तारे होटलमा ओइरिएको लगानी, कति सुरक्षित ?
तारे होटलमाथि तारे होटल । अहिले काठमाडौं, पोखरा र चितवनमा मात्रै हैन, भारतीय सीमा क्षेत्रका शहरहरुमा पनि फाइभस्टार होटलहरु धमाधम खुलिरहेका छन् ।
अहिले त्यस्तो ठूला घराना कमै होलान्, जोसँग आफ्नै होटल छैन । वा भनौं होटल र रिसोर्ट खोल्छु भन्ने प्लान छैन । एनआरएनएसमेत होटलमै लगानी ओइराउँदैछन् ।
वर्षमा १२ लाख विदेशी पर्यटक आइरहेको यो देशमा यति धेरै होटलहरु किन खुल्दैछन् ? अनि होटलको लगानीले कस्तो प्रतिफल दिँदैछ ? नेपालमा हस्पिटालिटीमा किन होटल क्षेत्र ‘ग्ल्यामरस’ बन्दैछ ?
०००
हस्पिटालिटी क्षेत्रको पछिल्लो खबर छ, काठमाडौं दरबारमार्गमा चारतारे होटल ‘मोक्सी काठमाडौं’ ले मंसिर अन्तिम साताबाट सेवा थाल्यो ।
करिब २ अर्ब लगानी रहेको यो होटलबाट अन्तर्राष्ट्रिय हस्पिटालिटी ब्रान्ड मोक्सी नेपाल आएको छ ।
यसै महिना झण्डै २ अर्ब लगानीमा सौराहमा रोयल टुलिप होटल पनि खुलेको छ ।
गत कात्तिक महिनादेखि बुटवलमा ‘हायात प्यालेस’ खुलेको छ । यो करिब साढे ३ अर्ब लगानीको पाँचतारे होटल हो ।
अब केही समयमै गोदावरीमा फरेस्ट रिसोर्टका रुपमा ‘बेस्ट वेस्टर्न प्लस’ होटल खुल्दैछ । काठमाडौंमा ८ वर्षदेखि बनिरहेको पाँचतारे होटल शेराटनको निर्माण सकिने चरणमा छ ।
बनेर सकिन लागेका थुप्रै तारे होटलहरु छन् । ललितपुरको कुपण्डोल हाइटमा चौधरी समूह, एनई समूह र समिट समूहको संयुक्त लगानीमा पाँचतारे समिट होटलसहितको अपार्टमेन्ट बनिरहेको छ । यसमा साढे ७ अर्ब लगानी हुँदैछ ।
काठमाडौंको ठमेलमा ‘फोर प्वाइन्ट्स बाई शेराटन’ होटल खुल्दैछ । होटल वैशाली खरिद गरेर करिब ३ अर्बमा यो होटल तयार हुँदैछ । काठमाडौंको महाराजगञ्जमा ४ अर्ब २ करोड रुपैयाँ लागतमा ‘ले मेरिडियन’ होटल पनि बनिरहेको छ ।
दरबारमार्गमा अन्नपूर्ण होटललाई पुनर्निर्माण गरिँदैछ । मीनबहादुर गुरुङ र उमेश श्रेष्ठ समेत थपिएर यो होटल नयाँ ढंगले चलाउने गरी निर्माणको काम भइरहेको छ । लाजिम्पाटको होटल सांग्रिलालाई पनि पुनर्निर्माण गरेर इन्टरकन्टिनेन्टल काठमाडौं होटल बनाइँदैछ ।
काठमाडौंको रविभवनमा ७ अर्ब रुपैयाँ भन्दा बढी लगानी द ओबराय काठमाडौंको निर्माण सुरु भएको छ । यो अहिले होटल सोल्टी चलाइरहका सिद्धार्थ राणा समूहकै लगानीमा बन्न लागेको हो ।
काठमाडौंको बाँसबारीमा होटल लालचान पनि बन्दैछ । बत्तिसपुतलीमा डेढ अर्ब लगानीमा मन्नत बुटिक होटल पनि खुल्दैछ । चाबहिलमा गोपीकृष्ण हल भत्काएर पाँचतारे होटल नै बनाइँदैछ ।
यी त केही उदाहरण मात्रै हुन्, अहिले देशभर करिब ३० वटा तारे होटलहरु बन्दैछन् । पोखरा, चितवन, भैरहवा, इटहरी, झापा लगायतका क्षेत्रमा बनिरहेका तारे होटलमा अर्बौं लगानी हुँदैछ ।
गत वर्ष ललितपुरको ग्वार्कोमा रोयल टुलिप, सुकेधारामा मक्र्योर, बुढानिलकण्ठमा होलिडे इन र लेमन ट्री लगायतका पाँच तारे होटलहरुले सेवा दिन थालिसकेका छन् ।
अहिले नेपालमा पाँच तारे होटलको संख्या नै ३२ पुगिसक्यो । तारे होटलहरुको कुल संख्या चाहिँ २०० भन्दा बढी छ । गत वर्षमात्रै देशभर ३२ वटा तारे होटल थपिएका थिए ।
अहिले बैंकहरुको होटल क्षेत्रमा कर्जा मात्रै साढे ३ खर्बभन्दा बढी छ । यसबाट होटल क्षेत्रमा नेपालमा कसरी लगानी थपिँदैछ प्रष्ट हुन्छ ।
अहिलेसम्म नेपालको धेरै व्यापारिक तथा औद्योगिक घरानाहरुले होटलमा लगानी गरिसके । नेपालको पुरानो घराना चौधरी ग्रुपदेखि उदाउँदो आईएमई समूहसम्म पर्यटकस्तरका र तारे होटल– रिसोर्टमा लगानी गरिरहेका छन् ।
नाफा त आधारभूत पक्ष भयो, ख्याति र प्रतिष्ठाका लागि होटलमा लगानी गर्ने क्रम बढेको छ । आफ्नो होटललाई राजनीतिक र प्रशासनिक नेतृत्वसम्मको आउजाउ हुने ठाउा बनाउने सपना देख्नेहरु धेरै छन् । यस्ता उठबसले अरु बिजनेसमा पनि सघाउ पुग्ने विश्वास लगानीकर्ताहरुमा देखिन्छ ।
यस्तै कारण अहिले कतिपय गैरआवासीय नेपालीहरु समेत पर्यटकस्तरका होटलमा लगानी बढाइरहेका छन् । आफ्नो फैलिएको पीआर उपयोग गर्नेदेखि पीआर बढाउने माध्यम बनाउनेसम्मको भोकले समेत होटलमा लगानी गर्नेहरु बढेका छन् ।
त्यसैले कतिपय तारे होटलका लविहरु क्याफेजस्ता भइसके । कफी खान समेत तारे होटल पुग्ने नेपाली धेरै भइसकेका छन् । ब्यांक्वेटमै होटल चलाउनेदेखि अर्पाटमेन्टका लागि बनेका भवन समेत होटलमै रुपान्तरण गर्नेसम्मको अवस्थाले नेपालमा होटल खोल्ने ट्रेन्डलाई इंगित गर्छ ।
०००
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालमा १ लाख ४२ हजार भन्दा बढी होटल/रेस्टुरेन्ट छन् । यो भनेको होटल, लज, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याटरिङ/पार्टी प्यालेस सबै गरेर हो । यसमा करिब ५२ लाख कोठा छन् ।
‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ ले नेपालमा होटल क्षेत्रमा ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रुपैयाँ लगानी रहेको देखाएको थियो । करिब १२ सयभन्दा बढी होटलमा सबै विदेशी लगानी छ । यी राम्रै सेवा दिने स्तरका होटलहरु हुन् ।
अहिले नेपालमा पर्यटकस्तरका होटलले मात्रै वर्षमा करिब ४० लाख जनालाई सेवा दिन सक्छन् । यो भनेको विदेशी पर्यटकले खोजेको सेवा दिनसक्ने खालका कोठा र सेवा भएका होटलको क्षमता हो ।
तर, पर्यटक त्यसको एक तिहाइ पनि छैनन् । अब प्रश्न उठ्छ यति धेरै होटलहरु नेपालमा कसरी चलेका छन् ? नेपाल होटल संघ (हान) का अनुसार ठूला लगानीका तारे होटलहरुको वार्षिक औसत ३३ प्रतिशत मात्रै अकुपेन्सी छ । अकुपेन्सी भनेको होटलको कुल कोठामध्ये कति प्रतिशत कोठा ग्राहकले भरिएका छन् भन्ने विवरण हो । यसरी हेर्दा नेपालले होटलको दुई तिहाई क्षमता उपयोग गर्न सकेको छैन ।
यस्तो अनुकपेन्सी बढाउन पर्यटक बढ्नुपर्छ । पर्यटक खासगरी दुई प्रकारका हुन्छन्, एउटा आन्तरिक र बाह्य ।
देशभित्रै घुम्नेहरु आन्तरिक पर्यटक हुन् । नेपालमा पछिल्ला वर्षहरुमा देशभित्रै घुम्ने संस्कृति बढेको छ । यसले पनि होटल रिसोर्टहरुको ब्यापार बढिरहेको छ । विशेषगरी विकेन्ड अर्थात् शुक्रबार र शनिबार प्रमुख पर्यटकीय गन्तब्यका होटलहरुमा आन्तरिक पर्यटकको भीड ठूलो हुन्छ । होटलहरुमा कोठा पाउन मुश्किल हुन्छ ।
यसरी वर्षमा कति नेपाली कति दिन आन्तरिक पर्यटनका लागि निस्किन्छन् भन्ने विवरण सरकारसँग छैन । जनगणनालाई आधार मान्ने हो भने देशका करिब २२ लाख युवा जनशक्ति देश बाहिर छन् । घुमफिरमा ठूलो खर्च गर्ने उमेर समूह नै देशमा नभएपछि त्यसको लाभ पर्यटन उद्योगले धेरै उठाउन सकेको छैन । उनीहरु देशमा आएका बेलाबाहेक पर्यटकीय गतिविधिमा सामेल हुँदैनन् ।
तर, उनीहरुले पठाएको रेमिट्यान्सले कतै न कतै आन्तरिक पर्यटन बढाउन सहयोग पुगेकै छ । यहाँ बुझ्नुपर्ने कुरा के छ भने नेपालको अधिकांश आन्तरिक पर्यटक तारे होटलमा बस्ने आर्थिक क्षमताका छैनन् । त्यसैले ठूला लगानीका होटलहरुको आम्दानीको ठूलो स्रोत आन्तरिक पर्यटक होइनन् र हुन सक्दैनन् ।
अब बाह्य पर्यटकको कुरा गरौं, नेपालमा अहिले पनि विदेशी पर्यटकको संख्या ६ वर्ष अगाडिको अर्थात् सन् २०१९ कै हाराहारीमा छ । यही वर्षको तथ्यांक हेरौं, सन् २०२५ सकिनै लाग्यो, तर अहिलेसम्म साढे ११ लाख मात्रै विदेशी पर्यटक नेपाल आएका छन् ।
१२ लाख पर्यटकले कसरी धानिन्छ त यति धेरै तारे होटलको व्यवसाय ? यो चाहिँ साँच्चिकै अच्चम्म लाग्दो नै छ ।
सरकारी तथ्यांकअनुसार वर्षमा होटल/रेस्टुरेन्टले नेपालको अर्थतन्त्रमा १ खर्ब ९ अर्ब २७ करोड रुपैयाँ बराबर योगदान गर्छन् । यो भनेको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा १.९६ प्रतिशत योगदान हो ।
राष्ट्र बैंकको तथ्यांकलाई हेर्ने हो भने नेपाल आउने विदेशी पर्यटकले एक वर्षमा गर्ने खर्च ८८ अर्ब मात्रै हो । यसबाट के देखिन्छ भने नेपालको पर्यटन उद्योग त्यति ठूलो भइसकेको छैन । पर्यटकले गर्ने सबै खर्च होटलमा मात्रै पनि हैन । त्यसैले होटल उद्योगमा अहिले भइरहेको लगानी पर्यटक आगमनको तुलनामा ओभर सप्लाइ नै हो ।
अहिले पर्यटन क्षेत्रमा राम्रो वृद्धि छैन । झन् जेनजी आन्दोलनपछि विभिन्न देशले नेपालको नाममा ट्राभल एड्भाइजरी जारी गरेका छन् । आन्दोलनको आडमा देशमा भएको आगजनी र लुटपाटको घटनाले अन्तर्राष्ट्रिय रुपमा गलत सन्देश दिएको छ । ५ हजारभन्दा बढी कैदी बन्दी जेल बाहिरै हुँदा सुरक्षाको सवाल छ ।
हिल्टन, हायात लगायतका होटलमा भएको आगजनीले समेत राम्रो पर्यटन क्षेत्रमा नराम्रो सन्देश गएको छ । यस्तै कारणले पर्यटक आगमन खस्किएको छ ।
फेरि नेपालको पर्यटन आगमनको वृद्धिदर नै हेर्ने हो भने पनि औसतमै पनि उत्साहजनक छैन । सामान्य अवस्थामा पनि नेपालको पर्यटक आगमन उति उत्साहजनक छैन ।
०००
त्यसैले पनि होटलमा भइरहेको यति ठूलो लगानी कतै जोखिममा त छैन भन्ने प्रश्न नाजायज हैन । काठमाडौंभित्रै खर्चालु पर्यटक लक्षित होटलहरुको संख्या नै डेढ दर्जन नाघिसक्यो । प्रसिद्ध अन्तर्राष्ट्रिय ब्रान्डको साझेदारीमा नै होटलहरु खुलिरहेका छन् ।
व्यवस्थापन विदेशी ब्रान्डलाई दिने क्रम बढेको छ । अहिले नेपालमा मेरियट, अलफ्ट, हायात, ताज, र्याडिसन, हिल्टन, शेराटन, थानी इन्टरनेसनल अक्योर, इन्टरकन्टिनेन्टल होटल, दुसित इन्टरनेसनल, सिन्तामणि, रोयल टुलिप, मोक्सी, आइटीसी लगायत ३ दर्जन अन्तर्राष्ट्रिय चेन ब्राण्डहरु आइसकेका छन् ।
अन्तर्राष्ट्रिय ब्राण्ड आइरहेपनि पर्यटक आगमन त्यसअनुसार बढेको छैन । अहिले नेपाली होटलहरुको अवस्था के छ भनेर हामीले होटल एशोसिएशन नेपालका अध्यक्ष विनायक शाहलाई सोधेका थियौं । शाह भन्छन्, ‘धेरै होटलका धेरैजसो रुम खाली हुन्छन् । होटलको क्षमता धेरै छ, आगन्तुक थोरै छन् ।’
होटलहरुका लागि मात्रै हैन, यसमा लगानी गरेका बैंक तथा वित्तीय संस्थाका लागि यो निकै चिन्ताजनक विषय हो । क्षमता अनुसार ग्राहक नपाउने समस्या देशभरकै होटलहरुको हो ।
सबैभन्दा खराब हालत त लुम्बिनीमा छ । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पर्यटक बढ्ने आशामा त्यहाँ तारे होटलहरुमा करिब ८० अर्ब लगानी भयो ।
तर, न विमानस्थल चल्यो, न पर्यटक बढे । अहिले त्यहाँका कति होटलहरु त बन्दा बन्दै अलपत्र परेका छन् । त्यहाँ पनि पर्यटक थोरै छन्, होटल धेरै ।
टलसँग दिन सक्ने कोठा धेरै छ, तर कोठा खोज्दै आउने ग्राहक धेरै कम छ । यसले अस्वस्थ प्रतिस्पर्धा बढ्छ, मूल्य घट्छ र लगानी जोखिममा पर्छ । प्रतिस्पर्धा बढेकै कारण अहिले पाँचारे होटलहरुमै ९० डलरभन्दा काममा पनि कोठा पाइन्छन् । खासमा सुविधासम्पन्न होटलमै सस्तो दरमा कोठा पाइने अवस्थाले पर्यटन क्षेत्रका अहिलेको अवस्थालाई दर्शाउँछ ।
सामान्यतयाः होटलहरुले १० वर्षमा लगानी उठाइसक्ननुपर्छ भन्ने मान्यता छ । त्यसैले लुम्बिनीमा सधैं यही अवस्था रह्यो भने स्थिति धेरै होटल मालिकहरु सडकमा आउन बेर लाग्दैन ।
हानका अध्यक्ष विनायक शाहका अनुसार होटलमा लगानी गर्नेहरु निराश भने छैनन् । किनभने उनीहरुसँग आफ्नो बिजनेश प्लान छ । होटललाई टिकाउने आधार बनाएरै उनीहरु चलेका छन् । उनीहरु खास गरी भविष्यप्रति आशावादी छन् ।
तर, नेपालमा दोहोरिरहेका अप्ठेरा परिवेशले पर्यटक क्षेत्रलाई नराम्रो धक्का दिएको शाहको भनाइ छ । उनका अनुसार नेपालमा पर्यटक बढ्न थालेको त सन् १९५० मा फ्रान्सका मौरिस हरजोग र लुइस लाचेनलले पहिलोपटक अन्नपूर्ण हिमालको सफल आरोहण गरेपछि नै हो ।
यसपछि हिमाल लक्षित पर्यटकहरु बढेसँगै सन् १९६५ मा पहिलोपटक पाँचतारे होटल अन्नपूर्ण खुल्यो ।
तत्कालीन राजपरिवारकै अग्रसरतामा यो होटल खुलेको थियो । लगत्तै सोल्टी होटल पनि खुल्यो । विस्तारै नेपालमा होटलहरुको संख्या बढ्यो तर, पाँचतारे होटलहरु २–२ वटा मात्र थिए । किनकी खर्चालु पर्यटक खासै बढ्न सकेका थिएनन् ।
२०५२ सालदेखि सुरु भएको माओवादी विद्रोहले पर्यटक आगमन दर बढ्ने क्रम ज्यादै सुस्त भयो । २०७२ वैशाखको महाभूकम्पले अर्को धक्का दियो । २०७६ मा कोभिड महामारीले सुरु भएपछि विश्वभर नै पर्यटन उद्योग धराशायी हुँदा नेपाल अछुतो रहने कुरै भएन ।
सरकारले सन् २०११ मा भिजिट नेपाल २०११ घोषणा गरेर १० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्यो । तर यो लक्ष्यको करिब ७५ प्रतिशत मात्र पर्यटक आए ।
सन् २०२० मा २० लाख पर्यटक ल्याउने भन्दै सरकारले पर्यटन वर्ष २०२० घोषणा गरेको थियो । तर कोरोना महामारीका कारण पर्यटन वर्षको कार्यक्रम नै स्थगित हुन पुग्यो ।
कोभिड माहामारी भन्दा अगाडि सन् २०१९ मा नै नेपालमा वर्षभरिमा १२ लाख पर्यटक आउन थालिसकेका थिए । महामारीपछि पर्यटक आगमन अपेक्षाअनुसार नबढ्दा पनि सरकारले कुनै प्रवद्र्धनात्मक काम गरेन । पर्यटन बोर्डले अहिले पनि पर्यटन प्रवद्र्धनका लागि उदाहरणीय काम गर्न सकेको छैन ।
सरकारले नीतिमा त यो दशकलाई ‘पर्यटन दशक’ बनाउने घोषणा छ । तर, पर्याप्त प्रचार नहुँदा नेपालको पर्यटकीय सम्भावना उजागर हुन सकेको छैन । त्यसमाथि महँगो हवाई भाडाले पर्यटकको रोजाइ नेपाल बन्न सकेको छैन । यो कठिन भूगोलमा सडक र हवाई सुरक्षा चिन्ता समेत छ । त्यसैले पर्याप्त पर्यटक नआएपछि होटलका धेरै कोठा खाली हुनु नौलो भएन ।
पहिले–पहिले जति तारे होटलहरु खुले, तीनले प्रशस्तै जग्गा किन्थे । जग्गाको मूल्य बढ्दा लगानीकर्ताको जोखिम कम हुन्थ्यो । त्यही जग्गा धितोमा राखेर ऋण लिएर पनि होटलको अप्ठेरो सुल्झाउँथे ।
तर, अहिले जग्गा महँगिएको छ । थोरै जग्गा लिएर हाइराइज बिल्डङमा होटल बनाइएको छ । त्यसैले अहिले जग्गाको लाभ होटलले पाउँदैन । जग्गाको मूल्य समेत उकालो लाग्न छाडेकाले होटलका सञ्चालकहरु दबाबमा छन् ।
अवस्था त्यति राम्रो नहुँदा नहुँदै पनि किन अहिले होटलमा लगागी ओइरिरहेको छ त ? अहिले लगानीकर्तालाई सोध्ने हो भने दिने जवाफ एउटै छ, भविष्यको सम्भावना हेरेर । हो, उनीहरुमा भविष्यमा नेपालले पर्यटनमा राम्रो गर्नसक्छ र व्यवसाय फैलिन्छ भन्ने गहिरो विश्वास छ ।
हामी दुई ठूला फास्टेस्ट ग्रोइङ इकोनामेमी भारत र चीनका बीचमा छौं । अहिलेसम्मको तथ्यांक हेर्ने हो भने भारत र चीनका गरी वर्षमा करिब १७ करोड मान्छे होलिडे मनाउन आफ्नो देश बाहिर जान्छन् । त्यसको १ प्रतिशत मान्छे मात्रै नेपाल आए भने पनि हाम्रो पर्यटन क्षेत्रले छलाङ मार्छ । धेरैले दिने तर्क यही हो ।
अहिले पनि नेपालमा भारतीय पर्यटकहरुको संख्या राम्रो छ । यो विस्तारै बढिरहेकाले भारतीय सीमा नजिकका शहरमा क्यासिनोसहितको होटल खोल्ने क्रम बढेको छ ।
अहिले निजी गाडी लिएरै नेपालका विभिन्न भूभागसम्म जाने भारतीयको संख्या पनि बढिरहेको छ । अहिले पनि नेपालमा आउने पर्यटकमध्ये २४ प्रतिशत भारतीय हुन् । चीनबाट १० प्रतिशत मात्रै पर्यटक आइरहेका छन् ।
भारतबाट स्थलमार्ग भएर आउने पर्यटकको संख्या गणना नगरिने भएकाले पनि खासमा कति भारतीय घुम्नकै लागि नेपाल आउँछन् भन्ने यकिन छैन ।
तर, अहिले पोखरा र लुम्बिनीजस्ता गन्तब्यलाई त स्थलमार्गबाट आउने भारतीय पर्यटकको ठूलो आड भरोसा छ ।
वर्षमा चीनबाट झण्डै १३ करोड र भारतबाट चार करोड मान्छे देशबाहिर घुम्न जान्छन् । त्यसैले दुई छिमेकी देशका पर्यटक तान्न सके नेपालमा धेरै सम्भावनाका ढोका खुल्छन् । यही विश्वासका कारण पनि होटलमा लगानी ओइरिरहेको छ ।
अनि होटलहरुले अहिले फरक ढंगले पनि बिजनेस गर्दैछन् । होटलका कोठाका लागि मात्रै पर्यटक कुर्दैनन्, सभा, सम्मेलन, बिहे ब्रतबन्धको लागि हल र पूर्वाधारहरु बनाएका छन् । मिटिङ हल, कन्फ्रेन्स रुम बनाएका छन्, अनि क्याटरिङ सेवा पनि दिन्छन् ।
धेरै होटलहरुले फरक र अगल थिममा रेस्टुरेन्ट, क्याफे, लाउन्ज, बारहरु चलाइरहेका छन् । वान टाइम पेमेन्टको सिस्टममा ब्रेकफास्ट, लन्च, डिनर प्याकेजहरु पनि बेच्छन् ।
रुमभित्रको पेय पदार्थ राखेर मिनी–बार अनि होटलमा स्पा, साउना, मसाज र वेलनेस सेवा दिएर पनि कमाउँछन् । योग र ध्यान कक्षा समेत चलाउँछन् । होटलबाटै टुर प्याकेजहरु बेचिरहेका छन् ।
यस्तै कारणहरुले बैंकले पनि होटलका लागि ऋण दिन खासै कन्जुस्याँइ गर्दैनन् । स्पष्ट भाषामा भनौं, तपाईं ठूलो कृषि फार्म खोल्छु भनेर बैंक जानुभयो भने तपाइँको फाइल फनफनी घुम्छ, अनि कतै पुगेर रोकिन्छ । तर, होटल खोल्छु भनेर ऋण माग्ग्नुभयो भने साधारण बिजनेस प्लानकै भरमा लोन अप्रुभ हुन्छ ।
अनि अहिले पहिले जस्तो होटलहरुमा श्रमसम्बद्ध समस्या छैन । तारे होटलहरु सबैजसो कर्मचारी आउटसोर्सिङ गर्छन् । जसको उत्तरदायित्व आउटसोर्सिङ कम्पनीले नै लिन्छन् । मजदुर हड्तालको समस्या होटलहरुमा खासै छैन । अनि आपत पर्दा कर्मचारी हटाउनुपरे कुनै आर्थिक दायित्व बोक्नुपर्दैन । यसले पनि होटलमा लगानी गर्नेहरुको मनोबल बढेको छ ।
तर, यति मात्रै कारणले होटलमा लगानी थपिँदैछ त ? होइन । अहिले होटललाई पब्लिक कम्पनी बनाएर त्यसको सेयर सर्वसाधारणलाई बेच्ने पनि अर्को लुकेको कारण हो । अहिले धेरै होटलहरु बन्दा बन्दै स्पष्ट छन्, यसलाई आईपीओमा लैजाने हो । लगानीकर्ताहरु सर्वसाधारणलाई सेयर बेच्ने उद्देश्य नै राखेर पनि होटल बनाइरहेका छन् ।
नेपाल धितोपत्र बोर्डका अनुसार अहिले दमौलीको सिदार्थ होटल, बुढानीलकण्डको होटल फरेस्ट इन, काठमाडौंको अकामा होटल, काठमाडौं गैह्रीधाराको वर्णबास म्युजियम होटल, पोखराको माउन्टेन ग्लोरी, मौलाकाली केबलकार, काठमाडौंको होटल सब्रिनाको आईपीओ पाइपलाइनमा छन् ।
अहिले नेपाल स्टक एक्सचेन्जमा तारागाउँ हायात, र्याडिसन, चन्द्रागिरि हिल्स, कालिञ्चोक, बन्दिपुर केवलकार र सिटी गरी पाँच होटल सूचीकृत छन् ।
अहिले चितवनको सिराइचुली, सिमराको इच्छा, भक्तपुरको होटल भादगाउँ, भैरहवाको एसियन बुद्ध, बुटवलको ड्रिम इन्टरनेशनल, त्रिपुरेश्वरको युनाइटेड बिजनेश होटल लगायतले पनि शेयर निष्कासनको तयारी गर्दैछन् ।
यसरी बनाउँदा व्यवसाय बढाउने उद्देश्य कम र प्राथमिक शेयर निष्कासन पछि शेयर मूल्य बढाएर संस्थापक लगानीकर्ताहरु बाहिरिने उद्देश्य बढी राखिएको मान्नेहरु धेरै छन् ।
यसले सर्वसाधारणको लगानी जोखिममा पर्नसक्छ । नेपालमा शेयर निष्कासन अघि कम्पनीको सम्पत्तिको बढी मूल्यांकन गराउने, मिलेममतोमा सेयरको मूल्य बढाउने र लकिङ पिरियडपछि ठूलो नाफा कमाएर बाहिरिने घटनाहरु बढेका छन् ।
जलविद्युत र उद्योग क्षेत्रमै यस्तो भइरहेको छ । त्यसैले होटलहरुमा पनि यो प्रवृत्ति सर्ने जोखिम छ । होटलका लगानीकर्ताको लबिइङमै भर्खरै खुलेका होटलहरु पनि आईपीओमा जानसक्ने व्यवस्था गरिएको छ ।
होटलको आईपीओमा हुनसक्ने जोखिम सीटी होटलकै वित्तीय विवरणबाट स्पष्ट देखिन्छ । काठमाडौंको सोल्टिमोडस्थित सिटी होटल लिमिटेडको प्रति शेयर आम्दानी अहिले पनि माइनमसै छ । आईपीओको रकमले ऋण तिर्दा पनि घाटा भएपछि कम्पनीले हकप्रद शेयर जारी गरेको छ । तर, होटलको व्यापार भने अहिले पनि कमजोर नै छ । त्यसैले सबै होटलहरु पर्यटक बढ्लान् भनेर मात्रै पनि खोलिएका हैनन् ।
होटलमा लगानी जे जति कारणले बढे पनि त्यो नकारात्मक नै भन्न मिल्दैन । तर, यी होटलहरुले बिजनेश त पाउनै पर्छ । त्यसका लागि पर्यटक आउनैपर्छ । पर्यटक बढाउन हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग बढाउनुपर्छ ।
पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलहरुमा पनि अन्तर्राष्ट्रिय उडान गर्ने वातावरण बनाउनुपर्छ ।
देशभित्रका रोड नेटवर्कहरु बढाउनुपर्छ । चीनबाट तिब्बत हुँदै स्थलमार्ग भएर आउने पर्यटकलाई पनि सहज हुने सडकमार्ग विकास गर्नुपर्छ । नेपालका हरेक पर्यटकीय सम्भावना विदेशीको नजरसम्म पुर्याउनुपर्छ ।
त्यसो भयो भने मात्रै होटलमा गरिएको लगानीले समयमै लगानी उठाउँछ । अहिले होटलमा ओभर क्यापिसिटीले निम्तिएको अस्वस्थ प्रतिस्पर्धा घट्छ र ठूला लगानीहरु जोखिममा पर्दैनन् ।
इन्टरनेट सेवामा कुन कम्पनी अब्बल ?
बैंकमा पैसा थुप्रिँदा किन बढ्छ तनाव ?
नेपालमा डलर सञ्चिति : वरदान कि संकट ?
हेटौंडामा फेरि चल्नसक्छ डोजर, त्रिभुवन र कान्ति राजपथमा के हुन्छ ?





-1767872172.jpg)
