सुनमा भन्दा धेरै प्रतिफल दिने चाँदी
विश्व अर्थतन्त्रमा सदाबहार चर्चाका विषय हुन्, शेयर बजार, डलरको मूल्य, तेल र सुन बजार । अहिले चर्चाको नयाँ विषय आएको छ, चाँदी । प्रायः गुमनामजस्तै रहने यो कमोडिटीले पछिल्ला दिनमा धेरै लगानीकर्ताको ध्यान तानिरहेको छ ।
अर्थतन्त्रमा आएको मन्दी, मूल्यवृद्धि र केन्द्रीय बैंकहरुको विस्तारकारी नीतिले लगानीकर्ताहरु सुनचाँदी जस्ता एसेटमा लगानी बढाउँदैछन् ।
उनीहरु यसलाई लगानीको ‘सेफ जोन’ ठानिरहेका छन् । सुन महँगो हुँदै जाँदा थोरै पैसा लगानी गर्न चाहनेलाई चाँदी उपयुक्त विकल्प बनेको छ ।
आज पुस ७ गते नेपालमा चाँदीको मूल्य प्रतितोला ४ हजार २३५ रुपैयाँ छ । यो नेपालमा इतिहासकै उच्च मूल्य हो । एक वर्ष अगाडि आजकै दिनमा चाँदीको मूल्य प्रतितोला १७ सय ९० रुपैयाँ थियो । एक वर्षअघि तपाईले चाँदी किनेको भए तोलामै २ हजार ४९० अर्थात् १४० प्रतिशत रिटर्न पाउनु हुने रहेछ ।
चाँदीको मूल्यले विश्वबजारमै रेकर्डमाथि रेकर्ड बनाइरहेको छ । त्यसैले चाँदीको पहिचान नै उपभोग्य वस्तुबाट लगानीको क्षेत्रका रुपमा हुन थालिसक्यो ।
तर, नेपालमा चाँदीको मूल्य बढ्दा होस् वा घट्दा आम मान्छेलाई छुन सकिरहेको छैन । किनभने यहाँ चाँदीले विश्वबजारमा जस्तो महत्व पाएकै छैन ।
नेपालमा त चाँदी भनेको सिक्री, कल्ली, बाला, पाउजुजस्ता गहना अनि सजावटका भाँडाकुँडा बनाउन प्रयोग हुने धातुका रुपमा चिनिन्छ । हाम्रा सुनचाँदी पसलमा चाँदीका गरगहना र भाँडाकुडा किन्न आउनेहरु खासै धेरै हुँदैनन् । गहना किन्नेहरुको ध्यान सुनतिरै छ ।
सिल्भर, एजी समेत भनिने चाँदी प्राकृतिक धातु हो । पृथ्वीको गर्भभित्र लाखौं वर्ष थिचिएर यसको निर्माण हुन्छ । यो विद्युतीय चालकत्व अर्थात् इलेक्ट्रिकल कन्डक्टिभिटी सबैभन्दा धेरै भएको धातु हो ।
यो विशेषतः चार प्रकारले उत्पादन हुन्छ । पहिलो त सुनखानीभित्र सुन खोज्दा भेटाइने अर्को धातु हो । तामा र जस्ता खानीको सह–उत्पादन पनि हो । विशुद्ध चाँदीको मात्रै खानी विश्वमा धेरै छैनन् । अनि एकपटक प्रयोगमा आएका चाँदी पुनः प्रयोग त हुने नै भयो ।
चाँदी प्राचीनकालमै महत्वपूर्ण र इज्जतदार धातु थियो । ग्रीस र रोममा चाँदीका मुद्रा प्रचलनमा थिए । नेपालमा कुनै व्यवसायिक सुन वा चाँदी खानी छैन । यसको आयात भारत, चीन, दुबई र युरोपतिरबाट हुँदै आएको छ ।
नेपालमा मुद्राको इतिहास नै चाँदीसँग जोडिएको छ । मल्लकालमा मात्र होइन राणाकालमा समेत चाँदीका सिक्काहरु प्रचलनमा थिए ।
लिच्छविकालमा समेत यसको प्रयोग भएको मानिन्छ, तर प्रमाण छैन ।
अहिले पनि राष्ट्र बैंकले चाँदीका सिक्काहरु जारी गर्छ । जसलाई चाँदीको भाउमा किन्न पाइन्छ । यो सोभिनियरको हेतुले जारी गरिएको मुद्रा हो, चलनचल्तीको होइन । तर, लगानीको दृष्टिकोणबाट भने नेपालमा मात्रै हैन, विश्वमै चाँदी अझै पछाडि नै छ ।
****
तर रिटर्नको कुरा गर्ने हो भने अहिले अरु लगानीका क्षेत्र भन्दा चाँदी कम छैन, बरु यसैले बढी रिटर्न दिन थालिसक्यो । यसको कारण हो, सूचना प्रविधिको क्षेत्रमा आएको उछाल र त्यसमा चाँदीको प्रयोग ।
अहिले तपाईं हामीले बोकेको मोबाइल फोन, हामीले चलाउने ल्यापटप र कम्प्युटर चाँदीको प्रयोग विना बन्नै सक्दैन । टेलिकम उपकरणदेखि सोलार प्यानलसम्म चाँदी चाहिन्छ । त्यसैले चाँदी प्रविधिभित्र लुकेको साधन हो । यही कारण कतिले यसलाई ‘साइलेन्ट वर्कहर्स’ पनि भन्छन् ।
धेरैले प्रत्यक्ष रुपमा चाँदीका गरगहना लगाएका छैनन् होला । तर, नियमित प्रयोग हुने ग्याजेटहरुका कारण अप्रत्यक्ष रुपमा हामी चाँदीको उपभोक्ता बनिसक्यौं ।
हामी उपभोक्ता त हौं, तर लगानीकर्ता भने होइनौं । हिजोआज भने नेपालीहरुले पनि चाँदीमा लगानीबारे चासो देखाउन थालेका छन् । यसको कारण मूल्य नै हो ।
किन बढ्दैछ त चाँदीको मूल्य ?
अर्थशास्त्रको सिद्धान्त नै छ, माग बढी भयो भने मूल्य बढ्छ । अर्थात् आपूर्ति कम भयो भने मूल्य बढ्छ ।
अहिले चाँदीको माग उच्च छ, आपूर्ति सीमित छ । हामीले भनिहाल्यौं, सोलार ऊर्जाको उद्योगदेखि विद्युतीय गाडीको उद्योगसम्म चाँदीको खपत भइरहेको छ ।
विशेषगरी प्रविधिमा बढिरहेको सेमिकन्डक्टरको प्रयोगले चाँदीको माग बढाएको छ । चाँदी सबैभन्दा राम्रो कन्डक्टर अर्थात् विजुली प्रवाह हुने धातु हो । इलेक्ट्रिक चिपभित्र करेन्ट ट्रान्सफर गर्न र सिग्नल लैजान चाँदीको प्रयोग हुन्छ ।
अहिले मोबाइल फोन, कम्प्युटर, ल्यापटप, टिभी, इलेक्ट्रिक गाडी, स्मार्ट एलईडी बत्तीदेखि टेलिकमका स्मार्ट उपकरणहरुमा प्रयोग हुने माइक्रोचिप र एआई चिपहरुमा चाँदीको प्रयोग अनिवार्य छ । अहिले उपग्रह र रक्षा प्रणालीदेखि स्वचालित खालका सबैजसो प्रविधिमा चाँदीकै प्रयोग हुन्छ । मूलतः यही कारण हो, चाँदीको माग अत्याधिक बढेको ।
तर यति मात्र कारण भने होइन । अहिले जसरी विश्वबजारमा सुनको माग बढेको छ । त्यसले पनि चाँदीको माग र मूल्यलाई उचालेको छ । सुनको विकल्प के हो भन्दा चाँदीकै नाम आउँछ ।
त्यसैले सुन महँगिदा वा मागअनुसारको परिमाणका उपलब्ध नहुँदा लगानीकर्ताहरु चाँदीतिर आकर्षित छन् । सुनको माग र आपूर्तिबीच जति खाडल बन्दै जान्छ, त्यसको लाभ चाँदीले उठाउँछ । चाँदीको मूल्यले विश्वबजारमा सुनसँगै रेकर्डहरु बनाउनुको कारण यही हो ।
खासमा मूल्यको अस्थिरता नै चाँदीको विशेषता हो । यसको मूल्यमा जहिल्यै उतार–चढाव देखिइरहन्छ । अहिलेको गोल्ड–सिल्भर रेसियो हेरौं, यो औसतभन्दा निकै माथि छ । एक तोला सुन किन्न कति चाँदी चाहिन्छ भन्ने आधारमा यो रेसियो हिसाब हुन्छ ।
अहिले एक औंस सुन किन्न ६४ देखि ६८ औन्स चाँदी भए पुग्छ । कोभिड महामारीका बेलामा यो रेसियो १२० भन्दा माथि थियो । अहिलेको रेसियोले के देखाउँछ भने सुनको मूल्य बढिरहेको छ, तर चाँदी त्यसको तुलनामा झन् धेरै बढिरहेको छ ।
सुनको र चाँदीको उत्पादन प्रक्रिया उस्तै हो । माग बढ्यो भनेर तुरुन्तै नयाँ खानी खोल्न सकिँदैन । सीमित खानीजन्य स्रोतका कारण चाँदीको आपूर्ति मागको तुलनामा कम छ ।
अहिले सुनको मागका कारण डलर कमजोर बनेको छ । मान्छेहरु छिटो प्रतिफल दिने क्षेत्रमा लगानी बढाइरहेका छन् । त्यसैले चाँदी लगानीको सुरक्षित विकल्प बन्दैछ । मान्छेहरु सम्पत्तिकै रुपमा चाँदी जोड्दैछन् ।
चाँदी पछिल्लो समयमा लगानीको विविधीकरणको भरपर्दे क्षेत्र बन्न थालेको छ । ठूला लगानीकर्ताहरु पनि एक क्षेत्रमा मात्रै लगानी गर्दैनन्, कुनै क्षेत्रमा लगानी जोखिममा पर्यो भने अर्को भरथेग गर्ने क्षेत्र होस् भन्ने चाहान्छन् । त्यसैले अहिले सुन र चाँदीको लगानी अरु क्षेत्रमा हुने जोखिमलाई भरथेग गर्ने माध्यमका रुपमा प्रयोगमा छ । त्यसैले चाँदीको लगानीलाई सिल्भर हेजिङ समेत भनिन्छ ।
फेरि विश्व बजारमा त चाँदी भौतिक रुपमा किन्नुपर्दैैन । चाँदी किन्न भनेर बजार गइराख्नुपर्दैन । कमोडिटी बजारमा शेयर किनबेच गरेजस्तै चाँदी किनबेच गर्न मिल्छ । सिल्भर ईटीएफमा लगानी गर्न पाइन्छ ।
कसैसँग चाँदी छ भने त्यो कमोडिटी मार्केटमा सूचीकृत हुन्छ । त्यो चाँदी अनलाइनमा उसले बेच्न राख्न सक्छ, जसले बेस्ट प्राइस अफर गर्छ, उसले त्यो चाँदी किन्छ ।
तर, किनेको चाँदीलाई घरमा ल्याउनुपर्दैन, आफूलाई मन लागेको दिन त्यो चाँदी फेरि कमोडिटी बजारबाटै बेच्न सकिन्छ । त्यो अरु कसैले बेस्ट प्राइस अफर गरेर अनलाइनबाटै किन्छ । असुरक्षित तरिकाले चाँदी घरमा ल्याएर वा शुल्क तिरेर बैंक लकरमा लगेर राख्नुपर्दैन ।
विदेशमा चाँदीमा सुरक्षित तवरले लगानी गर्नसक्ने स्किमहरु चलनचल्तीमा छन् । नेपालमा अहिलेसम्म कमोडिटी मार्केट अर्थात् वस्तु बजार नै नभएकाले यस्तो सुविधा छैन ।
बैंकहरुले पनि यस्तो प्लानहरु ल्याउनसक्छन् । तर, अहिलेसम्म राष्ट्र बैंकले नेपालमा वस्तु बजारसँग बैंकलाई जोड्ने गरी नीति ल्याएको नै छैन ।
सुन र चाँदीमा नेपालले उदार नीति नलिँदा यी वस्तुहरु नेपालमा सोखका वस्तु मात्रै बनेका छन् । लगानीको क्षेत्र बन्न सकेका छैनन् ।
यति हुँदा हुँदै पनि नेपालमा सुन र चाँदी आयातका नीतिहरु फरक छन् । सुन त नेपालमा दिनमा २५ किलो मात्रै आयात गर्न दिइन्छ । त्यो पनि बैंकहरुले मात्र ल्याउन पाउँछन् । त्यही सुन देशभरका सुन पसलहरुले बाँडेर लिन्छन् । नेपालमा चाँदी आयातमा भने यस्तो प्रतिबन्धात्मक व्यवस्था छैन ।
चाँदी आयात साधारणतयाः अरु वस्तु आयात गरे जसरी नै आयात गर्न सकिन्छ । नाकामा आएपछि भन्सार शुल्क र भ्याट तिर्नुपर्छ । चाँदीको मूल्य चाहिँ अन्तर्राष्ट्रिय बजारको आधारमा दैनिक रुपमा नेपाल सुनचाँदी व्यवसायी महासंघले निर्धारण गर्छ ।
तर, नेपालमा चाँदीको औपचारिक आयातभन्दा बढी तस्करी हुन्छ । खुला बोर्डरको फाइदा उठाउँदै चाँदी कालोबजारी हुन्छ । यही कारण बजारमा चाँदीको उपलब्धता सहज छ ।
तर, नेपालमा चाँदीको गरगहनाको माग थोरै छ । त्यसको कारण के हो भने नेपालमा गहना भनेपछि सुन नै हो भन्ने मान्यता छ ।
झन् पछिल्लो समयमा नक्कली गहनाको उपलब्धताले पनि चाँदीको गरगहनाको प्रयोग घटाइदिएको छ । बरु नेपालमा चाँदी धार्मिक प्रयोगको वस्तु बनेको छ, थाली, मूर्ति, कलश र पूजा सामग्री चाँदीकै बनाउने प्रचलन बढेको छ ।
परम्परागत संस्कारमा प्रयोग हुने भाँडाकुँडा समेत चाँदीकै बनाउने चलन छ । यो चाहिँ धनाढ्य र मध्यम वर्गले मात्रै गरिरहेको प्रयोग हो ।
नेपालमा लगानीका रुपमा चाँदी किन्ने चलन नै छैन भन्दा पनि हुन्छ । हो, कसैले सम्पत्तिकै रुपमा चाँदीका सरसमान जोड्छन्, तर त्यसलाई लगानी भन्न मिल्दैन । किनकी लगानीमा मौका हेरेर बिक्री गर्ने र नाफा कमाउने उद्देश्य हुन्छ ।
नेपालीहरुसँग चाँदीमा लगानी गर्ने विकल्प पनि सजिलो छैन । चाँदीका गहना र भाडाकुडा बनाउँदा सुनमा जस्तै जर्ति जोडिन्छ । जर्ति भाँडाकुडा बनाउँदा खेर जाने चाँदीको मात्रा हो । जसले गर्दा जति मूल्यको चाँदी किनिएको हुन्छ, त्यति बराबर उपलब्ध हुँदैन । नेपालमा सिल्भर बार अर्थात् चाँदीका ढिक्का किन्ने प्रवृत्ति नै छैन ।
अघि हामीले भनिहाल्यौं, यहाँ सिल्भर ईटीएफ प्लानहरु पनि छैनन् । विदेशमा जस्तो डिजिटल सिल्भर प्लाटफर्म पनि छैनन् । किनेर राखेको चाँदी बेच्ने बजार पनि भरपर्दो र सजिलो छैन ।
चाँदीका गहना र सरसामान किनेर खासै फाइदा पनि छैन । चाँदी किनेपछि त्यो कहाँ लगेर सुरक्षित राख्ने भन्ने तनाव छ । आवश्यक समयमा बेच्न खोज्दा नबिक्ने अर्को डर हुन्छ । अनि बजारमा चाँदी किन्दा कर र बिलिङका अनेकन अस्पष्टताहरु छन् ।
व्यापारीहरुले कालोबजारीबाट ल्याएको चाँदीको कारोबार पारदर्शी भएर गर्न खोज्दैनन् । त्यसले गर्दा वैध लगानी गर्दा पनि कहाँ फसिन्छ भन्ने डर रहिरहन्छ ।
फेरि हामी सुन र चाँदीमा हुने लगानी, यसको मूल्य र बजारबारे उति धेरै अनुभवी र जानकार पनि छैनौं । त्यसैले अहिलेको अवस्थामा चाँदीको भाउ जति बढे पनि लगानी गरेर नेपालीले लाभ लिन सक्ने देखिँदैन ।
अनि चाँदीमा अर्को जोखिम भनेको गुणस्तरको हो । मिसावटयुक्त चाँदीमा ठगिने खतरा पनि हुन्छ । किनभने नेपालमा गुणस्तर मापनको बलिया संयन्त्र छैनन् । सुनचाँदी बजारको नियमन नै छैन भन्दा हुन्छ ।
के भयो भने हामी चाँदीलाई सेतो सुन बनाउन सक्छौं त ?
पहिलो कुरा त नेपालमा कमोडिटी बजार खुल्यो भने पक्कै त्यहाँ चाँदीको कारोबार खुला हुन्थ्यो । त्यसले चाँदी पनि लगानीको साधन बन्नसक्थ्यो ।
अनि अर्को कुरा, डिजिटल सिल्भर कारोबार पनि खुला हुनुपर्यो । बैंकहरुले चाँदी बचत योजनाहरु ल्याउनुपर्यो । चाँदी लगेर बैंकमा बचतका रुपमा राख्ने र त्यसमा बैंकहरुले निश्चित प्रतिफल ग्यारेन्टी गर्ने अन्तर्राष्ट्रिय अभ्यासले यहाँ पनि अनुमति पाउनुपर्यो । यदि सरकारले चाँदीसम्बन्धी नीति बनायो र बजार व्यवस्थित गर्यो भने यो लगानीको क्षेत्र बन्न सक्छ ।
यसो भयो भने ठूला हैन, साना लगानीकर्ताको सबैभन्दा सुरक्षित विकल्प चाँदी हुनसक्छ । किनभने चाँदी सुनभन्दा सस्तो छ । मध्यमवर्गले यसमा लगानी गर्नसक्छ ।
नत्र चाँदी सधैंभरि नेपालमा केवल गहना र दराजमा सजिने भाँडाकुँडामा सीमित हुन्छ । हैन, अहिलेकै नीति ठीक छ भनेर बस्ने हो भने हामीले चाँदीको मूल्यमा भइरहेको उतारचढावबाट कुनै पनि लाभ उठाउन सक्दैनौं ।
चाँदीले त ‘म पनि भविष्य हुँ’ भनेर हल्ला बोलिसक्यो । तर, अब नेपालले त्यसलाई समयमै सुन्यो र बुझ्यो भने पछुताउनुपर्दैन । नत्र विश्वबजारले लिएको लाभ नेपालले सधैं गुमाइराख्छ ।
पश्चिम सेतीको सबै बिजुली हडप्ने भारतको प्रपञ्च
अन्ततः फुट्यो कांग्रेस, देउवा कि गगन अधिकारिक ?
नेपालका शहरमा झन् धेरै छन् गरिब
पेट्रोलमा १० प्रतिशत इथानोल, माइलेज के हुन्छ ?
नागढुंगा सुरुङमार्ग तयार, चिनियाँ रोक्न जापानले हाल्यो तगारो





-1767872172.jpg)