नेभिगेशन
एक्सप्लेनर भिडियो

गिफ्टमा गैंडा–हात्ती, राजादेखि नेतासम्म उस्तै शैली

दुई नेपाली हात्ती रुद्रकली र खगेन्द्रप्रसाद कतारमा सेलिब्रेटी जस्ता भएका छन् । नेपाली हात्तीहरुलाई हेर्न हरेक दिन ठूलो संख्यामा मानिसहरु दोहाको पनि अलखोर फेमिली पार्क पुग्छन् । 

कतार सरकारले पनि चितवनमा हुर्किएका नेपाली हात्तीहरुको बसोबासका लागि राम्रै बन्दोबस्त देखिन्छ । 

तर धेरैको मनमा एउटा प्रश्न उब्जिएको हुनुपर्छ, अरु देशलाई यसरी जवावर उपहार किन दिइन्छ ? कहिलेदेखि सुरु भयो गैडा र हात्ती उपहार दिन ? अनि, कन्जरभेसन डिप्लोमेसीबाट नेपालले के पायो ? 

सुरुमा रुद्रकली र खगेन्द्रप्रसादकै कुरा गरौं । 

अहिले कतार पुगेको खोरसोर खगेन्द्रप्रसादको उमेर ६ वर्ष भयो । यो चतिवनको हात्ती प्रजनन केन्द्रमा जन्मिएको हो । रुद्रकलीको उमेर सात वर्ष भयो । जन्मिएको तीन महिनामै आमा गुमाएकी रुद्रकली चितवन नै हुर्किएकी हुन् । यी दुबै हात्तीका बुवा भने चर्चित नेपाली जंगली भाले हात्ती ‘रोनाल्डो’ हो ।

२०७५ सालमा कतारको भ्रमण गर्दा नै राष्ट्रपति विद्यादेवी भण्डारीले एक जोडी हात्ती उपहारमा दिनेविषउ उठेको थियो । तर, त्यो हुन सकेन । 

०८१ वैशाखमा कतारका राजा तमिम बिन हमाल अल थानी नेपाल भ्रमणमा आएका थिए । ठूलो संख्यामा नेपालीहरु रोजगारीमा जाने देश, अनि मध्यपूर्वमा तीव्र विकास गरिरहेको देशका राजा । उनको खातिरदारीमा नेपालले कुनै कमी गर्न चाहेन । अनि, त्यही बेलामा घोषणा गर्‍यो, दुई वटा हात्ती उपहार दिने । 

कतारले हात्तीसार बनायो, वन्यजन्तु ओसारपसारको प्रक्रियाहरु पूरा गर्‍यो । नेपालले कुन हात्ती पठाउने भनेर खोजी थाल्यो । त्यसक्रममा जोडी हात्ती पठाउन खगेन्द्र र रुद्रकली नै सबैभन्दा उपयुक्त हुने निष्कर्ष निकालियो । 
अनि, २०८२ पुस २ गते रुद्रकली र खगेन्द्रप्रसाद प्लेन चढेर कतार पुगे । 

यसरी नेपालले जनावर उपहार दिएको न यो पहिलो हो, न अन्तिम हुनेछ । 

वन्यजन्तु उपहारको निकै लामो इतिहास छ ।

जति बेला नेपाल जंगलले ढाकिएको थियो, वन्यजन्तुको संख्या धेरै थियो । त्यसैले वन्यजन्तुको शिकार खेलिन्थ्यो । 

राणा शासकहरुले त आफू मात्रै हैन, विदेशबाट आउने पाहुनालाई शिकार खेल्न बोलाउँथे । जति धेरै वन्यजन्तु मार्नसक्यो, उति बहादुर मान्ने गरिन्थ्यो । त्यसैले कयौं विदेशी पाहुनाले नेपालमा शिकार गरेका जनावरहरुहरुको अखेटोपहार अर्थात् छाला, सिंग, हाडहरु उपहार चिनोका रुपमा समेत लैजान्थे । 

पाल्ने शोख भएकाहरुलाई ज्युँदै वन्यन्तु उपहार स्वरुप दिइन्थ्यो ।

उदहारणका रुपमा एउटा घटनाको र्चा गरौं ।  सन् १९९१ मा चन्द्र शम्शेरको निम्तोमा बेलायती महारानी एलिजाबेथका हजुरबुबा जर्ज पाँचौं नेपाल आएका थिए । 

उनीहरुले चितवनमा शिकार खेले । जर्ज पाँचौं एक्लैले चितवनमा ८ गैंडा, २१ बाघ र एउटा भालुको शिकार गरे । उनको समूहले कुल १८ गैंडा, ३९ बाघ र ४ वटा भालु मारेका थिए ।
जब उनीहरु फर्किए, जीउँदो गैंडा र चित्तल उपहारमा दिएर पठाइयो ।

राणा शासन अन्त्यपछि पनि राजपरिवारले शिकार खेलिरह्यो । उनीहरुले निम्त्याएका विदेशी पाहुनालाई पनि शिकार खेल्न छुट थियो । बेलायतका महारानी एलिजाबेथ नेपालमा आएको बेलामा चितवनमा शिकार खेल्न गाएको इतिहास छ । 

यद्यपि त्यतिबेला कति वन्यजन्ज्तुहरु उपहारमा पठाइयो भन्ने कुनै रेकर्डमा राखिँदैन थियो ।

समयक्रमसँगै चोरी शिकारी र तस्करी सुरु भयो । नेपाली वन्यजन्तुको अखेटोपहारको माग बढ्यो । महँगो मुल्य पाइने लोभमा बाघका छाला र गैंडाका सिंगका तस्करी हुन थाल्यो । वन र वन्यजन्तु मासिँदै गएपछि २०३० सालमा चतिवनलाई राष्ट्रिय निकुञ्ज नै घोषणा गरेर संरक्षणका अभियान थालियो । त्यतिबेलासम्म यो शाही शिकार आरक्ष थियो । 

संरक्षणमा थप काम गर्न भनेर २०३९ सालमा महेन्द्र प्रकृति संरक्षण कोष स्थापना भयो, जसलाई अहिले राष्ट्रिय प्रकृति संरक्षण कोष भनिन्छ । यो कोषको स्थापनापछि त्यसैमार्फत तारतम्य मिलाएर वन्यजन्तु उपहार दिने प्रचलन निकै झांगियो । 

किनकी कोषको अध्यक्ष राजाले तोकेका राजपरिवारका सदस्य रहने व्यवस्था थियो । अनि, राज परिवारका सदस्यहरुले धामधम दुर्लभ वन्यजन्तु उपहार दिन थाले ।

सन् १९८५ अर्थात् २०४२ सालमा भारतले दुर्लभ एक सिंगे गैंडा माग्यो । दुदुवा नेसनल पार्कमा गैंडा हुर्काउने भारतको योजना थियो । नेपालले मागेअनुसार नै चारवटा गैंडा उपहार दिएको थियो । 

यो नै नेपालले पहिलोपटक सरकारी रेकर्ड राखेर उपहार दिएको वन्यजन्तु उपहार थियो । 

त्यसको दुई वर्षपछि अमेरिकी राष्ट्रिपति रोनाल्ड रेगनका लागि एक जोडी गैंडा उपहार पठायो । १९९० मा अमेरिकालाई थप एक जोडी गैंडा दिइयो । 

त्यसपछि राजतन्त्रकामै जमर्नी, सिंगापुर, बंगलादेश, बेलायत, अष्ट्रियालाई एकएक जोडी गैंडा उपहार स्वरुप दिइएको छ । 

यो अवधिमा नेपालले घडियाल गोही, चितुवा र ब्वाँसोसम्म पनि उपहारमा दिइरह्यो । जापानलाई हिमाली ब्वासो, गोही, घडियाल र घडियालका अण्डा उपहार दियो । साउदी अरेबियालाई दुईवटा चितुवा, फ्रान्सलाई ५ वटा, जमर्नी र भुटानलाई २–२ वटा घडियाल गोही उपहारमा दिएको छ । 

२०६२/६३ को जनआन्दोलनले राजतन्त्रको अन्त्य गर्‍यो, कोषको नेतृत्व पनि मन्त्रीहरुले गर्न थाले । वन्यजन्तु उपहारमा दिने क्रम पनि रोकियो । तर २०७३ मा वन्यजन्तु कानुनमा नै उपहार दिन सक्ने व्यवस्था गरियो । 

संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन बनाएर नेपालले परस्थानीय संरक्षणको नीति पनि लियो । नेपाली जनता र नेपाल सरकारको सद्भावनाको प्रतीकको रुपमा उपहार स्वरुप त्यस्तो उपहार मुलुकलाई उपलब्ध गराउन सक्ने भनेर ऐनमा नै लेखियो । 

त्यही व्यवस्थाअनुसार २०७३ मा केपी शर्मा ओली नेतृत्वको सरकारले चीनलाई चार वटा गैंडा उपहार दिने निर्णय गर्‍यो । निर्णयअनुसार २०७५ असारमा ‘भद्र’ र ‘रुपसी’ नामका गैंडा चीनलाई उपहार दिइयो । 

अर्को महिनार ‘सोल्टी’ र ‘मितिनी’ नामको एक जोडी गैंडा फेरि चीन पठाइयो । चार वटा गैंडा भालेपोथी मिलाएर दिइएको थियो । तर चीनमा पुगेको केही समयमै भद्र नामको गैंडा मर्‍यो ।  

२०८० असोजमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणमा जाँदा जब भद्र नाम गरेको गैंडा मरेको थाहा पाए, उनले फेरि एक जोडी गैंडा दिने प्रतिवद्धता जनाएर फर्किए । 

यसरी हेर्दा नेपालले १२ वटा देशलाई वन्यजन्तु उपहारमा दिइसक्यो । २६ वटा त गैंडामात्रै उपहार पठाइसक्यो । 

हात्ती उपहार पाउने कतार पहिलो मुलुक हो । यो वन्यजन्तु संरक्षण विभागसँग रहेको आधिकारिक तथ्यांक हो । विगतमा राणा र राजतन्त्र कालमा रेकर्ड नै नराखेर कति वन्यजन्तु दिइयो लेखाजोखा छैन ।

उपहारमै विवाद 
वन्यजन्तु उपहारमा दिनुलाई ‘कन्जरभेसन डिप्लोमेसी’ अर्थात् संरक्षण कूटनीति भनिन्छ । एउटा देशलाई जोगाउन गाह्रो भइरहेको वन्यजन्तु अर्को देशले पनि पहल लिएर जोगाओस् भन्ने उद्देश्यले यस्तो गरिन्छ ।

दुई देशबीच नमिलेका विषयमा सहमति जुटाउन पनि ‘कन्जरभेसन डिप्लोमेसी’लाई उपपयोग गर्न सकिन्छ ।  तर नेपालले भने सम्बन्धित देशलाई खुशी बनाउन मात्र बन्यजन्तु उपहार दिने गरेको जस्तो देखिन्छ । 

त्यसक्रममा बेला–बेलामा कन्ट्रोभर्सी पनि क्रियट भएको पाइन्छ । 

२०५४ सालमा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहमाथि गैंडा तस्करीको गम्भीर आरोप लाग्यो । 

भएको के थियो भने बेलायतमा लुफ्थान्सा एअरलाइन्सले आफ्नो विमानमार्फत दुईवटा गैंडा बेलायत ल्याउने तयारी भइरहेको सूचना सार्वजनिक गर्‍यो । खोजविनका क्रममा महेन्द्र प्रकृति संरक्षण कोषले २०४६ असारमै निर्णय गरेको खुल्यो । त्यो पनि गैंडाको मूल्य १ लाख ५० हजार डलर तोकेर । 

त्यो बेला महेन्द्र प्रकृति संरक्षण कोषको अध्यक्ष ज्ञानेन्द्र शाह थिए । उनकै अध्यक्षमा निर्मल निवासमा बसेको बैठकको निर्णयको माइन्युटसहित पत्रकार गोपाल गुरागाइँले काठमाडौं टुडेमा समाचार लेखे । 

यो खबरपछि ज्ञानेन्द्रमाथि गैंडा तस्करीको आरोप लाग्यो । किनकी उपहार स्वरुप गैंडा दिँदा आएको रकम कोषले पाएको थिएन । कोषको लेखा परीक्षण पनि नभएकाले हिसाव पनि अपारदर्शी थियो । बेलायत लैजान लागेको गैंडा रोक्नुपर्ने माग उठ्यो । केही अभियान्ता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म पुगे । तर दरबारले सुटुक्क बेलायतमा गैंडा पठाएरै छाड्यो । 

सन् २००६ मा अष्ट्रियालाई २ जोडी गैंडा दिन तत्कालीन युवराजधिराज परास शाहको निर्णय पनि विवादमा पर्‍यो । तर त्यतिबेला सरकारमा दरबार हाबी थियो । त्यसैले विवाद भएपनि त्यसलाई पनि दबाइयो ।  

यसले गर्दा राजतन्त्रकालमा आम जनमानसमा दरबारले अनुचित लाभ लिएर गैंडा उपहारमा दिन्छ भन्ने परेको थियो । बेलाबेलामा हल्लाहरु अनेकन चल्थे । दरबारले पनि कहिल्यै खण्डन पनि गरेन । 

२०७३ सालमा तत्कालीन प्रधानमन्त्री ओलीले चीनलाई ४ गैंडा उपहार दिने निर्णय गर्दा पनि संरक्षणकर्मीहरुले विरोध गरेका थिए । तर त्यतिबेला भारतीय नाकाबन्दीका कारण प्रभावित नेपाललाई चीनले पेट्रोल दिएर सहयोग गरेको थियो । अनि, नेपालले गैंडाबापत चीनले सूर्यविनायकमा बन्ने खुला चिडियाखाना अर्थात् प्राणी उद्यानलाई सहयोग गर्ने वचन दिएको भनिएको थियो । 

तर अहिलेसम्म ओपन जु बनेको छैन । 

यो पटक कतारलाई हात्ती दिने निर्णय गर्दा पनि प्रश्न उठ्नसक्ने देखेपछि सरकारी अधिकारीहरुले श्रम सम्झौताको हल्ला चलाए । नेपालले हात्ती उपहार दिएपछि कतारले २० वर्षदेखि हुन नसकेको श्रम सम्झौताको पुनरावलोकन गर्ने तर्क सरकारी अधिकारीहरुले गरेका थिए । 

श्रम सम्झौता पुनरावलोकन भएर कतारमा काम गर्ने नेपालीको आर्थिक, सामाजिक तथा भौतिक सुरक्षा प्रत्याभूत हुन्थ्यो । त्यसैले धेरैले हात्ती दिने निर्णयमा प्रश्न गर्न आवश्यक ठानेनन् । 

कतारले हात्ती लग्यो, श्रम सम्झौता चाहिँ पुनरावलोकन भएको छैन । 

यसरी हेर्दा के देखिन्छ भने नेपालले ‘कन्जरभेसन डिप्लोमेसी’ त गरिरहेको छ, तर लाभ लिन भने चुकिरहेको छ । खासमा विश्वव्यापी रुपमा चाहिँ दुई देशले एकअर्काका देशमा नभएका वन्यजन्तुहरु उपहार लिने दिने बढी गर्छन् । 
एउटा समयसम्म त नेपालले आफू कहाँ नभएको वन्यजन्तु लिने पनि गरेको थियो । चीनबाट गोही, भारतबाट सिंहपुच्छ्रे बाँदर, थाइल्यान्डबाट जलगैंडा, मलेसियाबाट सियामाङ (वनमान्छे), अस्ट्रियाबाट अस्ट्रिच लगायतका वन्यन्तु उपहारमा पाएको छ । उपहारमै पाएको जेब्रा र सिंह जाउलाखेल चिडिया घरमा राखिएको थियो । तर नेपालले पछिल्लो समयमा वन्यजन्तु उपहार लिन छाडेको छ । 

जाउलाखेलस्थित एक मात्र सदर चिडियाखानाकै दुराबस्था छ । त्यहाँ भएका जनवानको त राम्रोसँग स्याहार सुसार हुन सकेको छैन । अरु देशबाट वन्यजन्तु ल्याएर राख्न त कसैको ध्यान छैन ।

लिन छाडे पनि दिन भने रोकिएको छैन । गैंडा र हात्तीपछि अब बाघ पनि उपहार दिन थाल्ने तयारी छ । नेपालमा सन् २०२२ को गणनाअनुसार बाघको संख्या ३५५ पुगिसकेको छ, अहिले यो अझ बढी होला । यो संख्या वासस्थानको उपलब्धताको हिसावले अधिक हो । मान्छे र बाघको द्वन्द्व बढ्ने पनि बढ्दो छ ।

त्यसैले गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको थिए, ‘हामी विभिन्न देशहरुलाई बाघ उपहार दिनसक्छौं ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

रवीन्द्र घिमिरे नेपाल शो डटकमका पत्रकार हुन् । 

थप एक्सप्लेनर भिडियो