओलीको ओरालो यात्रा रोकिएको छैन । कसरी ?
२००८ सालमा तेह्रथुममा जन्मिएका ओली परिवारसँगै झापा परे । विद्यालय शिक्षा त्यही पूरा गरे । १४ वर्षको उमेरमा नै कम्युनिस्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।
२०२८ सालको झापा आन्दोलनका प्रमुख नेताहरुमध्ये एक भए ।
तर ओली त्यही वर्ष जेल परे । गोलघरमा कठोर जेल जीवन काट्ने थोरै नेताहरुमध्ये एक ओली पनि हुन् । ओली १४ वर्षसम्म जेलमै रहे । २०४४ साल बल्ल जेलमुक्त भए, फेरि तत्कालीन माले, अहिलेको एमालेमा सक्रिय भए ।
२०४६ को जनआन्दोलनबाट मुलुकमा बहुदल आयो । २०४८ मा भएको आम चुनावमा ओलीले झापाबाट चुनाव जिते । ०५१ मा पुनः चुनाव जितेपछि मनमोहन अधिकारीको अल्पमतको सरकारमा ओली गृहमन्त्री भए । तर पार्टीको नेतृत्वमा आउन उनलाई अर्को २० वर्ष लाग्यो । जब नेतृत्वमा पुगे, त्यसपछि नेपाली राजनीति उनकै वरिपरि घुम्न थाल्यो भन्दा फरक पर्दैन ।
००००
२०५६ मा मनमोहन अधिकारीको निधन भएपछि नै ओलीले नेतृत्वमा आउन चाहेका थिए । २०५९ सालमा जनकपुरमा भएको सातौं महाधिवेशननमा पार्टीको लोकतान्त्रिकरण सम्बन्धी अवधारणा अगाडि सारेका पनि थिए । तर माधवकुमार नेपालहरुको बोलबाला चलेका बेला उनले प्रस्ताव सुनुवाइ नै भएन ।
२०६५ मा भएको आठौं महाधिवेशनले पार्टीलाई बहुदलीय सामूहिक नेतृत्वमा लैजाने निर्णय गर्यो ।
ओलीको नीति स्वीकार गर्दा पनि प्रतिनिधिहरुले उनलाई नेता भने बनाउन चाहेनन् । बुटवलमा भएको आठौं महाधिवेशनमा अध्यक्षमा ओली झलनाथ खनालसँग पराजित भए ।
२०७१ साल असार–साउनमा भएको नवौं महाधिवेशनबाट भने ओली पार्टीको नेतृत्वमा पुग्न सफल भए । उपाध्यक्ष, उपमहासचिव र सचिवमा माधव नेपाल समूहका नेताहरुले चुनाव जित्दा अध्यक्षमा भने ओली र महासचिवमा उनकै प्यानलका ईश्वर पोखरेल निर्वाचित भएका थिए ।
त्यो यस्तो बेला थियो, जतिबेला दोस्रो संविधानसभामा संविधान निर्माण प्रक्रिया चलिरहेको थियो । संविधानसभाबाट संविधान बन्यो, तर जारी गर्ने बेलामा भारतले अनावश्यक दबाव दियो । भारतले दूत नै पठाएर मधेश केन्द्रित दलहरुको आन्दोलनलाई देखाएर संविधान जारी नगर्न भन्यो । कांग्रेस, एमाले र माओवादी सबैले भारतीय दबाव अस्वीकार गर्दै संविधान जारी गरे । बदलामा भारतले आर्थिक नाकाबन्दी लगायो ।
त्यो बेला नेपाललाई भारतीय नाकाबन्दीको डटेर सामना गर्ने नेता चाहिएको थियो । ओली प्रधानमन्त्री बने, उनले त्यही गरे । जनताले पनि साथ दिए । नेपाली राजनीतिमा ओलीको लोकप्रियताको ग्राफ निकै चुलियो ।
२०७४ सालको आम चुनावमा एमाले र माओवादी मिलेर बनेको वाम गठबन्धनले बहुमत ल्यायो । ओलीले दुई तिहाईको प्रधानमन्त्री बन्ने अभूतपूर्व अवसर पाए । ओलीले रेल, पानी जहाजको सपना बाँडे ।
२०७६ को अन्तिममा कोरोना महामारी आउनु अगाडिसम्म ओली लोकप्रियताकै चुलीमा थिए । कोभिड–१९ महामारीले विश्व आक्रान्त भयो । त्यो नेपालसम्म आइपुग्यो । तर सत्ताको उन्मादमा रहेका ओलीले महामारीसँग खेलाँची गरे ।
ओली कहिले अमलाको पात त कहिले बेसारपानी खानुपर्छ भन्दै हिँडे । परिणाम, अक्सिजन समेत नपाएर मानिसहरुको मृत्यु भयो । त्यसपछि केपी ओलीको ओरालो यात्रा सुरु भयो ।
२०७७ पुसमा पुग्दा त आफ्नो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को झगडामा संसद नै भंग गरे । तर दुबै पटक ओलीले गरेको संसद भंगलाई अदालतले असंवैधानिक भन्यो । परमादेशबाट ओली पदमुक्त भए ।
२०७८ भदौमा पुग्दा एमाले फुट्यो । माधव कुमार नेपाल, झलनाथ खनालहरुले नयाँ पार्टी बनाए । तर ओलीले एमालेलाई आफ्नो वरिपरि गोलबद्ध गरिरहे । २०७८ को मंसिरमा दशौं महाधिवेशन गराए ।
२०७८ मंसिरमा चितवनमा भएको महाधिवेशनमा ओली आफू त सर्वसम्मत हुन चाहन्थे नै, सिंगो केन्द्रीय कमिटीमा पनि चुनाव गर्ने चाहना थिएन । उनको चाहना आफ्नो लिस्ट महाधिवेशनहलमा घोषणा गर्ने थियो । तर भीम रावल, घनश्याम भुसालहरुले विरोध गरेपछि नेतृत्व छान्न मतदान हुने भयो । तर त्यो औपचारिकतामा सीमित रह्यो ।
किनकी ओलीको आफ्नै लिस्ट थियो । लिस्टमा बस्न नचाहेका भीम रावलले अध्यक्ष र घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिए । लिस्टमा नभएका केहीले पदाधिकारीमा चुनाव लडे । तर कसैले पनि चुनाव जितेनन् ।
अध्यक्षमा ओलीले १८३७ मत पाउँदा रावलले २२३ मत मात्र पाएका थिए । चुनाव हारेका भीम रावल कुनै कमिटीमा बस्न मानेनन्, घनश्याम भुसालले पनि पार्टी छाडे । त्यसपछि एमालेमा ओली निर्विकल्प भए ।
पछिल्लो पटक पूर्व राष्ट्रपति विद्या भण्डारीले एमालेमा फर्किएर विकल्प दिन खोजेकी थिइन् । तर ओलीले उनको सदस्यता नै नविकरण नगर्ने निर्णय गराए । २०८२ भदौ २२ मा विधान सम्मेलन समापन गर्दै गर्दा एमालेमा ओलीलाई चुनौती दिने कोही नेता देखिएका थिएनन् ।
०००
तर भदौ २३ र २४ को जेनजी विद्रोहले राजनीतिक उपलपुथल गरायो । ओलीको प्रधानमन्त्री पद गयो, बालकोटको घर जलेर खरानी भयो । पार्टीमा पनि अध्यक्ष पद छाड्नुपर्ने माग उठ्यो । हिजोसम्म ओलीलाई साथ दिइरहेका ईश्वर पोखरेल उनीसँग चुनाव लड्न तयार भए ।
त्यसपछि ओलीले चुनाव जित्न सहज हुने बाटो खोजे । गत भदौको विधान महाधिवेशनले १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था गरिसकेको थियो । तर ११ औं महाधिवेशनको हलबाट आफूलाई अनुकुल हुने गरी पदाधिकारी संख्या बढाए, आकांक्षीहरुको व्यवस्थापन गरे ।
त्यसका बाबजुद प्रदीप ज्ञवालीले ओलीले दिएको उपाध्यक्ष पदमा उम्मेदवारी नै दिएनन् भने आनन्द पोखरेल, अग्नि खरेलहरुले ईश्वर पोखरेलको प्यानलबाट चुनाव लडे ।
पुस २ गते विहान ९ बजे सुरु भएको मतदान झण्डै २४ घन्टासम्म चल्यो । ३ गते विहान मतदान सकियो । सार्वजनिक मत परिणामअनुसार ओली १ हजार ६६३ मतका साथ फेरि अध्यक्षमा निर्वाचित भएका छन् । दशौं महाधिवेशन र ११ औं महाधिवेशनमा प्रतिनिधि बराबरजस्तै थिए । तर ओलीको भोट करिव २०० घटेको देखिएको छ ।
अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ५६४ मत पाएका छन् ।
महासचिवमा शंकर पोखरेल नै दोहोरिएका छन् । पदाधिकारीमा पनि अधिकांश ओलीकै प्यानलका आएका छन् । उपाध्यक्षमा विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, रामबहादुर थापा बादल र रघुजी पन्त निर्वाचित भएका छन् ।
उपमहासचिवमा खगराज भट्ट र रघुवीर महासेठ र सचिवमा महेश बस्नेत, पद्मा अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मत कार्की, खगराज अधिकारी, राजन भट्टराई, यमलाल कँडेल र भानभक्त ढकाल निर्वाचित भएका छन् । तर पोखरेलको प्यानलबाट उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराई निर्वाचित भएका छन् ।
अब मुख्य प्रश्न, यो चुनावी परिणामको सन्देश के हो त ? ईश्वर पोखरेलले ओलीलाई हराइहाल्छन् भनेर कसैले अनुमान गरेका थिएनन् ।
शायद स्वयं ईश्वर पोखरेल पनि यो भ्रममा थिएनन् । उनको टिमबाट पदाधिकारी लडेकाहरु त प्रष्ट थिए । तर पोरखेलले पाएको मत भने अपेक्षाकृत होइन ।
त्यसका बाबुजद जसरी उनले केपी ओलीसँग चुनाव लड्ने निर्णय गरे र त्यसमा टिके यो नै उनको जित हो ।
एमालेमा कमजोर बन्दै गरेको आन्तरिक लोकतन्त्र जोगाइराख्न उनले चालेको यो कदमका कारण एमालेजनहरुले उनलाई कम्तीमा अरु १० वर्ष सम्झिने छन् ।
ओलीका लागि तत्काल आफ्नो आत्मरक्षाका लागि शक्ति प्राप्त भएको जति खुसी होला, त्यो भन्दा ठूलो झट्का राजनजीतिक जीवन थप ओरालो लाग्दैछ, त्यो अर्को एउटा खुड्किला हो भन्ने सन्देशले दिएको हुनुपर्छ ।
अनि, जस्तो पदाधिकारी टिम बनेको छ, त्यो हेर्दा ओलीलाई पार्टी चलाउन नवौं महाधिवेशनबाट चुनिएको कमिटी जस्तो गाह्रो त हुन्न, तर दशौंको जस्तो सहज पनि नहुन सक्छ ।
छुट्ने भए रवि, बालेन र कुलमानलाई मिलाउलान् ?
ओली क्याम्पमा प्रदीपको मौन विद्रोह, राजेन्द्र बागी
सरकार र जेनजी आन्दोलनकारीबीच सम्झौता (पूर्णपाठ)
मधेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश






-1765982600.jpg)
