नेभिगेशन
राजनीति

ओली - प्रचण्डको त्यो सहमति, बालेन - रविको यो सहमति

नेपाली राजनीतिमा केही समययता चलिरहेको एउटा प्रयासले सार्थकता पाएको छ, जसले नेपाली राजनीतिलाई लामो समय तरंगित गर्नेछ । 

त्यो हो, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौंका मेयर बालेन शाहको एकता । 

रास्वपा सभापति रवि लामिछाने र मेयर बालेनले पुस १३ गते विहान करिव ४ बजे सातबुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । 

सातबुँदामा पनि दुइटा बुँदा मुख्य छ, पहिलो, दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न घन्टी रहने । 

दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहने र, आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन हुने । 

अर्थात, बालेनले विधिवत रुपमा लौरो छाडेका छन् । २०७९ को स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार बन्दा उनको चुनाव चिन्ह लौरो थियो । 

पछि अनन्तराज घिमिरेले त्यही लौरो चुनाव चिन्ह राखेर हाम्रो नेपाली पार्टी दर्ता गरे । पछिल्लो समय बालेनले त्यो दललाई आफ्नो समर्थनमा ल्याएका थिए, नाम फेरेर देश विकास पार्टी राखेका थिए । 

यदि रास्वपासँग सहमति नभएको भए यही दलबाट चुनाव लड्ने उनको तयारी थियो । 

तर अब उनले रास्वपा, यसको चुनाव चिह्न घन्टी र रविको नेतृत्व स्वीकार गरेका छन् ।

अनि, रविले तत्कालका लागि प्रधानमन्त्री बन्ने आफ्नो आकांक्षालाई थाती राखेका छन् । बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेका छन् र, दलमा आफूपछिको वरियतामा बालेनलाई राख्ने सहमति गरेका छन् । 

Rabi-balen-Sahamati-1766899704.jpg
 

रवि र बालेनबीच भएको यो सहमतिले नेपाली राजनीतिलाई लामो समय तरंगित गर्नेछ । 

****

करिव ८ वर्ष पहिला भएको अर्को एउटा सहमतिको कुरा गरौं । २०७४ असोजमा एमाले र माओवादीबीच यस्तै एउटा सहमति भएको थियो । जसले नेपाली राजनीतिलाई निकै तरंगित गर्‍यो ।

संविधान निर्माणमा खेलेको भूमिका, अनि पहिलो पटक प्रधानमन्त्री हुँदा भारतको नाकाबन्दी विरुद्ध लिएको अडानका कारण एमाले अध्यक्ष केपी शर्मा ओलीको उचाइ बढेको थियो । 

स्थानीय चुनावमा एमालेले समग्रमा ४० प्रतिशत भोट पाएको थियो । प्रस्तिपर्धी दल कांग्रेस खुम्चिएको थियो । तर कांग्रेस र माओवादीको गठबन्धन भए प्रधानमन्त्री बन्ने आफ्नो आकांक्षामा धक्का लाग्छ भन्ने ओलीले बुझेका थिए । 

माओवादी अध्यक्ष प्रचण्डलाई चाहिँ एक्लै अस्तित्व रक्षा गर्न हम्मेहम्मे थियो । स्थानीय चुनावमा कांग्रेससँग गठबन्धन गरेका थिए, तर अपेक्षाअनुसार भोट ट्रान्सफर नभएकोमा असन्तुष्टि पनि थियो ।

ओलीले प्रचण्डसँग गठबन्धनका लागि हात बढाए । चुनावमा ६०–४० को भागवण्डा हुने भयो, चुनावपछि पार्टी एकता पनि गर्ने भनियो । 

चुनावमा कांग्रेसभन्दा एमालेसँग मिल्दा बढी लाभ पाइने,  चुनावपछि नेपालको सबभन्दा ठूलो कम्युनिस्ट पार्टीको नेता बन्ने सपना पनि पुरा हुने भएपछि प्रचण्ड सहमत भए । वाम गठबन्धन बन्यो । 

रोचक नै भन्नुपर्छ, त्यसबेला ओली र प्रचण्डले चाहँदा चाहँदै पनि डा. बाबुराम भट्टराई छुट्न पुगेका थिए । माओवादी छाडेर वैकल्पिक शक्ति बनाउन भनेर हिँडेका भट्टराई एकता घोषणा सभा उपस्थित पनि भएका थिए । तर चुनावमा जाँदासम्म उनी साथमा रहन सकेनन् । 

यो पटक रवि र बालेनहरुले चाहँदा चाहँदै कुलमान घिसिङ छुटेका छन् । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशकसमेत रहेका घिसिङले उज्यालो नेपाल पार्टी बनाएका छन् ।

नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरु एक ठाउँमा आउनुपर्छ भन्नेमा सहमत छन् । रास्वपा नेताहरुसँगै काठमाडौंका मेयर बालेनसँग पटक पटक सम्वाद गरेका पनि हुन् । 

तर अन्तिम समयमा उनी छुटेका छन् । यद्यपि उम्मेदवारी दर्ताको समय बाँकी रहेकाले चुनावी गठबन्धन वा तालमेलको सम्भावना कायमै छ ।

यो त भयो एकता र गठबन्धनको कुरा । अब यसले नेपाली राजनीतिमा पार्ने प्रभावको कुरा गरौं । 

२०७४ मंसिरको चुनावमा जब एमाले र माओवादी मिले, जनताले वाम गठबन्धनलाई बहुमत दियो ।

नेपालको संसदीय इतिहासमा कांग्रेसले पटक–पटक बहुमत ल्याएको थियो, तर कम्युनिस्ट पार्टीहरुलाई जनताले कहिल्यै त्यस्तो अवसर दिएका थिएनन् । एमाले र माओवादीले गठबन्धन गरे, भोलि पार्टी नै एकता गर्छौं भनेपछि जनताले विश्वास गरे । गठबन्धनको पक्षमा प्रष्ट बहमुत आयो । 

भलै, ओली र प्रचण्डले त्यसलाई सम्हाल्न सकेनन् । ओली र प्रचण्डकै पदीय महत्वाकांक्षा, व्यक्तिगत टकराब आदि कारण एमाले र माओवादी मिलेर बनेको नेकपामा कलह सुरु भयो । प्रतिनिधिसभा विघटन भयो । अनि, नागरिकको ठूलो पंक्तिमा निराशा देखियो । 

अहिले बालेन र रविको एकताले ल्याउन सक्ने सम्भावित परिणाम, ०७४ को भन्दा कम छैन । 

आम नागरिकहरु, कांग्रेस र एमाले लगायतका दलको नेतृत्वसँग रिसाएका छन् । प्रधानमन्त्री को हुने भनेर ओली, प्रचण्ड र देउवाहरुले खेलिरहेको म्युजिकल चेयरबाट वाक्क दिक्क भएका छन् । 

अब नयाँ पुस्ता नेतृत्व आओस्, सुशासन र डेलिभरीको राजनीति होस् भन्ने चाहेका छन् । 

त्यसमाथि काठमाडौंका मेयर बालेनको युवा मतदाताहरुमा असाध्यै क्रेज छ । रास्वपा सभापति रवि लामिछाने पनि लोकप्रिय नै छन् । तर राजनीतिमा आएपछि उनी एकपछि अर्को विवादमा मुछिएका छन् । उनीमाथि थुप्रै प्रश्न उठेको छ । त्यसैले बालेनको तुलनामा उनी कम लोकप्रिय छन् । 

२०७९ कै चुनावमा चौथो दल भएको रास्वपासँग देशभर संगठन छ । त्यसैले बालेन र रवि एक ठाउँमा आउनासाथ आसन्न चुनावमा प्रत्यक्ष प्रभाव परिहाल्छ । 

स्वभाविक रुपमा पहिलो पटक मतदान गर्न लागेका युवाहरु उनीहरुतिर आकर्षित हुने छन् । कांग्रेस–एमालेहरुसँग रिसाएका मतदाताले आफ्नो आक्रोश पोख्ने ठाउँ पाउनेछन् । र, नेपाली राजनीतिमा सरकारकै नेतृत्व लिने गरी नयाँ शक्तिको उदय हुने सम्भावना छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप राजनीति