नेभिगेशन
राजनीति

दलीय राजनीतिमा आउने अन्तिम तयारीमा बालेन

जेनजी विद्रोह सफल भएसँगै सडकमा नारा लागेको थियो, बालेन आऊ । 

तर बालेन मौन बसे । सामाजिक सञ्जालमार्फत अन्तरिम सरकार प्रमुखमा सुशीला कार्कीलाई समर्थन गरे । 

वैकल्पिक शक्तिहरुलाई एक ठाउँमा ल्याउन वार्ताहरु भए । बालेनले सन्देश पठाए, मलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्री पद चाहिएको छैन ।

वैकल्पिक शक्तिहरु एक ठाउँमा आउनुस्, मेरो समर्थन हुन्छ । 

पटक–पटक खोजी हुँदासमेत मौन रहेका बालेन अब भने सक्रिय भएका छन् । बुधबार त उनले म्याराथन बैठक नै गरे । ज्वागलस्थित आफ्नो सहयोगी कुमार बेनको घरमा अड्डा जमाएका उनलाई भेट्न नेताहरुलाई लाइन लाग्यो । 

यति चाहिँ भन्न सकिन्छ, बालेन अब राजनीतिको फ्रन्टमा आएका छन् र, नयाँ ध्रुविकरण सुरु भएको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार भेटवार्ता भएको थियो । 

त्यो भेटवार्ताको सन्देश खासगरी जेनजी विद्रोह र यसका समर्थकहरुका लागि बिझाउने कुरा थियो । 

यदि राजनीति सहज रुपमा अगाडि बढेको भए एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजी विद्रोहमा भएको दमनको जिम्मेवारी लिनुपर्थ्यो । 

एमालेको नेतृत्व छाडेर पुस्तान्तरण गरेको भए उनको स्वीकार्यता बढ्थ्यो । 

तर ओलीले उल्टो गरे । सुरुदेखि नै जेनजी विद्रोहमा सहभागी भएकाहरुलाई ललकार्न थाले । सुशासनको माग गर्दै सडकमा आएका नवजवान युवाहरुले गरेको आन्दोलनलाई देशी विदेशी षड्यन्त्र भन्न थाले । 

अरु चुनावको पक्षमा थिए, त्यसैले ओलीको अडानहरुले राजनीतिमा ठुलै उपटफेरको सम्भावना देखिएको थिएन । 

तर, समय बित्दै जाँदा वैकल्पिक शक्तिहरु एक हुन सकेनन् । कांग्रेसमा उठेको नेतृत्व परिर्वतनको आवाज समेत संख्याको बलमा दबाइयो । अनि ओली, पार्टीको महाधिवेशनबाट प्रचण्ड मतका साथ पुनर्निर्वाचित भए । 

त्यसपछि संसद पुनस्र्थापनाको खेलले गति लियो । सुरुमा ओलीले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग सुलह गरे । त्यसपछि देउवाले हात मिलाए । देउवासँग भेट गरेपछि कांग्रेस नेता डा. शेखर कोइरालाले बोली फेरियो । एकाएक संसद पुनस्र्थापनाको पक्षमा मौहल बनेको सन्देश प्रवाह भयो । 

विगतमा पनि संसद पुनस्र्थापना भएको छ । ०६३ मा संसद पुनर्स्थापना हुँदा शासन सत्ता हातमा लिएका राजा ज्ञानेन्द्र जनतासँग हारेका थिए ।

२०७८ मा संसद पुनर्स्थापना हुँदा तत्कालीन प्रधानमन्त्री ओलीको असंवैधानिक कदम खारेज भएको थियो । तर यो पटक संसद पुनर्स्थापना विगतभन्दा ठीक उल्टो छ । 

अहिले प्रतिनिधिसभा पुनर्स्थापना हुनु भनेको जेनजी विद्रोह असफल हुनु हो । ओली, देउवाहरु नै फेरि राजनीतिको केन्द्रमा रहनु हो ।

अनि, त्यो बेला सुशासनको माग गर्दै सडकमा आएका नवजवान युवाहरु महेश बस्नेतहरुले भन्ने गरे जस्तो आतंकाकारी हुने दिन टाढा हुने छैन ।

त्यो बेला नवजवान युवाहरु उक्साएको आरोपमा बालेनहरु दण्डित हुने छन् ।

जब जनेजी पुस्ता नै दण्डित हुने अवस्था देखियो, बालेनका लागि पनि एउटै विकल्प थियो, आफैं मैदानमा आउने । बुधबार ज्वागलमा म्याराथन भेटवार्ता गरेर उनले आफू सक्रिय राजनीतिमा आएको सन्देश दिएका छन् । 

अहिलेसम्म सबैको जोड वैकल्पिक शक्तिहरु एक ठाउँमा ल्याउने छ । त्यसपछि एकपछि अर्को भेटवार्ता भइरहेको छ । 

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेले जेलबाट छुटेपछि निरन्तर भेटवार्ता गरेका छन् । 

बोलन र रविबीच सोमबार साँझ पनि ६/७ घन्टा लामो भेटवार्ता भयो । उज्यालो नेपाल पार्टी गठन गरेका कुलमान घिसिङ र बालेनबीच पनि भेटवार्ता भएको छ । धेरै विषय अझैसम्म टुंगिएको छैन ।

पुस १३ गते समानुपातिकको सूची बनाउनुपर्नेछ । एउटै दल बनाउने हो भने त्यसअघि नै निर्णय लिइसक्नुपर्नेछ । 

त्यसैले बालेन परामर्शमा जुटेका हुन् । उनले जेनजी फ्रन्टमा आवद्ध जेनजीहरुदेखि नयाँ र पुराना दलमा आवद्ध भएका नेताहरुलाई समेत भेटेका छन् ।

भेटका क्रममा सोध्ने गरेका छन्, रास्वपासँग मिल्नु उपयुक्त हुन्छ कि हुन्न ? आफ्नै नेतृत्वमा नयाँ शक्ति बनाए साथ सहयोग हुन्छ कि हुन्न ? आदि । 

अब बालेनले के निर्णय लिन्छन्, भन्न हतारो हुन्छ । यति चाहिँ हो, अब नेपाली राजनीतिमा नयाँ ध्रुवीकरण सुरु भयो, पुराना भर्सेस नयाँ । ओली–देउवा भर्सेस बालेन, रवि र कुलमानहरु ।

यो ध्रुवीकरणले बालेन कुलमान र रविहरु एउटै दलमा अटाउन त सहज छैन, तर चुनावी तालमेलमा भने सहजै पुर्‍याउने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति